+
+
Shares
अन्तर्वार्ता :

‘चीनले विद्या भण्डारीलाई नेपालको विशिष्ट राजनीतिज्ञ मान्यो’

उहाँ नेकपा एमालेको नेता पनि हो । देशको पूर्व राष्ट्रपति पनि हो । र, उहाँको आफ्नै पनि एउटा व्यक्तित्व छ । व्यक्तिको पनि त एउटा सम्बन्ध हुन्छ नि ! ती सबै प्रकारका जे जिम्मेवारीहरू निर्वाह गर्नुभयो, ती सबै चिजको प्रतिनिधित्व गर्नुभयो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते २१:३०

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा साताव्यापी चीन भ्रमण सकेर एमाले नेताहरू केही दिनअघि मात्र स्वदेश फर्किएका छन् । पूर्वराष्ट्रपति भण्डारी अहिले औपचारिक रूपमा न राज्य, न एमालेकै प्रतिनिधित्व गर्ने अवस्थामा छन् । तर उनै भण्डारीले चीनमा पाएको सम्मान र यसको सन्देशलाई लिएर राजनीतिक वृत्त तरंगित छ ।

विशेषगरी आगामी महाधिवेशनबाट एमाले अध्यक्ष बनाउने र वाम एकता पहल थाल्ने सन्देश दिन चीनले यो तहको सम्मान भण्डारीलाई दिएको चर्चा भइरहेको छ ।

यिनै सन्दर्भमा उक्त भ्रमण टोलीका सदस्य एवं एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापासँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीः

नेपालका तर्फबाट चीन भ्रमण भइरहेकै हुन्छ । तर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको भ्रमणलाई चासोका साथ हेरिएको छ । भयो के त्यहाँ ?

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण सबैको चासो, रुचि र चर्चाको विषय बन्नु स्वभाविकै छ । उहाँको त्यो भ्रमण महत्वपूर्ण रह्यो । दुई वटा देशका सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन र नयाँ समयको नयाँ विश्वास हासिल गर्न सफल भयो भन्ने लाग्छ । हाम्रो छिमेकी देश र विश्वको महाशक्तिका लागि प्रतिस्पर्धा गरिरहेको देश चीनले जुन उचाइ र महत्वका साथ छिमेकले गर्नुपर्ने सम्मान, आदर र दिनुपर्ने र दिन मिल्ने राजनीतिक महत्व सबै दियो ।

उच्च तहको सम्मान थियो ?

निमन्त्रणा गर्दा नै उच्च तहको भ्रमण रहेछ भन्ने कुराको तथ्य आइटीनरी नै थियो । बेइजिङ गइसकेपछि उच्च तहको नेताले नै उहाँलाई स्वागत गर्न आउनुभयो । र, त्यहाँनेर औपचारिक रूपमा हाइ लेभल डेलिगेसन भनेर कार्यक्रम दिइयो ।

उच्च तहको भेटर्वाता चाहिँ चीनका उपराष्ट्रपति र सीपीसीका विदेश विभाग प्रमुखसँग नै हो ?

महत्वपूर्ण भेटघाट भनेको सीपीसीका अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ जिनचाओसँग नै भयो । उहाँहरूबीच महत्वपूर्ण राजनीतिक छलफल, बहस र वार्ता भयो । उहाँहरूबीच नेपाल र चीन सम्बन्ध बारेमा कुराकानी भयो । नेकपा एमाले र सीपीसीको लामो समयदेखिको सौहार्द सम्बन्ध छ, विचारधारात्मक सम्बन्ध पनि छ, त्यस हिसाबमा पनि महत्वपूर्ण छलफल भयो ।

उपराष्ट्रपति हान चेङसँग पनि साइडलाइन सम्वाद भयो र एउटै कार्यक्रममा उहाँहरू प्रमुख वक्ता पनि हुनुभयो । दुनुहाङ सिटीमा ६० देशका प्रतिनिधिले भाग लिएको त्यो कार्यक्रममा चिनियाँँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुखले कार्यक्रम संचालन गर्नुभयो । त्यो कार्यक्रममा एउटा प्रमुख वक्ताका रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नुभयो । जहाँ एशियाका विभिन्न राज्यका व्यक्तिहरूले सम्बोधन गरेका थिए ।

