+
+
Shares
पुस्तक :

बुद्ध एअरको नियमसम्मत सफलताको आत्मकथा

 गोविन्द गिरी  गोविन्द गिरी
२०८२ असार ७ गते ९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुद्ध एअरको २५ वर्षको इतिहास र वीरेन्द्रबहादुर बस्नेतको जीवनकथालाई समेटिएको यो पुस्तकले उद्यमशीलता र नेपालको वायुसेवा क्षेत्रको कथा प्रस्तुत गर्दछ।
  • लेखकले आफ्नो सफलताको सूत्र र संघर्षका कथाहरू साझा गर्दै, निजी विमान कम्पनीको विकास र चुनौतीहरूलाई उजागर गरेका छन्।
  • पुस्तकले सम्बन्ध, ब्रान्डिङ, र सामाजिक उत्तरदायित्व जस्ता विषयहरूलाई पनि समेट्दै, नेपाली वायुसेवाको गौरव र भविष्यको दिशा देखाउँछ।

बुद्ध एअर ‘बाई द बुक’ गैर आख्यानको यस्तो पुस्तक हो, जसले बुद्ध एअरका सारथि वीरेन्द्रबहादुर बस्नेतको रामकहानी, बुद्ध एअरको नालीबेली र नेपाली आकाशको उड्डयन संसारको कथा पस्किन्छ । यो पुस्तक एकसाथ वीरेन्द्रबहादुर बस्नेतको आत्मकथा हो । बुद्ध एअरको कथा हो । बुद्ध एअरका सारथि वीरेन्द्रबहादुर बस्नेतको उड्डयन अनुभव र उद्यमशीलताको अनुभूतिको विवरण पनि हो ।

नेपाली आकाशमा बुद्ध एअरले आफ्नो पदचिह्न कोर्न थालेको २५ वर्ष पूरा भयो । सम्भवतः यो २५ वर्ष अर्थात् रजत वर्षसम्म आइपुग्दाको अनुभव अनुभूति पाठक, सह उद्यमीहरू, आफ्ना नजिकका नातेदारदेखि बुद्ध एअरका यात्रुहरूलाई समेत बाँड्ने इच्छाले यो पुस्तकको जन्म भएको अनुमान सहजै गर्न सकिन्छ।

नेपाली आकाशमा तत्कालीन शाही नेपाल वायु सेवा निगमले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा लामो समय एकाधिकार कायम राख्यो। सरकार संरक्षित भएकोले यो स्वाभाविक पनि थियो। तर विश्वमा निजी क्षेत्रका उद्यमहरूले नै अनेकन् व्यवसायलाई सफलताको शिखरमा पुर्‍याएका छन्। यद्यपि सरकार संरक्षित उद्योग र व्यवसाय अद्यापि अस्तित्वमा रहेका नपाइने होइनन्।

सन् १९५८ मा स्थापित शाही नेपाल वायु सेवा निगमले सन् १९९२ मा नेपाली आकाशको प्रजातन्त्रीकरण नहुन्जेल एकाधिकार कायम राख्यो । त्यसपछि नेपाली आकाशमा निजी विमान कम्पनीहरू क्रमशः देखा पर्न थाले । यही क्रममा जन्मेको हो बुद्ध एअर पनि ।

स्थापनाका सुरुवातका वर्षहरूमा पाइने कर उन्मुक्ति र थप सुविधाका लागि जन्मेका र विलाएका विमान कम्पनीहरूको त हिसाबै भएन । तर राम्रै उद्देश्यका साथ स्थापना र सञ्चालन भएका कैयन् विमान कम्पनीहरू समयको क्रममा धराशायी भए । तर बुद्ध एअरले आफ्नो पखेटा फैलाइरह्यो । विमानहरू थप्दै गयो । यात्रुहरूको विश्वास जित्दै गयो । समस्या र चुनौतीको सामना गर्दै गयो र नेपालको मुख्यतः आन्तरिक वायु सेवा भए पनि विदेशीहरूका लागि नेपाल आउँदा सुविधा र सुरक्षाका कारण पहिलो रोजाइ बन्न सक्यो । यो बुद्ध एअरको मात्र नभई नेपाल र नेपालीको गौरवको विषय भयो । यो पुस्तकमा यी कथाहरू विभिन्न कोण र दृष्टिकोणबाट प्रस्तुत गरिएको छ ।

