+

थाइराइडले पनि हुनसक्छ मानसिक समस्या

२०८२ जेठ  १४ गते ११:३० २०८२ जेठ १४ गते ११:३०
Shares
थाइराइडले पनि हुनसक्छ मानसिक समस्या

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हाम्रो घाँटीमा रहने पुतली आकारको थाइराइड ग्रन्थीले टी ३ र टी ४ हर्मोन उत्पादन गर्छ।
  • थाइराइड हर्मोनले मस्तिष्कको विकास, मेटाबोलिज्म र शारीरिक कार्यहरू नियमन गर्छ।
  • मानसिक स्वास्थ्य र थाइराइडको सम्बन्धले डिप्रेसन, चिन्ता र अनिद्रा जस्ता लक्षणहरू देखाउँछ।

हाम्रो घाँटीमा रहने पुतली आकारको थाइराइड ग्रन्थीले टी ३ र टी ४ हर्मोन उत्पादन गर्छ । यो ग्रन्थीले मेटाबोलिज्म र ऊर्जा उपयोगलाई नियन्त्रण गर्छ । यो ग्रन्थीले क्याल्सिटोनिन हर्मोनमार्फत रगतमा क्याल्सियम र फस्फोरसको स्तर सन्तुलनमा राखेर हड्डीलाई स्वस्थ बनाउँछ ।

थाइराइड हर्मोनहरूले मुटुको गति, शरीरको तापमान र बालबालिकाको शारीरिक–मानसिक विकासलाई नियमन गर्छ । यी हर्मोनहरूले कार्बोहाइड्रेट, प्रोटिन र बोसोको मेटाबोलिज्म प्रभावित गरी तौल र ऊर्जा स्तर सन्तुलनमा राख्छ ।

कुनै कारणवश यो ग्रन्थीको काम गराई तलमाथि भएमा बाेलीचालीकाे भाषामा थायराइड भएको भन्ने भनिन्छ । खासमा थायराइडको काम गराई कम भएमा हाइपोथायराइडिज्म भन्ने बुझिन्छ । यसको काम गराई बढी भएमा हाइपरथायराइडिज्म भनिन्छ । यी दुवै स्वास्थ्यका लागि हानिकारक हुन ।

यस्तोमा शरीरले विभिन्न लक्षण देखाउँछन् । ती मध्ये कतिपय मानसिक स्वास्थसँग सम्बन्धित लक्षण पनि देखिन्छन् ।

किन त ?

मानसिक स्वास्थ र थाइराइडको सम्बन्ध

मानसिक स्वास्थ्य र थाइराइड एकअर्कासँग जोडिएका हुन्छन् । थाइराइड हर्मोनले मस्तिष्कको वृद्धि विकासमा निरन्तर कार्य गरिरहेका हुन्छन् ।

यो ग्रन्थीले मस्तिष्कमा न्यूरोट्रान्समिटर (जस्तै, सेरोटोनिन र डोपामाइन)को सन्तुलनलाई नियमन गर्छ, जसले गर्दा हाइपोथाइराइडिज्म हुँदा डिप्रेसन र चिन्ता निम्तिन्छ ।

हाइपरथाइराइडिज्ममा भने मस्तिष्कको अति सक्रियता बढाउँछ, जसले बेचैनी, चिडचिडापन र अनिद्रा जस्ता लक्षणहरू उत्पन्न गर्छ ।

थाइराइड हर्मोनले मस्तिष्कको रक्तप्रवाह र ग्लुकोज उपयोगलाई प्रभावित गर्छ, जसको असन्तुलनले स्मरणशक्ति, एकाग्रता, र भावनात्मक स्थिरतामा ह्रास ल्याउँछ ।

हर्मोन असन्तुलनले तनाव हर्मोन (कोर्टिसोल) को स्तरलाई पनि प्रभाव पार्छ, जसले मानसिक स्वास्थ्य समस्याहरूलाई थप जटिल बनाउन सक्छ ।

मानसिक अस्पतालमा भेटिन्छन् थाइराइडका बिरामी

कतिपय डर, त्रास, मुटु छिटो-छिटो चल्ने, मरिएलाझैं लाग्ने डर लाग्ने, कतिपय बिरामीहरू आत्तिएर मानसिक अस्पतालको आकस्मिक कक्षमा आएका हुन्छन् । उनीहरूको परीक्षण गर्दा थाइराइडमा मात्र समस्या पनि देखिएको हुन्छ ।

