+
+
Shares

एक बौद्ध धर्मगुरुको सिनेमा साधना

सापेक्ष सापेक्ष
२०८२ असार २१ गते १९:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रिन्पोछे खिन्से दोर्जे नेपालमा छन् र नयाँ चलचित्र ‘बहरुपिया’को पोस्ट प्रोडक्सन गरिरहेका छन्।
  • उनी फिल्मलाई केवल दृश्यको संकलन नभएर गहिरो संवाद र जीवनको पुनरावलोकन मान्दछन्।
  • उनले आफ्नो अनुभव र बौद्ध धर्मप्रति आफ्नो सम्बन्धलाई कला, फिल्म, पुस्तक र प्रवचनमार्फत व्यक्त गरिरहेका छन्।

हुन त उनलाई धेरैले फिल्म निर्माता, लेखक वा एउटा लामा भनेर चिन्लान् । तर, रिन्पोछे खिन्से दोर्जे कुनै एउटै परिचयभित्र अटाउँदैनन् ।

उनी स्रष्टा र साधक दुवै हुन् । उनको विविधतालाई हेर्दा लाग्छ, उनी एउटा त्यस्ता संवेदनशील यात्रु हुन्, जसले आफ्ना अनुभूतिहरूलाई कला, स्मृति र दर्शनको माध्यमबाट विस्तार गरिरहेका छन् ।

उनी फिल्मलाई केवल दृश्यको संकलन मात्र मान्दैनन्, एउटा गहिरो संवाद मान्छन् । जसमा उनले आफ्नै जीवनको पुनरावलोकन, समाजप्रतिको टिप्पणी र मानिसहरूसँगको सम्बन्ध अटाएका हुन्छन् ।

उनका दृश्यहरूमा शब्दभन्दा गहिरो मौनता हुन्छ, उनका पात्रहरूमा अभिनयभन्दा गहिरो उपस्थितिको स्पर्श हुन्छ । उनै खिन्से नोर्बु यतिबेला नेपालमा छन् । त्यसको मुख्य उद्देश्य उनको नयाँ चलचित्र ‘बहरुपिया’को काम सक्नु हो ।

यस नयाँ फिल्ममा एउटा गृहस्थी व्यक्तिको परिवर्तनको कथा देखाइने बताइएको छ । यस नयाँ फिल्मबाट निर्देशक नोर्बु फेरि आफ्नो नयाँ दृष्टिकोण दिने प्रयासमा छन् । हाल नेपालमा नै यो फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।

एक नेपाली प्राध्यापकले लेखेको कथालाई लिएर उनले फिल्म बनाउन लागेका हुन् । निर्देशक नोर्बुका अनुसार कथालाई थप नाटकीय र रोचक बनाउन केही पात्रहरू भने थपिएको छ ।

‘बहरुपिया’ आर्ट फिल्म नै हुनेछ । तर, आफ्नो अघिल्ला फिल्महरूको तुलनामा यसलाई अलि बढी सामान्य बनाउने उनी सुनाउँछन् ।

‘मेरो पहिलेका फिल्महरूमा मान्छे साँच्चिकै सुत्थे’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘त्यसैले दर्शकहरूलाई ध्यानमा राखेर पनि यसपटक फिल्म बनाएको छु’

यो नयाँ फिल्म पहिलेको तुलनामा बढी सिनेम्याटिक हुने उनी सुनाउँछन् । फिल्ममा मुख्य कलाकार, सिनेम्याटोग्राफर, प्राविधिकहरू नेपाली नै छन् । समग्रमा भने यो फिल्मले भिन्न नेपाली विशेषताहरू देखाउने उनी सुनाउँछन् ।

पृष्ठभूमि

सन् १९६१ मा रिन्पोछे खिन्से दोर्जे भुटानको खेन्पाजोङमा जन्मिएका थिए । उनलाई ७ वर्षको उमेरमा शाक्य त्रिजिनले खिन्से समुदायका संस्थापकको तेस्रो पुनर्जन्म भएको बताएका थिए ।

यसरी उनी जन्मै बुद्ध धर्मालम्बी बने । उनकै शब्दमा उनको हुर्काइ धार्मिक रूपमा भयो । कम उमेरमा नै उनले बौद्ध सम्प्रदायका गुरुबाट ज्ञान लिन थालेका थिए ।

