News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'लालीबजार' को सार्वजनिक पहिलो गीत 'मायालाई के दिऊँ म बैना' युट्युबमा १४ लाख पटक हेरिएको छ।
- गीतमा स्वस्तिमा खड्का र समाइरा थापाको नृत्यलाई दर्शकले रुचाएका छन् र टिकटकमा हजारौं भिडियो बनेका छन्।
- फिल्म १८ बैशाखमा प्रदर्शन हुने छ र याम थापाले निर्देशन गरेका छन्, पटकथा प्रदीप भट्टराईसँग सहकार्यमा तयार गरिएको छ।
काठमाडौँ । षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को सार्वजनिक पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ लाई दर्शकले रुचाएका छन् । शुक्रबार सार्वजनिक गीतलाई हालसम्म १४ लाख पटक युट्युबमा हेरिएको छ ।
लोकप्रियतासँगै टिकटक र रिल्समा यसमाथि भिडियो बनाउने बढेका छन् । गीतमा स्वस्तिमा खड्का र समाइरा थापाको नृत्यलाई दर्शकले रुचाएका छन् । उनीहरूको डान्स स्टेपलाई पछ्याएर भिडियो बनाउने बग्रेल्ती भेटिन्छन् ।
टिकटकमा हजारौं भिडिओ बनेका छन्, जहाँ समाइरा र स्वस्तिमाको नृत्यको प्रशंसा भएको शब्द देख्न सकिन्छ । प्रयोगकर्ताले उनीहरूको नृत्य शैली, गायक र गायिकाको आवाजको खुलेर प्रशंसा गरेका छन् । फिल्ममा लोकभाकाको प्रयोग गरिएको भन्दै निर्माण समूहलाई धन्यवाद पनि दिएका छन् ।
स्वस्तिमाले छायांकनकै बीचमा नृत्यको तयारी गरेको अनुभव सुनाइन् । समाइराको नृत्यको पनि उनले प्रशंसा गरिन् । ‘उनको कामले पनि मलाई प्रेरणा मिल्थ्यो । यी सानी नानीले गज्जब गरेकी छिन्, मैले पनि मेहनत गर्नुपर्छ भन्ने लाग्थ्यो’ स्वस्तिमाले सुनाइन्, ‘हामी सबैको प्रयासले गीत राम्रो बन्यो ।’
गीतलाई प्रदीप लामाले नृत्य निर्देशन गरेका हुन् । खेम सेन्चुरीले संगीत भरेको गीतको गायनलाई खेमलाई दीपिका बयाम्बुले साथ दिएकी छन् । रमेश बिजीले गीत लेखेका हुन् । दीपिकाले यसअघि गाएको ‘कश्मिरे पछ्यौरी दार्जलिङको रेल’ युट्युबको ग्लोबल ट्रेन्डिङमा परिसकेको छ ।
‘लालीबजार’ को प्रदर्शन १८ बैशाखलाई तय छ । बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय छ ।
याम थापा निर्देशित फिल्मको पटकथा र संवादमा उनले प्रदीप भट्टराईसँग सहकार्य गरेका छन् । ‘यो गीत कथासँग जोडिएर आएको छ । हामीले यसलाई कथा भन्दा फरक नबनाएर कथालाई अगाडि बढाउने गरी तयार गरेका छौँ । अहिले गीतलाई दर्शकले दिनुभएको मायाले हामी हर्षित भएका छौँ’, निर्देशक थापाले भने ।
कार्यकारी निर्माता भट्टराई हुन् । म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता हुन् ।
प्रतिक्रिया 4