०००

यो पुस्तकको जन्म कथालाई लेखकले यसरी अङ्कित गरेका छन्, ‘मलाई आफूले प्राप्त गरेको सफलताका सूत्र लोकसामु सार्वजनिक गर्ने जाँगर चलेको छ। मलाई लाग्छ, कमसेकम सफलताका सूत्र खोज्ने नव पुस्ताका निम्ति यो सहायक बन्न सक्छ। यस्तै कथा बुन्न चाहने अरू पात्र किन असफलताको गर्तमा गुम भए त्यो बुझ्न यसले मद्दत गर्ला भन्ने मेरो अपेक्षा छ।’  (पेज ३)

पुस्तकको सुरुवात ‘नेपाली आकाशमा उडानु बाट गरिएको छ। यद्यपि यो उडान औपचारिक र सुखद् पनि थिएन । अमेरिकी कल साइनको ब्रिटिश भारतको कुनै विमान नेपालको सिरहामा दुर्घटना भएको थियो। यस अध्यायमा अच्युतानन्द लामिछाने निर्मित विमानको कथा पनि जोडिएको छ, जुन विमानको उडान अनुमति नेपाल सरकारले दिएन र लामिछानेको सपना त्यसै त्यसै तुहिन पुग्यो ।

यसै अध्यायमा बुद्ध एअरले सन् १९९७ अक्टोबरबाट आफ्नो उड्डयन यात्राको थालनी गरेको सुन्दर जानकारी पाउन सकिन्छ साथै हेलिकोप्टर सहित २० वायु सेवा सञ्चालकले सेवा प्रदान गरिरहेको थाहा लाग्छ ।

०००

कलम समाउँदा सबैभन्दा कठिन प्रश्न के उठ्छ भने, त्यो कलमले कति सत्य ओकल्छ होला !

वीरेन्द्रबहादुर बस्नेतले आफ्नो जन्म भारतको बनारसमा भएको स्पष्ट खुलाएका छन् । कतिपय प्रख्यात नेपाली लेखक तथा राजनीतिज्ञहरूले भारतमा जन्मेको तथ्य लुकाउने गरेको पाइन्छ तर बस्नेतले यसलाई लुकाउन आवश्यक ठानेनन् ।  यो उनको आत्म कथ्यको विशिष्ट पाटो हो । उनले स्कूले जीवनका सबैजसो गतिविधि खुलस्त रूपमा प्रस्तुत गरेका छन् । बूढानीलकण्ठ स्कूलमा झन्डै पढ्न नपाउने अवस्थाको समाधानलाई पनि उनले यथार्थ रूपमा पस्किने जमर्को गरेका छन् । साथै स्कूले जीवनको कठोर अनुशासनको पालनाले नै पछि यसरी एक सफल उद्यमीको रूपमा समाज र राष्ट्रमा प्रतिष्ठित बनाएको तथ्यलाई यथारूप प्रस्तुत गरेका छन् ।

बस्नेत विमान सेवाको उद्यममा आउनुअघि कृषि फार्ममा संलग्न थिए । उद्यमतर्फ उनको यो पहिलो जमर्को थियो । ‘उद्यम आरम्भ’ अध्यायमा उनले कृषि फार्ममा गरेका कर्म र अनुभवको विश्लेषण र लेखाजोखा समेत गरेका छन् ।

बुद्ध एअरले नेपाली आकाशमा अहिले जगजगी गरेको देखिन्छ, तर यो अवस्थामा आउनु अघिको सङ्घर्ष र त्यो सपना पूरा गर्न उनले गरेका प्रयास अनि त्यो प्रयासलाई टुङ्गोमा पुर्‍याउने अठोट प्रेरक, उत्प्रेरक र उदाहरणीय छ।

आज बुद्ध एअरका सारथिका रूपमा परिचित वीरेन्द्रबहादुर बस्नेत कुनै बेला त्रि. वि.  कीर्तिपुर अध्ययनको लागि एटलस साइकिल चढेर जान्थे भन्ने तथ्य पढ्दा मानिसले सपना देख्नुपर्छ र त्यो सपना पूरा गर्न तन, मन, धन, समर्पण र स्वच्छ विचारले सम्भव छ भन्ने बुझ्न सकिन्छ ।