बौद्ध दर्शनमाथि उनको ज्ञान नेपाल, भारत, भुटान, तिब्बत जस्ता ठाउँको बसाइ र भ्रमणले थप बढाइदियो । जसलाई उनले व्यक्त गर्ने माध्यम कला रोजे । फिल्म बनाए । पुस्तक लेखे ।

बाल्यकाल

उनको बाल्यकाल भुटान र भारतमा बित्यो । तत्कालीन समय सम्झँदा सर्प, जुका, रूख र हात्तीहरूसँगको सहअस्तित्वमा आफ्नो बाल्यकाल बितेको उनी सुनाउँछन् । भनौं, प्रकृतिपरक परिवेश थियो ।

तर ‘सजिलो’ बाल्यकाल थिएन । दुई वर्षको उमेरमा भारत लागेका उनी त्यहाँ आर्मीको जीवनशैलीमा हुर्केको बताउँछन् । तर त्यो अनुभवले उनलाई आत्मसमीक्षा गर्ने पात्र बनायो ।

सैन्य ढाँचाको भारतको जीवनले उनलाई जिम्मेवारी, समयबोध र जीवनको कठोरता सिकायो । पछि सिक्किम लगायत थुप्रै ठाउँ हुँदै उनी नेपाल आइपुगे । त्यसपछि उनको जीवनको अर्को अध्याय सुरु भयो ।

एक त नेपालको सुन्दरता, त्यसमाथि पारिवारिक सम्बन्धको पृष्ठभूमि । उनको स्मृतिमा नेपाल कुनै देश थिएन । आफ्नै स्मृतिको भूमि थियो ।

नेपाली भूगोलमा स्मृति

रिन्पोछे खिन्से दोर्जेका लागि नेपाल एउटा भूगोल मात्र होइन । उनका लागि एक मनोभौगोलिक संरचना हो, जहाँ बाल्य स्मृतिहरू, साहसिक यात्रा र सांस्कृतिक आश्चर्यले भरिएका छन् । बौद्ध क्षेत्रको आत्मीयता, न्यू रोडको भव्यता, डिल्ली बजारका व्यस्तता- यी उनका बाल्यकालीन काठमाडौं हुन् ।

त्यसबेला काठमाडौंमा उनी खुबै हिँड्ने गर्थे । प्राय: गुम्बाहरूमा उनी हिँडेरै जाने गर्थे । योगिनीजस्तै लाग्ने महिलाहरू, नमोबुद्धसम्मको पैदल यात्रा अनि जंगली चितुवाको डरले एक्लै जान नसकेको वन- यी उनका नेपाल सम्बन्धीका अर्का बाल्यकालीन यादहरू हुन् ।

बौद्धप्रतिको सम्बन्ध

उनी जन्मजात बौद्ध भए पनि आध्यात्मिक जागरण उमेरमा ५० कटेपछि आएको उनी सुनाउँछन् । यो अलि अनौठो सुनिन्छ । तर, त्यो बोध ५० कै उमेरमा भएको उनको भनाइ छ ।

‘बौद्ध धर्म मेरो वरिपरि थियो, तर त्यसले मलाई छोएन । त्यो केवल गर्नुपर्ने कामजस्तो लाग्थ्यो,’ उनले अघि भने, ‘तर एक दिन बौद्ध धर्म केवल परम्परा मात्र नभई अत्यन्त आधुनिक, वैज्ञानिक र जीवनको गहिरो विश्लेषण हो भन्ने बोध भयो’

त्यसपछि ‘अब मलाई कसैले पनि बौद्ध हुनबाट रोक्न सक्दैन’ भन्ने लाग्यो उनलाई । अहिले उनी ६४ मा हिँडिरहेका छन् । अनि, व्यक्तिगत परिवर्तन गराउने त्यो बोध संसारलाई सुनाउन फिल्म, पुस्तक, कला, प्रवचनको माध्यम प्रयोग गरिरहेका छन् ।

फिल्मको संसार

खासमा उनी विरोधाभासहरू बीच बाँचिरहेजस्तो लाग्छ । बौद्ध धर्म गुरु हुन्, फिल्म बनाउँछन् । फिल्म बनाउँछन्, पुस्तक लेख्छन् । पुस्तक लेख्छन्, कला प्रवर्द्धन गर्छन्, प्रवचन दिन जान्छन् ।

