
News Summary
Generated by OK AI. Editorially reviewed.- मानौं हामीले एउटा ‘मास्टरपिस’ सिनेमा बनायौं।
- अब हाइपोथेटिकल ढंगले यसमाथि विमर्श गरौं।
सिनेमाले के गर्छ ?
यसको आलोकाँचो जवाफ एकै शब्दमा आउँछ, ‘मनोरञ्जन ।’ जब कि मनोरञ्जनको आनुवंशिक गुण बोकेर जन्मिएको सिनेमासँग यति मात्र सामर्थ्य छैन ।
श्रृंगारिक कलाको सबैभन्दा शक्तिशाली विधा सिनेमाले मान्छेलाई रुवाउने, हँसाउने, तर्साउने, अत्याउने मात्र गर्दैन यसले इतिहासको अक्षर, समाजको नक्सा र समयको गति बदल्न सक्छ । थिएटरभित्र दर्शकलाई आफूतर्फ सम्मोहित गरेर औसत २ घण्टामा ती सबै कुरा गर्न सक्छ, जो मान्छेको मामुली कल्पनाले भ्याएको हुँदैन ।
शिक्षाको व्याकरण बदल्ने ‘थ्रि इडियट्स’, न्यायको ढोका खोल्ने ‘द थिन ब्लु लाइन’, चिकित्सा प्रणालीलाई तह लगाउने ‘प्याच एडम्स’ को घनत्व राज्य संयन्त्रको भन्दा चुस्त र प्रभावी छ ।
किनभने सिनेमासँग बेच्नका लागि कथा मात्र हुँदैन ।
त्यसले फेसन बेच्छ (ब्ल्याक प्यान्थर), डाइलग बेच्छ (सोले), हेयर स्टाइल बेच्छ (आशिकी), खेलौना बेच्छ (ट्रान्सफर्मर्स), खाना बेच्छ (बिग नाइट), कमिक्स बेच्छ (स्टार वार्स), भौगोलिक सौन्दर्य बेच्छ (इट प्रे लभ) ।
मानौं हामीले एउटा ‘मास्टरपिस’ सिनेमा बनायौं । अब हाइपोथेटिकल ढंगले यसमाथि विमर्श गरौं । यो सिनेमाले के गर्न सक्छ ?
– विश्व मञ्चमा नेपालीपनको प्रदर्शन गर्न सक्छ । हाम्रो कला, शिल्प र शैलीमा संसारको ध्यानाकर्षण गर्नेछ ।
– सिनेमाको कथामा बेस्ट सेलिङ उपन्यास/कमिक्स तयार हुनसक्छ । पुस्तौं पुस्ताले यसको श्रृंखला खोजीखोजी पढ्नेछन् ।
– पात्रले लगाएको पहिरन फेसन स्टेटमेन्ट बन्न सक्छ । फेसन सिटीहरूमा त्यही पहिरनले बजार कब्जा गर्नेछ ।
– छायांकनस्थल पर्यटकीय गन्तव्यमा रुपान्तरण हुनसक्छ । रमितेहरूको घुँइचोले सो ठाउँ गुल्जार बन्नेछ ।
– पात्र एवं चरित्रमा आधरित खेलौना वा गुडिया उत्पादन हुनसक्छ । बालबालिकामा शारीरिक र मानसिक विकासका लागि त्यही खेल्नेकुराको माग बढ्नेछ ।
– सिनेमामा देखाइएको खाना विश्वको फूड मेनुमा खोजिन सक्छ । नयाँपुस्ताको जिब्रोमा हाम्रो खानाको स्वाद बस्नेछ ।
– सिनेमामा प्रयोग भएका प्रप्स (लुगा, हतियार, फर्निचर, गाडी) संग्रहणीय बन्नसक्छ । यसको छुटै संग्राहलय स्थापना हुनेछ ।
सिनेमाको चमत्कार
