News Summary
Generated by OK AI. Editorially reviewed.- बागलुङको ढोरपाटनमा दादुरा विरुद्ध खोप लगाएपछि बिरामी संख्या ४० बाट घटेर १५ पुगेको छ।
- फागुन पहिलो सातादेखि १३० जना संकास्पद र ११ जनामा दादुरा संक्रमण पुष्टि भएको छ।
- ढोरपाटनका ५ हजार ८५० बालबालिका, किशोर किशोरी र २३७ स्वास्थ्यकर्मीलाई खोप लगाइएको छ।
५ चैत, बागलुङ । बागलुङको दादुरा प्रभावित क्षेत्र ढोरपाटनमा दादुरा विरुद्धको खोप लगाएपछि बिरामीको संख्या क्रमशः घट्न थालेको छ । एक हप्ता अघि एकैपटक ४० जनालाई अस्पतालको आइसोलेसनमा उपचार भएको ढोरपाटनमा अहिले जम्मा १५ जना बिरामी अस्पतालमा उपचाररत छन् ।
ढोरपाटनमा फागुनको पहिलो सातादेखि फैलिएको दादुराका ३० जना संकास्पद बिरामी ढोरपाटनको बोबाङ, सेराबाङ र लाकुरीबोट गाउँमा बढी देखिएका थिए । १३० संकास्पद बिरामीमध्ये ९२ जना अस्पतलामा भर्ना भएका थिए जसमध्ये ७७ जना उपचारपछि घर फर्केका छन् ।
दादुरा नियन्त्रणका लागि ढोरपाटन नगरपालिका–८ बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा आइसोलेसन तयार गरेर उपचार भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिए ।
शर्माका अनुसार खोप लगाएपछि बिरामी घट्न थालेपछि सोमबारबाट एकसाता देखि बन्द भएका ढोरपाटनका विद्यालय समेत सचेतना अपनाएर खुल्न थालेका छन् । अहिले बुर्तिबाङ अस्पतालमा ९ र बोबाङ स्वास्थ्यचौकीमा ६ जना गरी दादुरा संकास्पद १५ बिरामीको उपचार भइरहेको छ । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ को बोबाङ, सेराबाङ र लाकुरीबोट गाउँमा दादुरा संक्रमण फैलिएको थियो ।
फागुन पहिलो सातादेखि हालसम्म १३० जना दादुराको संकास्पद लक्षण देखिएको छ भने ११ जनामा दादुरा पुष्टि भएको थियो । दादुराको बिरामी ३१ जनाको नमुना संकलन गरी काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण गरिएकोमा ११ जनामा दादुरा संक्रमण पुष्टि भएपछि महामारीको रूपमा फैलिएको थियो ।
महामारीको रूपमा बागलुङको ढोरपाटनमा फैलिएको दादुरा नियन्त्रणका लागि विभिन्न उपायसँगै खोप समेत लगाएपछि दादुर नियन्त्रणतर्फ उन्मुख भएको ढोरपाटन नगरपाकिलाका स्वास्थ्य शाखा प्रमुख भुमिराज शर्माले जानकारी दिए ।
शर्माले नियन्त्रणका लागि सचेतना जगाउने, खोप लगाउने र विद्यालयमा सचेतना कार्यक्रम गर्ने जस्ता कार्यले दादुरा संक्रमण नियन्त्रणमा आउन थालेको हो । एक हप्तादेखि बन्द भएका विद्यालय समेत सचेतना अपनाउदै खोल्न थालिएको छ ।
खोप लगाएको कम्तीमा पाँचदेखि सात दिनपछि दादुरा सर्नबाट घट्दै जाने जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताए ।
जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीका अनुसार ढोरपाटनका बालबालिका र किशोर किशोरी र स्वास्थ्यकर्मी सहित ५ हजार ८५० जनालाई खोप समेत लगाइएको छ । खोप लगाउन छुटेकाको विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले खोजी कार्य समेत गरिरहेको उनले बताए ।
बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप अभियान सम्पन्न गरे पनि छुटेकालाई अझै खोप लगाउन सकिनेछ । नगरका नौं वटै वडामा खोप अभियान सम्पन्न गरे पनि महामारीको रूपमा ढोरपाटनको तीन वटा वडामा फैलिएको हो । ढोरपाटनको विकट गाउँमा महामारीको रूपमा फैलिएको दादुरा प्रकोप नियन्त्रणका लागि ढोरपाटन नगरपालिका भरका ५ हजार ८५० बालबालिका र किशोर किशोरीलाई खोप लगाइसकिएको छ ।
दादुराबाट छ महिनादेखि ४८ वर्ष उमेर समूह, गर्भवती र स्थानपान गराईरहेकी महिला समेत प्रभावित भएका थिए । दादुरा घट्न थालेपछि ढोरपाटनको जनजीवन सामान्य बन्न थालेको छ ।
तत्काललाई दादुरा नियन्त्रणका लागि ढोरपाटन गरी थप फैलन नदिनका लागि नगरपालिकाका सबै नौ वटै वडाका १० देखि १९ बर्ष उमेर समूहका किशोर किशोरीलाई दादुराको खोप प्रदान गरिएको हो ।
यस्तै उपचारमा सम्लग्न रहेका २३७ स्वास्थ्यकर्मीलाई समेत दादुरा विरुद्धको खोप लगाइएको हो । ८ फागुनमा ढोरपाटनमा एक जनालाई दादुरा संक्रमण भएको पुष्टि भएको थियो । त्यस यता थप ११ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
प्रतिक्रिया 4