सन् १९९७ अक्टोबर ५ का दिन पहिलो नयाँ जहाज आइपुग्दाको भावुक अनुभूति बस्नेत यसरी व्यक्त गर्छन्  ‘त्यो दिन थियो, १९९७ अक्टोबर  ५ । मीनभवनबाट तीनकुनेतर्फ लाग्दै गर्दाको दृश्यले म आह्लादित भएँ । भावुक बनें । युफोरिकग्रस्त भएँ । एकछिन शून्यमा पुगे जस्तो भयो । प्राणीको मन चरम प्रसन्नावस्थामा त्यस्तै हुन्छ होला । आफ्नै जहाज ल्याउने सपना साकार हुँदा मभित्र एकै पटक कैयौं संवेदना प्रकट भए । त्यसले मलाई गाडीबाट झरेर त्यहीं नाचौं जस्तो बनायो । विमानस्थलमा नयाँ जहाजलाई स्वागत गर्न हाम्रा २० जना जति कर्मचारी पुगिसकेका थिए । आफ्नै जहाज देखेपछि त्यसैलाई अँगालेर बसिरहूँ जस्तो लाग्यो। डाँगी हाटमा कृषिकर्म गर्दा पोखरीमा माछाका भुरा हालेपछि तिनैलाई खुवाउँदै र खेलाउँदै बसौं जस्तो लाग्थ्यो । तिनको वृद्धि आफ्नै आँखा अगाडि होस्, भिडियोमा कुनै फूल कोपिलाबाट बिस्तारै फक्रँदै गएको जसरी देखाइन्छ, त्यसैगरी आफ्नै आँखाले देखोस् जस्तो हुन्थ्यो। प्रकृतिको नियम हो, रातारात कुनै पनि बेर्ना बढेर एकै पटक ठूलो त भइहाल्दैन। त्यसका लागि प्रतीक्षा गर्नैपर्छ। (९पेज ३६)

०००

वीरेन्द्रबहादुर बस्नेतको जीवनका घुम्तीहरू देख्दा रोमाञ्चक नै लाग्छ । उनी सेनामा जान चाहन्थे तर उनलाई सम्भव भएन । कृषि फर्ममा लागे तर त्यहाँ उनी बाँधिन चाहेनन्, सकेनन् अथवा उनकी जीवनसंगिनीलाई त्यो सह्य स्थिति भएन । जागिर पनि खाए । अमेरिका जाने कोसिस गरे तर सफल भएनन् । शायद उनी अमेरिका गएको भए बुद्ध एअरको आजको यो वैभव कसरी सम्भव हुन्थ्यो होला र !

उनकै शब्दमा, “मेरो विवाह काठमाडौं उपत्यकाभित्र जन्मे–हुर्केकी महिलासँग भयो। डाँगीहाट बस्न श्रीमतीलाई सहज भएन । उनले त्यहाँ बस्न केही वर्ष सङ्घर्ष गरिन् । उनका लागि त्यो धेरै असहज थियो। त्यसले मलाई कृषिकर्मबाट टाढिएर काठमाडौंमै केही गर्नुपर्छ वा पढ्न अमेरिका जानुपर्छ भन्ने सोच्न बाध्य बनायो। विवाहका कारण जुरेको त्यो संयोगले नै मैले डाँगीहाट छाडें र काठमाडौं आएँ। भाइ शिवेन्द्र पाइलट नबनेको भए हामीले हवाई सेवामा हात नहाल्न सक्थ्यौं ।’ (पेज ४७)

पुस्तकमा वीरेन्द्रले आफूलाई पिताको आज्ञाकारी सुपुत्रको रूपमा चित्रण गरेका छन् तथापि नयाँ विमान ल्याउने उनको इच्छालाई अनुमोदन न गरेकोमा अलिकति असन्तुष्टि छचल्किएको छ तथापि त्यसलाई पनि धेरै ऋणको बोझ बोक्न नहुने पिताको भनाइ उनको तर्फबाट ठिकै हो भन्दै यदि त्यतिवेला थप विमान ल्याउन सकिएको भए झन् ठूलो सफलता मिल्ने थियो भन्ने तथ्यलाई पनि उजागर गर्न छुटाएका छैनन् ।

आफ्ना भाइ शिवेन्द्रकै कारण विमान व्यवसायमा आउने तारतम्य मिलेको यथार्थ विवरण सहित पछि भाइसँग व्यवसायमा भएको खिचलोलाई पनि उल्लेख गरेका छन् । साथै घरायसी वैमनस्यलाई व्यवसायमा ल्याउनुहुन्न भन्ने मान्यतालाई पनि उनले महसुस गरेको र सोही अनुसार व्यवसाय अघि बढेको बताएका छन् ।

