+
+
Shares
सम्झनामा :

खगेन्द्रजङ गुरुङ : तमुवान स्थापना गर्न कम्युनिष्टसँग मिलेर सशस्त्र क्रान्ति चाहन्थे

खगेन्द्रजङ गुरुङ क्युवाली क्रान्तिकारी नेता चे ग्वेभाराबाट अत्यधिक प्रभावित थिए । उनी चेकै शैलीमा नेपालमा छापामार युद्ध गरेर कम्युनिष्ट व्यवस्था ल्याउन सकिन्छ भन्नेमा विश्वास गर्थे ।

झलक सुवेदी झलक सुवेदी
२०८२ असार १४ गते १२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खगेन्द्रजंग गुरुङको ९३ वर्षको उमेरमा असार २ गते निधन भयो।
  • उनले आफ्नो जीवनमा आफ्नै मनमुताबिक काम गरेर राजनीतिक, सामाजिक र ऐतिहासिक भूमिका निभाएका थिए ।
  • उनको व्यक्तित्व र जीवनका अनेक पक्षहरू अझै पूर्ण रूपमा उजागर हुन सकेका छैनन् ।

खगेन्द्रजंग गुरुङलाई भेट्नु अप्ठेरो अक्करमा फस्नुजस्तो लाग्थ्यो । उनका कुरा सुन्न चाखलाग्ने खालका हुन्थे तर एउटा विषयमा प्रवेश गरेपछि कहाँ निस्किन्छन् भन्ने थाहा नहुने । कुरा सक्लान र हिँडौंला या अर्को विषयमा सोधौंला भनेर पर्खन पनि गाह्रो । नेपाली आधुनिक राजनीतिका यी एकजना कर्ता र द्रष्टा आफैंमा एउटा इतिहास थिए । उनले जीवनमा आफ्नो बाहेक अरुका कुरा कहिल्यै सुनेनन् अर्थात जे गरे आफ्नो मनखुसीले गरे ।

आफ्नै विश्वदृष्टिले चले । अनेक आकाँक्षा र योजनाका असफल सपनामा जीवन बिताउँदै र समाज र परिवारबाट एक्लिँदै गएको एउटा विरलै भेटिने व्यक्तित्व थियो उनको । उमालेको सिन्के चाउचाउ हातमा समेट्न खोजेजस्तो लाग्थ्यो उनको जीवनयात्रा र उनीसँगका कुरा पनि । एउटा भव्य जीउडाल, सम्भ्रान्त वर्गको छाप र सामन्ती पारिवारिक परम्पराको साँस्कृतिक निरन्तरता यिनको बाह्य व्यक्तित्व थियो ।

तिनै खगेन्द्रजङ ९३ वर्षको उमेरमा असार २ गते बितेको खबर सुन्दा मलाई नेपाली इतिहासको एउटा जीवित अभिलेख उनीसँगै ढलेजस्तो लाग्यो । उनलाई भेट्दा मलाई आफ्ना बासँग उनको उमेर दाँज्न मन लागिरहन्थ्यो । मेरा बा भूवानीशंकर भन्दा एकवर्ष जेठा खगेन्द्रजङ बा भन्दा साढे चारमहिना पछि बिते । मैले बाका बारेमा लेख्नुपर्ने कुरा बाँकी नै छन् जसमा कलम चलाउन मलाई अझै हिम्मत आएको छैन । तर, खगेन्द्रजङको मृत्युलाई भने तटस्थ भावले हेर्न सक्ने भएकोले उनका बारेमा लेखिहाल्न मन लाग्यो । यसमा अलिकति लमजुङे हुनुको साइनोले पनि काम गरेको होला, अलिकति राजनीतिका यी अर्ध रहस्यमय पात्रका प्रतिको जिज्ञासा पनि होला ।

उनका बारेमा पहिले–पहिले हामीले सुन्दा किम्वदन्तीको नायक छवि हाम्रो दिमागमा बस्थ्यो । गाउँमा सायद बढाइचढाइ सुनाइँदो हो । महेन्द्रसँग ठाडै झगडा गर्न सक्छ, खगेन्द्रजङ । तमुवान राज्य बनाउने भनेर २२ वटा बन्दुकसहित आफ्नै सेना बनाएर लड्न हिँडेको हो रे, पछि शाही सेनाले घेर्न थालेपछि आफ्नै सेनासहित मनाङतिर गएर बसेको छ रे भनेर बुढापाकाहरू चर्चा गर्थे । यसरी स्कुले जीवनकालमा उनी मेरा लागि एउटा रहस्यमय पात्र थिए । मेरो मनमा उनीप्रति जिज्ञासा र चासो रहिरहन्थ्यो ।

उनीसँग मेरो संगत खासै थिएन । आठ दशपटकको भेटमा उनीसँग भएका कुरा, उनले भनेका र मैले उनका बारेमा सुनेका कुराका आधारमा उनीबारे एउटा ‘अविच्युरी’ लेख्नुको कर्तव्यजस्तो मनमा लागिरह्यो । उनका बारेमा मैले अरुहरूबाट जे सुनें, जे बुझें अनि प्रत्यक्षमा उनीबाट जे जे सुनें त्यसका आधारमा मेरो मनमा उनको जुन छवि बनेको थियो त्यसैको शब्दचित्र मात्र हो यो । उनको पूर्ण व्यक्तित्व र भूमिकाको इतिहास देखाउने गरी मैले उनको अध्ययन गर्न पाएको पनि छैन ।

