News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ को पहिलो चरणमा त्रिभुवन आर्मी क्लब, टाइम्स र गोल्डेनगेटले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
- तीनै टोलीले समान १३ अंक जोडेका छन् । अन्तरको आधारमा आर्मी पहिलो स्थानमा छ भने टाइम्स दोस्रो र गोल्डेनगेट तेस्रो स्थानमा छन् ।
- ८ टोली सहभागि लिगमा शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् र विजेताले नगद ४ लाख पुरस्कार पाउनेछन् ।
१० चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ (एचजेएनबीएल) को पहिलो चरणको खेलहरु सम्पन्न हुँदा विभागीय टोली त्रिभुवन आर्मी क्लब देखि साविक विजेता टाइम्स र गोल्डेनगेट हावी बनेका छन् ।
८ टोली सहभागि लिगमा सबैले ७-७ खेलिसक्दा यी तीन टोली समान १३ अंक जोडेर सबैभन्दा अघि छन् ।
गत वर्ष आयोजना भएको हिमालयन जाभा बास्केटबल लिग नखेलेको आर्मी यस पटक लिनिङ बास्केटबल च्याम्पियनसिपको विजेता बन्दै एचजेएनबीएलमा छनोट भएको थियो । आर्मीले यस पटक उत्कृष्ट प्रदर्शन जारी राख्दै शीर्ष स्थानमा छ ।
आर्मी, टाइम्स र गोल्डेनगेटको समान १३ अंक भएपनि अंक अन्तरको आधारमा आर्मी अघि भने टाइम्स दोस्रो र गोल्डेनगेट तेस्रोमा छ । यी तीन टोलीले १-१ खेल मात्र हारेका छन् ।
साविक विजेता टाइम्स पहिलो खेलमै गोल्डेनगेटसँग पराजित भएको थियो । तर त्यसपछि टाइम्सले लगातार ६ खेल जितेको छ ।
यस्तै आर्मीले उत्कृष्ट सुरुवात गरेको थियो । अहिलेसम्म आर्मी टाइम्ससँग मात्र पराजित भएको थियो । यसैगरी गोल्डेनगेटले पनि जम्मा एक खेल हारेको छ र त्यो हार आर्मी विरुद्ध थियो ।
यी तीन टोलीले पहिलो चरणमा म्युजिकल चियर जस्तो एकले अर्कालाई हराएका थिए । यी तीन टोलीले नै बाँकी पाँच टोली विरुद्ध भने जित हात पारेका थिए ।
लिगको पहिलो खेलमै गोल्डेनगेटले टाइम्सलाई ९२-७५ ले पराजित गरेको थियो । त्यसपछि आर्मीले गोल्डेनगेटलाई ९१-६७ ले पराजित गर्यो भने त्यसपछि टाइम्सले आर्मीलाई ८०-६८ ले हरायो ।
पहिलो चरण सकिँदा साविक विजेता टाइम्स, साविक उपविजेता गोल्डेनगेट र आर्मी उपाधि होडमा अघि छन् । यी तीन टोलीलाई पछ्याउने काम गरिरहेको छ केभिसी हाउण्ड्सले । हाउण्ड्स ७ खेलबाट ११ अंक जोडेर चौथो स्थानमा छ ।
सुरुवाती तीन खेलमा हाउण्ड्सको खेल माथिका तीन प्रतिद्वन्दीसँग थियो र सुरुको तीने खेलमा हाउण्ड्स सानो अन्तरले पराजित भएको थियो । तर त्यसपछि भने हाउण्ड्सले उत्कृष्ट पुनरागमन गर्दै लगातार चार खेल जितेर आफूलाई पनि दाबेदार टोलीको रुपमा उभ्याएको छ ।
अंक स्कोर गर्ने मामलामा पनि आर्मी अघि छ ।
आर्मीले तीन पटक एक सय भन्दा बढी अंक स्कोर गरेको छ । आर्मीले पहिलो खेलमै हाउण्ड्सलाई १०४-७९ ले पराजित गरेको थियो । यस्तै आर्मीले रोएललाई १०३-७५ र
सोलोलाई १०३-६८ अन्तरले पराजित गरेको थियो । हाउण्ड्सले एक पटक उक्त आँकडा पार गर्ने क्रममा सोलोलाई १०६-७२ ले पराजित गरेको थियो ।
७ खेलपछि आर्मीको कूल अंक अन्तर १२९ छ भने टाइम्सको ८१ र गोल्डेनगेटको ८० छ । यस्तै हाउण्ड्सको अंक अन्तर ३६ छ ।
गत वर्ष हिमालयन जाभा बास्केटबल लिग (एनजेबीएल) आयोजना हुँदा शीर्ष चारमा परेको टोली कीर्तिपुर यस संस्करणमा पाँचौ स्थानमा छ ।
कीर्तिपुरले ७ मध्ये २ खेल जित्दा ५ खेलमा पराजित छ । यस्तै सोलो बास्केटबल क्लबको पनि ७ खेलबाट २ जित र ५ हारसहित ९ अंक नै छ र छैटौं स्थानमा छ ।त्यसपछि अन्तिम दुई स्थानमा प्लेबक्स र रोएल छन् । दुवैले जम्मा १ खेल जित्दा ६ खेलमा हार बेहोर्दै ८ अंक जोडेका छन् ।
बास्केटबलमा हरेक खेलमा जित हात पार्ने टिमले २ अंक प्राप्त गर्नेछ भने पराजित हुने टिमले पनि १ अंक प्राप्त गर्ने भएकोले अंक तालिकामा ठूलो अन्तर भने छैन ।
पहिलो चरणसम्म आर्मीका निश्चल महर्जनले सर्वाधिक १५५ अंक जोडेका छन् । उनला२ पछ्यउँदै गोल्डेनगेटका निकेश राख्याल मगरले १५४ र केभिसी हाउण्ड्सका कप्तान बिजय बुर्जाले १४८ अंक जोडेका छन् ।
यस्तै ३ प्वाइन्टरमा भने बुर्जा अघि छन् । उनले सर्वाधिक ३१ पटक थ्री प्वाइन्ट स्कोर गरेका छन् । सोलोका प्रगुन महर्जनले २८ र गोल्डेनगेटका सुदिप पौडेल क्षेत्रीले २६ पटक थ्री प्वाइन्ट स्कोर गरेका छन् ।
यसैगरी असिस्टतर्फ आर्मीका कप्तान बिनोद महर्जनले ४९ असिस्ट गर्दा टाइम्सका कप्तान सदिश प्रधानले ४५ र गोल्डेनगेटका सुदिप पौडेलले ४३ असिस्ट गरेका छन् ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको एचजेएनबीएलमा ८ टिमले एक आपसमा दुई पटक खेल्नेछन् । लिगमा डबल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा हुनेछ र कूल ५६ खेल हुनेछ ।
लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत पहिलो क्वालिफायरमा लिगमा पहिलो र दोस्रो हुने टोलीबीच खेल हुनेछ लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ ।
पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।
तस्बीर: एचजेएनबीएल
प्रतिक्रिया 4