+

‘क्वाड्रपल टेस्ट’ : गर्भावस्थामा डाउन सिन्ड्रोम जस्ता जोखिम पत्ता लगाउने परीक्षण

२०८२ फागुन  २७ गते १६:३२ २०८२ फागुन २७ गते १६:३२

गर्भको १४ हप्ता देखि २२ हप्ता ६ दिनभित्र गरिने यो साधारण रगत परीक्षणले बच्चामा जन्मिँदैदेखि हुन सक्ने समस्याको सम्भावना कति छ भन्ने संकेत दिन्छ ।

Shares
‘क्वाड्रपल टेस्ट’ : गर्भावस्थामा डाउन सिन्ड्रोम जस्ता जोखिम पत्ता लगाउने परीक्षण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्वाड्रपल मार्कर टेस्टले गर्भको १४ हप्ता देखि २२ हप्ता ६ दिनभित्र बच्चामा जन्मजात समस्या जोखिमको संकेत दिन्छ।
  • यो परीक्षणले डाउन सिन्ड्रोम, ट्राइसोमी १८, पटाउ सिन्ड्रोम र न्युरल ट्युब डिफेक्टको जोखिम मूल्याङ्कन गर्छ।
  • नेपालका निजी अस्पताल र डायग्नोस्टिक सेन्टरमा यो परीक्षण उपलब्ध छ र शुल्क लगभग ६ हजार रुपैयाँदेखि सुरु हुन्छ।

काठमाडौं । आमाको पेटमा बच्चा हुर्किँदै जाँदा खुशीसँगै सानो चिन्ता पनि जन्मिन्छ । राति सुत्दा , बिहान उठ्दा मनमा उही प्रश्न घुमिरहन्छ ।

‘मेरो बच्चा ठीक त छ नि ?’ सबै कुरा सामान्य रूपमा अघि बढिरहेको छ कि छैन भन्ने जिज्ञासा हरेक आमाको मनमा स्वाभाविक रूपमा उठ्छ ।

यही चिन्तालाई धेरै हदसम्म कम गर्ने जाँच हो, क्वाड्रपल मार्कर टेस्ट ।

गर्भको १४ हप्ता देखि २२ हप्ता ६ दिनभित्र गरिने यो साधारण रगत परीक्षणले बच्चामा जन्मिँदैदेखि हुन सक्ने समस्याको सम्भावना कति छ भन्ने संकेत दिन्छ ।

गर्भको १४ हप्ता देखि २२ हप्ता ६ दिनभित्र गरिने यो साधारण रगत परीक्षणले बच्चामा जन्मिँदैदेखि हुन सक्ने समस्याको सम्भावना कति छ भन्ने संकेत दिन्छ ।

यो परीक्षणमा आमाको रगत जाँच गरी चिकित्सकले बच्चाको शरीर वा दिमागको विकासमा असर पर्ने अवस्था हुनसक्छ कि सक्दैन भन्ने अनुमान लगाउँछन् ।

विशेषगरी डाउन सिन्ड्रोमजस्ता जन्मजात अवस्थाको जोखिम थाहा पाउन यो परीक्षण उपयोगी मानिन्छ । यो जाँचले निश्चित रूपमा समस्या छ भनेर निष्कर्ष निकाल्दैन । तर, जोखिम कति छ भन्ने जानकारी दिन्छ ।

यदि जोखिम बढी देखियो भने थप जाँच गरेर स्पष्ट कुरा थाहा पाउन सकिन्छ ।

यसरी समयमै जानकारी पाउँदा परिवार मानसिक रूपमा तयार हुन सक्छ र आवश्यक निर्णय लिन सजिलो हुन्छ ।

त्यसैले, क्वाड्रपल मार्कर टेस्ट केवल एउटा मेडिकल प्रक्रिया मात्र होइन । यो आमाको मनमा बसेको अनिश्चितता घटाउने प्रयास पनि हो ।

डरलाई ज्ञानमा बदल्ने र गर्भावस्थाको यात्रालाई अझ ढुक्क र सुरक्षित बनाउने एउटा समझदारीपूर्ण कदम हो ।

‘क्वाड्रपल मार्कर’ परीक्षण किन गरिन्छ ?

