बरफ भनेको जमेको अवस्थाको पानी हो । जुन सामान्यतया शून्य डिग्री सेल्सियस कम तापमानमा रहेको ठोस पदार्थ हुन्छ ।
अर्कोतर्फ, आइसक्रिम डेरी उत्पादनको प्रयोग गरी बनाइएको हुन्छ । जसमा दूध, चिनी, क्रिम र विभिन्न स्वादहरू मिसाइएको हुन्छ ।
आइसक्रिम पनि चिसो हुन्छ । यी दुवैको मुख्य विशेषता भनेको तिनीहरूको चिसो तापक्रम हो, जसले घाँटी र मुखको क्षेत्रमा तत्काल प्रभाव पार्न सक्छ ।
किनकी, यस्ता चिसो पेयले घाँटीको मांसपेशी र रक्तनलीहरूलाई तत्काल प्रभाव पार्छ । घाँटीको तापक्रम अचानक घट्दा रक्तनलीहरू संकुचन हुन्छ, जसले असहजता, दुखाइ, वा सुन्निने हुनसक्छ ।
चिसो र आइसक्रिममा भएको उच्च चिनीको मात्राले घाँटीमा म्यूकसको उत्पादनलाई बढाउन सक्छ, जसले खोकी वा घाँटीको समस्यालाई बढाउन सक्छ।
बरफ वा आइसक्रिम सफा र स्वच्छ नहुँदा त्यसमा ब्याक्टेरिया वा भाइरस हुन सक्छ, जसले घाँटीको संक्रमण निम्त्याउन सक्छ ।
आइसक्रिममा प्रयोग हुने केही तत्वहरू, जस्तै दूध, चिनी, वा कृत्रिम स्वादहरू, केही व्यक्तिहरूमा एलर्जीको कारण बन्न सक्छ । यस्तो अवस्थामा, घाँटीमा चिलाउने, सुन्निने वा अन्य असहजता देखिन सक्छ । यस्ता लक्षणहरू चिसोसँग सम्बन्धित नभई आइसक्रिमको सामग्रीसँग सम्बन्धित हुन्छन्।
यो कहिलेकाहीँ खाँदा सामान्य प्रभाव देखाउँछ । पटक-पटक खाँदा भने टन्सिलाइटिस हुनसक्छ ।
के सबैलाई उत्तिकै प्रभाव पार्छ ?
सामान्य अवस्थामा चिसो खानेकुराले गम्भीर असर गर्दैन । यस्तो खाँदा बारम्बार घाँटीको समस्या भएमा चिकित्सकको सल्लाह लिनुपर्छ । कसैलाई भने चिसोको एलर्जी नै हुने हुँदा अलिकति खाए पनि स्वास्थ्य प्रभावित भइहाल्छ । चिसो खानेकुराहरूले सबैभन्दा बढी रोगप्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिलाई असर गर्छ ।
त्यस्तै, बच्चाहरूको घाँटी संवेदनशील हुन्छ र उनीहरूले चिसो खानेकुरा धेरै खाएमा टन्सिलाइटिसको जोखिम हुन्छ । बिरामी, वृद्ध वा दीर्घरोगीहरूमा यसले समस्या गर्न सक्छ ।टन्सिलाइटिस, फ्यारिन्जाइटिस, वा साइनुसाइटिस जस्ता बारम्बार हुने घाँटीको समस्या हुनेहरू पनि जोखिममा पर्छन ।
के कस्ता लक्षण देखिन्छ ?
घाँटी दुख्ने, सुक्खा खोकी लाग्ने, बारम्बार चिसो सेवनले टन्सिल ग्रन्थ्री सुन्निएर थुक निल्न समस्या हुनसक्छ ।
चिसोले ब्याक्टेरिया वा भाइरसको प्रभाव बढाउन सक्छ । चिसो खानेकुराप्रति संवेदनशीलताले घाँटीमा असर गर्छ ।
त्यस्तै, एलर्जी गराउने तत्व त्यसमा छ भने हाँच्छयु आउने, नाक चिलाउने पानी बग्ने र नाक बन्द हुने । कसैको भने कानको झिल्लीमा असर गरी कान डम्म हुने र कान दुख्ने हुन सक्छ ।
घाँटीमा समस्या भए तुरुन्तै कसरी राहत पाउने ?
– हल्का तातोपानी वा मनतातो पानी सानोसानो घुट्कीमा पिउन सकिन्छ । यसले घाँटीको तापक्रम सन्तुलन गरी पोल्ने समस्या कम गर्छ ।
– तातोपानीमा एक चिम्टी नुन हालेर कुल्ला गर्नाले पनि राहत मिल्छ । दिनमा २–३ पटक गर्न सकिन्छ ।
– अदुवा, तुलसी वा मह मिसाएको हर्बल चिया पिउने । अदुवा र महले घाँटीको जलन र खोकी कम गर्छ ।
– कालो मरिच र महको मिश्रण पनि प्रभावकारी हुन्छ । एक चम्चा महमा २ देखि ३ चिम्टी कालो मरिच मिसाएर खान सकिन्छ ।
– भिटामिन सी युक्त खानेकुरा (कागती, सुन्तला, अमला) खान सकिन्छ । नियमित व्यायाम र सन्तुलित आहारले रोग प्रतिरोधी क्षमता बलियो हुन्छ, जसले घाँटीको संक्रमणसँग लड्न मद्दत गर्छ।
कुन अवस्थामा चिकित्सकलाई भेट्ने ?
– घाँटीको दुखाइ २–३ दिनभन्दा बढी रहिरहेमा ।
– उच्च ज्वरो आउने वा टन्सिलमा सेतो दाग देखिएमा ।
– निल्न गाह्रो हुने वा सास फेर्न समस्या हुने भएमा।
– बारम्बार खोकी वा घाँटीमा कफ जम्ने भएमा ।
सावधानी अपनाउनुपर्छ
– अत्याधिक चिसो खानेकुराको सेवनले घाँटीलाई हानि पुर्याउन सक्छ । त्यसैले, थोरै मात्रामा खानु उपयुक्त हुन्छ।
– बरफ वा आइसक्रिम सफा र स्वच्छ भएको सुनिश्चित गर्नुहोस् । विशेष गरी बाहिरको बरफ प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।
– यदि तपाईंको घाँटी चिसोप्रति संवेदनशील छ भने, थोरै मात्रामा खाएर हेर्नु उचित हुन्छ ।
– यदि तपाईंलाई घाँटीको समस्या छ वा आइसक्रिम खाँदा असहजता हुन्छ भने चिकित्सकसँग परामर्श गर्नुहोस्।
प्रतिक्रिया 4