News Summary
Generated by OK AI. Editorially reviewed.- चन्देश्वर मण्डलले २०३८ सालमा नेकपा एमालेको सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका थिए।
- उनी २०८० सालमा नेकपा एमाले मधेश प्रदेश अध्यक्ष बनेका थिए।
- फागुन २१ गते सम्पन्न निर्वाचनपछि उनी मधेशी क्लस्टरबाट समानुपातिक प्रणालीमार्फत संघीय सांसदमा निर्वाचित भएका छन्।
३ फागुन, सिरहा । २०२१ सालमा सिरहाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुरमा जन्मिएका चन्देश्वर मण्डलले २०३८ सालमा नेकपा एमालेको सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरे ।
सुरुवाती समयदेखि नै पार्टी संगठन विस्तार, जनसम्पर्क र स्थानीयस्तरका राजनीतिक गतिविधिमा सक्रिय रहँदै उनले पार्टीलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। गाउँदेखि जिल्ला हुँदै प्रदेश तहसम्म विभिन्न जिम्मेवारी सम्हाल्दै उनले राजनीतिक अनुभव बटुले।
राजनीतिसँगै मण्डल शिक्षण पेसामा पनि संलग्न थिए। २०४६ सालतिर उनले गृहजिल्ला अर्नामा गाउँपालिका–४ गौरिपुरस्थित जनकल्याण उच्च माध्यमिक विद्यालयमा करिब दुई वर्ष विज्ञान विषय अध्यापन गरेका थिए। शिक्षक हुँदा समाजलाई नजिकबाट बुझ्ने अवसर पाए, जसले उनको राजनीतिक र सामाजिक यात्रामा पनि सकारात्मक प्रभाव पार्यो ।

स्थानीय नेतृत्वको अनुभव पनि मण्डलको राजनीतिक यात्राको महत्वपूर्ण अध्याय हो। उनले गौरीपुर गाविसका अध्यक्षका रूपमा दुई कार्यकाल गरी करिब १० वर्ष नेतृत्व सम्हालेका थिए। अध्यक्षका रूपमा उनले स्थानीय विकास, शिक्षा, सामाजिक सेवा तथा आधारभूत पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय पहल गरेका थिए।
गाउँको विकास र जनताको समस्याप्रति संवेदनशील नेतृत्वका रूपमा उनी परिचित भए। सामाजिक क्षेत्रमा पनि मण्डल उत्तिकै सक्रिय छन्। उनले नेपाल रेडक्रस सोसाइटीको जिल्ला शाखामा पाँच वर्ष उपसभापतिको रूपमा काम गरेका थिए।
त्यसपछि पाँच वर्ष रेडक्रस सोसाइटी प्रदेश महासचिवको जिम्मेवारी सम्हाल्दै उनले मानवीय सेवा, विपद् व्यवस्थापन तथा सामाजिक सहयोगका विभिन्न अभियानमा योगदान दिए।
पार्टी संगठन भित्र पनि मण्डलले निरन्तर जिम्मेवारी पाउँदै आएका छन्। गाउँदेखि जिल्ला तहसम्म विभिन्न पदमा रहेर काम गरेका उनले २०७४ सालमा नेकपा एमाले सिरहाको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाले।
संगठन निर्माण, कार्यकर्ता परिचालन र पार्टीको प्रभाव विस्तारमा उनले सक्रिय भूमिका खेलेका थिए। नेतृत्व क्षमताको मूल्याङ्कन गर्दै २०८० सालमा उनलाई नेकपा एमाले मधेश प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको थियो।

शैक्षिक रूपमा पनि मण्डल योग्य व्यक्तित्व मानिन्छन्। उनले २०३६ सालमा भारतको दरभंगास्थित कुमर सिंह महाविद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए। त्यसपछि विज्ञान विषयमा बीएससी (बायोलोजी) अध्ययन पूरा गरेका छन्।
फागुन २१ गते सम्पन्न निर्वाचनपछि चन्देश्वर मण्डल नेकपा एमालेको तर्फबाट मधेशी क्लस्टरबाट समानुपातिक प्रणालीमार्फत संघीय सांसदमा निर्वाचित भएका छन्। लामो राजनीतिक अनुभव, सामाजिक सेवा र संगठनात्मक योगदानका कारण उनी अहिले राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका निभाउने नेताको रूपमा हेरिएका छन्।
गाउँको शिक्षकबाट सुरु भएको चन्देश्वर मण्डलको यात्रा स्थानीय नेतृत्व हुँदै प्रदेश अध्यक्ष र अहिले संघीय सांसदसम्म पुगेको छ ।
प्रतिक्रिया 4