यस हिसाबले यो पुस्तकले वीरेन्द्रबहादुर बस्नेतको पारिवारिक कथा पनि कहन्छ र यी सबलाई मर्यादित रूपमा प्रस्तुत गर्ने जमर्को देखिन्छ ।

०००

वीरेन्द्रबहादुर बस्नेतले आफू जसरी र जुन जुन सिद्धान्त, सोच र फर्मूलाले सफल हुन सके, त्यो अरूका लागि पनि उपयोगी हुन सक्ला भनेर त्यसलाई विस्तृत रूपमा चर्चा गरेका छन् ।

यसै सिलसिलामा ‘सम्बन्धको सदुपयोग’ अध्यायमा सम्बन्धलाई व्याख्या गर्ने क्रममा सम्बन्ध प्रत्यक्ष र अप्रत्यक्ष हुने र प्रत्यक्ष सम्बन्धमा विरासतको सम्बन्ध, शैक्षणिक सम्बन्ध, जन्मस्थान सम्बन्ध, छिमेकी सम्बन्ध, क्षेत्रीय सम्बन्ध, सामाजिक कार्य सम्बन्ध तथा व्यावसायिक सम्बन्ध हुने बताउँछन् ।

त्यस्तै अप्रत्यक्ष सम्बन्धमा भर्चुअल सम्बन्ध र उपस्थितिद्वारा बनाइने सम्बन्ध हुने बताउँछन् । यी सब सम्बन्धहरू व्यावसायिक सफलताका लागि उपयोगी हुने उनको प्रत्यक्ष अनुभव रहेको र अरूका लागि पनि उपयोगी हुनसक्ने उनको सुन्दर सोच देखिन्छ ।

आफ्ना अनुभव र अनुभूतिलाई प्रस्तुत गर्ने क्रममा वीरेन्द्रले दन्त्यकथाका पात्र, पौराणिक पात्र लगायत रोचक र उपयोगी पात्रहरूको प्रयोग गरेका छन् जसले पाठकलाई रोचकतापूर्वक पठनका लागि मद्दत पुग्ने देखिन्छ ।

वीरेन्द्रले बजारीकरणका लागि ब्रान्डिङ, ब्यालेन्स, ब्रेक द नर्म्स, बी इन कम्युनिकेसन, क्रियटिभ डिसेप्शनलाई टूलको रूपमा प्रयोग गर्न सकिने र त्यो आफूले प्रयोग गरेको बताएका छन् ।

बुद्ध एअरका लागि २५ सेप्टेम्वर २०११ कालो दिन हो । यसै दिन बुद्ध एअरको बिचक्राफ्ट १९०० डी विमान दुर्घटना भएको थियो । निस्सन्देह विमान दुर्घटना कुनै पनि विमान सेवाको लागि निकै ठूलो आघात हो। यात्रुहरू सुरक्षाको कारण बिच्किन सक्छन् । तर बुद्ध एअरले यसलाई नमीठो पाठको रुपमा लिएर सुरक्षा सम्बन्धी कुनै पनि कुरामा जिरो टलरेन्स सिद्धान्त स्थापित गर्दै अझ बढी जिम्मेवार भएर यात्रुहरूको मन पुनः जित्न सफल भएको र बुद्ध एअरलाई पहिलो रोजाइ बनाउन सफल भएको बताएका छन् ।

०००

पुस्तक पढ्दै जाँदा यौटा सफल कम्पनीका सारथिले कति मिहिनेत र बुद्धिमत्तापूर्ण ढङ्गले नियमित रूपमा रथ हाँक्ने काम गर्नुपर्छ भन्ने तथ्य बुझ्न सकिन्छ । त्यस्तै कोभिडका बेला आफ्ना सारा कर्मचारीहरुलाई कम्पनीको तर्फबाट गरिएको हेरचाहको विवरण पढ्दै जाँदा सलाम गर्न मन लाग्छ ।

त्यस्तै बुद्ध एअरले कृषिमा गरेको लगानी र त्यसबाट कृषकको हित मात्र नभएर सिङ्गो राष्ट्रलाई पुग्ने योगदान ुसीआरएसका सिद्धान्तु अध्यायमा पढ्न पाइन्छ । यसका लागि आफैंबाट प्रारम्भ गर्ने, सामाजिक उत्तरदायित्व बोध गर्ने, कर्पोरेट नागरिक बन्ने जमर्को गर्ने, दिगोपनको दियो बाल्ने प्रयास, अपनत्वका आधार जस्ता पूर्वाधारले योगदान पुग्ने मार्गचित्र देख्न सकिन्छ ।