वक्ताहरूमध्ये चार पाँच जना व्यक्तिमा पर्नु भएका उहाँ (विद्यादेवी भण्डारी) ले नेपाल–चीन सम्बन्ध, दुई देशबीच भएका सहमति–सम्झौताहरू कार्यान्वयन र विश्व शान्तिको नेपाली चाहनाबारे बोल्नुभयो । पञ्चशील सिद्धान्तका आधारमा हामी हरेक देशसँग सम्बन्ध बढाउन चाहन्छौँ भन्ने नेपालको औपचारिक परराष्ट्र नीतिबारे पनि उहाँले बडो स्पष्ट ढंगले कुरा राख्नुभयो । र, उहाँको कुरालाई सहभागीहरूका तर्फबाट र आयोजकहरूले बडो राम्रो र सम्मानका साथ ग्रहण गरेको पनि देखियो ।

दुनुहाङ अघि बेइजिङमा कार्यक्रम थियो, त्यहाँ के भयो ?

त्यहाँ पनि एउटा वक्ताहरूमध्ये महत्वपूर्ण वक्ताका रूपमा उहाँ हुनुहुन्थ्यो । बेइजिङको त्यो कार्यक्रममा एशियाका सबै देशले आ–आफ्नो सभ्यताको रक्षा, संरक्षण, सम्मान र एक अर्कासँग एकअर्काका सभ्यता, संस्कृति र परम्पराहरूको आदान–प्रदान भयो । त्यसमा पनि उहाँले आफ्नो धारणाहरू राख्नुभयो । त्यो महत्वपूर्ण फोरममा उहाँलाई नेपालको एउटा उच्च स्तरको राजनीतिज्ञका रूपमा स्थान दिइएको देखियो ।

दुई देश, दुई पार्टी र एशियाका देशहरूबीच अनुभव आदान–प्रदानको कुरा गरिरहँदा स्वयं विद्यादेवी भण्डारीले चाहिँ औपचारिक रूपमा राज्य कि एमालेको प्रतिनिधित्व गर्नुभयो ?

नेकपा एमालेको नेताका रूपमा उहाँलाई कसैले इन्कार गर्न सक्दैन । उहाँ नेकपा एमालेको नेता पनि हो । देशको पूर्व राष्ट्रपति पनि हो । र, उहाँको आफ्नै पनि एउटा व्यक्तित्व छ । व्यक्तिको पनि त एउटा सम्बन्ध हुन्छ नि ! हरेक देशका विभिन्न पोजिसनमा बसेका मान्छेहरूसँग पनि हुन्छ । उहाँका ती सबै प्रकारका जे जिम्मेवारीहरू निर्वाह गर्नुभयो, ती सबै चिजको प्रतिनिधित्व गर्नुभयो ।

भ्रमण दलमा नेपाल सरकारको मन्त्री नै सहभागी हुनुहुन्थ्यो । एमाले विदेश विभाग प्रमुख हुनुहुन्थ्यो । म स्थायी कमिटी सदस्य हुँ, भ्रमण दलमा थिएँ ।

भनेपछि आफ्ना जे पोजिसनहरू छन्, त्यो सबै हैसियतले भ्रमण दलको नेतृत्व गर्नुभयो । र, भ्रमणको निमन्त्रणा गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले उहाँलाई नेपालको एउटा विशिष्ट राजनीतिज्ञ भनेर सम्बोधन गर्‍यो । त्यसैले भ्रमणका बारेमा कुनै विवाद वा छलफल गर्नुपर्ने कुरै छैन ।

भ्रमण टोलीमा मन्त्री भए पनि एमालेकै नेता भएकाले यो भ्रमण मूलतः एमाले नेताहरूको थियो । र, विद्या भण्डारीका नजिकका नेताहरू थिए भन्न सकिन्छ ?

विद्या भण्डारीको पोजिसनलाई कुनै एउटा सीमामा बाँध्न हुँदैन । उहाँ नेपालकै एउटा साझा व्यक्तित्व हो । देशले पनि त्यही रूपमा लिएको छ, र अहिले विदेशी राष्ट्रहरूले, मित्र राष्ट्रहरूले पनि उहाँलाई नेपालको वरिष्ठ राजनीतिज्ञकै रूपमा लिएको छ ।

अरु मुलुकलाई उछिनेर चीनले त्यस्तो सम्मान दियो भन्न सकिन्छ ?

