News Summary
Generated by OK AI. Editorially reviewed.- हाई लिबिडो भनेको अत्यधिक यौन इच्छा वा उत्तेजनाको अनुभूति हुनु हो, जसलाई नियन्त्रण गर्न नसकिने अवस्था हो।
- टेस्टोस्टेरोनको असन्तुलन, मानसिक रोग मेनिया, हाइपर सेक्सुअल डिसअर्डर र लागुपदार्थले हाई लिबिडोको कारण बन्न सक्छ।
- हाई लिबिडो भएका पुरुषहरू बारम्बार यौनबारे सोच्ने, हस्तमैथुन गर्ने इच्छा तीव्र हुने र पोर्नको लत लाग्ने लक्षण देखाउँछन्।
यौन इच्छा हुनु स्वाभाविक हो । सामान्य हो । तर, यो इच्छा सीमाभन्दा धेरै बढ्छ भने समस्या भएको बुझिन्छ । जसले व्यक्ति शारीरिक मात्र होइन, मानसिक रुपमा पनि प्रभावित हुनसक्छ ।
विज्ञानले यो समस्यालाई ‘हाई लिबिडो’ नाम दिएको छ । यसको अर्थ हो, अत्याधिक यौन उत्तेजनाको अनुभूति भइराख्नु ।
यो भनेको अत्यधिक यौन इच्छा, उत्तेजना वा यौन क्रियामा रुचि हुनु मात्र होइन, त्यसलाई नियन्त्रण गर्न नसक्ने स्थिति हो । यस्तो अवस्थामा व्यक्ति बारम्बार यौन विचार, कल्पना वा व्यवहारमा लिप्त रहन्छ ।
किन हुन्छ ?
टेस्टोस्टेरोनमा समस्या
टेस्टोस्टेरोन पुरुषको यौन इच्छा नियन्त्रित गर्ने मुख्य हर्मोन हो । यदि यो हार्मोन अत्यधिक मात्रामा उत्पादन हुन्छ भने शरीरले बारम्बार यौन संकेतहरू पठाउन थाल्छ । यसको असन्तुलनको कारण पिट्युटरी ग्रन्थीको गडबडी र ट्युमका कारण हुनसक्छ ।
हाइपर सेक्सुअल डिसअर्डर
यो मानसिक स्वास्थ्यसम्बन्धी समस्या हो । यो किन हुन्छ भन्ने निश्चित कारण छैन । यो समस्या भएमा व्यक्तिले यौन विचार, कल्पना वा व्यवहारलाई नियन्त्रण गर्न सक्दैन । यौन गतिविधि एक लतझैं बन्छ ।
यस्तोमा काम, सम्बन्ध वा समाजमा असहजता आउन थाल्छ । बारम्बार पोर्न हेर्ने, हस्तमैथुन गर्ने वा यौन क्रियाको खोजीमा समय खर्च गर्ने गर्छन् । यसबाहेक पोर्न हेर्ने र हस्तमैथुन अत्यधिक गर्नेमा पनि यो समस्या हुनसक्छ ।
मेनिया
मेनिया जस्तो मानसिक रोगमा पनि यो समस्या हुनसक्छ । यो समस्या हुँदा उनीहरू अनावश्यक उर्जा देखाउने, उत्साही बढी हुने गर्छन् । उनीहरूमा यौन इच्छा तीव्र उत्पन्न हुनसक्छ । यो अवस्थामा यौन क्रियाबारे सोच्ने वा क्रिया गर्ने गर्छन् ।
यसमै आवश्यकभन्दा बढी समय खर्चिँदा दिमागमा डोपामिन नामक न्यूरोकेमिकलको अत्यधिक सक्रियता हुन्छ, जसले आनन्द दिन्छ । यस्तो अवस्थाले यौन क्रियामा अस्वस्थ निर्भरता उत्पन्न गर्छ ।
औषधि तथा लागुपदार्थको लत
विशेषगरी स्टेरोइड औषधि, कोकिन, अल्कोहल लगायत पदार्थहरूले मस्तिष्कको यौन सम्बन्धी क्षेत्रमा उत्तेजना बढाउँछ । यस्तो औषधिको लामो समयसम्म प्रयोगले दिमागमा सन्तुलन बिग्रन्छ र यौनबारे मात्र बारम्बार ध्यान जान्छ । यस्तो पदार्थप्रति लत बढ्दै जाँदा यौन व्यवहार असामान्य हुने सम्भावना बढ्छ ।
दिमागमा के-के चल्छ ?