उनी आफ्नै विगतका फिल्महरूलाई कठोरताका साथ टिप्पणी पनि गर्छन् । तर, फेरि बनाउन छाड्दैनन् । यद्यपि उनको फिल्म निर्माणको यात्रा कुनै औपचारिक तालिमबाट सुरु भएको थिएन ।

उमेरमा २० को दशकमा हिँड्दै गर्दा मनोविज्ञान पढ्न उनी युरोप गएका थिए । तर किताबभन्दा बढी फिल्म हेरे ।

सत्यजित रे, यासुजिरो ओजु, इङमार बर्गम्यान जस्ता निर्देशकहरूले उनलाई यति छोयो, उनले क्यामेरा समाउन थाले । उनको फिल्मप्रतिको चेत उल्टियो । फिल्म मनोरञ्जन मात्र होइन, दर्शन पनि हुन सक्छ, उनले बुझेँ ।

तर उनको पहिलो पटक क्यामेरा अनुभव नेपालमै भएको थियो । किशोरावस्थातिर उनलाई डेनमार्कका एक मित्रले मिनोल्टा स्टिल क्यामेरा उपहार दिएका थिए । त्यसबाट उनी फोटो खिच्थे अनि न्यूरोड गएर धुलाउँथे । त्यसरी उनी दृश्यकला र कथावाचनमा गहिरिँदै गएका थिए ।

यद्यपि फिल्म बनाउने चेत उता युरोपमा उब्जिएको थियो। त्यहाँ फिल्म निर्माता, संगीतकार र लेखकहरूसँग उनको राम्रो उठबस थियो । र, त्यसरी नै अघि बढिरहँदा २९ वर्षको उमेरमा उनले पहिलो फिल्म बनाए, द कप ।

यस फिल्मको कथा एक तिब्बती बालक लामा र उनका साथीहरूको वरिपरि घुम्छ, जो भारतको एक निर्वासित बौद्ध गुम्बामा बस्छन् । फिल्ममा उनीहरूले फुटबलको विश्वकप हेर्न गर्ने संघर्ष र त्यसले धर्म, संस्कार र आधुनिक मनोरञ्जनबीच ल्याउने द्वन्द्वलाई चित्रण गरिएको छ ।

फिल्मले आध्यात्मिक परिवेशमा बालकहरूको सरल चाहनालाई मिलाएर अनौठो र आत्मीय कथा दिन्छ । दर्शकहरूले बौद्ध परम्परा, निर्वासन र विश्वकपजस्तो आधुनिक विषयबीचको अन्तर्विरोध र समानता दुवै देख्न पाउँछन् ।

नोर्बुको निर्देशनमा बनेको यस फिल्ममा सौम्यता, हास्य र गहिरो भावनात्मक गहिराइ देखिन्छ । फिल्मले दर्शक र समीक्षकहरूबाट अन्तर्राष्ट्रिय स्तरमा धेरै प्रशंसा बटुलेको थियो।

त्यसपछि उनले उस्तै प्रकृतिको ट्राभलर्स एण्ड म्याजिसियन्स (२००३), वारा: अ ब्लेसिङ (२०१३), हेमा हेमास् सिङ मी ए सङ ह्वाइल आई वेट (२०१६), लुकिङ फर ए लेडी विथ फ्याङ्स एण्ड अ मस्टाच (२०१९), पिग एट त क्रसिङ (२०२४) बनाए । फिल्मसँगै लिभिङ इज डाइङ, द गुरु ड्रिङ्क्स बर्बनरु, नट फर हेप्पिनेस, व्हाट मेक्स यु नट ए बुद्धिस्ट जस्ता पुस्तक लेखे ।

बौद्ध पृष्ठभूमिको कारणले गर्दा उनका फिल्म तथा पुस्तकहरू बौद्ध दर्शनबाट प्रभावित छन् । विशेषत: फिल्मबाट उनले आफ्नै कथा भनिरहेका हुन्छन् । पुस्तकबाट भने त्यसलाई पृष्ठपोषण गर्ने काम मात्र गर्छन्।

उनलाई फिल्मको व्यावसायिक पक्ष वा दर्शकको अपेक्षाबारे त्यति धेरै चिन्ता छैन । कुरा सुन्दा उनी फिल्म मात्र बनाउन चाहन्छन् ।