पारिवारिक पृष्ठभूमि र हुर्काइ

खगेन्द्रजंग गुरुङ आफूलाई लमजुङे गुरुङ राजाका धेरै पुस्ता पछिका सन्तान मान्थे । खजे दुरा र कुश्माकर घिमिरेहरूले राजा बनाउन कास्कीकोटबाट ल्याएका कालु शाहलाई घलेहरूले मारिदिएपछि उनका भाइ यशोब्रम्ह शाहलाई ल्याइएको थियो ।

यशोब्रम्ह शाह हुर्केपछि उनले घले राजा र उनका सन्तानलाई मार्न लगाएका थिए । यसरी मारिने भय बढेपछि राजाकी गर्भवती पत्नी लेकतिर पसेर गोठमा लुकेर बसेको, उनको सन्तान गोठमै हुर्केर आफ्नो वंश परम्परा कायम गरेको र आफू उसैको सन्तान भएको भन्ने दावी खगेन्द्रजङले यो पंक्तिकारसंगको सम्वादमा गरेका थिए । यसको आधिकारिकता पुष्टि गर्न भने कुनै भरपर्दो सामग्री छैन । यसमा सत्यता हुनसक्ने सम्भावना नै बढी थियो उनको भनाइ सुन्दा ।

उनका बाजेले रणोद्धिप सिंह श्री ३ भएको समयमा विसं १९४१ तिर लमजुङ, मनाङ र मुस्ताङको नुन व्यापारको ठेक्का हात पारेका थिए । यस्तो ठेक्का पाउनु त्यससमय राज्यको स्थानीय प्रतिनिधि हुनु थियो । लार्केपासबाट तिब्बतीहरू जडिबुटीको व्यापार गर्न मस्र्याङ्दीको बाटो आउँथे र यताबाट खरिद गरेका सामान बोकेर फर्कन्थे । पहाडका मान्छेहरू नुन लिन या त कालीगण्डकीको तिरैतिर मुस्ताङ पुग्थे या मर्स्याङ्दीतिरबाट मनाङ । यस्तो नुन व्यापारमा एक ढाकरको एक रूपैयाँ कर लिने व्यवस्था थियो । यही कर निकै धेरै भएको गुनासोसहित उनका बाजे रणोद्धिपकहाँ पुगेका थिए आफ्ना कोही परिचित गोर्खालीको सहयोग लिएर । उनले तिब्बतबाट नुनको सहज आपूर्तिको व्यवस्था मिलाउने बचन दिएपछि उक्त गौंडाको ठेक्का पाएका थिए ।

उनका बाजेले एकसाता लाग्ने बाटो छोट्याउन मस्र्याङ्दी किनारमा पहरा खोपेर मान्छे आवत–जावत गर्ने बाटो बनाइदिए । लार्केपास पारीपट्टी तिब्बतमा केही गाउँ बसालेका थिए । खगेन्द्रका बाबुका पालामा मुस्ताङको व्यापारमा घाटा लाग्यो भन्दै बटौली नाकाको ठेक्का पनि यिनैलाई दिइयो । यो परिवार सम्पन्न र शक्तिशाली रूपमा आफ्नो इलाकामा स्थापित भयो, एकप्रकारको शासकका रूपमा । सीमा सुरक्षा र न्याय प्रशासनका लागि मिलिसिया राख्न पाउने भएकोले उनीहरूको मातहत ५ सय मिलिसिया राखिएको थियो । यति जनशक्ति र बन्दुक पनि भएपछि स्थानीय मुद्दा–मामिला, जमिनको बाँडफाँट, कर र कोसेलीमा नियन्त्रण हुने भइहाल्यो । एउटा युट्युव अन्तरवार्तामा खगेन्द्रले आफूहरूको बुटवल क्षेत्रमा एउटा मौजा पनि भएको बताएका छन् ।

यिनका बाबु नरजङ त्यतिबेला कुनै पुल फड्के नभएको मादी नदीको भगवतीमा फलामको साङ्लाको लठ्ठा भएको झोलुंगे पुल हाल्न लगाएका थिए । त्यही झोलुंगेपुलका कारण मैले पहिलोपटक यो परिवारका बारेमा सुनेको थिएँ ।

जन्मदा मनाङमै जन्मेको भए पनि खगेन्द्रजङ घनपोखरामा हुर्के । त्यही पण्डित राखेर बाह्रखरी र रुद्री चण्डी, लघुसिद्धान्त कौमुदी पढाइएको थियो । १५ वर्ष पुगेपछि मध्यमा परीक्षाका लागि बनारस गएका गुरुङ बनारस विश्वविद्यालयका कुलपति आचार्य नरेन्द्र देवको सल्लाहमा अंग्रेजी पढ्न थालेका थिए । तर यिनले औपचारिक शिक्षा कतिसम्म हासिल गरे भन्ने चैं खुलाएनन्।

वनारस बसेर पढ्दै गर्दा यिनले दर्शन, राजनीति र इतिहासका अनेक पुस्तक पढे । राहुल साँकृत्यायनका रचनाबाट यी विशेष प्रभावित थिए । विश्व साहित्यका अनेक पुस्तक पढ्न थालेका थिए । पढाइप्रतिको उनको रुचि आफ्ना अन्तिम वर्षहरूसम्म कायम थियो । मैले तीनवर्ष पहिले नारायाणगोपाल चोकको पूर्वदक्षिणपट्टीको एउटा साँघुरो लजको कोठामा अन्तिमपटक भेट्दा पनि यिनको टेवुलमा पुस्तकहरूको चाङ थियो । पत्रपत्रिकाहरू यत्रतत्र थिए ।