सन् २०१३ मा वाल्ट डिज्नीले एउटा एनिमेटेड सिनेमा रिलिज गर्यो, फ्रोजन ।
म्युजिकल फेन्टासी यो सिनेमाले बक्स अफिसमा पैसाको थुप्रो (१.२९ अर्ब अमेरिकी डलर) मात्र लगाएन, बालबालिकालाई माया र आत्मस्वीकृतिको बोध पनि गराइदियो ।
फ्रोजनको गीत ‘लेट इट गो’ले विश्वभर झंकार पैदा गरिदियो । अन्तत डिज्नीले ‘सिङ्गिङ डल’ अर्थात गीत गाउने गुडिया उत्पादन गर्यो । फ्रोजनका दुई मूख्य पात्र एल्सा र अन्नाको खेलौना यति लोकप्रिय भयो कि, सन् २०१३ को क्रिसमसमा डिज्नीले यसको माग धान्न सकेन । सिनेमा रिलिज भएको दुई वर्षमा गुडिया बेचेर डिज्नीले ३ अर्ब डलर भन्दा बढी पैसा कमायो ।
यसै सिनेमाले विश्वको फेसनमा नयाँ आयम थप्यो । मूख्य पात्र एल्साको निलो हल्का चम्किलो गाउन पार्टी, जन्मदिन र हलोविनहरूमा अत्याधिक लोकप्रिय भए । एल्साको पोशाक सन् २०१४ मा अमेरिकाको सबैभन्दा धेरै बिक्री हुने हलोविन कस्ट्युम बन्यो । फ्रेजनकै स्कुल ब्याग, स्टिकर र किताब बालबालिकाले अत्याधिक रुचाए ।
यो सिनेमाको कारण नर्वेमा पर्यटकको आगमन बढ्यो । यसको एनिमेटेड दृश्य नर्वेको फियोर्ड र स्क्यान्डिनेभिया जस्ता ठाउँबाट प्रेरित थियो ।
यस्तै फ्रोजनको संसार बिस्तार गर्दै डार्क हर्स कमिक्सले ‘फ्रोजन एडभेन्चर्स’ शीर्षकमा कमिक्सको श्रृंखला सुरु गर्यो ।
२०१२ मा प्रदर्शित ‘लाइफ अप पाई’को कतिपय अंश भारतमा छायांकन भएको थियो । यस सिनेमाले विश्वका दर्शकलाई लठ्ठ बनाइरहेका बेला भारत सरकारले ‘ल्यान्ड अफ पाई’ अभियान नै सुरु गरेर पुदुचेरी र मुन्नार जस्ता ठाउँको पर्यटन प्रवर्द्धन गर्यो।
सिनेमा छायांकन भएका यी ठाउँहरूमा पर्यटकको ओइरो लाग्न थालेपछि भारत सरकारले निर्देशक आङ ली र पुस्तकका लेखक यान मार्टेललाई विशेष राष्ट्रिय पर्यटन पुरस्कार दिए । यो सिनेमा विख्यात उपन्यासमा आधारित थियो ।
लगत्तै ‘इन्क्रेडिबल इन्डिया’ शीर्षक दिएर भारतमा फिल्म टुरिज्मको अभियान नै सुरु गरियो, जहाँ विश्वका सिनेमालाई आफ्नो मुलुकमा छायांकनको लागि आमन्त्रण गरिएको थियो ।
साइन्स फिक्सन फिल्म शृंखला ‘स्टार वार्स’ सन् १९७७ मा रिलिज भएपछि मार्भल कमिक्ससँग सहकार्य गरी कमिक्स प्रकाशन सुरु गर्यो । फिल्मको कथालाई थप बिस्तार गर्दै कमिक्सको संस्करण पनि थपिदै गयो । ‘स्टार वार्स : ए न्यू होप’, ‘द एम्पायर स्ट्राइक्स ब्याक’ जस्ता कमिक्स संस्करणहरुले सन् १९७० को दशकमा ठूलो बजार कब्जा गर्यो ।
