+
+
Shares
कथा :

अनि त्रिशूली सुक्यो

अझ त्रिशूली पारि पनि उनी नै हावी भए । गिट्टी कुट्नेहरू पनि बढे। त्रिशूलीमा टिपर र ट्याक्टरको मेला नै लाग्यो ।

शैलेश भट्टराई शैलेश भट्टराई
२०८२ भदौ ७ गते ७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अटलशेरले काठमाडौं उपत्यकामा घरबारविहीनलाई चार-चार आना घडेरी र हवेली दान गर्ने घोषणा गरे।

त्रिशूलीको बगरमा गिट्टी कुट्ने करिब–करिब ६–७ सय श्रमिकमाथि अनेक प्रपञ्च मिलाएर अटलशेरले थुप्रै पैसा कमाए।

त्यसपछि उनी बडो टाँटबाँट र धाक रवाफका साथ त्रिशूलीको बगरमा हिँड्न थाले। ती सयौं गिट्टीजीवी मध्ये थोरैले मात्र बुझेका थिए उनको ठाँटबाँट र धाक, रवाफको रहस्य । हेर्दाहेर्दै महान् उद्यमीको पगरी गुथेका अटलशेरको बारेमा ती यदाकदा बोल्थे पनि । तर तिनको आवाज त्रिशूलीको सुस्केरामै बिलाएर जान्थ्यो । वल्लो तीरबाट पल्लो तीरसम्म पनि पुग्दैनथ्यो।

यत्तिकैमा त्रिशूलीका यी महान् उद्यमीलाई एकदिन एउटा तत्त्वज्ञान प्राप्त भयो- यी गिट्टीजीवीहरूबाट यत्रो पैसा कमाइयो । शान इज्जत कमाइयो । तरक्की गरियो । मैले यिनका लागि पनि यसो केही त गर्नैपर्छ ।

नभन्दै केही गरे उनले । त्रिशूली किनारका ती गिट्टीजीवीहरूका छोराछोरी मध्ये पढाइमा अब्बल १० उत्कृष्टलाई एक समारोहका बीच एक–एक वटा बुलेट पेन बाँड्ने भए । यसका लागि एउटा भव्य कार्यक्रमको आयोजना गरे । थुप्रै पत्रकार बोलाइए । उनको प्रपञ्चका सरकारी र गैरसरकारी सारथिहरू पनि बोलाइए । फेसबुक, इन्स्टा, एक्स, यूट्यूब लगायतका सारा सामाजिक सञ्जाल रंगिए । पत्रपत्रिकामा लेखिए । टिभीमा देखिए । रेडियोमा गुञ्जिए।

अरूले त लेखे लेखे, धेरै गिट्टीजीवीले समेत यो समारोहको तस्बिर शेयर गर्दै क्याप्सनमा लेखे-

`पैसा कमाएर मात्र हुँदैन दान दिन पनि सक्नुपर्छ !´

`छाती भनेको अटलशेरको जत्रो हुनुपर्छ !´

`मन भनेको अटलशेरको जस्तो हुनुपर्छ !´

`समाजसेवी अटलशेर अर्थात् हाम्रा भरोसा !´

`यतिका उदारमनका समाजसेवी १०० जना मात्रै भए देश बन्न कति बेर पनि लाग्दैनथ्यो !´

…..आदि आदि !

त्रिशूलीमा उनको व्यवसाय बर्करार रह्यो । अझ त्रिशूली पारि पनि उनी नै हावी भए । गिट्टी कुट्नेहरू पनि बढे। त्रिशूलीमा टिपर र ट्याक्टरको मेला नै लाग्यो । तरक्की उनको अझ बढ्यो । इज्जत पनि त्यति नै बढ्यो । बढ्दो तरक्कीले उनलाई केही दान दिनैपर्ने तत्त्वज्ञान फेरि पनि दिलायो ।

यसपालि भने उनको रोजाइमा न बुलेटपेन पर्‍यो, न गिट्टीजीवीका छोराछोरी परे । उनी र उनको प्रपञ्चका सारथिहरू अर्थात् उनलाई सहयोग गर्ने राज्यका उपल्ला निकायका `घरबारविहीन´ परे । अटलशेरले घोषणा गरेरै स:गर्व ती सबैलाई काठमाडौं उपत्यकामा चार-चार आना घडेरी दान दिए । त्यो घडेरीमा एकएक वटा हवेली पनि आफैंले बनाइदिने अर्को घोषणा पनि गरे । फेरि सुरू भो उनको दिलको वाहवाही र मनको बखान।

एकाध अतृप्त प्राणीहरू ठसठसी कन्दै कराए । त्यस्तालाई पनि अटलशेरले तह लगाए । उसैगरी फेरि पत्रपत्रिका, रेडियो, टीभी र सामाजिक सञ्जाल रंगिए । उनको स्तुतिले सजिए । एउटा बुलेट पेनमा त सजिने सामाजिक सञ्जाल त्यत्रो घडेरी र हवेलीमा नसजिने कुरै थिएन।

एकाध गिट्टीजीवीलाई थाहा थियो यसको रहस्य । समाजले तिनलाई `तिमेरका कुरा इस् !´ भन्दै लोप्पा ख्वाइरह्यो । ती एक दुई दिन कराए । आफ्नो आवाज अरण्यरोदन भएपछि ती कता हराए कता । त्यसपछि फेरि सुरू भो अटलशेरको अर्को चरणको तरक्की ।

अर्को चरणको तरक्की उत्कर्षमा पुग्यो । अर्थात् पूरै त्रिशूली वारिपारि तल-माथि नै अब अटलशेरको अभेद्य साम्राज्य स्थापित भो।

यसरी `तरक्की र समाजसेवाको अटलशेरीय मोडेल´ राज्यमा बहुत प्रख्यात भयो । यो बीचमा उनले एकाध अस्पताल पनि बनाए । केही स्कूलमा पनि दान दिए ।

कसैकसैले त भने पनि- `दानै दिनु छ भने त्यो भाँडिम् तिकडम गरेर केलाई कमाउनु हो !´ तर उनले कमाउन नि छोडेनन् दान दिन नि छोडेनन् । फरक यति थियो कमाउँदा हजार हात सक्रिय हुन्थे भने दानमा हातको कान्छी औंलो- त्यो पनि सकी नसकी । तर प्रचार-प्रसार चाहिं कान्छी औंलोले कमाउने र हजार हातले दिने जस्तो थियो।

फलस्वरूप एकदिन त्यत्रो विशाल त्रिशूली एउटा कुलोमा सीमित भएको ज्ञात भो । मात्र एउटा कुलोमा ! पानी सुक्नुको कारण जथाभावी गिट्टी कुट्नु हो भन्दै यसको सारा दोष तिनै गिट्टीजीवीलाई थोपरेर अटलशेर महान् उद्यमी नै बनिरहे । अनेक-अनेक मान, पदवी, विभूषण, अलङ्कार र पदक गनिरहे अनि गिट्टी कुट्नेहरू चाहिं अनियन्त्रित त्रिशूली दोहनको आरोपमा जेलमा हामी निर्दोष छौं भनिरहे । रिहाइ हुने दिन गनिरहे ।

(यो कथाका घटना र पात्र सबै काल्पनिक हुन्। कसैसँग मिल्न गएमा संयोग मात्र हुनेछ।)

लेखक
शैलेश भट्टराई

समसामयिक राजनीतिक बिषयमा ब्यंग्य गर्न माहिर शैलेश अनलाइनखबरका स्तम्भकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?