+
+
Shares

प्रोफेसर जियाङको लेक्चर :  पश्चिम एसिया युद्धमा अमेरिका हार्ने अभिव्यक्तिले ‘भाइरल’

बेइजिङको ‘मुनसट एकेडेमी’ मा उनले आफ्ना विद्यार्थीहरूलाई दिने लेक्चरहरूले लाखौँ सब्सक्राइबर र करोडौँ भ्युज मात्र पाएका छैनन्, बरु २०२६ को पश्चिम एसियाको महायुद्धसँगै उनको ‘क्रेडिबिलिटी’ (विश्वसनीयता) ले समेत अन्तर्राष्ट्रिय उचाइ पाएको छ ।

कञ्चन कञ्चन
२०८२ चैत ३ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिनियाँ-क्यानाडियन प्रोफेसर जियाङ शुएकिनले सन् २०२६ को पश्चिम एसियाको महायुद्धसँग सम्बन्धित भविष्यवाणीले विश्वव्यापी चर्चा पाएका छन्।
  • जियाङले अमेरिकाको इरानसँगको युद्धमा अमेरिकाले हार बेहोर्ने र नयाँ विश्व व्यवस्था आउने दाबी गरेका छन्।
  • उनको युट्युब च्यानल 'प्रेडिक्टिभ हिस्ट्री' मा इतिहास र भविष्यका सम्भावित घटनाहरूको विश्लेषण गरिन्छ, जसले लाखौँ दर्शकलाई आकर्षित गरेको छ।

३ चैत, काठमाडौं । विश्व अहिले यस्तो मोडमा उभिएको छ, जहाँ युद्धका ट्याङ्क र क्षेप्यास्त्रसँगै ‘भविष्यवाणी’ र ‘ऐतिहासिक ढाँचा’ को चर्चा उत्तिकै ज्वलन्त बनेको छ ।

पश्चिम एसियाको युद्धले समग्र जनजीवन प्रभाव पारिरख्दा यतिबेला सामाजिक सञ्जालमा भने एक प्रोफेसर व्यापक चर्चामा रहेको छ ।

उनी हुन्- प्रोफेसर जियाङ शुएकिन । धेरैले उनलाई ‘प्रोफेसर जियाङ’ वा ‘चाइनाज नोस्त्रादामस’ भनेर चिन्छन् ।

चिनियाँ-क्यानाडियन शिक्षक र भू-राजनीतिक विश्लेषक जियाङको युट्युब च्यानल ‘प्रेडिक्टिभ हिस्ट्री’ अहिले विश्वका नागरिकसम्मको आकर्षणको केन्द्र बनेको छ ।

बेइजिङको ‘मुनसट एकेडेमी’ मा उनले आफ्ना विद्यार्थीहरूलाई दिने लेक्चरहरूले लाखौँ सब्सक्राइबर र करोडौँ भ्युज मात्र पाएका छैनन्, बरु २०२६ को पश्चिम एसियाको महायुद्धसँगै उनको ‘क्रेडिबिलिटी’ (विश्वसनीयता) ले समेत अन्तर्राष्ट्रिय उचाइ पाएको छ ।

शिक्षा सुधारदेखि भविष्यको पूर्वानुमानसम्म

सन् १९७६ मा चीनको गुआङडोङमा जन्मिएका जियाङले अमेरिकाको प्रतिष्ठित येल कलेजबाट अङ्ग्रेजी साहित्यमा स्नातक गरे । उनको प्रारम्भिक करियर चीनको कठोर तथा परम्परागत शिक्षा प्रणालीमा सुधार ल्याउन केन्द्रित थियो ।

सेन्जेन र बेइजिङका उच्च माध्यमिक विद्यालयहरूमा उनले पश्चिमी दर्शन र ‘ग्रेट बुक्स’ पढाउन थाले ।

उनको पढाउने शैली परम्परागत छैन । उनी इतिहासलाई रटाउँदैनन्, बरु इतिहासका पुराना रेकर्डहरूबाट भविष्यका सम्भावित घटनाहरूका विष्लेषण गर्छन् ।

उनले आइज्याक असिमोभको ‘फाउन्डेसन’ उपन्यासमा वर्णन गरिएको ‘साइको-हिस्ट्री’ लाई यथार्थमा प्रयोग गर्ने प्रयास गर्छन् ।

आधुनिकताको कटु आलोचना र ‘ग्रेट बुक्स’ को महत्त्व

प्रोफेसर जियाङ आधुनिक संस्कृतिका कटु आलोचक हुन् । उनका अनुसार ‘मोडर्निज्म’ (आधुनिकतावाद) ले मानवतालाई ज्ञानबाट टाढा पुर्‍याएको छ । उनी भन्छन्, ‘आधुनिक समाजले प्रगतिलाई मात्र ज्ञान ठान्छ, तर वास्तवमा हामीले प्राचीन सभ्यताहरूको आधारभूत विवेक गुमाएका छौँ ।’

