News Summary
Generated by OK AI. Editorially reviewed.- विश्व वातावरण दिवसका अवसरमा नेपालका विभिन्न राष्ट्रिय खेलकुद संघहरूले पर्यावरण संरक्षण र दिगो खेलकुद विकासका लागि ऐतिहासिक ऐक्यबद्धता जनाएका छन् ।
- सहभागी खेल संघहरूले नेपाली खेलकुदलाई स्वच्छ, हरियाली र जिम्मेवार बनाउन ९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
- यस हरित अभियानको समन्वय र कार्य सञ्चालनका लागि अल्पाइन स्पोर्ट्स फेडेरेसन नेपाललाई सचिवालयको जिम्मेवारी तोकिएको छ ।
२३ जेठ, काठमाडौं । विश्व वातावरण दिवस (जुन ५) को अवसर पारेर नेपालका विभिन्न राष्ट्रिय खेलकुद संघहरूले पर्यावरण संरक्षण र दिगो खेलकुद विकासका लागि ऐतिहासिक ऐक्यवद्धता जनाएका छन् ।
सातदोबाटोस्थित अल्पाइन स्पोर्ट्स नेपालको कार्यालयमा शुक्रबार आयोजित एक विशेष छलफलमार्फत सहभागी संघहरूले एकजुट भएर ‘क्लिन एण्ड ग्रीन स्पोर्ट्स’ अभियानलाई अगाडि बढाउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् । नेपालको खेलकुद इतिहासमै वातावरण र खेलकुदलाई एकीकृत गरी यसरी सामूहिक पहल भएको यो पहिलोपटक हो ।
छलफल कार्यक्रममा अल्पाइन स्पोर्ट्स फेडेरेसन नेपाल, नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसन, नेपाल स्केटिङ एण्ड स्केटबोर्डिङ एसोसिएसन, नेपाल बेसबल एण्ड सफ्टबल संघ, नेपाल हक्की संघ, इ-स्पोर्टस एसोसिएसन नेपाल र नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष, महासचिव तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
यसका साथै, नेपाल एड्भेन्चर रनिङ फेडेरेसन, नेपाल र्याफ्टिङ एण्ड कनोइङ एसोसिएसन, नेपाल ह्यान्डबल संघ र नेपाल कुस्ती संघले पनि यस पर्यावरणमैत्री अभियानमा आफ्नो पूर्ण ऐक्यवद्धता जनाएका छन् । विश्व खेलकुद महासंघहरूमा आबद्ध रहेका नेपाली खेल संघहरूले नेपाली खेल क्षेत्रलाई वातावरणमैत्री बनाउन र दिगो विकासमा योगदान दिन उच्च उत्साह देखाएका छन् ।
बैठकका मुख्य निष्कर्ष तथा आगामी कार्ययोजना:
बैठकले नेपाली खेलकुदलाई स्वच्छ, हरियाली र जिम्मेवार बनाउन ९ बुँदे महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ, जसको सचिवालयको जिम्मेवारी अल्पाइन स्पोर्ट्स फेडेरेसन नेपाललाई दिइएको छ:
राष्ट्रिय अभियानको सुरुवात: नेपालभर ‘क्लिन, ग्रीन तथा सस्टेनेबल (दिगो) स्पोर्ट्स’का लागि वृहत् राष्ट्रिय अभियान सञ्चालन गरिनेछ ।
अन्तर्राष्ट्रिय मापदण्डको पालना: राष्ट्रिय खेल संघ/महासंघहरूले आ-आफ्नो अन्तर्राष्ट्रिय महासंघको ‘क्लिन ग्रीन अभियान’ तथा ‘क्लाइमेट एक्सन’ (जलवायु कार्य) सम्बन्धी गाइडलाइन र कार्यविधिलाई पछ्याउनेछन् ।
संयुक्त सहकार्य: नेपाल सरकार, गैरसरकारी संस्था तथा विभिन्न विकास नियोगहरूसँग वातावरण र खेलकुदको मुद्दामा सहकार्य गरिनेछ ।
कार्ययोजना र जिम्मेवारी: सम्बन्धित संघ/महासंघहरूले आ-आफ्नो खेल विधा र क्षेत्रमा स्पष्ट कार्ययोजना बनाउनेछन् र जिम्मेवारी तोक्नेछन् ।
सार्वजनिक प्रतिबद्धता: सहभागी सबै संघ/महासंघहरूले आ-आफ्नो वातावरणमैत्री गाइडलाइन तथा प्रतिबद्धता पत्र छिट्टै सार्वजनिक गर्नेछन् ।
नीतिगत कार्य र अनुसन्धान: स्वच्छ, हरित र जिम्मेवार खेलकुदका लागि नेपाल ओलम्पिक कमिटी (NOC), राष्ट्रिय खेलकुद परिषद (NSC) तथा सम्बन्धित निकायहरूसँग तालिम, अध्ययन अनुसन्धान र नीति (पोलिसी) निर्माणका लागि कार्य गरिनेछ ।
जनचेतना अभिवृद्धि: सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूको अधिकतम प्रयोग गरी खेलकुद र वातावरणबारे चेतनामूलक कार्यक्रमहरू अगाडि बढाइनेछ ।
वृहत् एकता: नेपालका सम्पूर्ण साना-ठूला खेलकुद संघ/महासंघहरूलाई यस हरित अभियानमा जोडिनका लागि खुल्ला आह्वान गरिनेछ ।
सचिवालयको जिम्मेवारी: यस अभियानको सम्पूर्ण समन्वय र कार्य सञ्चालनका लागि अल्पाइन स्पोर्ट्स फेडेरेसन नेपाललाई सचिवालयको जिम्मेवारी दिने निर्णय गरिएको छ ।
छलफलका क्रममा विश्वभरका खेलकुद महासंघहरूले वातावरणीय मुद्दामा खेलिरहेको भूमिका, नेपाली समाजमा खेलकुदको प्रभाव र ‘क्लिन ग्रीन स्पोर्ट्स’ मार्फत समृद्ध राष्ट्र निर्माणमा खेल क्षेत्रले पुर्याउन सक्ने योगदानबारे गहन विमर्श गरिएको थियो ।
खेलकुद क्षेत्र केवल प्रतिस्पर्धा र पदकमा मात्र सीमित नभई पृथ्वीको संरक्षण र आगामी पुस्ताको भविष्यप्रति पनि उत्तिकै जिम्मेवार हुनुपर्छ भन्ने सन्देश यस ऐतिहासिक भेलाले दिएको छ ।
दिगो विकास, दिगो पर्यटन र उत्तरदायी समाज निर्माणका लागि यो कार्यक्राले सहयोग पुग्ने विश्वास छ ।
प्रतिक्रिया 4