+
+
Shares

अल्जाइमरविरुद्ध नेपाली वैज्ञानिक पौडेलको विशेष खोज- पैदलमैत्री शहर अनिवार्य

अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटीमा आबद्ध प्राध्यापक पौडेल र उनको टोलीले सिड्नीका ७० देखि ९० वर्ष उमेरका ५ सय भन्दा बढी व्यक्तिहरूको ६ वर्षसम्म निरन्तर मस्तिष्क म्यापिङ गरेर यो निष्कर्ष निकालेका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १६:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियामा कार्यरत नेपाली न्यूरो वैज्ञानिक प्राध्यापक गोविन्द पौडेलले शहरी योजना र मस्तिष्क स्वास्थ्यबीच प्रत्यक्ष सम्बन्ध रहेको अनुसन्धान प्रकाशित गर्नुभएको छ।
  • पौडेलको टोलीले सिड्नीका ७० देखि ९० वर्ष उमेरका ५ सयभन्दा बढी वृद्धवृद्धाको मस्तिष्क म्यापिङ गरेर पैदल यात्रीमैत्री शहरमा मस्तिष्क स्वस्थ हुने देखाएको छ।
  • अनुसन्धानले शहरी संरचना सुधार गरी पैदल हिंड्न मिल्ने वातावरण बनाउँदा दीर्घकालीन मस्तिष्क स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने र डिमेन्सिया रोकथाममा मद्दत पुग्ने बताएको छ।

अस्ट्रेलियामा कार्यरत नेपाली न्यूरो वैज्ञानिक प्राध्यापक गोविन्द पौडेलले गरेको एक पछिल्लो अनुसन्धानले शहरी योजना र मानिसको मस्तिष्क स्वास्थ्यबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि गरेको छ ।

‘नेचर सिटिज’ जर्नलमा केही दिनअघि प्रकाशित यस खोजले पैदल यात्रीमैत्री शहरहरूमा बस्ने वृद्धवृद्धाहरूको मस्तिष्कको स्मरणशक्ति र नेभिगेसन गर्ने भाग (हिप्पोक्याम्पल टेल) अन्यको तुलनामा बढी बलियो र स्वस्थ हुने देखाएको हो ।

अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटीमा आबद्ध प्राध्यापक पौडेल र उनको टोलीले सिड्नीका ७० देखि ९० वर्ष उमेरका ५ सय भन्दा बढी व्यक्तिहरूको ६ वर्षसम्म निरन्तर मस्तिष्क म्यापिङ गरेर यो निष्कर्ष निकालेका हुन्।

अनुसन्धानका अनुसार व्यस्त सडक पार गर्ने, चोकहरूमा ध्यान दिने र जटिल शहरी बाटोहरूमा हिँडडुल गर्ने प्रक्रियाले मस्तिष्कलाई निरन्तर अभ्यास गराउँछ । यसले अल्जाइमर जस्ता डिमेन्सियाका रोगहरू लाग्नबाट बचाउन वा त्यसको गतिलाई ढिलो बनाउन मद्दत गर्ने रिपोर्टमा उल्लेख छ ।

नेपालमा पनि डिमेन्सियाका बिरामीहरूको संख्या बढ्दै गइरहेको सन्दर्भमा यो अनुसन्धानलाई सान्दर्भिक मानिएको छ । ‘नेपालको जनसंख्या पनि विस्तारै बुढ्यौलीतर्फ जाँदै गरेको र तीव्र शहरीकरण भइरहेकाले आगामी दिनमा यो समस्या अझै विकराल बन्न सक्छ,’ प्राध्यापक पौडेलले भनेका छन् ।

उनी थप्छन्, ‘काठमाडौंजस्ता ठूला शहरहरूमा केवल हिंड्न सजिलो शहर बनाउनु मात्र पर्याप्त छैन । वायु प्रदूषणजस्ता समस्याले मस्तिष्क स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । त्यसैले स्वच्छ र प्रदूषणरहित वातावरणसँगै पैदल यात्रीमैत्री शहरी संरचना निर्माण गर्नु आवश्यक छ ।’

यदि हाम्रा शहरहरू सुरक्षित र व्यवस्थित भए भने यसले मानिसहरूलाई बढी हिंड्न प्रेरित गर्ने प्राध्यापक पौडेल बताउँछन् । ‘दीर्घकालमा मस्तिष्कको संज्ञानात्मक क्षमता जोगाउन मद्दत पुर्‍याउँछ,’ उनले भने ।

यसअघि मस्तिष्क स्वास्थ्यलाई केवल स्वास्थ्य सेवासँग मात्र जोडेर हेर्ने गरिए पनि प्राध्यापक पौडेलको यो खोजले यसलाई शहरी योजनासँग जोड्नुपर्ने नयाँ बहस सुरु गरेको छ । सडकको संरचना, हरियाली क्षेत्र, र पैदल हिंड्न मिल्ने वातावरणले मानिसको दैनिक गतिविधि र दीर्घकालीन मानसिक स्वास्थ्यमा महत्त्वपूर्ण प्रभाव पार्ने देखिएको छ ।

विश्वका अग्रणी विज्ञहरूले सामान्य जीवनशैली परिवर्तन र वातावरणीय सुधारबाट लाखौं डिमेन्सियाका केसहरू रोक्न सकिने सुझाव दिइरहेका हुन्छन् ।

यस्तो बेला पौडेलको यो अनुसन्धानले नेपालजस्ता विकासोन्मुख देशका नीति निर्माताहरूलाई पनि शहरी पूर्वाधार विकास गर्दा जनस्वास्थ्यलाई केन्द्रमा राख्न दबाब दिएको छ ।

समन्वयकारी राष्ट्रिय रणनीति र सुरक्षित सहरी डिजाइन विना रोकथाम गर्न सकिने मानसिक स्वास्थ्यका समस्याहरू भविष्यमा अझ बढ्दै जाने चेतावनी वैज्ञानिकहरूले दिएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?