
News Summary
Generated by OK AI. Editorially reviewed.- वसन्त चौधरीको उपन्यास 'देवयानी'ले विवाहेत्तर सम्बन्धमा आधारित प्रेमकथालाई काठमाडौं र विदेशका स्थानहरूमा प्रस्तुत गरेको छ।
- उपन्यासको केन्द्रीय पात्र आदित्य विवाहित पुरुष हुन् जसले देवयानीसँग प्रेम गर्छन् र विवाहेत्तर सम्बन्धको द्वन्द्व देखाइएको छ।
- उपन्यासले प्रेम, सामाजिक मूल्य, कर्तव्य र विवाहेत्तर सम्बन्धका नकारात्मक परिणामहरूलाई पात्रहरूको माध्यमबाट स्पष्ट पारेको छ।
कल्प गद्यको लामो कृति हो उपन्यास जसमा व्याख्यात्मक कथानक, विकसित पात्र र विषयवस्तु वा विचारहरूको सन्तुलित प्रयोग हुन्छ । उपन्यासहरू तिनीहरूको विस्तारित लम्बाइ र कथाहरूको कथनमा केन्द्रित हुन्छन् । त्यही कथाहरूको कथनले हामीलाई नयाँ संसारमा पुर्याउँछन्, अविस्मरणीय पात्रहरूसँग परिचय गराउँछन्, र मानव अनुभवलाई प्रकाश पार्छन् ।
यस्तै उपन्यासहरूको मनमोहक संसार लिएर आएका छन् वसन्त चौधरी, देवयानी उपन्यास मार्फत । जहाँ मन–मनको अवस्था, खोजाइ–खोजाइको भ्रम, प्राप्ति–प्राप्तिमा संशय, प्रेम र आकर्षणको द्वन्द्व, सामाजिक मूल्य, कर्तव्य र अनिर्णयको बन्दी लगायत विभिन्न चरित्र लिएर आएका पात्रहरूले प्रेरणादायी सन्देश दिन्छन् र आ–आफ्नो चरित्रले पाठकलाई आनन्दित बनाउँछन् ।
कविताबाट सुरु भएको वसन्त चौधरीको साहित्यिक यात्रा फाट्टफुट्ट कथाहरू प्रकाशित गर्दै उपन्यासमा पुगेको छ, यो उनको साहित्यप्रतिको समर्पण र सक्रियताको परिणाम हो । उपन्यास आदित्य र देवयानीको वरिपरि घुमेको छ । उपन्यासको केन्द्रीय पात्र हो आदित्य । ऊ कवि र व्यवसायी हो । उसका छोरी, श्रीमती र बा–आमा छन् । गृहस्थी एकदम राम्ररी चलिरहेको छ । देवयानी हुन् केन्द्रीय नारी पात्र । ऊ शिक्षित र प्रतिभावान कुमारी केटी हो । एक श्रीमान् र पिता हुँदाहुँदै पनि आफूले खोजिरहेको माया देवयानीमा पाएको भान गर्ने आदित्यले देवयानीलाई प्रेममा पार्छ । हरेक कुराले आफू सक्षम हुँदाहुँदै पनि अर्काको श्रीमान्लाई प्रेम गर्न सक्ने पात्र हो देवयानी ।
प्रेमको अनेक परिभाषा र वर्णन गर्दै वास्तविकताबाट भाग्दै झाङ्गिएको आदित्य र देवयानीको प्रेम उचाइमा पुगेपछि वास्तविकताले दुवै पिरोलिएका छन् । आदित्यले श्रीमती माधवी र परिवारमाथि अन्याय गरेको अनुभूत गर्छ भने देवयानीले पनि आफ्नो कारणले कुनै महिलाको जीवन बर्बाद भएको अनुभूत गर्छे । वास्तविकता नमिठो हुँदाहुँदै पनि देवयानीले आदित्यलाई स्वीकारेर विवाह गर्ने निर्णय गर्छे र आदित्यलाई ‘कि मलाई रोज कि श्रीमती माधवीलाई’ भन्दा आदित्यले माधवीलाई छोड्न नसक्ने कुरा गरेसँगै उपन्यास सकिएको छ । विवाहेत्तर सम्बन्धमा रमाउन खोजे पनि त्यसले दिएको नराम्रो परिणामलाई उपन्यासले देखाएको छ ।
उपन्यासको कथावस्तुले काठमाडौंको भूगोल नापेको छ । उपन्यासलाई विस्तृत पार्न कथावस्तु देश बाहिर दिल्ली, पेरिस र सिंगापुरसम्म पुगेको छ । काठमाडौं, अलिक पर ठोरी, अम्बालिका मन्दिर, माडीचौरलगायत सुरम्य प्रकृति, मनोरम वातावरण, चिसो र गर्मी मौसम, विदेशका स्थान, रात–दिन र त्यहाँका साक्षात्कारको वर्णनमा उपन्यास हिंडेको छ, रमाएको छ ।