यस्ता प्राविधिक कुरामा नअल्झौं । चीन जस्तो देशको संवेदनशील विषय हो, यो । अरु देशले कसलाई कुन रूपमा लिए भन्ने प्रकारको कुरा गरेर यो भ्रमणको कदलाई सानो बनाउनु हुँदैन ।

चीनको पृष्ठभूमि र सीपीसीसँग नेपालका कम्युनिष्टहरूको विचारधारा मिल्ने भएकाले पनि विद्या भण्डारीको भ्रमणप्रति अलि बढी चासो भएको हो ?

अहिले चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ राज्य, राजनीति र सत्ता सञ्चालन गरिराखेको छ । र नेपालमा कम्युनिस्ट पार्टीहरू छन् । कम्युनिस्ट पार्टीहरू मध्ये नेकपा एमाले सबभन्दा ठूलो छ, जनताले भरोसा र विश्वास गरेको पार्टी हो । अन्तर्राष्ट्रिय राजनीतिमा विचारधारात्मक सम्बन्धले पनि महत्व राख्छ भन्ने पनि सिद्धान्त छ ।

नेकपा एमाले र चिनियाँ कम्युनिस्ट पार्टी बीचको सम्बन्ध विचारधारात्मक सम्बन्ध पनि हो । नेपालमा पनि देशको नेतृत्व नेकपा एमालेले गरिरहेको छ, एमाले अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङ चीनको राष्ट्रपति हुनुहुन्छ । त्यो सम्बन्ध त खुलस्त नै छ नि ’ लुकाउनुपर्ने विषय नै होइन । त्यसैले कुनै अन्यथा लिनुपर्ने कुरा छैन ।

चिनियाँहरूले विद्यादेवी भण्डारीलाई एमाले अध्यक्षका रूपमा अगाडि बढाउन यो भ्रमण गरायो भन्ने पनि चर्चा छ नि ?

चीनले कुनै पनि देशको आन्तरिक राजनीतिमा चासो राख्दैन । हस्तक्षेप पनि गर्दैन । पार्टीको विषयमा त त्यसरी सोच्ने प्रश्नै आएन । पञ्चशीलको सिद्धान्तहरू चीनले पनि मान्छ, हामी पनि मान्छौँ । अनाक्रमण, अहस्तक्षेप, पारस्परिक लाभ, भातृत्व त्यसका महत्वपूर्ण पक्षहरू हुन् । त्यसैले कुनै पनि देशभित्रको राजनीतिमा चीन हस्तक्षेप चाहँदैन ।

चीनले अहिले त तीन मुख्य पहल लिएको देखिन्छ– सेक्युरिटी इनिसिएटिभ, डेभलपमेन्ट इनिसिएटिभ र सिभिलाइजेसन इनिसिएटिभ । सुरक्षा पहलमा व्यक्तिको सुरक्षा, देशको सुरक्षा, सार्वभौमिकता र भौगोलिक अखण्डताको सुरक्षा । र ती देशहरूको मूल्य र मान्यताहरूको पनि सुरक्षा भन्छ । त्यसैगरी विकासको कुरा गरेको छ । विकास विकसित देशहरूले मात्रै गरेर भएन । अल्पविकसित, अविकसित र पछाडि परेका देशहरूको विकास पनि हुनुपर्‍यो । त्यसका लागि बीआरआई जस्तो परियोजना उनीहरूले अगाडि सारेका छन् ।

तेस्रो पहल हो, सिभिलाइजेसन । हरेक देशसँग आ–आफ्ना सभ्यता, मान्यता र संस्कृतिहरू छन् । ती चिजहरूको संरक्षण, सुरक्षा र विकास चाहेका छन् । जसका लागि विश्वव्यापी पहल लिएका छौँ भन्दैछ । उनीहरूले लिएका पहल नेपालको पनि हितमा छन् ।

चीन विश्वको एउटा शक्तिशाली राष्ट्र पनि हो । शक्तिशाली राष्ट्रहरूका नीतिहरूमा हाम्रो हित कहाँनेर छ, त्यो चाहिँ हामी जस्तो देशले खोज्नुपर्छ । हाम्रा कुनै दबाब र मागले शक्तिशाली राष्ट्रहरूका नीतिमा बदलाव हुँदैन, परिवर्तन आउँदैन । उनीहरूले लिएका नीतिभित्र हाम्रो हित छ कि छैन ? हाम्रो हित कहाँनेर छ ? त्यो हेरेर हाम्रा नीतिहरू बनाउनुपर्छ । अहिले चीनले लिएको विश्वव्यापी पहल नेपालको हितमा छ ।

