+
+

आयरल्याण्डले विश्वकप छनोट खेल्ने, दक्षिण अफ्रिका विश्वकपमा छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते ६:३५

२७ वैशाख, काठमाडौं । आगामी सेप्टेम्बरमा भारतमा हुने वानडे विश्वकपका लागि जुन-जुलाईमा जिम्बावेमा छनोट खेल्ने १० वटै टोलीको टुङ्गो लागेको छ । जहाँबाट शीर्ष दुई टोली विश्वकपमा छनोट हुनेछन् ।

आईसीसी क्रिकेट विश्वकप सुपर लिगको अन्तिम शृंखलाको पहिलो खेलमा बंगलादेश र आयरल्याण्डबीचको खेल वर्षाले प्रभावित हुँदा नतिजाविहीन बनेपछि आयरल्याण्डले अब विश्वकप छनोट खेल्नुपर्ने भएको छ । यसको फाइदा दक्षिण अफ्रिकालाई भएको छ र दक्षिण अफ्रिकाले सुपर लिगको शीर्ष आठमा रहेर सीधै विश्वकपमा स्थान पक्का गरेको छ ।

१३ टोली सम्मिलित सुपर लिगमा आयोजक भारतसहित शीर्ष आठ टोलीले विश्वकपमा स्थान बनाएका हुन् । पुछारका पाँच टोलीले भने अब जिम्बावेले १० टोली सम्मिलिति छनोट प्रतियोगिता खेल्नुपर्नेछ ।

बंगलादेशसँगको खेल नतिजाविहीन बनेपछि आयरल्याण्डको ७३ अंक छ र ११औं स्थानमा छ । आयरल्याण्डले अब बाँकी दुई खेल जिते पनि आठौं स्थानमा रहेको दक्षिण अफ्रिकालाई भेट्ने छैन । दक्षिण अफ्रिकाको ९८ अंक छ । यदि आयरल्याण्डले बंगलादेशलाई सबै तीन खेलमा हराएर नेट रनरेटमा सुधार गरेको भए विश्वकपमा पुग्ने सम्भावना कायम थियो । तर अब त्यो सम्भावना टरेको छ ।

यी हुन् विश्वकप छनोट खेल्ने १० टोली

जिम्बावेले आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । जहाँ ४ टेष्ट राष्ट्र वेष्ट इन्डिज, श्रीलंका, आयोजक जिम्बावे र आयरल्याण्डसँगै ६ एशोसिएट टोली छन् । चार टेष्ट राष्ट्रसहित सुपर लिग खेलेको नेदरल्याण्ड्स सुपर लिगको अन्तिम पाँच स्थानमा रहेपछि विश्वकप छनोटमा आइपुगेको हो ।

यस्तै स्कटल्याण्ड, ओमान र नेपालले क्रिकेट विश्वकप लिग टु कोशीर्ष तीन स्थानमा रहेर विश्वकप छनोटमा स्थान बनाएका थिए । यस क्रममा नेपालले अन्तिम १२ मध्ये ११ खेलमा जित निकाल्दै सनसनीरुपमा शीर्ष तीनमा स्थान बनाएको थियो ।

यस्तै अमेरिका र यूएईले क्वालिफायर प्लेअफमा शीर्ष दुई स्थानमा रहेर विश्वकप छनोटमा स्थान बनाएका हुन् ।

अब यी १० टोलीबीच फाइनल पुग्ने दुई टोली भारतमा हुने वान डे विश्वकपको टिकट काट्नेछ ।

नेपाललगायत एसोसिएट राष्ट्रहरु ठूला टेष्ट टोलीसँग विश्वकप छनोट खेल्न उत्साहित छन् । जहाँ एशोसिएट टोलीले कम्तीमा पनि दुई टेष्ट टोलीविरुद्ध खेल्न पाउनेछन् ।

आईसीसीले समूह विभाजन गरेपछि कसले कुन टिमसँग खेल्ने टुङ्गो लाग्नेछ ।

विश्वकप छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिनेछ । समूह चरणको खेलपछि दुवै समूहको शीर्ष तीन स्थानमा रहने तीन/तीन गरी ६ टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सको शीर्ष दुई टोली फाइनल पुग्नदै विश्वकपमा छनोट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?