यो परीक्षण मुख्यतः गर्भमा रहेका शिशुमा केही गम्भीर अवस्थाको जोखिम पत्ता लगाउन गरिन्छ ।

सबैभन्दा पहिला कुरा आउँछ, डाउन सिन्ड्रोमको । यो क्रोमोजोम २१ को अतिरिक्त प्रतिलिपि हुने अवस्था हो । सामान्यतया प्रत्येक व्यक्तिमा २३ जोडी क्रोमोजोम हुन्छन् ।

तर डाउन सिन्ड्रोम भएमा २१ नम्बरको क्रोमोसोम तीनवटा हुन्छ । यसले बौद्धिक विकासमा ढिलाइ, विशेष शारीरिक बनावट र केही स्वास्थ्य समस्या ल्याउन सक्छ ।

दोस्रो अवस्था हो, ट्राइसोमी १८ । यसलाई एडवर्ड सिन्ड्रोम पनि भनिन्छ । यसमा १८ नम्बरको क्रोमोजोम बढी हुन्छ ।  यो अवस्था गम्भीर हुन्छ र धेरै शिशुहरू जन्मअघि वा जन्मपछि केही समयमै जटिलताका कारण बाँच्न सक्दैनन् ।

तेस्रो, अवस्था हो, पटाउ सिन्ड्रोम (ट्राइजोमी १३) । यो अझ गम्भीर प्रकारको क्रोमोसोम समस्या मानिन्छ । यसमा बच्चामा मस्तिष्कको विकासमा समस्या, ओठ वा तालु चिरिएको, आँखा वा मुटुको जन्मजात समस्या जस्ता जटिलता देखिन सक्छन् ।

धेरैजसो अवस्थामा बच्चाको जीवन जोखिमपूर्ण हुन सक्छ र जन्मपछि लामो समय बाँच्ने सम्भावना कम हुन्छ ।

चौथों महत्वपूर्ण अवस्था हो, न्युरल ट्युब डिफेक्ट । गर्भको सुरुवाती हप्तामा शिशुको मस्तिष्क र मेरुदण्ड बन्ने क्रममा स्नायुनली पूर्ण रूपमा बन्द नहुँदा यस्तो समस्या हुन्छ । अर्को गम्भीर अवस्था भनेको मस्तिष्क नै पूर्ण रूपमा विकास नहुनु हो ।

अल्फा फेटो प्रोटिनको स्तर असामान्य हुँदा यस्ता समस्याको जोखिमबारे संकेत मिल्न सक्छ । यही कारणले क्वाड्रपल परीक्षणको एउटा फाइदा स्नायुसम्बन्धी समस्याको जोखिम मूल्याङ्कन गर्नु हो ।

क्वाड्रपल मार्कर परीक्षण के हो ? यसमा के कस्ता परीक्षण हुन्छन् ?

‘क्वाड्रपल’ शब्दको अर्थ हो, चार । यस परीक्षणमा आमाको रगतमा रहेका चारवटा विशेष तत्व (हार्मोन तथा प्रोटिन)को मात्राको जाँच गरिने भएकोले ‘क्वाड्रपल’ परीक्षण भनिएको हो ।

यी चार तत्वले गर्ने मुख्य काम भनेको बच्चा हुनसक्ने अनुवांशिक जटिलता छ कि छैन भनेर परीक्षण गरिन्छ ।

ती तत्व हुन्,

१. अल्फा फेटो प्रोटिन

२. बिटा एचसीजी (मानव कोरियोनिक गोनाडोट्रोपिनको एक अंश)

३. इन्हिबिन ‘ए’

