क्यान्सरको समयमै पहिचान हुँदा उपचारले शतप्रतिशत ठिक हुन्छ । उनीहरूले सामान्य जीवन बिताउन सक्छन् । तर, कतिपय क्यान्सर यस्ता हुन्छन्, जसको कारण पत्ता लाग्दैन । ती शरीरमा लुकेर बसेका हुन्छन् ।
विभिन्न परीक्षण, इमेजिङ गर्दा पनि घातक खालको ट्युमर भएको देखिँदैन । क्यान्सरको कोष कुन अंगमा छ ? त्यसको स्रोत के छ ? त्यो भन्न पनि कठिन हुन्छ। यस्तोमा कारण नै पत्ता नलागेपछि उपचार ढिला भई बिरामीले ज्यान जोखिममा पर्ने कयौं उदारहण रहेको क्यान्सर रोग विशेषज्ञ डा. समीम अख्तर बताउँछन् ।
यस्ता पहिचान नखुल्ने कस्तो प्रकृतिको क्यान्सर हो ? कत्तिको साझा रुपमा देखिन्छ ? उपचारमा चुनौती के कस्ता देखिन्छन् ? यी विषयमा केन्द्रीत रहेर अनलाइनखबरका लागि मनिषा थापाले क्यान्सर रोग विशेषज्ञ डा. समीम अख्तरसँग गरेको कुराकानीको सम्पादित अंश :
कारण पत्ता नलाग्ने अनौठो क्यान्सर कस्तो प्रकृतिको हुन्छ ?
क्यान्सरको प्राथमिक श्रोत नखुलेको अथवा उत्पति कुन ठाँउबाट भएको पत्ता नलाग्ने र हाल कुन ठाँउमा लुकेर बसेको छ भन्न नसकिने क्यान्सरलाई विज्ञानले ‘क्यान्सर अफ अननोन प्राइमरी’ नाम दिएको छ।
यसलाई बोलीचालीको भाषामा अज्ञात(अनपेक्षित) स्रोतको क्यान्सर भन्ने गरिन्छ ।
यो क्यान्सर कति साझा रुपमा देखिएको छ ?
विश्वव्यापी मापदण्ड हेर्ने हो भने प्रत्येक वर्ष दुई देखि ४ प्रतिशतसम्म यस्ताे खाले क्यान्सरका बिरामी पहिचान हुन्छ । नेपालमा पनि यस्ताे क्यान्सरको प्रतिशत दर सोही अनुरुप छ । मेरो ओपीडीमा समेत यस्ता केही केस आएका छन् ।
यी त भए पहिचान भएका केस । कतिपय क्यान्सरका बिरामी अझै पहिचानको दायरामा नआएको पनि हुनसक्छ । किनकी यो क्यान्सर सुरुमै पत्ता लाग्दैन । रिर्पोट सामान्य आउँदा अर्को पटक फलोअपमा नजानेको संख्या धेरै हुनसक्ने अनुमान गर्न सकिन्छ ।
कारण नै नखुल्ने यस्तो क्यान्सर अहिलेसम्म कस्तो अवस्थाको व्यक्तिमा पाउनुभएको छ ?
यस्तो क्यान्सर जुनसुकै उमेर समूहलाई हुनसक्छ । तर अहिलेसम्म देखिएको केसमा बढी उमेर पाको भइसकेको वृद्ध समूहमा बढी छ । स्रोत नखुल्ने क्यान्सरमा बढी रक्त क्यान्सर, बोनम्यारो क्यान्सर, मस्तिष्क क्यान्सर भएको पाएको छु । उमेर बढी भएको र प्रतिरोधात्मक क्षमता कम भएको व्यक्ति क्यान्सरको जोखिममा पर्छन् ।
कतिपय अवस्थामा एउटै व्यक्तिलाई दुईदेखि तीनवटा क्यान्सर फरक-फरक समयमा देखिनसक्छ । यस्तो अवस्थामा पनि रोग छुट्याउन कठिन हुन्छ ।
पहिचान नै हुन नसक्ने यस्तो समस्या क्यान्सर नै हो भनेर ठम्याउने आधार के छ ?
स्रोत नखुलेका क्यान्सर पहिल्याउन विशेषज्ञको लागि चुनौति बन्न पुग्छ । यो पहिल्याउने आधार सीमित छन् । जस्तो की बिरामीमा देखिने केही लक्षण क्यान्सर एवं अन्य रोगसँग मिल्दोजुल्दो हुन्छन् ।
वाकवाक लाग्ने, खानामा अरुचि, बारम्बार खोकी लागिरहने, मन्द मन्द छाती दुख्ने, खोकीमा रगत देखा पर्ने, छातीको एक्स रे गरेर हेर्दा त्यहाँ डल्लो जस्तो देखा पर्ने, छातीको सिटी स्क्यान गरेर हेर्दा ट्युमर जस्तो वा क्यान्सरको आकारको जस्तो छवि देखा पर्ने जस्ता लक्षण भेटिन्छन् ।
यी लक्षणले क्यान्सरको संकेत गर्ने तर बायोप्सी गर्दा क्यान्सर नै हो भनेर यकिन नतिजा नआउने खालको रिपाेर्टलाई स्रोत नखुलेको क्यान्सर भन्न सकिन्छ । यस्तो क्यान्सरको रिपाेर्टणमा बायोप्सी गरेको अंग सुन्निएको वा संक्रमण भनेर देखा पर्नसक्छ ।
केही उपाय नलागे जुन अंगमा दाग देखिएको हो त्यो अंगको सिटी स्क्यान गर्दा कतैबाट सरेर आएको दाग हो कि भनेर थप विश्लेषण गरिन्छ । आन्द्रा, पेटको इन्डोस्कोपी, कोलोनस्कोपी र बायोप्सी गर्दा र ‘ट्युमर मार्कर’ पठाउँदा रिपोर्ट सामान्य आउने हुनसक्छ ।