हरेकजसो कुरामा अपडेट रहन्थे । सामयिक विषयमा कसले के भनेको छ भन्ने सुचना सबै राख्थे । उनी अध्ययनका दृष्टिले कहिल्यै बुढो भएनन् । यहीँनिर थपिदिउँ उनले बताए अनुसार घनपोखराको गाउँभन्दा अलितल घनपोखराको बेसीमा रहेको उनको घरमा सयौं पुस्तकहरूको संग्रह थियो । केही पुस्तक माओवादीले लगे केही सेनाले जलाइदियो र नेपालको ग्रामिण भेकको एउटै र सबैभन्दा ठुलो पुस्तकालयको सत्यानाश भयो । यो पुस्तकालय कुनै बेला लमजुङको खुदीमा हेडमाष्टर रहेका लेखक खगेन्द्र संग्रौलाले पनि उपयोग गरेका थिए ।

वनारसमा पढ्दा नै उनमा राजनीतिका प्रति चासो सुरु भइसकेको थियो । भारत भरखर स्वतन्त्रताको लय समात्दै थियो । सन् १९४७ मा भारत स्वतन्त्र हुनुपहिले अंग्रेजहरूले दार्जिलिङ र देहरादुनसम्मको भूभागका नेपालीहरूले चाहन्छन् र नेपाल तयार छ भने सो भूभाग नेपाललाई फर्काउन सकिने खबर गरेका थिए । यस्तो खबरसहितको औपचारिक पत्र नेपाल दरबारमा पनि पठाइएको थियो । यो भारतको औपचारिक विभाजन भन्दा पहिलेको थियो ।

यो प्रस्तावमा छलफल गर्न दार्जलिङतिरबाट केही प्रतिनिधि र देहरादुन कमाउँतिरबाट केही प्रतिनिधि वनारसमा जम्मा भएका थिए जसका एकजना दर्शक यी खगेन्द्र पनि थिए । देहरादुन र कुमाउँबाट आउनेहरूले नेपालमा मिसिँदा दुःख पाइने भएकोले आफूहरू नमिसिने बताएका थिए भने डम्बरसिंह गुरुङ, रणधीर सुब्बा, हरिबहादुर गुरुङ लगायतका दार्जिलिङका प्रतिनिधिहरूले नेपालमा मिसाउनुपर्छ भन्ने तर्क गरेका थिए । पछि यो सम्मेलन कुनै निष्कर्ष बिना सकिएको थियो । खगेन्द्रले यसलाई जनजाति र खसबाहुनको राष्ट्रवादी भावना मापन गर्ने एउटा सन्देशका रूपमा जीवनभर लिएका थिए ।

यता, विसं २००४ को आरम्भमा पद्मशमसेरले  अंग्रेजहरूको पत्रमाथि विचार गर्न भारदारी सभा बोलाए । सिंहदरबारको ग्यालरी बैठकमा भएको उक्त सभामा देशभरका भारदार भनिएकाहरू र शासक खलककाहरू जम्मा भएका थिए । लमजुङबाट यिनका दाजुले प्रतिनिधित्व गरेका थिए । खगेन्द्रलाई तँ पढे लेखेको छस्, कुरा बुझ्छस, मसंगै हिँड भनेर दाजुले लगेका थिए । यी खगेन्द्र ढोका बाहिर बसेर भित्रका कुरा सुनिरहेका थिए ।

खगेन्द्रले बताए अनुसार सभाका सहभागी कवि लेखनाथ पौडेल र राममणि आदि लगायतका ब्राह्मणहरूले पढेलेखेका र क्रिश्चियन बनिसकेका दार्जिलिङेहरूले आफूहरूलाइ नढोग्ने, पछि राणाको शासन मान्दैनौं भनेर हाँक दिनसक्ने भन्दै नेपाल बाहिरको भूभाग मिलाउन नहुने राय दिएका थिए । अन्ततः ब्रिटिशबाट स्वतन्त्र हुनलागेको भारतले पनि यसमा नराम्रो मान्न सक्छ, त्यस्तो भयो भने राणाशासनलाई खतरा हुन्छ भन्ने निष्कर्षसहित उक्त भूभाग नेपालमा नगाभ्ने निर्णय गरेर ब्रिटिश इन्डिया सरकारलाई पत्र पठाइएको थियो ।

भारतमा रहेको बेला नेपाली काँग्रेसका नेताहरूलाई नजिकबाट देखे सुनेका गुरुङ विस्तारै भारत र कांग्रेसको विरोधीका रूपमा राजनीतिलाई ग्रहण गर्न थाले । २००७ सालको क्रान्तिमा उनी विद्रोह गर्ने पक्षमा नभए पनि लमजुङका गुरुङहरूको सभा (नाल सभा)ले कुन्छा कब्जा गर्ने निर्णय गरेपछि यी बाध्य भएर कुन्छासम्म पुगेका थिए । त्यसपछि भने यिनी मनाङ गएर बस्न थाले ।

उनी घरमा नभएको बेला काकाले उनका पुस्तक नियालेछन् । त्यहाँ सा‌ंकृत्यानको भागो नहीँ दुनियाँको बदलो भन्ने पुस्तक पनि रहेछ । त्यसपछि काकालाई लागेछ यो मान्छे त कम्युनिष्ट भएछ यसलाई सिध्याउनुपर्छ । काका केही दलबल सहित मनाङ पुगेछन् खगेन्द्रलाई सिध्याउन भनेर । मनाङ्हरूले खगेन्द्रलाई साथ दिएपछि काका फर्केछन् ।

