
१६ कात्तिक, काठमाडौं । अवैध रुपमा नेपाल प्रवेश गरेका ११ अफगानी नागरिकमध्ये मेक्सिको पठाइएका पाँच जना काठमाडौं फिर्ता आएका छन् ।
आइतबार साँझ मेक्सिको पठाइएका उनीहरु मंगलबार श्रीलंकन एयरलाइन्सको उडान नं. यूएल १८१ मार्फत नेपाल फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय स्रोतले बतायो ।
स्रोतका अनुसार उनीहरुलाई मेक्सिकोको अध्यागमनले त्यहाँको विमानस्थल प्रवेशमा रोक लगाएको थियो । ‘इन्ट्री रिफ्यूज गरिएको लगायतको पत्रसहित अध्यागमन विभाग, कालिकास्थान पठाएका छौं’ विमानस्थल स्रोतले भन्यो ।
विभागमा बुझाएका अफगानी नागरिकमा ४१ वर्षीय मोहमद जामराई स्तानाजाई, ३८ वर्षीया नाजिफा स्तानाजाई, १७ वर्षीया मिसब जैनब स्तानाजाई, १२ वर्षीया नोरुल हाया स्तानाजाई र ८ वर्षीय मोहम्मद रायन स्तानाजाई छन् । उनीहरुलाई के गर्ने भन्नेबारे टुंगो लागि नसकेको विभागका एक अधिकारीले बताए ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले चाहिँ उनीहरु फिर्ता आएको बारे जानकारी पाए पनि विस्तृत विवरण आफूसँग नभएको बताए ।
विमानस्थलमा अध्यागमनको ‘डिटेन्सन रुम’ मा राखिएका बेला उनीहरुले नेपालमा शरणार्थीको रुपमा बस्न दिन अनुरोध गरेका छन् । त्यसका लागि उनीहरुले लिखित निवेदनसमेत बुझाउने तयारी गरेको स्रोतले बतायो ।
पाँचै जनासँग रहेको राहदानीका आधारमा अध्यागमन विभागले उनीहरुलाई यसअघि ‘अनअराइभल भिसा’ दिएर निष्काशन गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुसहित ११ जनालाई ८ कात्तिकमा सिनामंगलस्थित एक होटलबाट पक्राउ गरेको थियो ।
तालिवानले सत्ता कब्जा गरेपछि उनीहरु उडानमार्फत ९ जुलाई २०२१ मा भारत आएका थिए । भारतको दिल्लीबाट सुनौली नाका हुँदै उनीहरु ४ कात्तिकमा काठमाडौं आइपुगेको खुलेको थियो ।
पक्राउ परेकामध्ये अन्य ६ जनाको हकमा विभागले अझै निर्णय गरिसकेको छैन ।
पक्राउ पर्नुअघि उनीहरुले शरणार्थी मामिलासम्बन्धी उच्च आयोग (यूएनएचसीआर) मार्फत शरणार्थी कागजात बनाउने प्रयास गरिरहेका थिए । त्यहीबीच प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
उनीहरु पक्राउ परेपछि बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले अफगानी शरणार्थी नेपाल प्रवेश गर्न सक्ने भन्दै सीमा नाकामा चेकजाँचमा कडाइ गर्ने निर्णय गरेको थियो ।
गृह मन्त्रालयले स्थलमार्गबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकलाई पनि परिचय पत्र अनिवार्य गर्ने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया 4