२९ मंसिर, काठमाडौं । केपी शर्मा ओलीलाई विस्थापित गर्दै नेकपा एमालेको नेतृत्वमा पुग्ने दौडमा निस्किएका ईश्वर पोखरेललाई आइतबार साँझसम्म उम्मेदवार संख्या पुर्याउनै मुस्किल थियो ।
अझ उद्घाटन सत्र सकिएपछि केन्द्रीय कमिटी बैठक राखेर विधान महाधिवेशनको निर्णय उल्ट्याउँदै पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाइयो । ओलीले आकांक्षी नेताहरूको व्यवस्थापन गर्न विधान संशोधन गर्दा पोखरेललाई भने पदाधिकारी उठ्ने उम्मेदवार जुटाउनै मुस्किल जस्तो देखिन्थ्यो ।
उनलाई साथ दिने पक्षमा उभिएका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले राजनीतिक अवकाशको बाटो रोज्दै थिए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नहुँदा राजनीतिमा आउनै पाइनन् । कोकेका संस्थापक नेताहरू अमृत बोहोरा र मुुकुन्द न्यौपानेहरूले कुनै आकांक्षा नराखी पोखरेललाई साथ दिने पक्षमा थिए ।
यो अवस्थामा पोखरेलको टिममा बस्ने सिनियर तीन नेता थिए– सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई । यसमा कर्ण थापा, गोकुल बाँस्कोटा, विनोढ ढकाल, ठाकुर गैरे, रचना खड्काहरू राखेर पदाधिकारी बनाउने तयारी भइरहेको थियो ।
‘नेताहरूकै कुरा गर्दा हामीसँग १९ जना पदाधिकारी पुर्याउनै मुस्किल जस्तो थियो,’ ईश्वर समूहका एक शीर्ष नेता भन्छन् । अर्कातिर ओलीको टिममा परेर पदाधिकारी हुन चाहने नेताहरूको भीड थियो । पोखरेल समूहले यही भीडबीच टिकट नपाउनेलाई तान्ने योजना बनाएका थिए ।
त्यसैले १५ जना पदाधिकारी रहने र छुट्टै स्थायी कमिटी संरचना नरहने विधान महाधिवेशनको निर्णयको पक्षमा पोखरेलले अडान लिएका थिए । शुक्रबार बसेको सचिवालय बैठकबाटै पदाधिकारी संख्या नबढाउने निर्णय गराउन यो समूह सफल भएको थियो ।
तर ओलीले आफूसँग रहेको बहुमतको प्रयोग गर्दा करौडौं खर्चेर भएको विधान महाधिवेशनको निर्णय उल्ट्याए । आलोचनाबीच पदाधिकारी संख्या बढाउनुको उद्देश्य आकांक्षी नेताहरूलाई सकेसम्म मिलाउनु नै थियो ।

‘सकेसम्म धेरैलाई मिलाउने प्रयास भयो । लेखराज भट्टले सचिव बस्न नमानेपछि भानुभक्त ढकाललाई दिइएको उपमहासचिव पद दिइयो,’ ओली निकट एक नेता भन्छन्, ‘माओवादी फ्याक्टर मिलाउने काम भए पनि आफ्नैहरूलाई मिलाउन गाह्रो भयो ।’
मनोनयन दर्ताको समय दिउँसो १ बजेबाट सार्दै साँझ ५ बजे पुर्याउँदा समेत ओलीले आफ्नो टिमका असन्तुष्ट मिलाउन सकेनन् । अन्तत: नेताहरूले धमाधम ओलीलाई छोड्दै पोखरेललाई साथ दिने निर्णय लिए ।
सधैं साथ दिने नेताहरूले नै ओलीको निर्णय अवज्ञा गरे । पदाधिकारीमा कुरा नमिल्दा ओलीलाई नजिकबाट साथ दिइरहेका प्रदीप ज्ञवाली, राजेन्द्र गौतम, अग्नि खरेल, काशीनाथ अधिकारी, रघुजी पन्तहरूले विद्रोह रोजे ।
महासचिवमा शंकर पोखरेललाई नै निरन्तरता दिने निर्णय पछि प्रदीप ज्ञवालीले उपाध्यक्ष पदमा उम्मेदवारी नै दिएनन् । ओलीले ज्ञवाली सहित पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा र गुरु बराललाई समेट्नेगरी ५ उपाध्यक्षको व्यवस्था गरेका थिए ।
तर ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएपछि ओली टिममा एक उपाध्यक्ष रिक्त हुन पुग्यो । तर पदाधिकारीमा आकांक्षा राखेपनि सूचीमा नसमेटिए पछि भीम आचार्य र रघुजी पन्तले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनबाट विस्थापित ओली सरकारमा पन्त शिक्षामन्त्री थिए ।
त्यही सरकारमा प्रमुख सल्लाहकार रहेका अग्नि खरेलले सचिव पदमा उम्मेदवारी दिएका छन् । ओलीले रोजाइमा परेर सधैं पार्टी प्रचार विभाग प्रमुखको जिम्मेवारी पाउँदै आएका राजेन्द्र गौतमले उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् । ओली टिमबाटै पदाधिकारीको आश गरेका आनन्द पोखरेलले उपमहासचिव, लालबाबु पण्डित र पेम्बा लामाले सचिव पदमा उम्मेद्वारी दिएका छन् ।
ओली टिमबाट परेपछि बागी उम्ेमद्वारी दिने संख्या पदाधिकारीमा जस्तै केन्द्रीय सदस्यहरूमा समेत देखिएको छ । जसले ओली र उनको टिमलाई कमजोर पारेको प्रष्ट देखिन्छ ।
तर ओली समूहमा भएको विद्रोहबाट पोखरेल समूहलाई भने देखिनेगरी लाभ पुगेको छ । ‘केही नेताहरूले खुलेर प्यानलमै बस्छु भन्नुभयो । नखुले पनि धेरै उम्मेद्वारी पर्दा हामीलाई टीम बनाउन सजिलो भयो,’ पोखरेल पक्षका एक नेता भन्छन् ।
राजधानीमा राम्रो प्रभाव रहेको र कुनै समय ओलीको प्रशंसाकै कारण चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले पोखरेल समूहबाट सचिवमा उम्मेद्वारी दिए । उनको प्रभाव बागमतीमा जर्बजस्त रहेको नेताहरू बताउँछन् । अझ नेवारी समुदायका नेतालाई आफ्नो पक्षमा पार्न सकेकोमा पनि यो समूह खुशी देखिन्छ ।
‘हाम्रो समूहमा प्रभावशाली नेताको समीकरण मात्र छैन, समावेशी पनि छ । सकेसम्म सबै समुदायका नेताहरू समेट्ने प्रयास गरेका छौं,’ ती नेता भन्छन् ।
राजधानीकै अर्का नेता रघुजी पन्त पनि पोखरेल समूहको उपाध्यक्षमा बसेका छन् । यद्यपि उनलाई तान्ने प्रयास ओली समूहले गरिरहेको स्रोत बताउँछ । उपाध्यक्षमा पाँचै जनाको कोट पुर्याउन पन्तलाई कित्ता परिवर्तन गराइए पनि पोखरेल समुहले पाइसकेको लाभ घटाउन सक्ने अवस्था देखिन्नँ ।
प्रतिक्रिया 4