News Summary
Generated by OK AI. Editorially reviewed.- तीन राष्ट्रले आयोजना गर्ने सन् २०२६ को फिफा विश्वकपमा पहिलोपटक ४८ टोली सहभागी हुँदै १०४ खेल सञ्चालन हुने भएका छन् ।
- अर्जेन्टिनाका लियोनेल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले मैदान उत्रिएमा छैटौं पटक विश्वकप खेल्ने कीर्तिमान बनाउनेछन् ।
- जर्मनीका मिरोस्लाभ क्लोजको सर्वाधिक १६ गोल र १७ खेल जित्ने कीर्तिमान आगामी विश्वकपमा लियोनेल मेस्सीले तोड्न सक्ने सम्भावना छ ।
१९ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ सुरु हुनुअघि नै केही कीर्तिमानहरू बनिसकेका छन् । विश्व फुटबलको महाकुम्भ अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता बन्दैछ ।
पहिलो पटक तीन राष्ट्रले विश्वकप आयोजना गर्नेदेखि अहिलेसम्मकै धेरै ४८ राष्ट्रले विश्वकप खेल्दैछन् भने कूल १०४ खेल हुनेछ । यो एकै संस्करणमा हुन लागेको अहिलेसम्मकै धेरै खेल हो ।
यस्तै विश्वकप सुरु भएपछि नै केही कीर्तिमान थपिनेछन् । जस्तै मेक्सिकोको एज्टेका रंगशाला तीन फरक विश्वकप आयोजना गर्ने विश्वकै पहिलो रंगशाला बन्नेछ । मेक्सिको तीन पटक विश्वकप आयोजना गर्ने पहिलो राष्ट्र बन्दैछ ।
यस बाहेक विश्वकपका दौरान अन्य विभिन्न खालको कीर्तिमान पनि बन्न सक्छन् । तर त्यसमध्ये केही यस्ता कीर्तिमान छन् जुन यसै विश्वकपमा तोडिने सम्भावना धेरै छ ।
फिफा विश्वकप २०२६ मा तोडिन सक्ने यी पाँच कीर्तिमानको बारेमा यहाँ चर्चा गरिएको छ ।
१. सर्वाधिक गोल
यस विश्वकपमा टिम संख्या र खेल संख्या बढेपछि अहिले कीर्तिमान बन्ने सम्भावना पनि धेरै छ । त्यसमा पनि एकै संस्करणमा धेरै गोलको कीर्तिमान यस संस्करणमा बन्न सक्छ ।
यसअघि कतार विश्वकपमा ६४ खेल हुँदा १७२ खेल भएका थिए । यस पटक १०४ खेल हुँदैछ । जसले गर्दा गोल संख्या बढ्ने अनुमान सहजै गर्न सकिन्छ ।
कतार विश्वकपमा प्रति खेल गोल अनुपात २.६९ गोल थियो । कतार विश्वकप भन्दा ४० खेल बढी हुने भएपछि यस विश्वकपमा गोलको संख्या बढ्न सक्ने सम्भावना अत्याधिक छ ।
यस विश्वकपमा २०० गोलको आँकडा पूरा हुन सक्छ ।
२. धेरैपटक विश्वकप खेल्ने कीर्तिमान
सन् १९३० मा उरुग्वेबाट सुरु भएको फिफा विश्वकपको ९६ वर्ष लामो इतिहासमा धेरै खेलाडीले विश्वकप खेलिसकेका छन् । कति खेलाडीले एक पटक मात्र विश्वकप खेले भने कति खेलाडीले एक भन्दा धेरै पटक पनि विश्वकप खेलेका छन् ।
विश्वकपमा छनोट भएर विश्वकप खेल्नु नै टिमका लागि चुनौती हुनेछ । त्यसमा पनि कुनै पनि खेलाडीले लगातार विश्वकप खेल्दै आउनु आफैंमा अर्को कीर्तिमान हो ।
लगातार विश्वकप खेल्नका लागि खेलाडीमा एन्डुरेन्स देखि आफ्नो लय लगायत धेरै कुराले असर गर्छ । ब्राजिलकी फोर्मिगाले ७ पटक महिला विश्वकप खेलेर कीर्तिमान बनाएकी थिइन् ।
पुरुष विश्वकपमा भने अहिलेसम्म पाँच खेलाडीले पाँच पटक विश्वकप खेलेका छन् । मेक्सिकोका एन्टोनिओ कार्बाजल र राफेल मार्क्वेज, जर्मनीका लोथार म्याथुएस, अर्जेन्टिनाका लियोनेल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पाँच पटक विश्वकप खेलिसकेका छन् ।
यी पाँचमध्ये मेस्सी र रोनाल्डो आधुनिक फुटबलका सुपर स्टार नै हुन् । एकै समयमा दुई उत्कृष्ट खेलाडी २०२६ को विश्वकप खेल्ने टोलीमा पनि समावेश छन् र छैटौं पटक विश्वकप खेल्ने अभियानमा छन् ।
