२५ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा आफू भागेको भनेर विभिन्न टिप्पणीहरू हुने गरेकोप्रति आपत्ति जनाएका छन् ।
बिहीबार राजधानीमा सम्पादकहरूसँगको सम्वादका क्रममा उनले यस्तो आपत्ति जनाएका हुन् । साथै, उनले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रश्न गर्दै भनेका छन्, ‘नभागेको भए के गर्नुहुन्थ्यो ?’
आफू राजधानी वरपर नै कसैको घरमा बसेको र डेरा पाउनासाथ गुन्डुमा सरेको ओलीको भनाइ छ ।
‘मैले डेरा खोजेँ । पाएपछि सरेँ । डेरा नसर्दा म यहाँ छु भनेर डाँडाडाँडामा गएर माइक लगाउने कुरा त भएन नि,’ ओलीले भनेका छन्, ‘२ गते म गुन्डुमा आएँ । त्यहाँ फुत्त निस्किएँ त । यतै कतै आसपासमा रहेछु र त फुत्त निस्किएँ नि । एयरपोर्ट बन्द थियो के रे ।’
उनले विमानस्थलमा गएर टिकट हेरे हुने पनि बताए ।
‘आफ्नो घरमा नहुँदा अर्काको डेरामा हुँदा धाक लगाएर असहज त पारिदिन भएन नि,’ ओलीको भनाइ छ ।
साथै, आफू नभागेरै बसेको भए के गरिन्थ्यो ? भनेर प्रश्न गरे ।
‘नभाग्या भए के गर्थे त सुशीला जी वा अरुले ? के गर्नुहुन्थ्यो उहाँले ? हुन त भाषा सुनिएको छ, रेकर्डमा आएको छ । तर पनि उहाँहरूकै मुखबाट सुनौं न त ? जेनजी नेताहरू सुशीला कार्कीहरूलाई नै सोध्छु,’ ओलीले भने ।
प्रतिक्रिया 4