कलेजोको क्यान्सरमा कलेजोकै क्यान्सर हुन्छ । कहिलेकाहीँ अन्य अंगबाट सरेर पनि आउनसक्छ । कुन ठाँउबाट सरेर आएको भन्न नसकिने अवस्था हुन्छ ।
रिर्पोटले समेत पहिल्याउनै नसक्ने समस्यालाई क्यान्सर नै हो भनेर पहिचान र उपचार गर्न पनि त्यत्तिकै जटिल होला नि ?
यो पहिल्याउन जति कठिन छ, उपचार पनि त्यतिकै कठिन छ । स्रोत नखुलेका क्यान्सरको सन्दर्भमा एउटा परीक्षणमा सामान्य देखाएमा अर्को परीक्षण गरिन्छ । परीक्षणहरूले बलियो संकेत दिएमा बल्ल उपचारतर्फ लागिन्छ ।
जस्तो कि ‘हिस्टोप्याथोलोजी’मा मांसपेशीको टुक्रा परीक्षण गर्दा सामान्य तर शंकास्पद आयो भने त्यो टुक्रालाई विस्तृत परीक्षण गरिन्छ । सो परीक्षणलाई इम्यूनोहिस्टोकेमेस्ट्री (आइएचसी) भनिन्छ ।
यो परीक्षणमा मांसपेशीहरूलाई विशेष प्रकारका औषधि प्रयोग गरी प्रतिक्रिया अवलोकन गरी कुन किसिमको क्यान्सर हो पत्ता लगाउने गरिन्छ ।
त्यस्तै, साइटोकेराटिनबाट क्यान्सरको श्रेणी हेरिन्छ । त्यसपछि पनि बायोप्सी गरेर हेरिन्छ । सिएवानट्वान्टी मार्कर बढेमा सो अनुसारको स्तन क्यान्सर भएको यकिन गरिन्छ । यो बाहेक इआर र बीआर परीक्षण हुन्छ । जसले ट्युमर मार्कर बढेमा आन्द्राको क्यान्सर भएको बुझिन्छ ।
अर्को भनेको पेट स्क्यानले पनि टाउकोदेखि खुट्टासम्म ट्युमर छ कि छैन भनेर परीक्षण गरिन्छ । यो परीक्षणले लुकेको क्यान्सर भएको कोषिका पनि प्रष्टरुपमा देखाउँछ । यो परीक्षण शंकास्पद अवस्थामा गरिन्छ । यो परीक्षण सेवा हाल नेपालमा उपलब्ध छ ।
त्यसैले, कहिलेकाहीँ परीक्षणको रिपाेर्टमा सबैकुरा नआउन सक्छ । तर समस्या भइरहेको र अनाैठो दागहरू फेला पर्छन् भने पुनः त्यसलाई क्यान्सर हो कि भनेर हेर्न आवश्यक हुन्छ । कहिलेकाहीँ क्यान्सरको कोषिकाहरू यति मसिना हुन्छन् की सिटीस्क्यान जस्ता उपकरणले ‘क्याप्चर’ गर्न सक्दैन । जसले क्यान्सर हुँदाहुँदै पत्ता नलाग्न सक्छ ।
त्यस्तो जटिल अवस्थाको उपचार सम्भव हुन्छ कि हुँदैन ? छ भने कसरी हुन्छ ?
यस्ता क्यान्सरको उपचार सम्भव छ । स्रोत नखुलेका क्यान्सरको लक्षण वा रिपाेर्टमा देखिएको शंकास्पद अवस्था कुन क्यान्सरसँग मेल खान्छ । सो आधारमा परीक्षण हुन्छ।
त्यसपछि ती उपचार उमेर, चरण र पृष्ठभूमि हेरेर त्यसका लागि एउटा चिकित्सक मात्र नभई ट्युमरको बारे विशेषज्ञ सहितको छलफल गरी एक चरणको अध्ययन हुन्छ ।
जसबाट निष्कर्ष निकालेर उपचार विधि तय गरिन्छ । त्यस्तो क्यान्सरहरू कुन अंगबाट आउने सम्भावना छ, बिरामीको तौल, प्रतिरोधात्मक क्षमता हेरेर किमो, टार्गेटेड थेरापी र रेडियो थेरापी दिएर हेरिन्छ । यी विधिले उपचार गर्दा शरीरले कसरी प्रक्रिक्रिया दिइरहेको छ। सोही अनुसार पनि उपचार प्रक्रिया अघि बढ्छ।
यदि उमेर बढी, रोगसँग लड्ने क्षमता कम छ भने उपचार दिँदा दिँदै फाइदा नहुन सक्छ । क्यान्सर देखिए पनि उमेर कम, प्रतिरोध क्षमता बढी छ । उपचारको प्रतिक्रिया शरीरले राम्रोसँग भएको छ भने आयु लामो हुने र उपचारपछि निको हुने सम्भावना पनि बढ्ने देखिन्छ ।
 
                    










 २०८१ माघ  २४ गते २१:०९
                        २०८१ माघ  २४ गते २१:०९                     
                     
 
 
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                         
                         
                         
                         
                         
                         
     
     
     
     
     
                             
                             
                             
                             
                                         
                            
प्रतिक्रिया 4