यिनलाई भारत विरोधी र कम्युनिष्ट भएको आरोप लगाएर पक्राउ गर्न सेना खटाइएपछि पछि यी भागेर तिब्बत पुगेर केही समय बसे । उतैबाट कालिम्पोङ हुँदै दिल्ली पुगे । दिल्लीमा उनको भेट राजा त्रिभुवनलाई स्विट्जरल्यान्ड पठाउन पुगेका युवराज महेन्द्रसँग भयो । त्यहीँबाट यिनको दरबारसँग निरन्तर सम्वाद र सम्बन्ध कायम रह्यो ।

खगेन्द्रजङका अनेक अवतार

उनले संवादका क्रममा सुनाएका कुरा र अरुले उनका बारेमा गरेका कुराबाट मैले बुझेको के हो भने तीनवटा परिचय मिसिएर बनेको व्यक्तित्व थियो उनको । राजनीतिका दृष्टिले उनी २०१० मा तत्कालीन युवराज महेन्द्रको पत्र लिएर गोप्य रूपमा माओलाई भेट्न चीन पुगे । महेन्द्र चीनसँग सम्बन्ध बढाएर नेपालको राजनीतिमा भारतीय प्रभाव कम गराउन चाहन्थे र त्यसको लागि माओको सहयोग माग्दै गोप्य पत्र लिएर खगेन्द्रलाई पठाएका थिए । चीनमा खगेन्द्रले माओ, चाउ एनलाई, चु तेह लगायतका नेताहरूसँग भेटे । त्यतिबेला यिनी २२, २३  वर्षका मात्र थिए । माओसँग मात्रै एक डेढ घण्टा राजनीतिका विषयमा कुरा गर्न पाएका थिए । उनको जीवनमा यो घटनाको छाप नपखालिने गरी रहिरह्यो ।

महेन्द्रले उनलाई यो कामको जिम्मा लगाउनु एउटा विश्वासको कुरा थियो । खगेन्द्रजङहरू त्यतिबेला पनि तिब्बतसँगको सीमा नाकाको सुरक्षा र सम्बन्धका विषयमा महत्वपूर्ण भूमिकामा थिए । खासगरी लार्के पास हुँदै गोर्खा र मनाङको उत्तरतिरको सीमाका सम्बन्धमा । खगेन्द्रको सिमापारिका गाउँमा पनि सम्बन्ध थियो, रैतिहरू थिए । त्यहाँ जाँदा आउँदा उनको सम्बन्ध चिनियाँ सेनासँग भएको थियो । उनका बाजेले पनि तिब्बतीहरूसँग राम्रो सम्बन्ध राखेका थिए । एकपटक ब्रह्मपुत्र नदी पौडेरै ल्हासा गएका यिनका बाजेको त्यो साहस देखेर तिब्बतीहरू उनीबाट प्रभावित भएका थिए ।

खगेन्द्र पनि ब्रम्हपुत्र नदीमा पौडिएरै पारी गएका थिए र चिनियाँ सेनासँग सम्पर्क गरेर उनीहरूको सहयोगमा पेकिङ पुगेका थिए । उनको जिम्मेवारी बिना अवरोध पूरा भएको थियो र त्यसले नेपालको दरबार र चिनियाँ कम्युनिष्ट पार्टी तथा सरकारका बीच लामो र मित्रतापूर्ण सम्बन्ध विस्तार गर्न मद्धत गरेको थियो । त्यही गुन तिर्न होला महेन्द्रले ०१७ साल काण्डापछिको पहिलो मन्त्रीमण्डलमा यिनलाई सहायक मन्त्री बनाएका थिए ।

उनको अर्को परिचय भनेको नेपालमा जनजातिको अधिकारको कुरालाई लिएर राखेको अडान र कम्युनिष्टहरूसँगको निकटता पनि हो । उनी सम्भवतः पहिलो नेपाली राजनीतिज्ञ हुन् जसले संगठित रूपमा जातीय पहिचान र अधिकारको खोजी गर्दै तमुवान राज्यको माग गरेका थिए । २०२३ को चुनाव पछि उनले लमजुङ र कास्की सहित गण्डकीका राष्ट्रिय पञ्चायत सदस्य, १० जिल्लाका जिल्ला पञ्चायत सभापति लगायत निर्वाचित पञ्चहरूको दस्तखत गराएर राजासँग यो माग पेश गर्ने प्रयास गरेका थिए । यो थाहा पाएर महेन्द्रले उनलाई पक्राउ गरेर थुन्न पठाए । २९ दिन अनसन बसेर उनी छुटे र लमजुङ फर्के तर लगत्तै पक्राउ परे र डेढवर्ष जति पोखरा र काठमाडौंका जेलमा बिताए । राजा महेन्द्रसँग यिनको सम्बन्ध एउटा मित्रका जस्तो थियो तर महेन्द्र व्यक्तिहरूलाई प्रयोग गर्न पनि जान्दथे र उसलाई साइजमा राख्न पनि माहिर थिए ।

यसरी आफ्नो योजना असफल भए पनि उनले पहिचानको राजनीतिक मुद्दा भने छाडेनन् । २०५८ मा युद्धविरामको समयमा माओवादीहरूले राखेको एउटा सम्मान सहितको कार्यक्रममा सहभागी हुन यी पटनासम्म गए । गण्डकीलाई तमुवान राज्य बनाउन माओवादीले राखेको प्रस्तावको समर्थन गर्न पुगे । त्यहीँबाट फर्केको केही महिनापछि हो यिनलाई सेनाले पक्राउ गरेर थुनामा राखेको, यातना दिएको । त्यतिबेला यी ७३ वर्षका भइसकेका थिए । माओवादीका महासचिव देव गुरुङ उनका पहिलेको कज्याँई क्षेत्रको किसान परिवारका छोरा हुन् । देव गुरुङलाई मसँगको हरेकजसो भेटमा गालीगरिरहन्थे ।

