News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र तेल भिसाका निर्माता शिवराज कार्कीलाई वैदेशिक रोजगार विभाग ताहचल पठाउन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।
- शिवराज कार्कीले विदेश पठाइदिन्छु भन्दै २५० जनालाई ठगी गरेको आरोप छ र १०० भन्दा बढी पीडित प्रहरीको सम्पर्कमा छन्।
- उनविरुद्ध वैदेशिक ठगीमा ६ वटा पक्राउ पुर्जी जारी छन् र उनी भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जमा बस्दै आएका थिए।
१० चैत, काठमाडौं । चलचित्र तेल भिसाका निर्माता शिवराज कार्की पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो । सिन्धुलीको सुनकोशी गाउँपालिका–७ घर भएका उनलाई विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टले बताए ।
पासाङ नोर्बु तामाङ समेतका व्यक्तिले उनीविरुद्ध जाहेरी दिएका थिए । पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।
उनीविरुद्ध वैदेशिक ठगीमा ६ वटा पक्राउ पुर्जी जारी भएको पाइएको छ । उनले चाबहिलमा पी एण्ड एम इनोभेशन सर्भिस नामको कन्सलटेन्सी विगत १० वर्षदेखि सञ्चालन गर्दै आएका थिए ।
उनले २५० जनालाई ठगी गरको आरोप छ । १०० जना भन्दा बढी पीडित भने प्रहरीको सम्पर्कमा पुगिसकेका छन् ।
यसअघि उनीविरुद्ध २५ असार २०८२ मा प्रहरी वृत्त लैनचौरबाट बैंकिङ कसुरको मुद्दा समेत चलेको थियो ।
पछिल्लो तीन महिनादेखि भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जमा बस्दै आएका उनीबाट भारतीय आधार कार्ड र प्यान कार्ड समेत बरामद भएको छ । उनी भारतमा अन्नपूर्ण फास्टफुड सञ्चालन गरेर बस्दै आएका थिए ।
प्रतिक्रिया 4