News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड भ्वाइस आर्टिस्ट अमित डेओन्दीले चलचित्र विकास बोर्डको निम्तोमा तीन दिनसम्म नेपाली प्राविधिकलाई भ्वाइस एक्टिङ र डबिङ तालिम दिने भएका छन्।
- डेओन्दीले नेपाली भाषामा भ्वाइस डबिङका लागि धेरै अवसर रहेको र आफ्नो अनुभव र ज्ञान सिकाउने प्रयास गर्ने बताए।
- अमित डेओन्दी भारतका चर्चित भ्वाइस आर्टिस्ट हुन् जसले दुई दशकदेखि हजारौँ सिरिज र फिल्ममा आवाज दिएका छन्।
काठमाडौं । बलिउड ‘भ्वाइस आर्टिस्ट’ अमित डेओन्दीले आइतबारदेखि नेपाली प्राविधिकलाई ‘भ्वाइस एक्टिङ’ र ‘डबिङ’ तालिम दिने भएका छन् । चलचित्र विकास बोर्डको निम्तोमा आइपुगेका उनले ३ दिनसम्म सीप सिकाउनेछन् ।
काठमाडौं विमानस्थलमा उनले अनुभव र ज्ञान सिकाउने प्रयास गर्ने प्रतिक्रिया दिए । नेपाली भाषामा स्वराङ्कनको लागि काम गर्न सक्ने धेरै अवसर रहेको उनले बताए ।
अहिलेको दुनियाँमा विश्वभरीका कन्टेन्ट सजिलै हेर्न सकिन्छ । त्यसका लागी भाषाको माध्यमले ठूलो भूमिका खेल्छ’ उनले भने, ‘नेपाली भाषामा भ्वाइस डबिङको काम गर्नसक्ने धेरै अवसर छन् । यो तीनदिन मेरो अनुभव र मैले जानेका कुरा सिकाउने प्रयास गर्नेछु ।’
बोर्ड अध्यक्ष दिनेश डीसीले ‘भ्वाइस एक्टिङ’ प्राथमिकता दिएको बताए । ‘उहाँसँग हामीले भ्वाइस एक्टिङका तौरतरिका सिक्न सक्छौं’ डीसीले भने, ‘हामीले केहिसमय अघिमात्रै पनि साउन्ड, डबिङ तालिमका लागी भारतबाटै अनुभवी प्रतिनिधि बोलाएर तालिम दिएका थियौं ।’
बोर्डले ड्रोन, लाइट ग्याफर, मेकअप, एआई वर्कसप, फोटो तथा भिडियो पत्रकारिता, पौडी तालिमपनि चैतमा दिँदैछ ।
को हुन् अमित डेओन्दी ?
डेओन्दी भारतका एक चर्चित भ्वाइस आर्टिस्ट, डबिङ कलाकार तथा लेखक हुन् । उनले करिब दुई दशकभन्दा बढी समयदेखि भ्वाइस एक्टिङ र डबिङ क्षेत्रमा काम गर्दै आएका छन् ।
उनी विशेषगरी विदेशी फिल्म, टेलिभिजन सिरिज र एनिमेटेड सामग्रीलाई हिन्दी भाषामा डब गर्ने कलाकारका रूपमा परिचित छन् । उनले नेटफ्लिक्स, अमेजन प्राइम, डिज्नी लगायतका अन्तर्राष्ट्रिय स्ट्रिमिङ प्लेटफर्मका लागि हजारौँ सामग्रीमा आफ्नो आवाज दिएका छन् ।
उनले तीन हजारभन्दा बढी सिरिज र फिल्ममा डबिङ तथा भ्वाइस सम्बन्धी काम गरिसकेका छन् । उनको आवाज विभिन्न हलिउड चलचित्रका पात्र, एनिमेटेड क्यारेक्टर तथा वेब सिरिजमा सुन्न सकिन्छ ।
बहुआयामिक स्वर शैलीका कारण उनी एकै व्यक्तिले धेरै प्रकारका पात्रको आवाज दिन सक्ने कलाकारका रूपमा चिनिन्छन् । यही कारणले उनलाई “एकै व्यक्तिमा धेरै आवाज” निकाल्न सक्ने कलाकारका रूपमा पनि चर्चा गरिन्छ ।
डबिङसँगै अमित डेओन्दी लेखन, पोडकास्ट तथा भ्वाइस एक्टिङसम्बन्धी प्रशिक्षण कार्यक्रममा पनि सक्रिय छन् । उनले “हरर नाइट्स विथ अमित डेओन्दी’ जस्ता पोडकास्ट कार्यक्रम सञ्चालन गरेका छन् र नयाँ भ्वाइस आर्टिस्टलाई तालिम दिने काम पनि गर्दै आएका छन् ।
प्रतिक्रिया 4