जियाङका लेक्चरहरू तीन मुख्य विषयमा केन्द्रित छन् :

१. ग्रेट बुक्स सिरिज : जियाङको ‘ग्रेट बुक्स’ शृङ्खलाले होमरका महाकाव्यदेखि बाइबल र फ्रायडका दर्शनसम्मका शास्त्रीय कृतिहरूमार्फत मानव क्षमता र चेतनाको खोजी गर्छ ।

सन् २०२६ को सुरुदेखि जारी यस लेक्चर शृङ्खलामा विशेष गरी ‘इलियड’ र ‘ओडिसी’ का माध्यमबाट मानवीय संवेदना, प्रेम र ब्रह्माण्डीय रहस्यहरूको विश्लेषण गरिएको छ ।

जियाङले यी ‘क्लासिक’ पुस्तकहरूलाई केवल साहित्य मात्र नभई मानव सभ्यताको आधार र वर्तमान विश्वका ढाँचाहरू बुझ्ने कडीका रूपमा प्रस्तुत गर्दै विद्यार्थीहरूलाई आत्म–जागरण र चेतना विस्तारका लागि प्रेरित गर्छन् ।

२. गेम थ्योरी सिरिज : जियाङको ‘गेम थ्योरी’ शृङ्खलाले गणितीय सूत्रभन्दा बाहिर गएर सामाजिक प्रतिस्पर्धा, इतिहास र भू–राजनीतिको रणनीतिक विश्लेषण गर्छ ।

सन् २०२६ का हालैका एपिसोडहरूमा उनले डेटिङ र शिक्षादेखि लिएर अमेरिका–इरान द्वन्द्व र विश्व साम्राज्यको पतनसम्मका विषयलाई समेटेका छन् ।

‘गेम थ्योरी’ले यसले व्यक्तिगत निर्णयदेखि लिएर वर्तमान विश्वका जटिल युद्ध र आर्थिक संकटहरूलाई रणनीतिक खेलको रूपमा व्याख्या गर्ने प्रयास गर्दछ । अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र रणनीतिक निर्णयहरूको पनि विश्लेषण गर्दछ ।

३. सभ्यता र गोप्य इतिहास : ‘सेक्रेट हिस्ट्री’ शृङ्खलाले विश्व इतिहासका पर्दापछाडि रहेका गुप्त संस्थाहरू र तिनको शक्ति नियन्त्रणको संयन्त्रबारे विवादास्पद विश्लेषण गर्छ ।

सन् २०२५ अगस्टदेखि सुरु भएको यस शृङ्खलामा फ्रिमासन्स, इलुमिनाटी र जेसुइट्स जस्ता समूहले कसरी साम्राज्यहरूको उदय र पतनलाई निर्देशित गर्छन् भन्ने दाबी गरिएको छ ।

जियाङले ‘ईभिल’ (दुष्टता) को उत्पत्तिको धार्मिक पृष्ठभूमिदेखि आधुनिक पुँजीवाद र भू–राजनीतिमा हुने ‘ब्ल्याकमेल’ र ‘ट्रमा–इन्ड्युस्ड’ नियन्त्रणसम्मका विषयलाई उधिनेका छन्  ।

विशेष गरी बाइबलका ‘नेफिलिम’ देखि आधुनिक ‘एपस्टिन आइल्यान्ड’ सम्मका घटनालाई जोडेर उनले दृश्य इतिहासभन्दा अदृश्य शक्ति शक्तिशाली हुने तर्क अघि सारेका छन् ।

यद्यपि, यी लेक्चरहरूमा प्रयोग गरिएका कतिपय धारणाहरूलाई आलोचकहरूले आधारहीन षड्यन्त्रका सिद्धान्त र यहुदी विरोधी भावना फैलाउने माध्यमका रूपमा कडा आलोचना गरेका छन् ।

समग्रमा, यो सिरिजले सभ्यताको विकासलाई गुप्त सङ्गठनहरूको रणनीतिक खेलको रूपमा व्याख्या गर्ने प्रयास गर्दछ ।

इरान-इजरायल युद्ध र जियाङको ‘भविष्यवाणी’

जियाङको विश्वव्यापी चर्चाको मुख्य कारण सन् २०२४ मा उनले गरेका तीनवटा ‘बोल्ड’ पूर्वानुमानहरू हुन्, जसमध्ये दुईवटा सत्य सावित भइसकेका छन् र तेस्रोको परिणाम विश्वले अहिले देख्ने क्रममा छ ।

जियाङका तीन भविष्यवाणी :

१. डोनाल्ड ट्रम्पको पुनरागमन : उनले भनेका थिए कि अमेरिकामा ट्रम्प पुन: सत्तामा आउनेछन् ।

२. इरानसँगको युद्ध : ट्रम्पले इरानसँग भीषण युद्ध सुरु गर्नेछन् ।

३. अमेरिकाको पराजय : यो युद्धमा अमेरिकाले ‘एट्रिसन’ (थकाउने युद्ध) को सामना गर्नेछ र अन्तत: हार बेहोर्नेछ ।