०००

पुस्तकको तेस्रो खण्डमा अबको बुद्ध एअरमा वीरेन्द्रले अब आफू संरक्षकको भूमिकामा बसेर नयाँ पुस्तामा नेतृत्व जानुपर्ने विषयलाई उठान गरेका छन् । घाटमा जाने बेलासम्म पनि ‘पद’ र ुराजनीतिक सक्रियताु कायम राख्न चाहने राजनीतिमा लाग्नेहरूको बाहुल्य भएको मुलुकमा यो कुरा विचित्रको लाग्न सक्छ। तर यो वीरेन्द्र सोच हो। यसले मूर्तरूप लिनेमा शङ्का गर्नुपर्ने देखिंदैन ।

त्यस्तै प्रदेश स्तरमा सेवाको विस्तार र त्यसको कार्य पीठिका पढ्दा यो एक ुभिजनरीु वीरेन्द्र सोच हो भन्ने लाग्छ। यस योजनाले मूर्तरूप लिएको दिन, देशको मुहारमा मुस्कान उदाउनेमा शङ्का गर्नुपर्ने देखिंदैन ।

०००

पुस्तकको नाम ‘बाई द बुक’ राखिएको छ। यो के हो रु पाठकलाई शुरूमा अलमल हुन सक्छ। ‘कम्पनी पहिले” नीतिस शीर्षक लेखले यो जिज्ञासाको निवारण गर्दछ ।

कम्पनी पहिले अर्थात् कम्पनी फर्स्ट नीति कम्पनीको सफलताको लागि आवश्यक पर्छ । त्यस्तै देशमा विधिको शासन भने झैं कम्पनी पनि विधिपूर्वक सञ्चालन हुनुपर्दछस कम्पनी सफल बनाउनका लागि । त्यसलाई ‘बाई द बुक’ भन्ने गरिन्छ अङ्ग्रेजीमा ।

‘बाई द बुक’  भन्नाले ‘स्थापित पद्धति वा नीति–नियमलाई कठोरतापूर्पक पालन गर्नेु भन्ने बुझिन्छ । बुद्ध एअर आज सफल भएर यो स्थानमा आइपुग्नुमा यो कम्पनी बाइ द बुक अनुसार चलेकोले नै हो भन्ने वीरेन्द्रबहादुर बस्नेतको ठोकुवा छ र यसैले यो पुस्तकको नाम ‘बाई द बुक’ चयन गरिएको सहजै बुझ्न सकिन्छ, जुन सर्वाधिक उपयोगी र अर्थपूर्ण पनि हो ।

०००

समग्रमा पुस्तक पढिसक्दा लाग्छ, नेपाली भाषामा यस किसिमको यो पहिलो पुस्तक हो । शुरूमा नै भनेको थिएँ, यो पुस्तक वीरेन्द्रबहादुर बस्नेतको अलिकति आत्मकथा हो, बुद्ध एअरको कथा हो अनि हवाई सेवाको क्षेत्रमा निजी व्यवसायीको अनुभूतिको समग्र चित्रण पनि हो । त्यसैले यी तीन पक्षले यो पुस्तकलाई बढी उपयोगी बनाएको छ ।

वीरेन्द्रबहादुर बस्नेतको आत्मकथा छुट्टै र बुद्ध एअरको मात्रै कथा बेग्लै भइदिएको भए हुन्थ्यो भन्ने पाठकलाई लाग्न सक्छ। त्यस्तै केही प्रसङ्गहरू दोहोरिएका छन्, यो दोष निवारण गर्न सकिएको भए उत्तम हुनेथियो भन्ने लाग्छ । त्यस्तै अङ्ग्रेजी शब्दहरूको बाहुल्य अर्को दोषका रूपमा लिन सकिन्छ ।

तथापि नेपालको अग्रणी वायु सेवा ुबुद्ध एअरु अब पुस्तक पनि भयो । जीवित इतिहास भयो। वीरेन्द्रबहादुर बस्नेतको आत्मकथा पनि पाठकको मन–मनमा पुग्न पायो। यो पुस्तकको सफलता हो। यो रूपमा पुस्तक आउन दीपेन्द्र कर्णको साथ देखिन्छ, पुस्तकको सफलताको श्रेय उनमा पनि जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?