पहिचानको राजनीतिबारे उनको भनाइ र अनुभव रहस्यमय र रोचक छन् । उनले सुनाए अनुसार माओलाई लेखेको चिठीमा महेन्द्रले नेपालमा पहाडे जनजातिलाई अधिकार दिएर भए पनि भारतको प्रभाव रोक्न आफू तयार रहेको बताएका थिए ।

सम्भवतः चीनको अभिलेखालयमा यो पत्र सुरक्षित छ, तर अहिलेसम्म बाहिर आएको जस्तो लाग्दैन, आएको भए पनि मैले पढ्न पाएको छैन । त्यसलाई माओले सकारात्मक रूपमा लिएको खगेन्द्रको बुझाइ थियो । अर्थात, नेपालमा मधेश र लिम्बूआनतिर त्यस अगाडि देखिएको पहिचानको राजनीतिक मुद्दालाई व्यवस्थित र सैद्धान्तिक रूपमा बुझेर लागू गर्न जीवनभर प्रयत्न गर्नेमा खगेन्द्र एकजना थिए ।

उनले बताए अनुसार सिक्किमलाई भारतमा गाभ्ने समयको वरपर एकपटक भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले नेपालका जनजाति र मधेशी नेताहरूलाई पटनामा बोलाएर गोप्य भेट गरेकी थिइन् जहाँ खगेन्द्रजङ पनि सामेल थिए । उक्त भेटघाटमा इन्दिराले नेपाललाई भारतको स्याटालाइट स्टेट बनाउने कुरामा साथ दिन अनुरोध गर्दै त्यस्तो भएमा सबै जनजाति र मधेशीलाई स्वायत्त प्रदेशका रूपमा बस्न व्यवस्था गरिदिने प्रस्ताव गरेकी थिइन् । तर त्यो प्रस्तावलाई सहभागीहरूले स्वीकार गरेनन् । यसरी खगेन्द्रको राजनीति पेकिङदेखि दिल्लीसम्मका शासकहरू र नारायणहिटीका राजाका वरपर चक्कर लगाइरहेको जस्तो देखिन्थ्यो ।

राजा महेन्द्र कहिले कहिँ यिनलाई लमजुङसम्मै मान्छे पठाएर बोलाई पठाउँथे भेट्न र सल्लाह गर्न । कोशी व्यारेज उद्घाटन समारोहमा पनि महेन्द्रले बोलाएरसँगै लगेका थिए । त्यहाँ महेन्द्र र भारतीय प्रधानमन्त्री नेहरूका बीच भएको महेन्द्रको संवाद पनि यिनले सुनेका थिए । राजालाई खुसी पार्नुपर्छ भन्दै नेहरूले गर्न लगाएको भव्य तयारी पनि यिनले देखेका थिए ।

प्रधानमन्त्री नेहरू महेन्द्र बसेको ठाउँमा उनलाई भेट्न आउँदै थिए । नेहरू राजालाई उनको हैसीयत अनुसारको सम्मान गर्न झुकेका थिए । तर नेहरू आउँदै गरेको देखेपछि महेन्द्रले नदेखे झैं गरेर अर्कोतर्फ हेरेको र नेहरूलाई अपमान गर्न चाहेको देखिएको पनि खगेन्द्रले देखेका थिए ।

२०१७ मा उनी स्वास्थ्य सहायक मन्त्री बने । तर, मन्त्रीमण्डलमा तुलसी गिरी र विश्वबन्धु थापा पनि सामेल गरिएको यिनलाई चित्त बुझेन र महेन्द्रलाई के गरेको भनेर सोधे । महेन्द्रले गिरी र बन्धुका कमजोरीहरू ठम्याएरै उनीहरूलाई आफ्नो सेवामा लिएको भनेर केही विवरण सुनाएपछि भने यिनको पनि चित्त बुझेछ । यसमा गिरीको र बीपीको एउटी स्त्रिसँगको सम्बन्धले उप्जेको अन्तरविरोध र विश्वबन्धुकी दिदीलाई कोइराला परिवारको यौन सम्बन्ध लुकाउन मेधसीसँग गरिदिइएको विवाहलाई क्लुका रूपमा लिएको भन्ने महेन्द्रको भनाइले खगेन्द्रको चित्त बुझेको थियो ।

खगेन्द्र ०२५ सालमा जेलबाट रिहा भए । त्यसपछि गाउँमै आएर बस्न थालेका थिए । उनको शानसौकात कायमै थियो । धनको कमी थिएन । त्यही समयमा राजा महेन्द्रले उनलाई फेरि काठमाडौं बोलाएर भेटे अनि मनाङ र मुस्ताङमा रहेको वाङ्दी नेतत्वको खम्पा विद्रोहीहरूको गतिविधि अनुगमन गर्न र उनीहरूलाई इन्गेज गराउन तथा हतियार बिसाउन सम्झाउन दूतका रूपमा खटाए ।

खम्पाहरूले मनाङमा पनि लुटपाट र स्थानीय मानिसहरूलाई दुःख दिने गरेका थिए । खगेन्द्रले आफ्नो मिलिसिया समेत लिएर गए र वाङ्दीसँग वार्ता गरे । उसलाई अनावश्यक दुःख नदिन र तनाव सिर्जना गर्ने काम नगर्न सम्झाउने प्रयास गरे । राजा महेन्द्र त्यतिबेला खम्पाहरूलाई पूरै तह लगाउने सोचमा थिएनन् । सायद सीआईए र बेलायतले समेत उनलाई यस्तो दमन गर्नबाट रोक्न सम्झाइरहेका थिए ।