यो उपन्यासको मूल विषयवस्तु विवाहेत्तर सम्बन्धमा झाङ्गिएको प्रेम हो जहाँ आकर्षण र प्रेम दुवै छ । पाठकलाई युगल र प्रेमको रोमाञ्चक यात्रा गराउँछन् उपन्यासकारले आधा बाटोसम्म । असफल प्रेमकहानीको कथानक रहेको यस उपन्यासमा विवाहित पुरुष र अविवाहित केटीले प्रेम सफल बनाउन भगीरथ प्रयत्न गर्दा पनि असफल हुन पुगेका छन् भने समाजमा हुने विवाहेत्तर सम्बन्ध, प्रेमको नाममा मर्यादाविहीन हुन खोज्ने जोडी, र यस्ता प्रेमले निम्त्याउने घटना वा पीडाहरू यस उपन्यासले स्पष्ट पारेको छ ।
यसका अतिरिक्त विक्रान्त जस्तो बुज्झकी प्रेमीले बिग्रिसकेको देवयानीको जीवनलाई सम्हालेको र रेणु जस्तै मिल्ने साथीले कहिल्यै गलत सुझाव नदिई सधैं सचेत गरिराखेकी छ । आफ्नै पति परस्त्रीसँग प्रेममा देखेर पनि विवाह गरेर ल्याएर जीवन सजिलो बनाउन सल्लाह दिने माधवी जस्ता पात्रहरूले निर्वाह गरेको कथावस्तु रहेको छ ।
उपन्यासका प्रायः सबै पात्र शहरिया पढे–लेखेका छन् । शहर नै उपन्यासको परिवेश भएकोले उपन्यासले गाउँ चिहाएको छैन । मुख्य पात्र देवयानी र आदित्य हुन् । आदित्य आफू श्रीमान् र पिता हुँदाहुँदै पनि आफूले नपाएको माया खोजेर हिंड्ने गैरजिम्मेवार पति हो ।
ऊ देवयानीको सुन्दरतामा मोहित हुने र अलौकिक प्रेमको अनुभूत गर्ने तर आफ्नै बाचा पूरा गर्न नसक्ने कथित र कमजोर प्रेमी हो भने प्रेमको आँखाले हेर्दा समर्पित प्रेमकी विशुद्घ प्रतिमूर्ति झैं लाग्छे देवयानी । तर उसले विवाहित पुरुषलाई प्रेम गरेकी छे । अरू भन्दा अलिक शक्तिशाली पात्र हो ऊ, उसले संसारलाई एकातिर र एकातिर आफ्नो प्रेमलाई राखेकी छ र सधैं प्रेमको पक्षमा देखिन्छे । प्रेममा सबै कुरा त्याग्न सक्छु भन्ने हिम्मत राख्ने पात्र हो देवयानी ।
कस्तै कठिन घडीमा पनि पारिवारिक जिम्मेवारी पूरा गरेर एक असल बुहारी, पत्नी र आमाको परिचय दिएकी छ माधवीले । अरूभन्दा ऊ पनि निर्णय लिन सक्ने पात्र हो– उसले आदित्यलाई आफूलाई छोडेर देवयानीलाई विवाह गर्ने अनुमति दिएकी छे तर आफैंले छोडेर हिंड्न नसकेकीले पात्र चरित्रका हिसाबले कमजोर पनि हो । र पनि वास्तविक पतिप्रतिको समर्पण, पारिवारिक उत्तरदायित्वबोध र परोपकारी गुणले नुहेकी छ ।
विक्रान्त उपन्यासको सहायक पात्र हो । फिल्मी शैलीमा उपन्यासमा देखिएको विक्रान्तले साँच्चै प्रेमीको भूमिका निर्वाह गरेको छ । रेणु पनि सहायक पात्र हो जसले सधैं सत्यको साथ दिएर आदित्यलाई बाटो नअल्मलिन र दुई नाउमा पाउ नराख्न सुझाव दिन्छे । परिवार, छोरी, बा–आमा र अफिसका कर्मचारीहरू गौण पात्र हुन् जसको भूमिका उल्लेखनीय नै छ जसका कारण उपन्यासले गति पाएको छ ।
उपन्यासका पात्रहरूले दिने सकारात्मक र नकारात्मक सन्देशलाई पात्रका अनुकूल चरित्र चित्रणले पूरा गरेको छ । उपन्यासको कथानकलाई अघि बढाउन त्यसका चरित्रहरूले गहन भूमिका खेलेका छन् र आ–आफ्नो चरित्रलाई उपर्युक्त किसिमले निभाएका छन् ।
