११ चैत, गुल्मी । शिक्षाको गुणस्तर सुधारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ चन्द्रकोट गाउँपालिकाले १८ जनालाई मन्टेश्वरी तालिम (सीप परीक्षणसहित) दिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय गुल्मीसँगको सहकार्यमा गाउँपालिकाले १८ जनालाई ३९० घण्टे आधारभूत मन्टेश्वरी तालिम दिएको हो ।
तालिममा सहभागीहरूलाई प्रारम्भिक बाल शिक्षा क्षेत्रमा आवश्यक व्यवहारिक सीप र ज्ञान प्रदान गरेको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले बताए ।
उनका अनुसार सहभागीले बालबालिकाको मानसिक, शारीरिक तथा सामाजिक विकासका विभिन्न पक्षबारे गहिरो अध्ययन गरेका थिए ।
मन्टेश्वरी शिक्षण पद्धति, बालमैत्री वातावरण सिर्जना, शिक्षण सामग्रीको प्रयोग, बालमनोविज्ञान, कक्षा व्यवस्थापन लगायतका विषयमा व्यवहारिक अभ्याससहित प्रशिक्षण दिइएको गाउँपालिकाले जनाएको छ ।
सीप परीक्षणलाई समेत समावेश गरिएकाले सहभागीहरूको क्षमता मापन र उनीहरूको दक्षता अभिवृद्धिमा टेवा पुगेको कार्यालय प्रमुख अर्यालले बताए । तालिम अवधिभर प्रशिक्षार्थीहरूले सिकेका सीपलाई व्यवहारमा उतार्ने अभ्यास गरेका थिए । जसले उनीहरूलाई भविष्यमा रोजगार तथा स्वरोजगारको अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रम समापन समारोहमा बोल्दै चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले यस्तो किसिमका सीपमूलक तालिमले स्थानीय स्तरमा दक्ष जनशक्ति उत्पादन गर्नुका साथै आर्थिक सशक्तीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गरी गुणस्तरीय प्रारम्भिक शिक्षा प्रदान गर्न आग्रह गरे ।
प्रतिक्रिया 4