पछि वीरेन्द्र राजा भएर आएपछि मात्र खम्पाहरूलाई निर्णायक रूपमा दमन गरिएको थियो ।

तीन खगेन्द्रको दोस्ती

नक्सलवादी आन्दोलन र चीनको सांस्कृतक क्रान्तिको प्रभावले नेपाली वामपन्थी युवाहरूलाई लछप्पै भिजाएको बेला थियो त्यो । २०२५ देखि २०२८ सम्मको समयमा क्रान्तिकारी रापले तातेका युवाहरू कलेज र विश्वविद्यालयका पढाइ छाडेर, उनीहरूको भाषामा बुर्जुवा शिक्षा बहिस्कार गरेर क्रान्ति गर्ने भन्दै गाउँगाउँ जाने गर्थे । यस्तै मध्येका एकजना थिए, खगेन्द्र संग्रौला । उनी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा एमएड पढ्दै गर्दा पहिलो वर्षको परीक्षा दिने बेलामा झोलाभरी माओका ‘रेड बुक’ बोकेर लमजुङ पुगेका थिए ।

संग्रौला खगेन्द्रजङ विद्यालय सञ्चालक समितिको सभापति भएको खुदीको हाइस्कुलमा शिक्षक भएर पुगे । त्यहीँ आइपुगेका थिए खगेन्द्र पुर्वेली आसामतिरबाट । खगेन्द्र पुर्वेली चैं पूर्वराष्ट्रपति विद्या भण्डारीका काका हुन् ।

यसरी खुदीको हाइस्कूलमा तीनजना खगेन्द्रको भेट भएको थियो । सञ्चालक समितिका अध्यक्ष, हेडमाष्टर र अर्का शिक्षक । यी तीनैजना वामपन्थी थिए । खगेन्द्रजङलाई तमुवान स्थापना गर्नु थियो । यसका लागि कम्युनिष्टहरूसँग मिलेर क्रान्ति गर्नु थियो । उनलाई सशस्त्र संघर्षविना क्रान्ति हुँदैन भन्ने विश्वास थियो । पुस्तक पढ्ने, वैचारिक राजनीतिक छलफल गर्ने त यिनीहरू गरिरहन्थे तर एकपटक खगेन्द्रजङले हतियारको तालिम लिने प्रस्ताव राखे । एक–दुईपटक बन्दुक हातमा समाएपछि संग्रौला खगेन्द्रले हात उठाए । प्रशासनले पनि त्यही बेला दमन गर्न थाल्यो ।

खगेन्द्र संग्रौला रातारात निस्केर तनहुँको टुहुरेपसल तिर गए मुक्तिनाथ खनालहरूको सम्पर्कमा र त्यहीँ पढाउन थाले । पूर्वेलीलाई खगेन्द्रजङले मनाङ पठाएर केही महिना बस्ने व्यवस्था गरे र पक्राउ पर्नबाट जोगाए । खगेन्द्रजङ केही समय पक्राउ परे र छुटे । यसरी तीन खगेन्द्रको दोस्ती हिनामिना भएर सकियो । संग्रौलाका बारेमा उज्वल प्रसाइँले लेखेको पुस्तक ‘वागी’मा पनि खगेन्द्रजङका बारे चर्चा छ ।

खगेन्द्रहरूको यो दोस्तीको समयको अर्को एउटा घटना पनि रमाइलो छ । क्रान्तिका लागि बुर्जुवा शिक्षा बहिस्कार गरेर गाउँ जाने संग्रौला मात्र थिएनन् । खुदी नपुग्दै तल भोटेवडारमा कास्कीका कृष्णप्रसाद आचार्य र रामराज रेग्मी तथा एकजना लेखनाथ भन्ने थिए । अलकाटारतिर कास्कीकै रामबाबु सुवेदी र प्रभात सुवेदीहरू थिए । अमर सुवेदी पनि त्यतै कतै थिए । स्कुलमा पढाउँदै क्रान्तिको रुमानी सपना देखिरहेकाहरू । उनीहरू विद्यार्थीमार्फत तिनका अभिभावककहाँ जान्थे र जागरणका कुरा गर्थे । तर क्रान्ति कहिले हुन्छ र कसरी हुन्छ भन्ने चैं अत्तोपत्तो थिएन ।

खगेन्द्रजङ गुरुङ क्युवाली क्रान्तिकारी नेता चे ग्वेभाराबाट अत्यधिक प्रभावित थिए । उनी चेकै शैलीमा नेपालमा छापामार युद्ध गरेर कम्युनिष्ट व्यवस्था ल्याउन सकिन्छ भन्नेमा विश्वास गर्थे । यस्तैमा खगेन्द्रजङले हतियारका लागि पोखरा फुलवारीस्थित शाही सेनाको व्यारेक कब्जा गर्न सकिन्छ कि भनेर छलफल गराए । कृष्णप्रसाद आचार्यको घर नजिकै महेन्द्रपुलमा थियो । उनी र एकजना साथी भएर दुईरात दुईदिन बसेर रानीपौवा फुलवारीको व्यारेक रेकी गरे । दस आठ जना भए कब्जा गर्न सकिन्छ भन्ने रिपोर्ट ल्याएर बुझाए । तर, त्यसपछि यस विषयमा बहस छलफल कहिल्यै भएन ।

पछि यिनलाई राजसभाको सदस्य बनाइयो । वीरेन्द्रसँग पनि यिनको सम्बन्ध सहज नै रहेको बुझिन्छ ।

