News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल भलिबल संघले भरत यादवलाई पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक र उत्सव खड्कालाई सहायक प्रशिक्षक नियुक्त गरेको छ।
- पुरुष राष्ट्रिय भलिबल टिममा कप्तान पद एक वर्षदेखि खाली छ ।
- धेरै सिनियर खेलाडीहरू विदेश गएकाले राष्ट्रिय टिममा खेलाडी कम भएका छन् ।
१८ भदौ, काठमाडौं । भलिबल नेपालको राष्ट्रिय खेल हो । तर त्यही राष्ट्रिय खेलको पुरुष राष्ट्रिय भलिबल टिम अहिले कप्तानविहीन छ ।
नेपाल भलिबल संघले आसन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गर्दै भरत यादवलाई पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । यस्तै उत्सव खड्कालाई सहायक प्रशिक्षक बनाएको छ ।
आगामी अक्टोबरमा बंगलादेशमा काभा मेन्स नेसन्स लिग हुँदैछ । त्यसको तयारीका लागि भलिबल संघले मुख्य प्रशिक्षक र प्रशिक्षक नियुक्त गरेको हो ।
तर कप्तानविहिन भएको एक वर्ष पुग्न लाग्दासम्म अहिलेसम्म कप्तान तोकिएको छैन । यसअघि कप्तान रहेका मानबहादुर श्रेष्ठले सन्यास नै घोषणा गर्दै अष्ट्रलिया लागेपछि अहिले कप्तान पद खाली छ ।
२०८० साउनमा राष्ट्रिय टिमका कप्तान नियुक्त भएका मान बहादुरले २०८१ कात्तिकमा कप्तानसहित राष्ट्रिय टिमबाटै सन्यास लिएका थिए ।
मानबहादुरअघि हरिहजुर थापा पुरुष राष्ट्रिय टिमका कप्तान थिए । तर भलिबल संघले हरिहजुरलाई अनुशासनको कारवाही गरेपछि उनको स्थानमा मानबहादुर नयाँ कप्तान नियुक्त भएका थिए ।

अहिले मानबहादुरले नै कप्तान छाडेको एक वर्ष पुग्न लागिसकेको छ । नेपाली पुरुष राष्ट्रिय भलिबल टिमले यसबीचमा कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेको पनि भलिबल संघले कप्तान नतोकेको हुन सक्छ ।
नेपालले खेल्ने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता रहेपनि भलिबल संघले सहभागी भने गराएन ।
तर अब कात्तिकमा बंगलादेशमा काभा मेन्स नेसन्स लिग हुने भएपछि भलिबल संघले त्यसमा सहभागी हुने निर्णय गरिसकेको छ र त्यसको तयारीको संकेत गर्दै मुख्य प्रशिक्षक र प्रशिक्षक नियुक्त गरिसकेको छ । अब कप्तान नियुक्त गर्दै टिमको तयारी गर्न भने बाँकी छ ।
को बन्ला नयाँ कप्तान?
अहिलेको प्रश्न भनेको पुरुष भलिबल टिमको कप्तान कहिले चयन हुन्छ? अनी को बन्छ नयाँ कप्तान? भन्ने छ ।
नेपाली पुरुष भलिबल टोलीले कम अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएकोले नेपालको सिनियर पुरुष भलिबल खेलाडीहरू अहिले राम्रो भविष्य हेर्दै विदेश जान थालेका छन् ।
मानबहादुरसहित धेरै खेलाडीको गन्त्वय अस्ट्रेलिया बनेको छ । केही दिनअघि मात्रै अहिलेका राम्रा खेलाडीका रुपमा रहेका रविन चन्द पनि नेपाल छाडेर अस्ट्रेलिया लागिसकेका छन् ।
सिनियर खेलाडीहरू अस्ट्रेलिया लाग्ने क्रम जारी हुँदा पुरुष राष्ट्रिय टिममा भलिबल खेलाडी कम हुँदै गएको छ ।
अहिले नेपालको पुरुष भलिबल टिममा धेरै खेलाडीहरू छैनन् । पछिल्लो पटक राष्ट्रिय टिममा खेलेका मध्ये नेपालमै रहेका चर्चित हुने धनबहादुर भट्ट क्षेत्री हुन् । उनको ब्याचमा राष्ट्रिय टिममा खेल्ने सिनियर खेलाडीहरू लगभग अधिकांश विदेश पलायन भइसकेका छन् ।
उनीहरू नेपालमा हुने मुख्य राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न नेपाल आउने गरेपनि बाँकी समय विदेशमै बस्न थालेका छन् । पछिल्लो समय पोखरामा भएको नवौं पीएम कप एनभीए भलिबल लिगमा अस्ट्रेलियाबाट मान बहादुर र टेक अवस्थीले नेपाल आएर खेलेका थिए । पछि उनीहरू फर्किए ।
यस्तै विशाल विक, हेमन्त मल्ल, राजेन्द्र विष्ट, सम्राट भण्डारी जस्ता खेलाडीहरू अस्ट्रेलियामै रहेर विभिन्न सथ्निय प्रतियोगिताहरू खेल्दै आएका छन् ।
