११ चैत, काठमाडौं । अमेरिका-इजरायल र इरान युद्धको आज २६ औं दिन हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५ दिन हमला नगर्ने बताए पनि अमेरिकाको सहयोगी देश इजरायलले इरानमाथि हमला जारी राखेको छ । इरानले पनि जवाफी आक्रमणहरू गरिरहेको छ । यसबाट पश्चिम एशिया द्वन्द्वको चपेटामा परिरहेको छ ।
यसैबीच, अमेरिकाका रक्षा विज्ञ तथा ह्वाइट हाउसका पूर्व सल्लाहकार रोबर्ट पेपले ट्रम्पको वरिपरि जाल कसिँदै गएको बताएका छन्। उनले युद्ध विस्तारै अझ ठूलो हुँदै जानेगरी ट्रम्प एकप्रकारको जालमा फस्न सक्ने बताएका छन् ।
सञ्चार माध्यमहरूसँग कुरा गर्दै रोबर्ट पेपले भने, ‘सुरुमा साना-साना आक्रमणहरू गरिन्छन्, तर जब तिनीहरूबाट ठूलो लक्ष्य हासिल हुँदैन, तब आक्रमणहरू अझ बढाइन्छ। यसैलाई ‘एस्केलेसन ट्र्याप’ भनिन्छ, अर्थात् यस्तो जाल जसमा फसेर युद्ध निरन्तर बढ्दै जान्छ।’
पेपले युद्ध बढ्यो भने तेल आपूर्तिको ठूलो हिस्सा ओगट्ने होर्मुज स्ट्रेटमा गम्भीर असर पर्ने चेतावनी दिए । यसबाट विश्वको अर्थतन्त्र संकटमा पर्न सक्छ ।
पेपका अनुसार, यो स्थितिमा इरान बलियो हुन सक्छ र तेलमाथि बढी नियन्त्रण हासिल गर्न सक्छ। अवस्था सम्हाल्नका लागि इजरायलको सैन्य कारबाही नियन्त्रण गर्न जरुरी छ र यो निर्णय ट्रम्पले मात्र लिन सक्छन्।
यदि अमेरिकी सैनिकहरू इरान पुगे भने अवस्था अझै बिग्रन सक्ने र जबसम्म अमेरिकाले आफ्ना सैनिकहरू फिर्ता बोलाउँदैन, तबसम्म तनाव कम भइरहेको भन्न नसकिने उनले बताए।
रोबर्ट पेप सिकागो विश्वविद्यालयका प्रोफेसर हुन्। उनी राजनीति विज्ञान पढाउँछन् र उनले धेरै वर्षसम्म अमेरिकाको सुरक्षा र विदेश नीतिसँग जोडिएका विषयहरूमा अनुसन्धान गरेका छन्।
उता, संयुक्त राष्ट्र संघमा इजरायलका राजदूत ड्यानी ड्याननले अमेरिका र इरानबीचको वार्तामा इजरायल सामेल नभएको बताएका छन् ।
अमेरिका र इजरायल मिलेर इरानका सैन्य आधारहरूमा आक्रमण जारी राखेको र इरानलाई परमाणु क्षमता हासिल गर्नबाट रोक्नु इजरायलको उद्देश्य रहेको उनले स्पष्ट पारे।
इरानमा युद्धले कति क्षति भएको छ ?