यदि यी दुई खेलाडी एक सेकेण्ड मात्रै पनि मैदानमा उत्रिएमा छैटौं पटक विश्वकप खेल्ने कीर्तिमान बनाउनेछन् । मेस्सीले सन् २०२२ मा कतारमा भएको विश्वकपको उपाधि जितेका थिए ।
उनले आफ्नो करियरलाई पूर्ण बनाइसकेका छन् । रोनाल्डोले भने क्लब फुटबल र अन्तर्राष्ट्रिय गोल स्कोरिङमा धेरै कीर्तिमान बनाएपनि विश्वकप जित्न सकेका छैनन् । यस पटक रोनाल्डोलाई विश्वकप जित्ने अन्तिम अवसर छ ।
रोनाल्डोले अहिलेसम्म खेलेको पाँच वटै विश्वकपमा गोल गरेका छन् भने मेसीले पाँचै विश्वकपमा गोलका लागि असिस्ट गरेका छन् ।

३. सर्वाधिक गोलकर्ताको कीर्तिमान
यस विश्वकपमा तोडिन सक्ने अर्को कीर्तिमान हो, विश्वकपकै सर्वाधिक गोल गर्ने कीर्तिमान । जर्मनीका मिरोस्लाभ कोलजले चार पटक विश्वकप खेल्दै सर्वाधिक १६ गोल गरेका छन् । उनले सन् २०१४ को विश्वकपमा ब्राजिलियन रोनाल्डोको १५ गोलको कीर्तिमान तोडेका थिए ।
क्लोजले बनाएको यो कीर्तिमान यस पटक संकटमा छ । किनभने दुई स्टारले यो कीर्तिमान पछ्याइरहेका छन् ।
विश्वकै उत्कृष्ट खेलाडी अर्जेन्टिनाका लियोनेल मेस्सीले पाँच पटक विश्वकप खेल्दा १३ गोल गरेका छन् । उनले २०२६ मा थप ४ गोल गरेमा क्लोजको कीर्तिमान ब्रेक गर्न सक्छन् ।
यस्तै २७ वर्षीय फ्रेन्च कप्तान किलिएन एमबाप्पे पनि सर्वाधिक गोलकर्ता बन्ने अभियानमा छन् । एमबाप्पेले अहिलेसम्म २ विश्वकप मात्र खेलपनि १२ गोल गरिसकेका छन् ।
उनले सन् २०१८ मा रुसमा भएको विश्वकप फ्रान्सले जित्दा ४ गोल गरेका थिए । यस्तै सन् २०२२ मा भने एमबाप्पेले सर्वाधिक ८ गोल गर्दै गोल्डेन बुट नै जितेका थिए । त्यसबेला एमबाप्पेले फाइनलमा अर्जेन्टिना विरुद्ध ह्याट्रिक नै गरेका थिए ।
४. धेरै खेल जित्ने खेलाडी
यस पटक जर्मनीका मिरोस्लाभ क्लोजको अर्को कीर्तिमान पनि संकटमा देखिएको छ । अहिलेसम्म विश्वकपमा सर्वाधिक खेल जित्ने कीर्तिमान क्लोजकै नाममा छ । उनले विश्वकपमा १७ खेल जितेका छन् ।
उनले सन् २०१४ मा ब्राजिलका काफुको नाममा रहेको कीर्तिमान तोडेका थिए । उनी भन्दा पछि रहेका अर्जेन्टिनाका मेस्सीले पनि १६ खेल जितिसकेका छन् । यदि फिफा विश्वकप २०२६ मा मेस्सीले एक खेल मात्र जितेपनि त्यो कीर्तिमान बराबरी हुनेछ ।
यस्तै मेस्सीले समूह चरणमा दुई खेल जितेमा मेस्सीले क्लोजलाई पछि पार्दै विश्वकपमा सर्वाधिक खेल जित्ने कीर्तिमान बनाउनेछन् ।
विश्वकपमा सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाइसकेका मेस्सीले यस विश्वकमा धेरै गोल गर्ने धेरै खेल जित्ने लगायत कीर्तिमान ब्रेक गर्न सक्छन् । विश्वकप जितिसकेका मेस्सीले व्यक्तिगत रुपमा पनि यी कीर्तिमानहरु तोडेमा विश्वकप इतिहासमै सफल खेलाडी बन्नेछन् ।
५. प्रशिक्षकको रूपमा धेरै जित
विश्वकपमा अहिलेसम्म पश्चिम जर्मनीका हेल्मट स्कोन्सले प्रशिक्षकको रुपमा सर्वाधिक १६ खेल जितेका छन् । तर यस पटक भने फ्रान्सका डिडियर डेसच्याम्प्सले हेल्मटको कीर्तिमानलाई चुनौती दिन सक्छन् ।
सन् १९९८ को फिफा विश्वकप जित्दा कप्तान रहेका डेसच्याम्प्सले प्रशिक्षकको रुपमा सन् २०१८ मा फ्रान्सलाई विश्वकप जिताइसकेका छन् । डेसच्याम्प्सले अहिलेसम्म प्रशिक्षकको रुपमा विश्वकपमा १४ खेल जितिसकेका छन् ।
यदि फ्रान्सले २०२६ को विश्वकपमा थप दुई खेल जितेमा हेल्मुटसँग संयुक्त रूपमा सर्वाधिक खेल जित्ने प्रशिक्षक बन्नेछन् । यस्तै तीन खेल जितेमा ४८ वर्षीय डेसच्याम्प्सले विश्वकपमा सर्वाधिक खेल जित्ने प्रशिक्षकको कीर्तिमान बनाउनेछन् ।
प्रतिक्रिया 4