धेरैजसो खेलाडी अस्ट्रेलिया पलायन भइरहँदा राष्ट्रिय पुरुष भलिबल टिमको खेल कहिले होला? को कप्तान बन्ला? भन्ने विषय भलिबल समर्थक देखि सबै भलिबल प्रेमीका लागि चासोको रुपमा रहँदै आएको छ ।
नेपाल भलिबल संघले अहिले कम्तीमा पुरुष भलिबल टोलीले खेल्ने आगामी प्रतियोगिताको टुङ्गो लगाउँदै मुख्य प्रशिक्षक र प्रशिक्षक तोकेपछि कप्तान पनि चाँडै घोषणा हुने अपेक्षा राख्न सकिन्छ । तर अब नेपालको राष्ट्रिय खेल भलिबलको राष्ट्रिय टिम कसले लिड गर्छ? त्यो भने मुख्य प्रश्नको रुपमा छ ।
किनभने दुई वर्षदेखि नेपालको पुरुष भलिबल टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन । अहिले सिनियर खेलाडीहरूमा धनबहादुरबाहेक राष्ट्रिय टिमको कप्तानी गरिसकेका हरिहजुर थापा लगायत सीमित खेलाडी मात्र छन् । उनीहरू मध्ये बाटै कोही एक खेलाडी कप्तान चयन हुन सक्छन् ।
नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले काभा मेन्स कपमा लागि आउने असोज १ गतेदेखि प्रशिक्षण सुरु हुने र कप्तान पनि त्यसपछि चयन गरिने जानकारी दिए ।
‘काभा मेन्स नेसन्स लिगका लागि मुख्य प्रशिक्षक र प्रशिक्षक चयन गर्यौँ । अब असोज १ गतेदेखि प्रशिक्षण सुरु गर्छौँ । त्यसपछि कप्तान पनि विस्तारै चयन हुनेछ,’ महासचिव श्रेष्ठले अनलाइनखबरसँग भने, ‘पुरुक्ष टिम छनोटका लागि छनोट समिति बनाएका छौं । समितिले नेपालका भएका खेलाडीहरूबाट प्रशिक्षणका लागि १८ खेलाडी छनोट गर्नुहुनेछ । त्यसपछि अन्तिम १२ जनाको टोली छानिनेछ’ उनले भने ।
लामो समय प्रतियोगिता नहुँदा खेलाडी विदेशमा
सन् २०२३ मा नेपालको पुरुष टोलीले एकै वर्ष तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेपनि बीचमा लामो समय कुनै प्रतियोगितामा सहभागिता जनाएन ।
सन् २०२३ सेप्टेबर अर्थात २०८० असोजमा चीनमा १९औं एसियन गेम्स खेले लगत्तै श्रीलंकामा काभा च्यालेन्ज लिग खेलेको नेपालले त्यसयता पुरुष अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन । त्यही वर्ष
त्यसअघि कीर्गिस्तानमा भएको काभा नेसन्स लिग खेलेको थियो ।
नेपालले श्रीलंकामा भएको काभा च्यालेन्ज लिग खेलेको दुई वर्ष हुन लागिसकेको छ ।
तयसबेला नेदरल्याण्डका प्रशिक्षक हान अबिङ नेपाली पुरुष टिमका मुख्य प्रशिक्षक र भरत यादव उनको सहायक थिए । अहिले भरत यादवलाई नै भलिबल संघले मुख्य प्रशिक्षकमा बढुवा गरेको छ भने घरेलु भलिबलका सफल प्रशिक्षक उत्सव खड्कालाई उनको सहायक बनाएको छ ।
यस्तै दुई वर्षअघि नेपाली राष्ट्रिय टिमबाट खेलेका ५ खेलाडी मात्र हाल नेपालमा छन् भने ७ खेलाडी विदेश गइसकेका छन् ।
काभा च्यालेन्ज कप खेलेको टिमका तत्कालीन कप्तान मानबहादुरसँगै विशाल विक, टेक अवस्थी, लोकेन्द्र गिरी, हेमन्त मल्ल, रविन चन्द र सम्राट भण्डारी हाल विदेशमा छन् ।
यसबाहेक सफल विक, दुर्गा बहादुर खड्का, विनोद चन्द, धिरोजकाजी बस्नेत र मनिष मानन्धर मात्र नेपालमा छन् ।
सिनियर खेलाडीहरूले विदेश विकल्प रोज्दा अहिले नेपाली भलिबलमा युवा पुस्ताका खेलाडीहरू समेत आइसकेका छन् । गत वर्ष श्रीलंकामा भएको काभा यू-२० पुरुष भलिबलमा ऐतिहासिक रजत जितेको टोलीका अधिकांश खेलाडीहरू अहिले राष्ट्रिय टिमको ढोका ढकढकाईरहेका छन् ।
यस्तै उनीहरू घरेलु क्लब भलिबलमा सिनियर टिमबाट समेत खेल्दै आएका छन् । त्यसमा यू-२० टिमका कप्तान अर्जुन नेपाली हाल त्रिभुवन आर्मी क्लबबाट खेल्छन् भने पहल गहतराज लामो समयदेखि नेपाल पुलिस क्लबबाट खेल्दै आएका छन् ।
यस बाहेक अन्य युवा खेलाडीहरूले पनि घरेलु भलिबल खेलिरहेका हुन्छन् । राष्ट्रिय टिमबाट खेलिसकेका भेट्रान हरिहजुर थापा, दुर्गा महतो अनी घरेलु भलिबलमा चर्चित नाम हिमाल सुनारी, सन्जु विक्रम शाह लगायत खेलाडी पनि नेपालमा भलिबल खेलिरहेका छन् ।
प्रतिक्रिया 4