अमेरिका र इजरायलको आक्रमण र जवाफमा इरानले इजरायल र जीसीसी राष्ट्रमा गरेको हमलामा परी ठूलो मात्रामा जनधनको क्षति भएको छ ।
इरानमा हालसम्म करिब १,५०० जनाको मृत्यु, १८,५५१ घाइते भएका छन् । मर्नेहरूमा ८ महिनाको बच्चादेखि ८८ वर्षसम्मका वृद्ध छन्। युद्धमा हालसम्म करिब २०० महिलाको मृत्यु भएको छ।
फेब्रुअरी २८ मा एउटा स्कुलमा भएको आक्रमणमा १६८ बालबालिकाको मृत्यु भएको थियो। युद्धमा ५५ स्वास्थ्यकर्मी घाइते भएका छन्, जसमध्ये ११ जनाको मृत्यु भएको छ।
ट्रम्पको दाबी : इरानलाई १५ बुँदे युद्धविराम योजना पठाएको छु

ट्रम्पले इरानलाई १५ बुँदे युद्धविराम योजना पठाएको बताएका छन् । मिडिया रिपोर्टका अनुसार यो प्रस्ताव पाकिस्तानमार्फत इरानसम्म पुर्याइएको हो। पाकिस्तानले दुई देशबीच वार्ता गराउन मद्दत गर्ने पनि बताएको छ।
अर्कोतर्फ, अमेरिकाले इरानको वरपर आफ्नो सेना पनि बढाइरहेको छ। यस क्षेत्रमा पहिले नै करिब ५०,००० अमेरिकी सैनिकहरू तैनाथ छन्। साथै करिब ५,००० मरिन (समुद्री सैनिक) र धेरै पानीजहाजहरू पनि तैनाथ गरिँदैछ।
ट्रम्प एकैसाथ दुवै बाटो खुला राख्न चाहन्छन् भन्ने मानिएको छ- कुरा मिलेमा सम्झौता, नत्र कारबाही। यद्यपि अहिलेसम्म यो योजनाको पूर्ण विवरण सार्वजनिक गरिएको छैन।
ट्रम्पले मंगलबार अमेरिकाले युद्ध जितिसकेको दाबी गरेका छन्। ह्वाइट हाउसमा मिडियासँगको कुराकानीमा उनले इरान परमाणु हतियार नबनाउन सहमत भएको र सम्झौता गर्न तयार रहेको बताए।
उनले निरन्तरको आक्रमणपछि इरान पूर्ण रूपमा कमजोर भइसकेको र यदि कुराकानी असफल भयो भने, अमेरिकाले इरानको ऊर्जा पूर्वाधार (पावर प्लान्ट) मा फेरि आक्रमण गर्न सक्ने चेतावनी दिए।
ट्रम्पले साउदी अरब, युएई र कतारको प्रशंसा गरेका छन्। यी खाडी देशहरूले आफैं क्षेप्यास्त्र र ड्रोन आक्रमणको सामना गरिरहेको भए पनि अवस्था सम्हाल्न उत्कृष्ट काम गरेको उनले बताए।
यसैबीच, इराकको लडाकु समूह ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ ले पछिल्लो २४ घण्टामा ड्रोन र क्षेप्यास्त्र प्रयोग गरी अमेरिकासँग जोडिएका आधार शिविरहरूमा २३ वटा आक्रमण गरेको दाबी गरेको छ।
इरानमा आज के भयो ?

इरानको राजधानी तेहरानको दक्षिणी क्षेत्र वरामिनमा मंगलबार राति आवासीय क्षेत्रमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले इरानको राजधानी तेहरानमा ‘नयाँ आक्रमणहरू’ सुरु गरेको बताएको छ।
आईडीएफका अनुसार, यी आक्रमणहरूमा तेहरानमा ‘इरानी आतंकवादी शासन’ सँग जोडिएका पूर्वाधारहरूलाई निशाना बनाइँदैछ। बीबीसीलाई तेहरानभित्र रहेका स्रोतहरूले बताएअनुसार उनीहरूले तेहरानको पूर्वी, उत्तरी र मध्य भागहरूमा विस्फोटका आवाजहरू सुनेका छन्।
यसैबीच तेहरानबाट केही तस्बिरहरू पनि सार्वजनिक भएका छन्, जसमा भवनहरूमाथि धुवाँ उडिरहेको देखिन्छ।
इरानले के गरिरहेछ ?
आजै कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमणपछि इन्धन ट्याङ्कीमा आगो लागेको छ। विमानस्थलका प्रवक्ताका अनुसार मानवीय क्षति भएको छैन, तर आपतकालीन प्रोटोकल लागू गरी दमकलले आगो निभाउने काम गरिरहेको छ।
उता, साउदी अरबको रक्षा मन्त्रालयले पूर्वी प्रान्तमा एउटा ब्यालेस्टिक क्षेप्यास्त्र र कम्तीमा ६ वटा ड्रोनलाई आफ्नो वायु रक्षा प्रणालीले रोकेर नष्ट गरेको जानकारी दिएको छ।
इरान र हिजबुल्लाहले तेल अवीव र उत्तरी क्षेत्रलाई निशाना बनाउँदै इजरायलमाथि नयाँ चरणको क्षेप्यास्त्र प्रहार गरेका छन्। यसमा कम्तीमा एक जनाको मृत्यु भएको छ र एक दर्जनभन्दा बढी घाइते भएका छन्।
लेबनानमा इजरायली सेना पुगेको छ । त्यस क्षेत्र कब्जा गर्ने योजना सार्वजनिक गरेसँगै इजरायली सेना दक्षिणी लेबनानतर्फ थप अगाडि बढिरहेको छ। त्यहाँ अघिल्लो दिनको मृतकको संख्या ३३ पुगेको छ।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4