सन् २०१६ मा स्टार वार्सले मास्टरब्रान्डसँग सहकार्य गरी ज्याकेट, कोट र अरु पहिरन उत्पादन गर्न थाल्यो । स्टार वार्स फिल्मका पात्रहरूले लगाउने शैलीका पहिरन बजारमा अत्याधिक माग बढ्यो ।
सौम्य शक्तिको जादू
सिनेमा र संगीतको शक्तिलाई आफ्नो गहकिलो अस्त्र बनाएको छ, दक्षिण कोरियाले ।
बिटिएस र ब्ल्याक पिंक जस्ता ब्यान्डमार्फत विश्व संगीतमा के–पप गुञ्जाइरहेको छ । प्यारासाइट जस्ता सिनेमामार्फत ओस्कारमा आफ्नो झन्डा गाडिरहेको छ । स्विकड गेम जस्ता वेब सिरिजमार्फत पराय भूगोलमा के–कल्चर बिस्तार गरिरहेको छ ।
‘बिटिएसदेखि स्क्विड गेम सम्म : दक्षिण कोरिया कसरी सांस्कृतिक महाशक्ति बन्यो’ भनी न्यूर्योक टाइम्सले सारमा यस्तो लेखेको छ, ‘हुन्डाई र सामसुङ जस्ता उत्पादन बेचिरहेका यो देशले अब कला–मनोरञ्जन निर्यात गर्न थालेको छ । उसको सिनेमा र संगीतले विश्वलाई जादू देखाइरहेको छ ।
यसको नतिजा, अक्सफोर्ड अंग्रेजी शब्दकोषले २६ नयाँ कोरियाली शब्दहरू थप्यो । यस देशका निर्देशक–निर्माताहरूले हलिउड र अन्य मनोरञ्जन केन्द्रबाट वर्षौंदेखि अध्ययन गरेर त्यसमा विशिष्ठ कोरियाली रंगहरू थपिरहेका छन् ।’
द गार्जियनले सम्पादकीयमा लेखेको छ, ‘वर्षौअघि एशियामा फैलिएको हल्यू (कोरियाली लहर) पश्चिमी किनारहरूमा पनि बिस्तार हुँदैछ । सिनेमा–संगीत जस्ता सौम्य शक्तिमार्फत दुनियाँलाई उसले आफ्नो प्रभावमा पारिसकेको छ ।’
आणविक अस्त्रले विश्व जित्छु भनेर फुर्ति लगाइरहेको रुस, अमेरिका र उत्तर कोरियासमेत दक्षिण कोरियासँग डराइरहेका छन् । उत्तर कोरियाले त भनेकै छ, ‘के पपको आक्रमण घातक क्यान्सर हो ।’
यस्तै अहिले हुर्कँदै गरेको जेन अल्फा अर्थात हाम्रा छोराछोरीले घरमा जापानी खाना माग्न थालेका छन्, जापानी भाषा बोल्न थालेका छन् र जापानी शैलीको सत्कार अपनाउन थालेका छन् । किन ? यसमा जापानी ‘एनिमे’मा यसको खास प्रभाव छ ।
अहिलेका बच्चाहरू एनिमे (जापानी एनिमेशन)को कमिक्स पढ्ने, गेम खेल्ने र श्रृंखला हेर्ने गर्छन् । यसले एनिमेमा आधारित उत्पादनहरूको बजार मात्र बढाएको छैन विश्वभर जापानी परम्परा, भाषा र जीवन पद्धतिको गहिरो छाप छाडिरहेको छ । त्यति मात्र होइन, जापानमा ‘एनिमे तीर्थयात्रा’को लहर नै चलेको छ ।
एनिमे केवल मनोरञ्जन मात्र नभएर सांस्कृतिक आदन-प्रदान र कलात्मक अभिव्यक्तिको माध्याम बनेको छ ।
अनि, हामी ?