४. अनकन्जुगेटेड इस्ट्रिओल

अब यी तत्व के हुन भन्ने कुरा सरल भाषामा बुझौँ ।

अल्फा फेटो प्रोटिन

शिशुको कलेजो र अन्य भागले उत्पादन गर्ने प्रोटिन हो । यसको मात्रा असामान्य भएमा विशेषगरी ‘न्युरल ट्युब डिफेक्ट’ अर्थात् स्नायु नलीसँग सम्बन्धित विकृतिको संकेत हुन सक्छ । त्यसैले, यसको जाँचको लागि अल्फा फेटो प्रोटिन गरिन्छ ।

बिटा एचसीजी

गर्भावस्थामा प्लासेन्टा (आमाको गर्भमा बन्ने अंग साल, जसले शिशुलाई पोषण दिन्छ)ले बनाउने हार्मोन हो, बिटा एचसीजी । यसको स्तरमा परिवर्तन हुँदा केही क्रोमोसोमसम्बन्धी समस्या हुने जोखिमको आँकलन गर्न यो परीक्षण गरिन्छ ।

इन्हिबिन ‘ए’

इन्हिबिन ‘ए’ पनि प्लासेण्टाबाट उत्पादन हुने तत्व हो । यसको असामान्य स्तरले डाउन सिन्ड्रोमको जोखिमसँग सम्बन्धित जानकारी दिन सक्छ ।

अनकन्जुगेटेड इस्ट्रिओल

गर्भावस्थामा बन्ने एक प्रकारको इस्ट्रोजन हार्मोन हो, जसले शिशुको विकासको अवस्थाबारे जानकारी दिन्छ ।

यी चारवटा तत्वको मात्रा, आमाको विस्तृत विवरण र अल्ट्रासाउन्डबाट प्राप्त मापनसँग जोडेर विशेष सफ्टवेयरमार्फत विश्लेषण गरिन्छ ।

त्यसपछि ल्याबोरेटरी, प्रयोग हुने सफ्टवेयर, र परीक्षण सिफारिस गर्ने चिकित्सकको प्राथमिकता अनुसार, क्वाड्रुपल टेस्टको नतिजा कहिलेकाहीँ दुई–स्तरीय प्रणाली (उच्च जोखिम र कम जोखिम) वा तीन–स्तरीय प्रणाली (उच्च जोखिम,

मध्यम/इन्टरमिडिएट जोखिम, र कम जोखिम) अनुसार रिपोर्ट गरिन्छ ।

क्वाड्रपल मार्कर परीक्षण कत्तिको उपयोगी ?

यो परीक्षण गर्भावस्थाको दोस्रो त्रैमासिकमा गरिने महत्वपूर्ण स्क्रिनिङ जाँच हो । गर्भको सुरुवाती तीन महिनाभित्र गरिने ‘डुअल मार्कर टेस्ट’ छुटेको अवस्थामा यसको विकल्पका रूपमा क्वाड्रपल परीक्षण गरिन्छ ।

अर्थात्, पहिलो त्रैमासिकमा गरिने जाँच कुनै कारणले हुन नसकेमा दोस्रो त्रैमासिकमा यही परीक्षण गरेर बच्चामा हुनसक्ने सम्भावित जोखिमको मूल्याङ्कन गर्न सकिन्छ ।

यद्यपि, डुअल परीक्षण नगरेको भए मात्र होइन, चाहे सीधै दोस्रो त्रैमासिकमै आए पनि क्वाड्रपल परीक्षण गर्न सकिन्छ । यसले शिशुमा हुनसक्ने जन्मजात र स्नायु समस्याको जोखिमबारे महत्वपूर्ण संकेत दिन्छ ।

विशेषतः आमाको उमेर बढ्दै जाँदा डाउन सिन्ड्रोमको जोखिम बढ्ने भएकाले ३० वर्षपछि गर्भवती भएका महिलामा यस्तो परीक्षण अझ सान्दर्भिक हुन्छ । यद्यपि, यो परीक्षण अनिवार्य होइन । तर, सन्तानको अवस्थाबारे सुनिश्चित गर्ने उपयुक्त तरिका भने पक्कै हो ।