भन्न त भारत र चीन बीच प्रतिस्पर्धा छ भन्छन् । तर उनीहरू स्वयम् विश्वको शक्ति केन्द्र एशिया बन्दैछन् । अर्थतन्त्रको विकासका हिसाबले, जनसंख्याको हिसाबले, विज्ञान र प्रविधिमा गरेको विकासका हिसाबले, हरहिसाबले कुनै बेलामा युरोप थियो । त्यो भन्दापछि अमेरिका शक्ति केन्द्र बन्यो ।

अब परिस्थिति बदलिंदैछ । एशिया संसारको शक्ति बन्दै छ । चिनियाँँहरूले भारतसँग मिलेर, जापान समेत मिलेर अगाडि बढ्ने भन्दैछ । चिनियाँहरू हिजोका संकीर्णताबाट मुक्त भएको स्थिति छ । हिजो चीन जापानको उपनिवेश बनेको हो नि ! चिनियाँँहरू त्यो कुरा बिर्सन तयार छन् । उनीहरू अबको नयाँ मानव सभ्यताको विकास कसरी गर्ने ? मानवको हित कसरी गर्ने ? मानव जातिको न्याय कसरी कायम गर्ने ? भन्ने उचाइमा पोलिसीमा काम गर्दैछन् ।

आजको विश्व र त्यसमा चिनियाँँ पहल अलग कुरा भयो । तर यो भ्रमण मार्फत् चीनले के चाहेको रहेछ भन्ने अनुमान त हुने नै भयो नि, हैन र ?

चीनले छिमेकसँग, वरिपरिका क्षेत्रीय देशहरूसँग टकराव, लडाईं या शक्ति प्रयोगको माध्यमबाट होइन, उनीहरूका हित समेतलाई प्रतिनिधित्व गरेर, उनीहरूलाई सहयोग दिएर, उनीहरूका बीचमा भइरहेका द्वन्द्वहरूलाई पनि समाधान गरेर त्यसको नेतृत्व लिन खोजिरहेको स्थिति छ ।

नेपालसँग मात्र होइन, भारतसँग पनि साझेदारी र सहकार्य चाहिरहेको छ । मानव जातिको हितका निम्ति, आ–आफ्ना देशको सभ्यता र संस्कृतिको संरक्षणका निम्ति, आ–आफ्ना मूल्य र मान्यताहरूको जगेर्ना गर्दै अनि एकअर्काबाट सिकेर अझ अगाडि बढेको स्थिति छ ।

यसकारण छिमेकसँगको सम्बन्ध बिगारेर होइन, छिमेकको भावना बुझेर, यो क्षेत्रमा भएका देशहरूको भावना बुझेर, ती देशको हित समेतलाई पनि प्रतिनिधित्व गरेर सँगै अगाडि बढौँ भन्ने अभियानमा चीन छ । त्यसैले यो उचाइबाट सोचिरहेको राष्ट्रले जुन नीति बनाएको छ, त्यहाँभित्र हाम्रा हित हामीले हेर्नुपर्छ । संकीर्णताभित्र बाँधिएर प्राविधिक विषयमा अल्झिएर बस्नु हुँदैन ।

बदलिँदै गएको चीनले नेपालको भावी राजनीतिबारे पनि गृहकार्य गर्दैछन् भन्ने कुरालाई आधार मानेर पनि यो भ्रमणलाई लिइएको देखिन्छ । कुनै गेस्चर दिइएको हो ?

देशको आन्तरिक राजनीतिमा उनीहरूको चासो छैन । सिंगै देशको प्रतिनिधित्व उनीहरूले खोजिराख्या छन् । सिंगै देशको प्रगति खोजिराखेका छन् । सिंगै देशको विकास खोजिरहेका छन् । सँगसँगै अगाडि बढौँ भनिरहेका छन् ।

नेकपा एमाले आफैंमा सार्वभौम छ । नेपाली कांग्रेस आफैमा सार्वभौम छ । हाम्रो देशका बारेमा निर्णय गर्न हामी आफै सार्वभौम छौँ । हामी आफै कसैलाई खोजी गर्न जान्छौँ भने त्यो हाम्रो गल्ती हो । हाम्रो त्रुटि हो । हामीले हाम्रो देश अगाडि कसरी बढाउने भन्ने सन्दर्भमा आफ्नै विवेक र बुद्धिले सोच्ने कुरालाई कुनै पनि देशले इन्कार गर्दैन ।