जब कसैलाई यौनको लत हुन्छ । उसले पोर्न हेर्छ, तब उसको मस्तिष्कमा पनि त्यस्तै गतिविधिको कल्पना आइरहन्छन् । जसरी कुनै लागुऔषधको लत भएको व्यक्तिले लागूपदार्थ देख्दा हुन्छ ।
यस्तोमा यौनक्रिया गर्न ऊ आतुर हुन्छ । नपाउँदा औडाहाको स्थितिमा पुग्छ । कसैलाई जति यौन क्रिया गरे पनि सन्तुष्ट नहुने पनि हुनसक्छ ।
कस्ता देखिन्छन् लक्षण ?
१.बारम्बार यौनबारे सोच्नु
हाई लिबिडो भएका पुरुषहरू अफिस मिटिङ, घरको काम वा साथीहरूसँग समय बिताउँने वा जस्तोसुकै बेला पनि प्रायः यौनबारे सोचिरहन्छन् । यस्तो अवस्था प्रायः युवा र किशोरहरूमा देखिन्छ । साथै, जो पुरुष पोर्न भिडियो वा तस्बिरहरू धेरै हेर्छन्, उनीहरूमा पनि यो समस्या देखिने सम्भावना बढी हुन्छ ।
२.हस्तमैथुन गर्ने तीव्र इच्छा
एक निश्चित उमेरपछि हस्तमैथुन सामान्य हो । तर, यदि यो बानी अत्यधिक हुन्छ ।जस्तो: दिनमा वा हप्तामा धेरै पटक दोहोरिन्छ भने त्यो ‘हाई लिबिडो’ को संकेत हुन सक्छ।
३.सधैं यौन सम्बन्धको तयारीमा रहनु
यस्ता पुरुषहरू सधैं यौन क्रियामा संलग्न हुन चाहन्छन् । पार्टनर इच्छुक नहुने अवस्थामा जबरजस्ती गर्दा दाम्पत्य वा प्रेम सम्बन्धमा असन्तुलन ल्याउँछ ।
४.नयाँ-नयाँ यौन अनुभव खोज्नु
कसैकसैले आफ्नो यौन जीवनलाई ‘रोचक’ बनाइराख्न विभिन्न यौन आसन, नयाँ पार्टनर वा यौन खेलौना प्रयोग गर्न खोज्छन् ।
जस्तैः सेक्स टोय, अनौठा कल्पना आदिमा रुचि देखिनु हाई लिबिडोको संकेत हुनसक्छ ।
५.बारम्बार यौन साथी परिवर्तन गर्नु
धेरै पुरुषहरू एकैसमय धेरै पार्टनरसँग सम्बन्धमा हुन्छन् । उनीहरूका लागि यौनमा भावनात्मक भन्दा पनि ‘शारीरिक तृष्णा’ मात्र हुन्छ । यस्तो व्यवहार पनि हाई लिबिडोको संकेत हो ।
६.पोर्नको लत लाग्नु
हाई लिबिडो भएको व्यक्तिले दिनको धेरै समय पोर्न हेर्नेमा बिताउँछ । उनले यौन उत्तेजना महसुस गर्न पोर्नबिना सम्भव नहुने अवस्था आफूलाई बनाइसकेका हुन्छन् ।
७.यौन इच्छामा अवरोध आए चिडचिडापन देखाउनु
जब यौन इच्छा पूरा हुँदैन, तब यस्ता पुरुषहरू चाँडै रिसाउँछन् । तनावमा जान्छन् वा डिप्रेसनको शिकार बन्न सक्छन् । सानो कुरामा आक्रोश, आत्मग्लानि, निराशा वा शारीरिक थकान महसुस हुनसक्छ ।