इतिहासका प्रसङ्गहरू जोड्दै जियाङले इरानमाथि हुनसक्ने अमेरिकी आक्रमणलाई ‘सिसिलियन एक्सपिडिसन’ सँग तुलना गरे, जसमा एथेन्सले ठुलो सैन्य अभियान सुरु गरेको थियो, तर अन्तत : त्यसको परिणाम त्रासदीपूर्ण भएको थियो ।

जियाङका अनुसार अयातोल्लाह खामेनीको हत्या इजरायल र अमेरिकाका लागि सबैभन्दा ठूलो रणनीतिक गल्ती हुनेछ ।

जियाङको विश्लेषणका आधारहरू यसप्रकार रहेका छन् :

१. भूगोल र जनसंख्या: इरानको कठिन पहाडी भूगोल र ८ करोडभन्दा बढी युद्धका लागि तयार मनस्थितिको जनसंख्याका कारण अमेरिकाले भियतनाम वा इराकमा जस्तै ‘ग्राउन्ड इन्भेजन’ मा हार बेहोर्नेछ ।

त्यसमाथि इरानका प्रोक्सी समूहहरू हुथी, हिजबुल्लाह र हमासले अमेरिकी मानसिकता बुझिसकेको र अहिले उनीहरूसँग ‘अमेरिकी साम्राज्यलाई कमजोर बनाउने र अन्तत: नष्ट गर्ने’ रणनीति रहेको छ ।

२. खामेनीको हत्या : जियाङका अनुसार अयातोल्लाह खामेनीको हत्या इजरायल र अमेरिकाका लागि सबैभन्दा ठूलो रणनीतिक गल्ती हुनेछ । यसले इरानको धार्मिक समूदायलाई थप एकीकृत बनाउनेछ र अमेरिकाको ‘साम्राज्यवादी पतन’ लाई गति दिनेछ ।

३. नयाँ विश्व व्यवस्था : यो युद्धले अन्तिम परिणतिको रूपमा अमेरिकी प्रभुत्व अन्त्य गर्ने र चीन तथा रुसको नेतृत्वमा नयाँ विश्व व्यवस्था आउने उनको दाबी छ ।

आलोचना र प्रभाव

केही आलोचकहरूले उनलाई ‘फेक हिस्टोरियन’ वा ‘स्पेक्युलेटिभ’ (अनुमानित) विश्लेषक भनेर आलोचना गर्छन् ।

कतिपय विश्लेषकले जियाङको ‘प्रेडिक्टिभ हिस्ट्री’ च्यानलका दाबीहरूलाई तथ्यगत रूपमा खण्डन गरेका छन् ।

जियाङले हनिबलको युद्ध, मानव विकासक्रम र प्राचीन सभ्यताका बारेमा पढाएका कुराहरूलाई कतिपयले पुरातात्विक र वैज्ञानिक प्रमाणका आधारमा गलत सावित गरिदिएका छन् ।

जियाङसँग कुनै आधिकारिक इतिहासिक शैक्षिक योग्यता नभएको र उनले प्रमाणविनाका ‘कस्पिरेसी’ मात्र फैलाएको भनेर उनको आलोचना तीव्र भएको छ ।

जियाङको कार्य पद्धतिलाई प्रमाणहीन, हानिकारक र छद्म–इतिहास (स्युडोहिस्ट्री) को संज्ञा दिँदै उनलाई ‘फेक प्रोफेसर’ का रूपमा चित्रण गर्नेहरू पनि कम भने छैनन् ।

संवेदनशील विषयहरू जस्तै ‘सेक्रेट सोसाइटी’ वा ‘एप्स्टाइन आइल्यान्ड’ बारे खुला छलफल गर्दा उनलाई कतिपयले ‘कन्सपिरेसी थ्योरी’ फैलाएको आरोप पनि लगाउँछन् । तर, जियाङ आफ्नो च्यानललाई ‘मोनिटाइज’ नगर्ने र केवल ज्ञान बाँड्ने दाबी गर्छन् ।

जियाङका सबै भविष्यवाणीहरू सही साबित हुन्छन् वा हुँदैनन् भन्ने कुरा हेर्न बाँकी नै छ । तर अहिलेका लागि भने, प्राध्यापकको कुनै समयको अस्पष्ट व्याख्यानले उनलाई इन्टरनेटमा सबैभन्दा बढी चर्चा गरिने भू-राजनीतिक पूर्वानुमानकर्तामध्ये एक बनाएको छ ।

उनको विश्लेषणले विश्वव्यापी बहस सिर्जना गरेको छ– के हामी साँच्चै एउटा साम्राज्यको पतन र नयाँ युगको उदय देखिरहेका छौँ ?

प्रोफेसर जियाङ भन्छन्, ‘इतिहास दोहोरिँदैन, तर यसले लय पक्कै मिलाउँछ ।’ –एजेन्सीहरूको सहयोगमा

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
कञ्चन

लेखक साहित्यकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?