+

कोलेस्टेरोल सामान्य हुँदा पनि हृदयघात किन हुन्छ ? जोखिम चिन्ने सरल उपाय

२०८२ पुष  १६ गते १२:३६ २०८२ पुष १६ गते १२:३६

कम उमेरदेखि नै सतर्क रहनु जरुरी छ । ३०–३५ वर्षको उमेरमै कोलेस्टेरोल र ब्लड प्रेसर जाँच गराउनुपर्छ ।

Shares
कोलेस्टेरोल सामान्य हुँदा पनि हृदयघात किन हुन्छ ? जोखिम चिन्ने सरल उपाय

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाडो मौसममा चिसो र शीतलहरले मुटुको नसाहरू साँघुरो बनाउँदा हृदयघातको जोखिम २ देखि ७ दिनसम्म बढ्छ।
  • ४० वर्षभन्दा कम उमेरका युवाहरूमा पनि हृदयघात बढ्दै गएको छ र जीवनशैली मुख्य कारण हो।

मुटुरोगका कारण हुने ५० प्रतिशतभन्दा बढी मृत्यु हृदयघात र स्ट्रोकका कारण हुने गर्छन् । सामान्यतया मानिसहरूमा यस्तो धारणा छ कि, यदि कोलेस्टेरोलको स्तर ठीक छ भने मुटु पनि स्वस्थ नै हुन्छ । तर के केवल कोलेस्टेरोलको स्तर सामान्य हुनु नै मुटु स्वस्थ भएको ग्यारेन्टी हो त ?

कोलेस्टेरोल बाहेक ती कुन–कुन संकेत र कारकहरू हुन्, जसले हृदयघातको चेतावनी पहिल्यै दिन सक्छन्  । जाडो मौसममा मुटुको कसरी ख्याल राख्न सकिन्छ  ?

जाडोमा जोखिम

अमेरिकन कलेज अफ कार्डियोलोजीको प्रमुख जर्नल जेएसीसीमा सन् २०१९ मा प्रकाशित एक अध्ययनलाई युरोपियन सोसाइटी अफ कार्डियोलोजीको २०१९ कांग्रेसमा प्रस्तुत गरिएको थियो । यस अध्ययनमा अत्यधिक चिसो मौसम र अचानक आउने शीतलहरले हृदयघातको जोखिम बढाउने उल्लेख गरिएको छ । अध्ययनअनुसार, यो जोखिम चिसो सुरु हुनासाथ मात्र होइन, चिसो बढेको २ देखि ७ दिनको अवधिमा सबैभन्दा बढी हुन्छ ।

यस्तै, अमेरिकन हार्ट एसोसिएसनको तथ्यांकअनुसार हरेक वर्ष क्रिसमस र नयाँ वर्षको आसपास हृदयघात र मुटुसम्बन्धी मृत्युका घटना सबैभन्दा धेरै दर्ता हुने गर्छन् । चिसो मौसम, जीवनशैलीमा हुने परिवर्तन र शारीरिक प्रतिक्रियाहरूको संयोजनले मुटुमाथि अतिरिक्त दबाब पर्छ ।

जाडोमा हृदयघातको जोखिम बढ्नुका मुख्य चार कारण छन्, जब मौसम चिसो हुन्छ, शरीरले आफूलाई न्यानो राख्न रक्तनलीहरू र नसाहरू संकुचित गर्छ । यसले मुटुको मुख्य नसाहरू ‘कोरोनरी आर्टरी’पनि साँघुरो बनाउँछ । परिणामस्वरूप मुटुसम्म पुग्ने रगत र अक्सिजनको मात्रा कम हुन जान्छ ।

जाडोमा पसिना कम आउँछ र मानिसहरू कम हिँडडुल गर्छन् । यसले शरीरमा प्लाज्माको मात्रा बढाउँछ, अर्थात् कुल रगतको मात्रा बढ्छ । यसले ब्लड प्रेसर र मुटुको धड्कन बढ्न सक्छ, जसले मुटुमाथि बढी बोझ पार्छ ।

चिसो मौसममा शरीरको मेटाबोलिज्म केही सुस्त हुन्छ । मानिसहरूले अनायासै बढी क्यालोरी भएका खानेकुरा जस्तै गाजरको हलुवा, तारेका पकौडा आदि खान थाल्छन् । साथै बाहिर हिँडडुल वा व्यायाम पनि कम हुन्छ । यसले तौल र कोलेस्टेरोल बढ्ने जोखिम बढाउँछ ।

जाडोमा शरीरका हर्मोनमा केही परिवर्तन हुन्छ, जसले रगतमा क्लट बन्ने प्रवृत्ति बढाउँछ । यदि यस्तो क्लट मुटुको नसामा अड्कियो भने नसा बन्द भई हृदयघात हुन सक्छ ।