त्यसैले उनीहरूले देशभित्रको राजनीति त्यहाँका राजनीतिक पार्टीहरूले स्वतन्त्रतापूर्वक सोच्नु पर्‍यो, आफ्नै जगमा उभिएर निर्णय गर्नुपर्‍यो भनिरहेका छन् । भौगोलिक अखण्डता र सार्वभौमिकताको कुरा गरेको छ ।

हामी नेपालका सबै राजनीतिक पार्टीहरू सार्वभौम छौँ । नेकपा एमाले आफैंमा सार्वभौम छ । नेपाली कांग्रेस आफैमा सार्वभौम छ । हाम्रो देशका बारेमा निर्णय गर्न हामी आफै सार्वभौम छौँ । हामी आफै कसैलाई खोजी गर्न जान्छौँ भने त्यो हाम्रो गल्ती हो । हाम्रो त्रुटि हो । हामीले हाम्रो देश अगाडि कसरी बढाउने भन्ने सन्दर्भमा आफ्नै विवेक र बुद्धिले सोच्ने कुरालाई कुनै पनि देशले इन्कार गर्दैन ।

तर एमाले र माओवादी मिलेर नेकपा हुँदा चिनियाँँ उत्साह नेपालमै सी विचारधारा पढाउनेदेखि अन्तरपार्टी सम्झौतासम्म पुगेको थियो । नेकपा फुटेपछि बदलिएको परिस्थिति फेरि सम्हाल्न खोजिँदैछ भन्ने पनि छन् नि ?

विचारधारात्मक सम्बन्ध लुकेको विषय नै होइन । नेकपा एमाले र सीपीसी बीचको सम्बन्ध, नेकपा माओवादी र सीपीसी बीचको सम्बन्ध, अरू वामपन्थी पार्टीहरू र सीपीसी बीच एकखाले सम्बन्ध छ । त्यसलाई पार्टी सम्बन्धका हिसाबमा हेर्नुपर्छ । अर्थात् विचारधारात्मक हिसाबले हेर्नुपर्‍यो । सीपीसीको गैरकम्युनिष्ट पार्टीहरूसँग पनि सम्बन्ध छ ।

तर चीनले सिंगो देशलाई हेरिरहेको स्थिति छ । हामी गएको फोरममा पनि बडो स्पष्टताका साथ के भन्यो भने हरेक देशको आफ्नो राष्ट्रिय स्वार्थ हुन्छ, हाम्रो राष्ट्रिय स्वार्थ मात्रै हेरेर हाम्रो अभिभारा पूरा हुँदैन । चीनलाई मात्र हामीले हेर्ने होइन । चीनको स्वार्थ हुन्छ, तर हाम्रो दायित्व भनेको (जब हामी शक्ति राष्ट्र छौँ भने) अरु देशहरूको राष्ट्रिय स्वार्थको पनि जगेर्ना गर्नु हो । छिमेकी देशहरूको स्वार्थलाई पनि मध्यनजर गरेर हाम्रा नीतिहरू बन्नुपर्छ भन्ने उचाइमा कुरा गरेको मैले सुनेँ, देखेँ । त्यसको त हामीले सम्मान गर्नुपर्छ ।

भ्रमणबाट देशलाई उपलब्धि चाहिँ के भयो त ?

नेपाल–चीन बीचको सम्बन्ध ऐतिहासिक र पौराणिक कालदेखि छ । अरनिकोको समयदेखि छ, र अरनिको कलालाई उनीहरूले आदर गरेका छन् । के पनि भन्न छुटाएका छैनन् भने अरनिको भनेको नेपाली नागरिक हुन् र चीन–नेपाल बीचको सम्बन्धमा एउटा महत्वपूर्ण योगदान छ ।

दोस्रो, नेपालमा जन्मेको बुद्धको सार विश्व शान्ति र मानवता हो । बुद्धका यी महत्वपूर्ण फिलोसफीलाई बडो उच्च सम्मानका साथ लिएको मैले देखेँ । हामी दुनुवाङ सिटीमा जाँदा त्यहाँको एक ठाउँमा भयंकर ठूलो मेहनतका साथ बुद्धको फिलोसफीलाई संरक्षण गरेको देखेँ । अब त्यो पुरानो सम्बन्धलाई नयाँ समयको नयाँ विश्वासका साथ नवीकृत गर्नुपर्‍यो, यो भ्रमण त्यसमा सफल भयो भन्ने लाग्छ ।

उनीहरूको अपेक्षा के रहेछ ?