मैले चिन्दाका खगेन्द्र

उनलाई मैले देखेको त २०६४ तिर लमजुङ जाँदा हो । उनी खुदी जाने बाटोमा पर्ने एउटा खोला किनारमा बसेका थिए र उनको सहयोगी उनलाई जुत्ता लगाइदिँदै थियो । उनी जुत्ता आफैं लगाउन सक्थे तर उनमा राजसी ठाँटमा बस्ने एलिट मनोरोग थियो क्यारे । त्यहींबाट थाहा पाएको थिएँ उनी आफ्ना कामदार र मोहीहरूलाई हप्काउँथे र सबैले देख्ने गरी पिटपाट पनि गरिहाल्थे ।

उनीसँग भेटेको चैं २०७२ साल पछि मात्रै हो  । उनी उपचारका लागि जाउ–आउ गर्दा र काठमाडौंमा बस्नुपर्दा त्रिपुरेश्वरस्थित जनक होटलमा बस्ने गर्दा रहेछन् । कतैबाट उनलाई भेट्न खोज्दा उनको सम्पर्क त्यहाँ भएको थाहा पाएँ र म भेट्न पुगेको थिएँ ।

लामो कुराकानी पछि उनीसँग एउटा अन्तरवार्ता गरौं भन्ने सल्लाह भयो । मेरो उद्देश्य भने उनको समय र जीवनसँग जोडिएको परिवार, तत्कालीन लमजुङ, मनाङ र मुस्ताङको समाज, अर्थतन्त्र, खम्पाहरूसँगको उनको सम्बन्ध र त्यतिबेलाको व्यापारको चरित्र, गुरुङहरूको इतिहास, हाम्रो लेकाली क्षेत्रको भेडापालन, सामुदायिक परम्पाराहरू समेतका बारेमा जानकारी लिनु थियो । उनको राजनीतिक जीवन त यसमा पर्ने नै थियो ।

केही दिनपछि पत्रकार सिताराम बराल र म जनक होटलमा रेकर्डर समेत लिएर गयौं । यस अगाडी उनले पत्रकार भैरव रिसालसँग उहिले बाजेका पालामा भन्ने उनको रेडियो सगरमाथाबाट सञ्चालन हुने कार्यक्रमका लागि वार्ता गरिसकेका रहेछन् ।

हामी रेकर्डर लिएर बसेपछि उनी केही बेर कुरा त गर्थे तर फेरि कुरा बीचैमा रोकेर हामीबारे जान्न खोज्थे । एकपटक चिनाएर पनि नहुने । एकपटक पत्रकार युवराज घिमिरेले अन्तरवार्ता लिएर गएको र आफूले नभनेको कुरा छापेको गुनासो गर्थे । यो बाहुनहरूको भर हुन्न, के गर्छ के गर्छ भरे उल्टो पाल्टो छापिदिन पनि सक्छ भन्दै हामीसँग पूरा कुरा गर्न मानेनन् ।

तर, म उनीसँग कुरा गरिछाड्ने ढिपीमा थिएँ । उनकहाँ धाउन छाडिनँ । केही बीचमा कोरोनाका कारण दुईवर्ष जति भेट भएन । बीचबीचमा फोन गरिरहन्थे । म पनि बेलाबखत उनलाई फोन गरेर के कसो छ सञ्चो बिसञ्चो भन्ने खबर लिइरहन्थें । उनी ढाड दुःख्ने समस्याले ग्रस्त थिए । परीक्षणमा गइरहन्थे । एकजना सहयोगीलाई पनि होटलमा बस्ने व्यवस्था मिलाएका थिए ।

उनीसँग पैसाको समस्या थिएन । तर काठमाडौंमा घर किनेनन् । पत्नी केही वर्षपहिले देखि छोरा या छोरीहरूसँग लण्डनमा थिइन् । छोराछोरी सबै विदेश थिए । उनी ९० वर्षको उमेरमा पनि एक्लै बस्थे । होटलमै खाने त्यहीं बस्ने । वर्षौं यसरी नै बसे ।

ज्यान असाध्यै भद्दा र ठूलो थियो । एउटा लुंगी लगाएर बस्थे कोठामा । होटलका तलामा तलमाथि गर्नुपर्दा पनि अरुको सहारा चाहिने । बाहिर निस्कँदा भने दौरा सुरुवाल र कोटमा ठाँटिएर निस्कनुपर्ने । नर्भिक अस्पतालमा नियमित जान्थे । भन्थे, संकटकालका समयमा सेनाले १ वर्ष बेसीशहरको सैन्य क्याम्पभित्र आधा शरीर बालुवामा पर्ने गरी खाल्डोमा बस्न बाध्य पारेको थियो । त्यसअगाडि दिएको यातना र चिसोका कारण शरीर थिलथिलो र कमजोर भएको थियो ।

यस्तैमा लकडाउन सकिएको केही समयपछि उनले भेट्न चाहेको बताए र फोन गरे । मैले पोखराका वामपन्थी नेता टकेनाथ बराललाई आफू खगेन्द्रजङलाई भेट्न जान लागेको सुनाएपछि हामीसँगै गयौं । यी दुईजना २०२४ सालतिर पोखरा जेलमा सँगै बसेका रहेछन् । दुईवर्ष पहिले टेकनाथ बरालको पनि मृत्यु भयो । त्यसपछि पनि म निकै पटक त्यहाँसम्म गएँ । उनीसँग कुरा गर्न चाहें । तर, के–के भनेर टारिरहे । पछि कुमार लिङ्देनसँग होला केही घण्टा कुरा गरेका रहेछन् जुन युट्युवमा हेर्न पाइन्छ ।