देवयानी तृतीय पुरुष दृष्टिबिन्दुमा लेखिएको उपन्यास हो । केन्द्रीय पात्र आदित्य लगायत विभिन्न पात्रका माध्यमबाट उपन्यासको कथानक अघि बढेको छ । देवयानी, रेणुका, माधवी आदि पात्रहरूले आफ्नै कथा–व्यथाहरू अभिव्यक्त गरेका छन् । उपन्यासकारद्वारा आयोजित यी पात्रहरूले लेखककै विचारको प्रकटीकरण गरेका छन् । खासगरी आदित्यका माध्यमबाट उपन्यासकारका विविध विचार कलापूर्ण रूपमा व्यक्त भएका छन् । बहुल र विविध व्यक्ति तथा प्रवृत्तिका पात्रहरू चयन गरेर आफू अनुकूलको भूमिका विर्वाह गराउन उपन्यासकार सफल भएका कारण उपन्यासको दृष्टिबिन्दु तृतीय पुरुष रहेको देखिन्छ ।
भाषा प्रयोगका दृष्टिले देवयानी उपन्यास उत्कृष्ट बन्न पुगेको छ । एकानब्बे अध्यायमा रचना गरिएको उपन्यासका अध्यायहरू सटिक र कौतूहलपूर्ण छन् । उपन्यासको भाषा पात्रको स्तर र अवस्था अनुसार सरल, काव्यात्मक, आलङ्कारिक र प्रतीकात्मकसँगै विभिन्न उखान, टुक्का, सूक्तिको विशिष्ट प्रयोग गरिएको छ । उपन्यासमा तत्सम, तद्भव र आगन्तुक शब्दको कलापूर्ण प्रयोग पाइन्छ । पात्रहरूका स्वाभाविक संवादहरू यहाँ पाइन्छन् । कैयौं ठाउँमा अंग्रजी भाषामै संवाद गराइएको छ । उखान टुक्कासँगै प्रतीकात्मक पदावलीको प्रयोगले उपन्यासको भाषा रोचक बनेको छ साथै उपन्यासमा विभिन्न श्लोक, सूक्ति, कविता आदिको पनि प्रयोग पाइन्छ ।
भाषासँगै उपन्यासको शैली पनि ओजपूर्ण रहेको पाइन्छ । यहाँ वर्णनात्मक र विवरणात्मकसँगै दृश्यात्मक र पूर्वदीप्ति शैलीको प्रयोग पाइन्छ । प्रशस्त संवादको प्रयोग गरिएको छ । यी संवादले पाठक स्वयंलाई म नै कुरा गरिरहेको छु कि जस्तो लाग्छ । प्रेमिल संवादले रोमाञ्चक थपेको छ । कहीं कतैका संवादहरू लामा देखिए पनि अवान्तर प्रसङ्गका कारण यसमा प्रशस्तै नाटकीयता पाइन्छ ।
उपन्यासको कथानक स्मरणका रूपमा आएका हुन् कि वर्तमानका हुन् भन्ने दोधारमा पाठकहरू परे पनि उपन्यासको मूल प्रवाहमा कुनै अलमल रहेको पाइँदैन । यसमा भरपुर अंग्रजी भाषाको प्रयोग पाइन्छ । सरल, उच्चस्तरीय, काव्यात्मक भाषाको मिश्रण रहेर पनि पाठकलाई कथाक्रम अनुसार बुझ्न गाह्रो पर्दैन ।
गम्भीर कुराहरूदेखि माया–प्रेमका स्वच्छन्द कुराहरूमा कतै–कतै पात्तिए जस्तो लागे पनि हँस्यौली–ठट्यौलीको मिश्रणमा लेखकको राम्रो मिहिनेत र सीप पाइन्छ । तसर्थ भाषाशैली प्रयोगका दृष्टिले देवयानी उच्चस्तरको मौलिक उपन्यास बन्न पुगेको छ ।
उपन्यासको शीर्षक केन्द्रीय पात्र देवयानीका नामबाट रहेको छ । देवयानीको चरित्र नै यस उपन्यासको प्रमुख कथानक भएकोले शीर्षकमा सार्थकता पाइन्छ । उपन्यासका माध्यमबाट चौधरी यही सन्देश दिइरहेछन् कि प्रेममा प्रेमी साथ होस् नहोस् प्रेम सधैं रहन्छ ।