विशेषतः आमाको उमेर बढ्दै जाँदा डाउन सिन्ड्रोमको जोखिम बढ्ने भएकाले ३० वर्षपछि गर्भवती भएका महिलामा यस्तो परीक्षण अझ सान्दर्भिक हुन्छ । यद्यपि, यो परीक्षण अनिवार्य होइन । तर, सन्तानको अवस्थाबारे सुनिश्चित गर्ने उपयुक्त तरिका भने पक्कै हो ।

सही समयमा सही जानकारी पाउनु नै सुरक्षित मातृत्वतर्फको महत्वपूर्ण कदम हो । सन्तान स्वस्थ भएको सुनिश्चित भएमा यसले गर्भावस्थाभरमा आमाको मनोबल पनि उच्च पार्छ ।

केही अवस्थामा चिकित्सकले अनिवार्य परीक्षण गर्न सल्लाह दिनसक्छन

जस्तो की,

— डुअल परीक्षण गर्ने अवधि सकिएमा ।

— आमाको उमेर ३० वर्ष वा बढी छ भने । उमेर बढ्दै जाँदा क्रोमोजोम असामान्यताको जोखिम पनि बढ्छ ।

— परिवारमा पहिले कसैलाई डाउन सिन्ड्रोम वा यस्तै आनुवंशिक समस्या भएको इतिहास छ भने गर्नु उपयुक्त हुन्छ ।

— अघिल्लो गर्भावस्थामा बच्चामा यस्तो समस्या आएको भएमा ।

— बारम्बार गर्भपात भइरहेको छ भने ।

परीक्षण गर्दा

पहिले चिकित्सकले आमाको विस्तृत विवरण लिन्छन्, जसमा उमेर, तौल, जात, राष्ट्रियता, इन्सुलि लाउनु पर्ने मधुमेह छ कि छैन, धूम्रपान गर्ने बानी छ कि छैन, एकभन्दा बढी भ्रूण छ कि छैन र वर्ष जस्ता विवरण अत्यन्त महत्वपूर्ण हुन्छन् ।

त्यसपछि आमाको रगतको नमुना लिइन्छ । यसको लागि कुनै विशेष तयारी आवश्यक हुँदैन । खानपान रोकिनु पर्दैन ।

यस परीक्षणसँगै गर्भको अवधि ठीक छ कि छैन भन्ने सुनिश्चित गर्न अल्ट्रासाउन्ड गरिन्छ । अल्ट्रासाउन्डमा शिशुको टाउकोको चौडाइ (बाइपेरिटल डायामिटर) मापन लिइन्छ । यसले गर्भकाल कति हप्ता भयो भन्ने कुरा पुष्टि गर्न मद्दत गर्छ ।

रगतबाट प्राप्त चारवटा तत्वको मात्रा, आमाको विवरण र अल्ट्रासाउन्डका मापनलाई कम्प्युटरमा राखेर विशेष गणना गरिन्छ । त्यसपछि जोखिमको अनुपातमा निकालिन्छ ।

यो परीक्षण सामान्यतया १४ हप्ता देखि २२ हप्ता ६ दिनसम्म गर्न सकिन्छ । तर न्युरल ट्युब डिफेक्टको जोखिम १५ हप्ता पछि मात्र प्रभावकारी रूपमा मूल्याङ्कन हुने भएकाले १५ हप्ता पछि गर्नु उपयुक्त मानिन्छ ।

के यो परीक्षण सुरक्षित छ ?

यो परीक्षण आफैंमा सुरक्षित छ । उच्च जोखिम भन्ने नतिजा आएपछि धेरै आमा र परिवार चिन्तित हुन्छन् । यो पनि बुझ्न आवश्यक छ कि, यो पुष्टि गर्ने शतप्रतिशत परीक्षण होइन ।

कहिलेकाहीँ ‘फल्स पोजिटिभ’ अर्थात् रिपोर्टमा जोखिम देखिए पनि वास्तविकता सामान्य हुन सक्छ ।

त्यसैले, उच्च जोखिम आएपछि थप परीक्षण जस्तै, प्रसवपूर्व परीक्षण (एनआईपीटी) वा एम्नियोसेन्टेसिस सिफारिस गरिन्छ । यो परीक्षणले सही नतिजा दिन्छ ।

अर्को कुरा, गर्भकालको समय गलत गणना भएमा पनि रिपोर्ट असामान्य देखिन सक्छ ।

नतिजाले के भन्छ ?

