+
+
Shares

खक्रौला नाकामा सामान बरामद गर्दा विवाद, डीएसपीमाथि बीओपीमै हातपात

व्यवसायी मंगलबार समेत सोही खालको कार्य दोहोरिएपछि बीओपीमै पुगेर डीएसपी प्रदीप पौडेलको ध्यानाकर्षण गराइएको र सामान फिर्ता ल्याइएको बताए ।

जनक विष्ट जनक विष्ट
२०८२ चैत ५ गते १३:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको खक्रौला नाकामा भारतबाट ल्याइएको जीएसटी बिलसहितको सामान बरामद गर्दा सशस्त्र प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ।
  • सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ र छानबिनपछि प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
  • खक्रौला बीओपीमा कार्यरत डीएसपी बाहेक ३३ जना सशस्त्र प्रहरीलाई गणमा तान्ने निर्देशन दिइएको भए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन।

५ चैत, धनगढी । कैलालीको खक्रौला नाकामा भारतबाट नेपालतर्फ ल्याइरहेको सामान बरामद गरेको विषय विवाद हुँदा सशस्त्र प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।

मंगलबार साँझ टीकापुरको एसजीए ट्रेड एण्ड सप्लायर्सले भारतबाट जीएसटी बिलसहित ल्याइएको सामान सशस्त्र प्रहरीको बीओपी खक्रौलाले बरामद गरेको थियो ।

उक्त सामानलाई अवैध भनेपछि सशस्त्रका बीओपी प्रमुख डीएसपी प्रदीप पौडेलले विवाद सुरु गरेको व्यवसायीको आरोप छ ।

टीकापुर उद्योग वाणिज्य संघसहितका व्यवसायीले उक्त कदमको विरोध गरेपछि सशस्त्र प्रहरीको बीओपी खक्रौलाले सम्बन्धित व्यवसायीलाई बरामद गरिएका सामान फिर्ता गरिसकेको छ ।

उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल्सिनाले सीमा क्षेत्रमा व्यवसायीलाई सशस्त्र प्रहरीले अनावश्यक दुःख र हैरान दिन थालेको आरोप लगाए ।

‘अवैध रुपमा हुने चोरी, तस्करी रोक्नुपर्ने दायित्व स्थानीय प्रशासनको हो । त्यो कार्यमा हामी व्यवसायीले पनि सहयोग गरेकै छौँ,’ तिमिल्सिनाले भने, ‘तर खक्रौलामा सशस्त्रले बिल बिजक भएकै सामान पनि अवैध भनेर बरामद गर्दै दुःख दिन थाल्यो ।’

उनले मंगलबार समेत सोही खालको कार्य दोहोरिएपछि बीओपीमै पुगेर डीएसपी प्रदीप पौडेलको ध्यानाकर्षण गराइएको र सामान फिर्ता ल्याइएको बताए ।

यो विषयलाई लिएर बुधबार बीओपी पुगेको एक समूहले डीएसपी प्रदीप पौडेलमाथि हातपात गरेको भिडियोसमेत सार्वजनिक भएको छ ।

घटनाको छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नं.७ वैद्यनाथ बाहिनीले समिति गठन गरेको छ ।

बाहिनीमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक(एसपी)अनिल कार्कीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको वैद्यनाथ बाहिनीका निमित्त प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दिगविजय सुवेदीले जानकारी दिए ।

सुवेदीले समितिलाई खक्रौला बीओपी घटनाबारे छानबिन गरेर प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको बताए । उनका अनुसार बीओपीमा कार्यरत सशस्त्र प्रहरीमाथि कारबाही प्रक्रियासमेत अगाडि बढिसकेको छ ।

त्यस्तै एसएसपी सुवेदीले बीओपी खक्रौलामा कार्यरत डीएसपी बाहेकका सबैलाई गणमा तान्न निर्देशन दिएका छन् । स्रोतकाअनुसार सुवेदीले बुधबार नै डीएसपी प्रदीप पौडेलबाहेक बीओपीमा कार्यरत ३३ जना सशस्त्र प्रहरीलाई धनगढीस्थित गणमा तानेर नयाँ टिम पठाउन निर्देशन दिएका थिए ।

र, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण धनगढीले भने उक्त निर्देशन अहिलेसम्म कार्यान्वयन गरेको छैन ।

गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक(एसपी) खुमबहादुर केसीले भने अहिलेसम्म कसैलाई पनि गणमा नझिकाइएको बताए ।

बीओपीमा कार्यरतलाई गणमा तान्ने नतान्ने विषयमा भने छानविन पछि मात्र निर्णय लिइने उनी बताउँछन् ।

‘त्यहाँ घटना भएको छ । अहिले छानबिन चलिरहेकाले कसैलाई पनि गण झिकाइएको छैन,’ एसपी केसीले भने, ‘छानबिनपछि मात्र के गर्ने ? भन्ने निर्णय हुन्छ ।’

तर, बाहिनीले भने डीएसपीबारे हेटक्वाटरले निर्णय लिने र अन्य सशस्त्र प्रहरी कर्मचारीलाई गणमा तानेर कारवाही प्रक्रिया थालिने जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?