८.यौन उत्तेजनामा नियन्त्रण नहुनु
कहिलेकाहीं यस्ता पुरुषहरू आफ्नो यौन उत्तेजनामा नियन्त्रण गर्न सक्दैनन्, र सार्वजनिक स्थानहरूमा पनि अनुचित व्यवहार गर्न सक्छन् ।
९.नाइटफल वा सुत्दा यौन गतिविधि देखिनु
सुत्दासुत्दै बारम्बार नाइटफल हुनु वा सपनामै हस्तमैथुन गर्नु पनि हाई लिबिडोको संकेत हुनसक्छ ।
१०.यौनलाई तनाव कम गर्ने उपाय मान्नु
हाई लिबिडो भएका पुरुषहरूका लागि यौन केवल प्रेमजन्य क्रिया होइन, एक किसिमको ‘तनावबाट बच्ने माध्यम’ हुन्छ ।
उनीहरू भावनात्मक रूपमा हैन, मानसिक राहतका लागि यौन क्रिया गर्छन् । दिनभर यौन कल्पनामा हराउनु, काममा वा दैनिक जीवनमा ध्यान दिन नसक्नु ।
यसले कस्तो समस्या ल्याउन सक्छ ?
मस्तिष्कको यौन इच्छा रोक्ने, नियन्त्रण गर्ने प्रक्रिया विफल हुन्छ । यौन गतिविधिमा अत्यधिक रुचिले पार्टनरसँगको सम्बन्ध बिग्रिनसक्छ । ठ्याक्कै लागूऔषध वा रक्सीको लतजस्तै, यौन लत बस्दा उनीहरूले गर्ने यौन व्यवहारका कारणे शारीरिक र मानसिक स्वास्थ्य, व्यक्तिगत सम्बन्ध, जीवनको गुणस्तर र सुरक्षामा नकारात्मक असर पार्न सक्छ। साथी, परिवार वा पार्टनरसँगको सम्बन्धमा दूरी आउनु वा झगडा बढ्न सक्छ ।
यौन क्रियापछि मनमा ग्लानि, आत्मग्लानि वा पछुतो महसुस हुन पनि सक्छ । दैनिक आवश्यक कामलाई छोडेर यौन क्रियामा समय खर्च गर्ने बानी विकास हुन्छ ।
के गर्ने ?
पहिला त आफूमा आइरहेको इच्छा प्राकृतिक हो कि नचाहँदा नचाहँदै आइरहेको छ भनेर आत्ममूल्यांकन गर्नु आवश्यक छ । याैन साेच आउने बित्तिकै एकान्तमा बसिराख्नु भन्दा सार्वजनिक ठाउँ वा घरपरिवार भएको ठाउँमा घुलमिल हुन जानु राम्रो हुन्छ ।
त्यो ठम्याउन नसक्ने स्थितिमा मानसिक स्वास्थ्य विशेषज्ञ वा यौन चिकित्सकसँग सल्लाह लिन सकिन्छ । शरीरको टेस्टोस्टेरोन स्तरको परीक्षण गर्नु उपयुक्त हुन्छ ।
मनोपरामर्शसँगै ध्यान, व्यायाम र स्वस्थ जीवनशैली अपनाउनु लाभदायक हुन्छ ।
पोर्न तथा उत्तेजक सामग्रीबाट टाढा रहन खोज्ने, आफूलाई व्यस्त राख्न सिर्जनात्मक कार्यहरूमा जोड दिँदा पनि यो समस्या कम हुनसक्छ ।
प्रतिक्रिया 4