
२२ भदौ, काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवेशन अन्तर्गत समूहगत नेताहरूले समूहगत छलफलको सुझावमा ७० वर्षे उमेरहद, दुई कार्यकालको सीमा र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरणको विषय समेटेका छन् ।
कोशी प्रदेशले यी तीन विषयमा आधा/आधा जसो मत प्रकट भएको उल्लेख गरेको छ । सुदूरपश्चिम प्रदेशले उमेरहद र दुई कार्यकालको सीमाको अभ्यास उचित रहेको सुझाएको छ ।
गैरभौगोलिक प्रदेशले पनि ७० वर्षे उमेरहद, दुई कार्यकालको सीमा र विद्यादेवी भण्डारीको सदस्यता नविकरणको विषयमा पक्ष र विपक्ष दुवैतर्फ मत प्रकट भएको सुझावमा समेटेर प्रस्तुत गरेको छ ।
समूहगत रुपमा प्रस्ताव गरिएको सुझाव अहिले नै भने संशोधन नहुने जवाफ नेतृत्वले दिएका छन् ।
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावमा आएका संशोधनहरू अहिले नै अघि बढ्न नसक्ने जानकारी गराएका हुन् ।
आइतबार आफूले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले आफूले प्रस्तुत गरेको विधान संशाधन प्रस्ताव तर्कसहित ल्याएको बताए ।
पौडेलले भनेका छन्, ‘प्रस्तावभन्दा बाहिर आएका कुनै पनि कुरा संशोधन गर्न सकिँदैन । तर्कसहित यो प्रस्ताव गरिएको हो । संशोधन प्रस्ताव अघि बढ्दैन ।’
प्रतिक्रिया 4