कैयौंमा डिप्रेसनको समस्या भनेर उपचार भइरहेको हुन्छ । तर पनि लक्षण निको नहुँदा थाइराइडको शंका गरी हेर्दा थाइराइडकाे गडबडी भेटिन्छ । कहिलेकाहीँ त थाइराइड हर्मोनको कमी हुँदा भनिने अवस्था ‘हाइपोथाइराइडिज्मको लक्षण ठ्याक्कै डिप्रेसनको जस्तै हुन्छ ।

थाइराइडमा देखिने शारीरिक, मानसिक लक्षणले यसकाे पहिचान र उपचार व्यवस्थामा असर पारिरहेको हुन्छ ।

के कस्ता मानसिक लक्षण देखिन्छ ?

हाइपरथाइरायडिज्म भएमा देखिने मानसिक लक्षण

-एन्जाइटी भई बेचैनी हुने, छटपटी भई मन आत्तिने

– अत्याधिक रिस उठने

–  एकहोरो टोलाइरहने

– निद्रामा समस्या

– कुनै कुरामा ध्यान दिन, एकाग्र हुन र स्मरण गर्न कठिन गाह्रो हुने

–  भावना महसुस गर्न र व्यक्त गर्न वा अनुहारमा समेत कुनै भावनाहरू नदेखिने

-बेसुरको कुरा गर्नेदेखि कोहीमा अत्याधिक रिससहित कुटपिट समेत गर्ने जस्ता जटिल लक्षण देखिन सक्छ ।

हाइपोथाएइराइडिज्ममा

– एक्लै बस्न मन लाग्ने

– मन दिक्क भइरहने

– काम गर्न मन नलाग्ने, शरीरमा उर्जा नहुने

– सानो सानो काम गर्दा समेत थकान महसुस हुने

– यौनइच्छा कम हुने वा उत्तेजनामा कमी आउने

– सम्झिन सक्ने क्षमतामा कमी आउने ।

– आत्महत्याको सोच आउने ।

कसरी उपचार गर्ने ?

थाइराइड सम्बन्धी औषधि सेवन गर्दै हुनुहन्छ र मानसिक स्वास्थ सम्बन्धी लक्षणहरू देखिएमा चिकित्सकलाई भन्नुपर्छ ।थाइराइड हर्मोनको अवस्था सामान्य छ तर मानसिक समस्याका लक्षण देखिएमा मनोचिकित्सकलाई समेत भेटनुपर्छ । कहिलेकाँही मनोसमस्या र थाइराइडको समस्या एकैपटक हुनसक्छ ।

चिकित्सकले सल्लाह दिएबमोजिम नियमित औषधी सेवन, नियमित परीक्षण र स्वस्थ्य जीवनयापनको शैली अपनाएमा यो समस्याबाट बच्न सकिन्छ । थाइराइडका कारण मानसिक लक्षण देखिएको छ भने चिकित्सकले सुझाएको औषधि र दिनचर्यामा गरेको परिवर्तनले निको हुन्छ ।

तर, बिनासल्लाह औषधि छाड्दा वा निको भइसक्यो भनेर औषधि चटक्कै छाड्दा भने मानसिक स्वास्थ पनि जटिल हुन्छ ।

युवा अवस्थामै समस्या देखिँदा, गर्भअवस्था वा सुत्केरी अवस्थामा एक्कासी थाइराइड हर्मोनमा केही समस्या छ भने पनि औषधि खाँदा मन अत्तालिने, ठूलै समस्या भयो भनेर आत्तिने, आजीवन औषधी सेवन गर्नुपर्ने हो कि भन्ने जस्ता भावनाहरू आउन सक्छ ।

यसको लागि चिकित्सकले पनि आजीव खानुपर्दैन तर, सुझाएको मात्रा लिनुपर्छ भनेर खुलस्त रुपमा बुझाउनुपर्छ ।

थाइराइड मानसिक समस्या
डा. ईश्वरी खनाल
लेखक
डा. ईश्वरी खनाल
कन्सल्टेन्ट मनोचिकित्सक

विशेषज्ञ मनोचिकित्सक तथा सह-प्रध्यापक डा. ईश्वरी खनाल मानसिक अस्पताल लगनखेलमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय