+

राइजिङ स्टारलाई हराउँदै आर्मी आहारारा पोखरा गोल्डकपको क्वार्टर फाइनलमा

२०८० माघ  १० गते १६:२८ २०८० माघ १० गते १६:२८
राइजिङ स्टारलाई हराउँदै आर्मी आहारारा पोखरा गोल्डकपको क्वार्टर फाइनलमा

१० माघ, पोखरा । २३ औं आहारारा पोखरा गोल्डकपमा राइजिङ स्टारलाई १–० ले हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ । आर्मीका लागि कप्तान भरत खवासले निर्णायक गोल गरेका थिए ।

उनले खेलको २७ औं मिनेटमा क्रसबाट आएको बललाई पेनाल्टीबक्सबाट डाइभिङ गर्दै बललाई जाली चुमाएका थिए ।

अधिकांश नयाँ खेलाडी उतारेको आर्मी र पहिलो पटक सहभागी भएको राइजिङ स्टारबीच कडा प्रतिस्पर्धा भएको थियो । खेलको दोस्रो हाफमा राइजिङले आर्मीलाई दबाबमा राखे पनि गोल गर्न सकेनन् ।

आर्मीलाई गोलकर्तासमेत रहेका भरत खवासले कप्तानी भूमिका सम्हालेका थिए । उनी प्रतियोगिताको म्यान अफ दी म्याचसमेत बनेका छन् । आहारारा पोखरा गोल्डकपमा यो विभागीय टिम आर्मीको १५ सहभागिता हो । पटकपटक उपाधि नजिक पुगेर पनि खाली हातै घर फर्किनु परेकाले आहारारा इतिहासमा आर्मी ‘अभागी टिम’ मानिन्छ ।

पहिलो पटक ०६० सालमा भाग लिएको आर्मी सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता ४ पटक फाइनल पुगिसकेको छ । तर, उपाधि जित्न सकेको छैन ।

आर्मी पहिलो पटक २०६५ मा फाइनल पुगेको थियो । त्यतिबेला नेपाल पुलिससँग ५–० ले पराजित भयो । ०६६ मा पनि फाइनल पुगेको आर्मीलाई पुलिसले नै १–० ले पराजित गर्‍यो ।

०७२ सालको फाइनलमा भने आर्मीलाई मनाङ मर्स्याङ्दीले १–० ले हरायो । ०७५ मा भने आर्मीले ट्राइब्रेकरमा थ्रीस्टारसँग ५–२ ले हार बेहोरेको थियो ।

अघिल्लो संस्करणमा आर्मी क्वार्टरफाइनलबाटै घर फर्किएको थियो । क्वार्टरफाइनलमा संकटा क्लबले आर्मीलाई ३–१ ले पराजित गरेको थियो । यसपालि पनि  आर्मीले क्वार्टर फाइनलमा माघ १४ गते डिफेन्डिङ च्याम्पियन संकटा क्लबको सामना गर्नेछ ।

गत संस्करणमा आर्मीलाई हराएको संकटाले २२ औं संस्करणको आहारारा उपाधिसमेत चुम्न सफल रह्यो । अर्को खेल भोलि मच्छिन्द्र र जावलाखेलबीच तेस्रो प्रिक्वार्टर खेल हुनेछ ।

आहारारा गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय