News Summary
Generated by OK AI. Editorially reviewed.- दार्चुलाको व्याँस गाउँपालिका-१ का स्थानीयहरू मंसिरमा खलंगा पुगेर वैशाखमा गाउँ फर्कने परम्परा छ।
- सीमा पारीबाट आउजाउ गर्न बहुयात्रा अनुमतिपत्र चाहिन्छ र सोमबारसम्म ६८२ जनाले पास लिएका छन्।
- भारतले प्राविधिक कारणले प्रवेश अनुमतिपत्र जारी गर्न ढिलो गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए।
१४ वैशाख, काठमाडौं । दार्चुलाको व्याँस गाउँपालिका-१ अन्तर्गतको छाङरू र तिंकरवासी हिमपात हुने महिनामा जिल्ला सदरमुकाम खलंगा लगायत क्षेत्रमा झर्छन् । त्यहाँका स्थानीयहरू सामान्यतया मंसिरमा खलंगा आसपासमा झरेर वैशाख मध्यतिर गाउँ फर्कन्छन् ।
यसरी तलमाथि गर्दा उनीहरू धार्चुलाको गर्ब्याङ तर्फको बाटो प्रयोग गर्न बाध्य छन् । भारततर्फबाट जाँदा गाडीमा साढे तीन घण्टामा गन्तव्यमा पुगिने तर नेपालभित्रबाट जाँदा दैनिक १२ घण्टा हिँड्दा पनि तीन दिन लाग्ने स्थानीयहरू बताउँछन् । उनीहरूका अनुसार पशु चौपायासहित यात्रा गर्दा चार पाँच दिन लाग्छ ।
सीमा पारीबाट आउजाउ गर्न ‘बहुयात्रा अनुमतिपत्र’ चाहिन्छ । यस्तो पास भएपछि सीतापुल, गर्ब्याङ र वुँदी हुँदै यात्रा गर्न पाइन्छ ।
जिल्ला प्रशासन कार्यालय, दार्चुलाका अनुसार सोमबारसम्म ६८२ जनाले यस्तो अनुमतिपत्र लिएका छन् । सीमा पारीबाट यात्रा गर्न भारतको पनि अनुमति चाहिन्छ ।
भारतले यो वर्ष अझैसम्म अनुमति दिई नसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल बताउँछन् । प्राविधिक कारणले प्रवेश अनुमतिपत्र जारी गर्न ढिलो भएको अनौपचारिक जानकारी आफूले पाएको पौडेलले बताए ।
व्यास–१ का वडाध्यक्ष अशोकसिंह बोहरा भने समयमै पास नपाउँदा स्थानीयलाई गाउँ फर्कन ढिलो भइसकेको बताउँछन् । भारतले ६ महिनाका लागि अनुमतिपत्र दिने गरेका छन् ।
मेदेखि अक्टोबर ३१ सम्मका लागि अनुमतिपत्र जारी गरिन्छ । वडाध्यक्ष बोहरा अप्रिल मध्यतिरबाटै यस्तो पासको खाँचो पर्ने बताउँछन् ।
७–८ महिनाका लागि चाहिनेमा ६ महिनाका लागि मात्र अनुमतिपत्र प्राप्त हुने गरेको बोहराको गुनासो छ । उनी भन्छन्, ‘केवल ६ महिनाका लागि भनिएको हुन्छ, त्यसलाई एक वर्ष बनाउन पाए हामीलाई सहज हुने थियो ।’
नेपालले लिम्पियाधुरा सहितको चुच्चे नक्सा जारी गरेपछि २०७७ साउनमा भारतले नेपालीलाई आफ्नो तर्फबाट हिँड्डुल गर्न रोक लगाएको थियो ।
प्रतिक्रिया 4