नेपाल र चीनका बीच भएका अहिलेसम्मका सन्धि–सम्झौताहरूकोे कार्यान्वयन र असल छिमेकीप्रतिको गहिरो प्रेमभाव र, नेपालको भूमि कसैका विरुद्धमा प्रयोग गर्न नदिएकोमा एउटा असल मित्रले पाउने धन्यवाद दिन्छौँ भन्नुभयो । यसले नेपालप्रतिको उहाँहरूको सकारात्मक भावना प्रकट भयो ।

एमालेभित्र नेतृत्व परिवर्तनको चर्चा चलिरहँदा चीनले विद्या भण्डारीको स्वीकारोक्ति बढाउन खोज्यो पनि भनिंदैछ । यो भनेको त बाह्य देशको हस्तेक्षलाई निम्तो भन्ने पनि बुझिने भयो नि ?

हामी कुनै पनि देशको हस्तक्षेप मान्दैनौँ । चीन स्वयम्ले पञ्चशीलको सिद्धान्त मान्ने हुनाले उसले पनि अहस्तक्षेप र अनाक्रमण भनेको छ । कुनै देशमाथि आक्रमण पनि गर्दैन, हस्तक्षेप पनि गर्दैन, राजनीतिक रूपमा । हामी पनि त्यो कुरा मान्दैनौँ । त्यसमा हाम्रो समभाव छ ।

हामी कुनै देशको हस्तक्षेप स्वीकार पनि गर्दैनौँ । अर्काेले हस्तक्षेप गर्ने कुरा गरी पनि राख्या छैन भने नकारात्मक ढंगले टिप्पणी गर्ने र कुनै धारणा बनाउने गर्नु हुँदैन । अब कतैतिर पनि मान्छे गयो या देशले सम्पर्क बढायो, देशको प्रधानमन्त्री जानुभयो या कुनै वरिष्ठतम नेताहरू जानुभयो भने हरेकले देशको स्वार्थलाई शिरमा राखेर वचन र कर्मले राष्ट्रिय हितलाई नै संरक्षण गर्नेगरी अगाडि बढ्नुपर्छ । त्यसो गर्दा अरुको पनि माया र सहयोग पाइन्छ भन्ने लाग्छ । यसमा कुनै प्रकारको कुनै पनि सन्देश लिएर आएका छैनौँ । सन्देह पनि नराखौँ ।

पार्टीभित्रको राजनीति र देशका नीति बनाउने सन्दर्भमा नेपालका राजनीतिक पार्टीहरू सार्वभौम छन् । उनीहरू आ–आफ्ना नीति, लक्ष्य र विचारमा स्पष्ट भएर अगाडि बढ्नुपर्छ । यदि सन्देशका हिसाबले भन्ने हो भने नेपालका राजनीतिक पार्टीहरू सबै मिलेर जनताको भावनालाई पूरा गर्नेगरी बढून्, सिंगै देश अगाडि बढोस् ।

तर अलिक बढी चाहिँ वाम शक्ति मिले हुन्थ्यो भन्ने चीनको चाहना छ भनिन्छ नि ?

यो एकदमै स्वाभाविक कुरा हो । जुनसुकै वामपन्थी दलको नेताहरू त्यहाँ जानुभयो भने विचारधारा र सिद्धान्त मिल्नेहरू मिलून्, जुटून् र जनताका भावना बमोजिम काम गरून् भन्छन् ।

विद्या भण्डारीलाई नै केन्द्रमा राखेर वाम एकता होस् भन्नेसम्म पनि चर्चा भइरहेको छ नि ?

नेपालका कम्युनिस्ट पार्टीहरूसँग विचारधाराको सम्बन्ध छ । सीपीसीलाई पार्टीका हिसाबमा नेपालका वामपन्थीहरू मिल्नुपर्छ, छिन्नभिन्न रहनुहुँदैन भन्ने हुन्छ नै । किनकि राजनीतिक स्थायित्व भएन भने देशको विकास गर्न सकिँदैन । राजनीतिक स्थायित्वको एउटा आधार नेपालका सन्दर्भमा वामपन्थी पार्टीहरू मिलेर अगाडि बढे भने बहुमत प्राप्त गर्नसक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?