+
+
Shares

पोखरामा भेटिएका हायू परिवार भन्छन्- सिन्धुली फर्कन्नौं, धेरै बिरामी पर्‍यौं

ज्यामी काम गर्ने भन्दै बसेका थिए भण्डारी र पौडेलको घरमा

(सोमबार) बिहान एकै परिवारका १६ जना बेपत्ता भएको खबर अनलाइनखबरले प्रकाशित गरेको थियो । त्यसपछि प्रहरी, प्रशासन, स्थानीय जनप्रतिनिधिसहितको टोली खोजी कार्यका लागि सक्रिय भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते २२:३६

१२ साउन, काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्ने उर्मिला हायूको परिवारका १६ जना अन्तत: पोखरामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार, पोखरा महानगरपालिका–३० स्थित दुई वटा घरमा बाँडिएर बसेको अवस्थामा उनीहरू भेटिएका हुन् ।

गत शनिबार नै पोखरा पुगेका उनीहरू उक्त दिन लेकसाइडस्थित होटल जननीमा पुगेका थिए । होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार, सो दिन उनीहरू तीन वटा कोठा लिएर बसेका थिए ।

उनीहरू आइतबार नै त्यहाँबाट निस्किएका थिए ।

आज (सोमबार) बिहान एकै परिवारका १६ जना बेपत्ता भएको खबर अनलाइनखबरले प्रकाशित गरेको थियो । त्यसपछि प्रहरी, प्रशासन, स्थानीय जनप्रतिनिधिसहितको टोली खोजी कार्यका लागि सक्रिय भएको थियो ।

अन्तत: साँझ उनीहरू पोखरा पुगेको भेटिए । अहिले उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सोधखोज गरिरहेको छ ।

उनीहरू इलाका प्रहरी कार्यालय सिसुवाको सम्पर्कमा रहेको एसपी ओलियाले बताए ।

प्रहरी स्रोतले बताए अनुसार, उनीहरूले सिन्धुलीको उक्त घरमा आफूहरू बिरामी पर्न थालेपछि नयाँ ठाउँको खोजीका लागि पोखरा पुगेको बताएका छन् ।

‘सिन्धुलीको त्यो ठाउँमा हामी बिसन्चो भइरहेने भएको कारणले हामी नयाँ ठाउँमा आएका हौं भनेका छन्,’ प्रहरीसमक्ष उनीहरूले बताएका छन् ।

पटकपटक बिरामी पर्ने र उपचारका लागि अस्पताल जान पनि असहज भएपछि त्यहाँबाट हिँडेको उनीहरूले प्रहरीलाई बताएका छन् ।

सिन्धुली फर्कन छैनन् तयार

प्रहरीका अनुसार, उनीहरूले सिन्धुली फर्कन तयार नभएको बताइरहेका छन् । ओलीया भन्छन्, ‘उहाँहरू सिन्धुली फर्कन तयार हुनुहुन्नँ ।’

आफूहरूलाई सिन्धुलीको उक्त क्षेत्रभन्दा अन्यत्र नै बस्ने व्यवस्था मिलाइदिन उनीहरूले आग्रह गरेका छन् ।

‘हामी यतै बस्छौं । उता, जाँदैनौं,’ हायू परिवारका सदस्यको भनाइ उद्धृत गर्दै ओलियाले अनलाइनखबरसँग भने ।

ज्यामी काम गर्ने भन्दै लिएका थिए शरण

सिन्धुलीका उक्त परिवारका सदस्यहरू पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा भन्ने ठाउँमा भेटिएका थिए ।

स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएका हुन् । ‘दुईवटा घरमा बाँडिएर बसेका रहेछन्,’ एसपी ओलियाले भने ।

उनीहरू आफूहरू ज्यामी काम गर्नका लागि आएको भन्दै पौडेल र भण्डारीको घरमा बसेका थिए ।

‘हामी ज्यामी काम गर्न आएका हौं भन्दै उहाँहरू ती घरमा बस्नुभएको रहेछ,’ ओलियाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?