यदि रिपोर्टमा ‘लो रिस्क’ देखियो भने, शिशुमा उल्लेखित अवस्थाको जोखिम कम छ भन्ने जनाउँछ । यस अवस्थामा गर्भावस्था सामान्य रूपमा अघि बढाइन्छ ।

अरु,  थप यसकै लागि भनेर जाँच गर्नु आवश्यक छैन । अन्य नियमित जाँच, एनोमोली स्क्यान, सन्तुलित आहार तथा आवश्यक औषधि सेवन जारी राखिन्छ ।

तर, लो रिस्क आयो भन्दैमा शतप्रतिशत कुनै समस्या छैन भन्ने ग्यारेन्टी हुँदैन । यसले केवल जोखिम कम छ भन्ने संकेत गर्छ ।

यदि रिपोर्टमा ‘हाइ रिस्क’ देखियो भने त्यसको अर्थ शिशुमा कुनै समस्या निश्चित छ भन्ने होइन । यस अवस्थामा चिकित्सकले थप जाँच जस्तै, एनआइपीटी, एम्नियोसेन्थेसिस सिफारिस गर्छन् ।

असामान्य रिपोर्ट आउनुमा केही अन्य कारण पनि हुन सक्छन् ।

कति लाग्छ, शुल्क ? कहाँ गरिन्छ ?

क्वाड्रपल मार्कर परीक्षण नेपालका निजी अस्पताल तथा नेशनल प्याथ ल्याब जस्ता डायग्नोस्टिक सेन्टरहरुमा उपलब्ध छ । जहाँसम्म शुल्कको कुरा छ, यसको मूल्य औसतमा ६ हजार देखि सुरु हुन्छ ।

तस्वीर : शंकर गिरी 

 

'क्वाड्रपल टेस्ट'
डा. जीवन अधिकारी
लेखक
डा. जीवन अधिकारी
कन्सल्टेन्ट प्याथोलोजिस्ट, नेशनल प्याथ ल्याब

डा. अधिकारी नेशनल प्याथ ल्याबका विभागीय प्रमुख हुन्। प्याथोलोजीमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९७९३ हो ।      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘क्वाड्रपल टेस्ट’ : गर्भावस्थामा डाउन सिन्ड्रोम जस्ता जोखिम पत्ता लगाउने परीक्षण

‘क्वाड्रपल टेस्ट’ : गर्भावस्थामा डाउन सिन्ड्रोम जस्ता जोखिम पत्ता लगाउने परीक्षण

बिहान खाली पेटमा के खाने, उत्तम विकल्प के हो ?

बिहान खाली पेटमा के खाने, उत्तम विकल्प के हो ?

आयातमूखि ओैषधि ऐन सुधार गर्न औषधि उद्योगीको माग

आयातमूखि ओैषधि ऐन सुधार गर्न औषधि उद्योगीको माग

हरेक तीन महिनामा मधुमेह परीक्षण गर्न किन सल्लाह दिइन्छ ?

हरेक तीन महिनामा मधुमेह परीक्षण गर्न किन सल्लाह दिइन्छ ?

धेरै नेपालीको ज्यान बचाउन अंग प्रत्यारोपण कानुन तत्काल संशोधन गरौं

धेरै नेपालीको ज्यान बचाउन अंग प्रत्यारोपण कानुन तत्काल संशोधन गरौं

जीवनशैलीका यी गल्तीहरूले बढाउन सक्छ स्तन क्यान्सरको जोखिम

जीवनशैलीका यी गल्तीहरूले बढाउन सक्छ स्तन क्यान्सरको जोखिम