प्रेम यौटा सर्वोपरि भाव हो जसले समाज, बन्धन, कर्तव्य केही हेर्दैन जुन बेला जोसँग पनि हुन सक्छ र बाँधिन सक्छ । तर प्रेमको खोजाइ वा प्राप्तिमा हामी गलत बाटोमा हिंडिरहेका त छैनौं ? प्रेमका नाममा आकर्षणलाई प्रेम मान्नु र सर्वोपरि प्रेम ठानेर वास्तविकतासँग भाग्नु प्रेम होइन । प्रेम मात्र पनि संसारमा महत्वपूर्ण हुँदैन कहिलेकाहीं कर्तव्य, नैतिकता, समाज, परिवार अझ महत्वपूर्ण हुन्छन् जसले जीवनलाई जीवन बनाएका छन् ।
चौधरीले आदित्यको माध्यमबाट जहिले पनि विवाहेत्तर सम्बन्ध नराम्रो हुन्छ र यसले नराम्रो परिणाम दिन्छ भन्दै आकर्षणको भ्रममा एक जनाले बाटो बिराउँदा परिवारका सदस्यले पाएको पीडा र आफैं पापबोधले छटपटिएको अवस्था देखाएर समाजलाई खै गरिरहेका छन् । देवयानीका माध्यमबाट विवाहित पुरुष चरित्रलाई विश्वास नगर्न तथा समय अनुसार आफूलाई ढाल्न र आफ्नो स्वाभिमानलाई बचाइराख्न सधैं तयार रहिरहनुपर्छ भन्ने सन्देश दिन्छन् । चौधरीले हरेक पात्रका माध्यमबाट यौटा न यौटा सन्देश दिएका छन् । समग्रमा हेर्दा औपन्यासिक तत्त्वहरूका आधारमा देवयानी उपन्यास एउटा उत्कृष्ट चारित्रिक उपन्यास बन्न पुगेको छ ।
चरित्रप्रधान देवयानी उपन्यास त्रिकोणात्मक र दुर्घटनात्मक प्रेमको उदाहरण हो । उपन्यासको केन्द्रीय पात्र आदित्य जो विवाहित छ उसको विवाहेत्तर सम्बन्ध र त्यसले निम्त्याएका पीडाहरू आजका समाजका धेरै विवाहेत्तर सम्बन्धमा रमाउन खोज्ने र जीवन, परिवार र प्रतिष्ठालाई गुमाएका र गुमाउन लागेका व्यक्तिहरूको प्रतिनिधि पात्र हो । आजको सामाजिक परिवेश विवाहेत्तर सम्बन्ध र त्यसको परिणामबाट पीडित छ । त्यसकै उदाहरण हो देवयानी उपन्यास ।
अनमेल प्रेमकथा जस्तो भए पनि देवयानी मा हामी बाँचिरहेको समाज बाँचेको छ । सामाजिक चालचलनका विषय र सन्दर्भ, शहरिया समाजका यथार्थ, वर्तमानका युवाहरूको काम गर्ने शैली, प्रतिभा र आवश्यकता, अनि प्रेमलाई परिभाषा गर्ने तरिका पनि सान्दर्भिक बनाएर प्रस्तुत गर्न सफल छन् उपन्यासकार । विवाहेत्तर सम्बन्धको सेरोफेरोमा कुमारी केटी देवयानी र विवाहित पुरुष आदित्यको प्रेमको अघोषित चिहानका रूपमा प्रतिनिधि अवशेष बनेर सकिएको छ उपन्यास । उपन्यासमा आदित्यको आकर्षण र अनिर्णयिता अनि देवयानीको पे्रमिल समर्पण बीचको द्वन्द्वले नै यस उपन्यासलाई गतिशील बनाएको छ ।
‘एकानब्बे अध्यायको यो लामो उपन्यासमा कहीं कहीं गरिएका वर्णनहरू दोहोरिएका जस्ता लागे पनि, साधारण पाठकले आगन्तुक भाषामा घोत्लिनु परे पनि, कहीं कतै उच्चस्तरीय भाषा कहीं एकदम साधारण भाषाको प्रयोगले पाठक द्विविधामा परे पनि, गीत र कविताका टुक्राले लयात्मक बनाए पनि पाठकले उपन्यास पढेपछि रोकिन मान्दैन । पाठकलाई यसरी तानिरहन बाध्य पार्नु नै चौधरीको आख्यान लेखनको वैशिष्ट्य र सफलता पनि हो ।
कथानकदेखि लिएर पात्र, परिवेश, संवाद, दृष्टिविन्दु, उद्देश्य, भाषाशैली र शीर्षकसम्मका अङ्ग–प्रत्यङ्गहरूको उचित समन्वयले सुन्दर औपन्यासिक जीवन पाएको देवयानी आख्यान जगतको सुन्दर उपन्यास हो । उपन्यासकार वसन्त चौधरीलाई सुन्दर आख्यान यात्राको हार्दिक शुभकामना !
प्रतिक्रिया 4