जे होस्, त्यसपछिका फिल्महरूमा पनि उनले आफ्नै कथा सुनाएका छन् । भनौं न दर्शकको मागभन्दा पहिला उनी आत्मसन्तुष्टि र सत्य खोज्छन् । तर कथा चयनमा अलि चलाखीपन भने देखाउँछन् ।

‘फिल्म बनाउन हामीसँग कथा त जताततै छन्,’ उनी भन्छन्, ‘तर कुन सुनाउने भन्ने कुरामा चतुर, साहसी र जिम्मेवार हुनुपर्छ’

नेपालमा लगाव

एक गृहस्थी रिम्पोचे बौद्ध धर्म गुरु भएपछि नेपालमा उनको लगाव हुनु स्वभाविक नै भयो । तर धार्मिक पाटोका आधारमा मात्र उनले नेपालमा लगाव राखेका छैनन् ।

हजारौं वर्ष पुरानो नेपालको कलात्मक इतिहासको उनी प्रशंसक हुन् । ‘नेपाल एकै साथ प्राचीन र आधुनिक, महानगरीय र मौलिक, परिष्कृत र आत्मीय छ’, उनी भन्छन्, ‘हिमाली देशहरूमध्ये सबैभन्दा बहुआयामी र सांस्कृतिक रूपमा सम्पन्न देश हो नेपाल’

त्यसलाई थप मूर्त रूप दिन उनले ‘लिच्छवी हाउस’ नामक परियोजना सञ्चालन गर्दै छन् ।

बौद्धनाथ स्तुपा क्षेत्रमा अवस्थित हुने ‘लिच्छवी हाउस’ सन् २०२६ देखि औपचारिक रुपमा सुरु हुने छ ।

उनका अनुसार ‘लिच्छवी हाउस’ आ-आफ्ना कथा, डर, जिज्ञासा र आशाहरू लिएर आउने, विचार आदान-प्रदान गर्ने, ध्यान गर्ने स्थान हुनेछ ।

अन्तिम सन्देश

उनका कामहरू भुटान, नेपाल, भारतदेखि पश्चिमी मुलुकसम्मै फैलिएका छन् । उनका फिल्महरू कान्स, बुसान, लोकार्नो, टोरन्टो जस्ता महत्त्वपूर्ण अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगेका छन् ।

त्यति हुँदाहुँदै पनि ३८ पटकसम्म उनले फिल्म फेस्टिभलबाट अस्वीकृत पाएका छन् । त्यसलाई व्यंग्य गर्दै उनी भन्छन्, ‘म फिल्महरूलाई फेस्टिभलमा पठाउन त्यति सिपालु छैन । मेरा फिल्महरू ३८ वटा फेस्टिभलबाट अस्वीकृत भएका छन्, त्यो पनि एउटा रेकर्ड हो’

तर अस्वीकृतिहरूलाई उनी निकै सामान्य तरिकाले हेर्छन् । उनको दृष्टिमा यो एउटा व्यावसायिक संरचनाको आलोचना हो, जसले विविधतालाई होइन, केवल पहिल्यै स्थापित प्रणालीलाई प्राथमिकता दिन्छ ।

त्यस्तै उनी नेपाली दर्शकलाई नेपाली फिल्महरू हेर्न आग्रह पनि गर्छन् । आफ्नै स्रष्टाहरूका फिल्म हेर्नु सांस्कृतिक उत्तरदायित्व भएको उनको बुझाइ छ । त्यससँगै उनी आजको ‘एल्गोरिदम’ तोड्न जरुरत भएको बताउँछन् ।

‘केवल बीबीसी, हिन्दुस्तान टाइम्समा मात्र सीमित नहुनुहोस् । फरक स्रोतहरू पढ्नुस्, फरक आवाजहरू सुन्नुस् । यदि तपाईंले एउटै कुरा मात्र सुन्नुभयो भने तपाईंलाई त्यसैमा सीमित गरिन्छ,’ उनी भन्छन्, ‘एल्गोरिदम हाम्रो बौद्धिक स्वतन्त्रतामाथिको खतरा हो । त्यसलाई चिर्न आवश्यक छ,’

सम्भवत: नयाँ फिल्मका लागि उनले पनि ‘एल्गोरिदम’ चिरेका छन् ।

लेखक
सापेक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?