जसलाई पहिले नै उच्च रक्तचाप वा मुटुसम्बन्धी समस्या छ, उनीहरूका लागि जाडोमा धेरै सूप वा नुनिलो खानेकुरा खानु जोखिमपूर्ण हुन सक्छ । धेरै नुनले ब्लड प्रेसर बढाउँछ र हार्ट फेलियरको जोखिम पनि बढ्छ ।

जाडोमा मुटुको कसरी ख्याल राख्ने

यस मौसममा कम सक्रियता, धेरै तारे–भुटेका खानेकुरा खानु र तनाव धेरै लिनु मुटुका लागि हानिकारक हुन्छन् । तौल नियन्त्रणमा राख्नुपर्छ, किनकि अतिरिक्त तौलले मुटुमाथि बोझ पार्छ । तनाव कम गर्न दैनिक योग, ध्यान गर्नुपर्छ र ७–८ घण्टा राम्रोसँग सुत्नुपर्छ ।

खानामा पकौडा, समोसा जस्ता तारे–भुटेका खानेकुरा कम गर्नुपर्छ । यसको सट्टा फलफूल, तरकारी र दाल रोज्नुपर्छ । धेरै नुन र चिनीबाट जोगिनु्पर्छ । युवाहरूमा बढ्दो मुटुरोगलाई ध्यानमा राख्दै धूम्रपान र मदिरा सेवन त्याग्नुपर्छ ।

ब्लड प्रेसर, सुगर र कोलेस्टेरोलको नियमित जाँच गराउनु पर्छ । छाती दुख्ने, सास फेर्न गाह्रो हुने वा चक्कर लाग्ने जस्ता लक्षण देखिए तुरुन्तै डाक्टरसँग सम्पर्क गर्नुपर्छ । यी साना परिवर्तनहरूले जाडोमा पनि हृदयघातको जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ ।

हृदयघातका लक्षण

सन् २०२३ मा आईसीएमआर र एम्सले गरेको एक अध्ययनअनुसार युवाहरूको अचानक मृत्युको सबैभन्दा ठूलो कारण मुटुसम्बन्धी रोगहरू हुन् । मुटुसम्बन्धी मृत्युहरूमा करिब ७५ प्रतिशत अवस्थामा धमनीमा बोसो जम्ने ‘कोरोनरी आर्टरी डिजिज’का कारण हृदयघात प्रमुख कारण बनेको छ ।

हृदयघातका घटना युवाहरूमा पनि तीव्र रूपमा बढ्दै छन् । ४० वर्षभन्दा कम उमेरका मानिसमा पनि हृदयघात सामान्य बन्दै गएको छ । कुल केसहरूमध्ये करिब २५–३० प्रतिशत ४० वर्षभन्दा कम उमेरका युवाहरूमा देखिन्छ ।

पाटन अस्पतालमा एक वर्षमा १० भन्दा बढी ४० वर्ष मुनिका व्यक्तिहरूलाई मुटुको उपचार गरिएको छ, जसमध्ये न्यूनतम २६ वर्षको युवालाई पनि यस उपचार गरिएको छ। युवाहरूमा हार्ट अटैक बढ्दो अवस्थाको प्रमुख कारण जीवनशैलीमा देखिन्छ, जसमा धूम्रपान, मध्यपान र जाडो मौसममा चिसो छल्न बढी धूम्रपान गर्ने बानी मुख्य छन् ।

त्यसैले हृदयघातका लक्षणबारे जान्नु अत्यन्त जरुरी छ, ताकि समयमै उपचार लिन सकियोस् ।

छातीको बायाँ भाग वा बीचमा दुखाइ, भारीपन, दबाब वा पोल्ने जस्तो अनुभूति हुनु । दुखाइ पेटको माथिल्लो भागदेखि तलतिर फैलिनु । दुखाइ बायाँ हातसम्म फैलिनु । साथै अत्यधिक घबराहट, पसिना आउनु, चक्कर लाग्नु र सास फेर्न गाह्रो हुनु । यस्ता कुनै पनि लक्षण देखिए ढिलाइ नगरी तुरुन्तै चिकित्सकीय सहायता लिनुपर्छ ।

सबैलाई छाती दुख्ने लक्षण देखिनै पर्छ भन्ने छैन । कतिपयलाई कारण नखुलेको सास फेर्न गाह्रो हुने मात्र हुन्छ । यस्तो अवस्थामा गतिविधि आफैं सीमित नगरी तुरुन्त डाक्टरसँग सल्लाह लिनुपर्छ । यी लक्षण बेवास्ता गर्नु खतरनाक हुन सक्छ ।