मलाई लाग्छ उनले म बाहुन भएकै कारणले कुरा गरेनन् । बाहुनप्रति उनको नकारात्मक धारणा जबर्जस्त थियो । र, उनको विस्तारित जीवनसँग त्यतिबेलाको समाज, अर्थतन्त्र र राजनीतिको एउटा अभिलेख तयार पार्ने मेरो प्रयास खेर गयो । अब उनको उमेरको र उनीजत्तिकै थाहा भएको गुरुङ भेटिनु गाह्रो छ ।

अत्यन्त शंकालु थिए

उनी ९० वर्षको उमेरमा पनि जति तरोताजा मानसिक अवस्थामा थिए त्यति नै भयग्रस्त पनि थिए । उनलाई दरबारका बारेमा या भारतका बारेमा जानेका कुरा केही भन्यो भने सेनाले फेरि समात्छ कि, दुःख दिन्छ कि भन्ने लागिरहन्थ्यो । कहिले भारतले केही गर्छ कि भनेर अलि खुम्चिइरहेका हुन्थे । चीनका बारेमा उनी जहिले पनि सकारात्मक कुरा गर्थे । खासगरी माओसँगको भेटबारे । यसैगरी उनले भने अनुसार चिनियाँ कुटनीतिक क्षेत्रका व्यक्तित्वहरू आउँदा उनलाई खोजेर भेट्ने गरेका थिए । उनलाई चिनियाँहरू पुरानो मित्र भनेर सम्मान गर्थे ।

उनको छोराको विजाह ताङतिङका दीपक गुरुङकी जेठी छोरी रोशनीसँग भएको थियो । दीपक नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा सांसद भए, २०६५ मा कास्की क्षेत्र नम्बर १ को उपचुनावमा पनि उम्मेद्वार थिए कांग्रेसबाट । मसँगको भेटमा खगेन्द्र छोराको विवाहलाई पनि आफ्नाविरुद्ध गरिएको षड्यन्त्र भन्थे । छोराले मन परायो बिहे गर्‍यो । न कसैले खगेन्द्रका विरुद्ध षड्यन्त्र गरेको थियो न गर्नुपर्ने नै थियो । तर उनलाई त्यस्तो लाग्थ्यो । यस्ता शंकालु थिए र उनी एक्लिँदै गएका थिए । उनको एक्लोपनलाई मैले मेरो पछिल्लो कथा ‘सन् दुई हजार पचास’मा अलिकति चित्रण गरेको छु ।

उनको बोली व्यवहारमा बाहुनलाई कम विश्वास गर्ने जातिवादको गन्ध आउँथ्यो । भारत विरोधी धारणा राख्थे र षड्यन्त्रको सिद्धान्तमा विश्वास गर्थे । एउटा जातीय पहिचानको पक्षधर, तमुवान राजनीतिको जन्मदाता, राष्ट्रवादी धारणा र छवि भएका राजा र कम्युनिष्टहरू दुवैसँग सँगै सहकार्य गर्न सक्ने खगेन्द्रले देखे भोगेका अनेक घटनाहरू थिए । नेपाली राजनीतिका यी एकप्रकारका इन्साइक्लोपेडिया थिए । तर उनका धेरै कुरा उनीसँगै हराउने भए । कतिपय रहस्यहरू थिए उनीसँग र कतिपय कुरालाई उनी चाहिनेभन्दा बढी रहस्यमय बनाउँथे ।

नेपाली इतिहासको आधुनिक कालखण्डको राजनीतिका एकजना द्रष्टा, भोक्ता र कर्ता, पश्चिमा आधुनिक विचार बुझेर पनि सामन्तवादी जीवनपद्धती अपनाएका, देशप्रति माया भएका र जहिले पनि दुईवटा डुंगामा खुट्टाराखेर हिँडेजस्ता देखिने खगेन्द्रजंग गुरुङ झण्डै एक्लो अलग थलग जीवन बिताउँदै आफ्ना अन्तिमवर्षहरू बिताएर असार २ गते बिते ।

घनपोखराको सम्भ्रान्त परिवारबाट हुर्केर राष्ट्रिय राजनीतिमा आफ्नो निरन्तर उपस्थिति जनाएका यी व्यक्तित्वको उचित सम्मान भएजस्तो लागेन । कतिपय दरबारियाहरूले उनको र महेन्द्रको सम्बन्धलाई लिएर उनलाई दरबारिया या कथित राष्ट्रवादीको घेरामा सीमित गर्न खोजे । पहिचानवादी र कम्युनिष्टहरूले पनि उनलाई उपयोग गर्ने तर सम्मान नगर्ने नीति लिए । यसरी पनि उनी जीवनमा र मृत्युपछि पनि एक्लो रहे ।

यिनै विवादास्पद व्यक्तित्व बोकेका खगेन्द्रजङ गुरुङप्रति हार्दिक श्रद्धाञ्जली ।

परिवार र आफन्तजनमा हार्दिक समवेदना !

कसैले उनको जीवनका अरु धेरै पक्षलाई विस्तारमा प्रकाशमा ल्याइदिन सके नखुलेका धेरै पाटा खुल्ने थिए । यसमा उनको परिवारको पनि भूमिका रहोस्, यस्तो हुनसके नेपाली राजनीतिको समकालीन इतिहासको एउटा अलग पाटोको अभिलेख तयार हुनसक्थ्यो ।

सप्ताहान्त
लेखक
झलक सुवेदी

झलक सुवेदी राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?