+
+
Shares
रास्वपा महाधिवेशन :

जेनजी आन्दोलनका घाइते प्रकाशले भने- हारले मेरो पाइला रोक्ने छैन, अझ दृढ बनाउने छ

‘हारले मेरो पाइला रोक्ने छैन, बरु अझ दृढ बनाउने छ । तपाईंहरूको साथ, विश्वास र माया नै मेरो सबैभन्दा ठूलो शक्ति हो । सबैप्रति हार्दिक धन्यवाद,’ उनले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते १५:३४
फाइल तस्वीर

१२ असार, काठमाडौं । जेनजी आन्दोलनका क्रममा रगतले लतपतिएको जुत्ताको तस्वीर भाइरल भएपछि चर्चामा आएका प्रकाशबहादुर बोहरा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा पराजित भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने जेनजी आन्दोलनका चर्चित अनुहारमध्येका एक उनले चितवनको भरतपुरमा भएको पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा अपेक्षित मत ल्याउन सकेनन् ।

उनी पहिलो चरणको निर्वाचनमा भूगोलतर्फ कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवार थिए । मत गणनाको अन्तिम परिणामअनुसार बोहराले कुल खसेको मतमध्ये ४५१ मतमात्र प्राप्त गरे ।

कर्णाली प्रदेशमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सबैभन्दा बढी एक हजार ७५१ मत पाएकी छन् ।

रास्वपाको केन्द्रीय सदस्यका लागि कर्णाली प्रदेशमा ३१ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये मन्त्री बादीसँगै विनिता कठायत, टासी ल्हाङ्गजोम, मेनुका शाही र प्रकाश न्यौपाने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

मतपरिणाम सार्वजनिक भएपछि बोहराले आफूलाई मतदान गरेका महाधिवेशन प्रतिनिधिहरूलाई सामाजिक सञ्जाल फेसबुकमार्फत् आभार व्यक्त गरेका छन् ।

‘तपाईंहरूको विश्वास मेरो लागि कुनै पदभन्दा ठूलो सम्मान हो,’ उनले लेखेका छन् ।

तस्वीर : दिनेश गौतम/अनलाइनखबर

जेनजी आन्दोलनमा परिवर्तनको सपना बोकेर सडकमा उत्रिँदा लागेको चोट अझै शरीरमा रहेको भन्दै उनले घाउ व्यक्तिगत स्वार्थका लागि नभएर नयाँ राजनीतिक संस्कार, सुशासन र समृद्ध नेपालको सपना पूरा गर्ने यात्राको साक्षी भएको उल्लेख गरेका छन् ।

‘त्यसैले आजको निर्वाचन परिणामले मेरो उद्देश्य र प्रतिबद्धतालाई बदल्न सक्दैन,’ बोहराले भनेका छन् ।

बोहराले आगामी दिनमा पार्टीले दिएको जुनसुकै जिम्मेवारीमा रहेर संगठन निर्माण, आन्दोलन र जनताको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता जनाएका छन् ।

‘हारले मेरो पाइला रोक्ने छैन, बरु अझ दृढ बनाउने छ । तपाईंहरूको साथ, विश्वास र माया नै मेरो सबैभन्दा ठूलो शक्ति हो । सबैप्रति हार्दिक धन्यवाद,’ उनले लेखेका छन् ।

जेनजी आन्दोलनमा गोली लागेर ढलेका बोहरा अहिले पनि उपचाररत नै छन् ।  पहिलो चरणको निर्वाचन प्रक्रिया सकेर उनी काठमाडौ फर्किएका छन् ।

‘मेरो आज अस्पतालमा फलोअप छ । त्यही भएर काठमाडौ फर्किएँ,’ उनले भने ।

उनले आफू पराजित हुनुमा प्राविधिक कारण रहेको पन जिकिर गरे ।

‘सबैले भोट हालेको छु भन्नु भएको थियो । मेरोभन्दा माथि अर्को साथीको नाम पनि प्रकाश थियो,’ बोहराले भने, ‘तल फेरि अर्को साथीको थर बोहरा थियो । मेरो नाम बीचमा थियो । नाममा क्न्फ्युज भएको जस्तो लाग्छ ।’

दैलेख नारायण नगरपालिका–८ का बोहरा २१ फागुनको प्रतिनिधिसभा चुनावमा रास्वपाबाट समानुपातिक उम्मेदवार पनि थिए ।

तर, उनी निर्वाचित हुन सकेनन् घाइते बोहराको खुट्टामा रड राखिएको छ । उनको खुट्टाको हड्डी भाँचिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?