साइलेन्ट फ्याक्टरहरू

अब प्रश्न उठ्छ कोलेस्टेरोलबाहेक यस्ता कुन–कुन ‘साइलेन्ट फ्याक्टर’ वा मार्करहरू छन्, जसले मुटुरोगको जोखिम पहिल्यै संकेत गर्छन् ? एपो बी लेभलः यो प्रत्येक खराब कोलेस्टेरोल पार्टिकलमा हुन्छ । एपो बी लेभलले रगतमा रहेका खराब पार्टिकलको वास्तविक संख्या देखाउँछ र मुटुरोगको जोखिम अझ सही रूपमा आँकलन गर्न मद्दत गर्छ ।

लिपोप्रोटिन (ए) लेभल : यो एक जेनेटिक फ्याक्टर हो, जुन जन्मजात तय हुन्छ र सजिलै परिवर्तन गर्न सकिँदैन । दक्षिण एसियालीहरूमा यसको स्तर प्रायः बढी हुन्छ, जसले मुटुरोग र हृदयघातको जोखिम बढाउँछ ।

हेमोग्लोबिन एचबीए१सी : यो ब्लड टेस्टले पछिल्ला २–३ महिनाको औसत ब्लड सुगर देखाउँछ । यसको स्तर बढी भएमा डायबिटिज बाहेक पनि मुटुरोगको जोखिम स्वतन्त्र रूपमा बढ्छ ।

हृदयघातको जोखिम पत्ता लगाउन केही महत्त्वपूर्ण प्यारामिटर र टेस्टहरू छन्, जसको जाँच गरेर पहिले नै सतर्क हुन सकिन्छ ।

सधैं नर्मल राख्नुपर्ने मुख्य प्यारामिटरहरू

तौल र बीएमआई : बीएमआई १८.५ देखि २४.९ को बीचमा हुनुपर्छ ।

कोलेस्टेरोल लेभल एलडीएल (खराब कोलेस्टेरोल) : कोलेस्टेरोलले मात्र हार्ट अटैक गराउने होइन, तर एलडिएल कोलेस्टेरोललाई सामान्य व्यक्तिमा १०० भन्दा तल, डायबिटिज बिरामीमा ७० भन्दा तल र मुटु रोगीमा ५५ भन्दा तल राख्न सिफारिस गरिन्छ ।

एचडीएल (राम्रो कोलेस्टेरोल) : सामान्यतया ४० एमजी÷डिएल भन्दा माथि राम्रो मानिन्छ ।

हाइ सेन्सिटिभ सी–रिएक्टिभ प्रोटिन : यसले धमनीमा हुने भास्कुलर इन्फ्लेमेसन मापन गर्छ । कोलेस्टेरोल नर्मल भए पनि यदि यो बढी छ भने धमनीमा जम्मा भएको प्लाक फुट्ने जोखिम बढ्छ । विशेषगरी तनाव वा अचानक कडा व्यायाम गर्दा धक्का बन्ने र हृदयघात हुने सम्भावना हुन्छ ।

जोखिम गणना गर्ने तरिका

फ्रेमिङ्घम रिस्क क्याल्कुलेटर : यसले आगामी १० वर्षमा हृदयघातको जोखिम कति छ भन्ने देखाउँछ । यसमा उमेर, लिङ्ग, कोलेस्टेरोल र ब्लड प्रेसरजस्ता फ्याक्टर समावेश हुन्छन् । यदि जोखिम १० प्रतिशतभन्दा बढी आयो भने डाक्टरले औषधि सुरु गर्नेबारे विचार गर्न सक्छन् ।

कोरोनरी आर्टरी क्याल्सियम स्कोर : यो सीटी स्क्यानबाट गरिन्छ । स्कोर शून्य भन्दा जति धेरै हुन्छ, हृदयघातको जोखिम त्यति नै बढी हुन्छ ।

केही अन्य महत्त्वपूर्ण परीक्षणहरू जस्तै यदि डायबिटिज वा अन्य समस्या भएको शंका छ भने ईसीजी, इको र टीएमटी (ट्रेडमिल टेस्ट) गराउनुपर्छ । टीएमटीमा हिँड्दा ईसीजी जोडिन्छ, जसले सुरुवाती चरणमै समस्या पत्ता लगाउन मद्दत गर्छ ।

कम उमेरदेखि नै सतर्क रहनु जरुरी छ । ३०–३५ वर्षको उमेरमै कोलेस्टेरोल र ब्लड प्रेसर जाँच गराउनुपर्छ र ४०–४५ वर्षको उमेरमा फ्रेमिङ्घम रिस्क क्याल्कुलेटर, कोरोनरी आर्टरी क्याल्सियम स्कोर र टीएमटी गराएर पहिल्यै सजग हुन सकिन्छ ।

कोलेस्टेरोल हृदयघात
डा. आनन्द जिसी
लेखक
डा. आनन्द जिसी
मुटुरोग विशेषज्ञ

डा. जिसी  ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा कार्यरत छन् । नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर उनको ९४५२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय