News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय खेलकुद परिषद्ले दशरथ रंगशालामा हुने नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबल खेलको स्वीकृति दिइसकेको प्रष्ट पारेको छ।
- अखिल नेपाल फुटबल संघले स्वीकृति नपाएको भन्दै खेल स्थगित गरेको आरोप राखेपछि राखेपले त्यसलाई खण्डन गर्दै भ्रमपूर्ण आरोप बन्द गर्न आग्रह गरेको छ।
- राखेपले नेपाली खेलकुदको विकासका लागि आफूमाथि लगाइएका आरोप गलत भएको बताएको छ।
८ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशरथ रंगशालामा आयोजना गरिने मैत्रीपूर्ण फुटबलका लागि अनुमति नदिएको भन्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को आरोपको खण्डन गरेको छ ।
राखेपका सूचना अधिकारी खुशराज दाहालको हस्ताक्षरमा लेखिएको ध्यानाकर्षण पत्रमार्फत राखेपले नेपाल र हङकङबिचको खेलका लागि स्वीकृति र अनुमति दिइसकेको प्रष्टीकरण दिएको हो ।
‘…२०८२/१२/३ गतेको पत्रमार्फत नै स्वीकृती र अनुमति दिइसकेको व्यहोरा सम्पूर्ण खेलप्रेमी महानुभाव तथा खेलाडी र सम्वन्धित सम्पूर्ण पक्षलाई जानकारी गराईन्छ’ ध्यानाकर्षण पत्रमा लेखिएको छ ।
नेपाली खेलकुदको विकास र विस्तारका लागि क्रियाशिल राष्ट्रिय खेलकुद परिषद्लाई भ्रमपूर्ण आरोप लगाई आफुले गर्नु पर्ने कार्य नगरी कमजोरी लुकाउने प्रयास बन्द गर्न राखेपले आग्रह गरेको छ ।
यसअघि एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै राखेपबाट स्वीकृति नपाएकाले दशरथ रंगशालामा हुने भनिएको नेपाल र हङकङबीचको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित गरिएको जानकारी दिएको थियो ।
प्रतिक्रिया 4