भएकै घटना हो । एकफेर फिल्म हेरेर हलबाट निस्कदै गर्दा आमन्त्रित कृषि मन्त्री डाँको छाडेर रुन थाले । किन रोएको ? पत्रकारले प्रश्न गर्दा उनको जवाफ थियो, ‘फिल्ममा गरिब परिवारको गाई मरेको दृश्य देखेपछि मैले मन थाम्नै सकिनँ ।’
हामीकहाँ सिनेमा बनाइसकेपछि ‘विशेष प्रदर्शन’ गरी नेता–मन्त्री वा गन्यमान्यलाई आमन्त्रण गरिन्छ । उनीहरूले जसोतसो सिनेमा हेरिदिन्छन् र प्रतिक्रियामा यति भन्छन्, ‘ताज्जुब लाग्यो । यस्तै अर्गानिक फिल्म बन्नुपर्छ ।’
फिल्म बन्नुपर्छ त भन्छन् तर यसको वैश्विक प्रभाव छेड्ने गरी कुनै नीति निर्माण गर्दैनन् । न त अनुकूलता मिलाइदिन्छन् । सिनेमा हेरेपछि त्यसको सामर्थ्य पहिल्याउने र गहन विमर्श गर्नेतर्फ कति पनि ध्यान दिँदैनन् ।
त्यसैले हाम्रो सिनेमा आज पनि त्यहीँ छ, जहाँ राजा महेन्द्रले छाडिदिएका थिए ।
उनै मात्र एक यस्ता शासक थिए, जसले सिनेमाको शक्ति गहिरो ढंगले बुझेका थिए । उनले भारतमा रहेका निर्देशक हीरासिंह खत्रीलाई नेपाल बोलाए । आफ्नै मातहातमा सिनेमा निर्माण कम्पनी स्थापना गरे । सिनेमा बनाए ।
६ दशक गुज्रियो । नेपाली सिनेमाको संख्या थपियो । सानो बजारको भर, सानो बजेटको सीमितता । त्यसमाथि हलिउड–बलिउडको बलमिच्याइँ । नेटफ्लिक्स, अमेजन प्राइमहरूको धाक । यी सबै सहेर–बुझेर जसोतसो आफ्नै बलबुतोमा हाम्रा फिल्ममेकरहरूले कथामा, मेकिङमा, प्रविधिमा परिवर्तन ल्याउन खोजे । तर, शासकहरूले कहिल्यै सघाएनन् ।
सिनेमाको स्तरोन्नतिका लागि अनुकुल नीति, प्रोत्साहन, बजार विस्तार, सिनेमा कलाको जागरणमा शासकको कति पनि रुचि भइदिएन । किनभने उनीहरूलाई थाहा छैन, यो सौम्य शक्ति लिपुलेक र लिम्पियाधुराभन्दा बढी संवेदनशील र शक्तिमान छ ।
सन् १९९४ मा कोरियन सरकारले ‘सांस्कृतिक उद्योग विभाग’ स्थापना गरे, सिनेमा उत्पादन–निर्यातका लागि । सन् १९९६ मा नयाँ फिल्म प्रवद्र्धन कानुन ल्याए । जसमा भनिएको थियो, ‘अब फिल्म निर्माणमा सरकारले कहीँपनि अवरोध गर्दैन । जे बनाउनुछ, बनाउँ । फिल्ममेकरले आफ्नो पूर्ण सिर्जनशिलता र स्वच्छन्द भएर काम गर ।’
त्यती मात्र होइन, हुन्डाई–सामसुङ जस्ता विख्यात कम्पनीहरुलाई फिल्म वितरण, प्रदर्शन र प्रवद्र्धनका लागि सहकार्य गराइदिए । यसले गर्दा फिल्म निर्माण अनुकुल र आकर्षण बन्यो । फिल्मको सुक्ष्म तहमा कथा खोज–अध्ययन गर्ने, निस्फिक्री आफ्नो शिल्प प्रयोग गर्ने, निर्धक्क फिल्म निर्माण गर्ने वातावरण बन्यो । अन्ततः घरेलु कला–संस्कृतिलाई समायोजन गर्दै उनीहरुले हलिउडसँग टक्कर दिने फिल्म बनाउन थाले । नतिजा, दक्षिण कोरिया सांस्कृतिक सुपरपावरको रुपमा उदय भयो ।
तर, हामी ?
ऋणपान गरेर, श्रीमतीको गहना बन्दकी राखेर फिल्म निर्माण गर्छौं । र, जसोतसो फिल्म प्रदर्शनको तयारीमा पुग्छौं । त्यहाँ सेन्सरका कर्मचारीलाई खाजा नास्ता खुवाउन, खामबन्दी दक्षिणा टक्राउनु पर्छ । अनेक वाधा र अवरोध छिचोल्नुपर्छ । बल्लतल्ल सिनेमा प्रदर्शन गर्ने मौका जुर्छ, त्यो पनि चानचुन २ सय सिनेमाघरमा ।
यस्तो पृष्ठभूमिमा फिल्मले कसरी लगाउनी सुरक्षित गर्छ ? कसरी त्यसले मुनाफा दिन्छ ? कसरी विश्व मञ्चमा आफूलाई उभ्याउँछ ?
के हामीकहाँ सिनेमा बनाउनु जुवामा दाउ लगाउनु जस्तो भएन ?
प्रतिक्रिया 4