
News Summary
Generated by OK AI. Editorially reviewed.- भरतपुर महानगरपालिकाको सहयोगमा बनेका साना घरमा रणबहादुर परिवार बस्दथ्यो, जहाँ एउटा छुट्टै कोठा बनाउन आर्थिक अभाव थियो।
- रणबहादुरले पढाइ र काम गरेर छुट्टै कोठा बनाउन अठोट गर्यो तर आमाको बिरामी र ऋणले योजना प्रभावित भयो।
- रणबहादुर र जुरेलीको विवाह भयो, तर घरमा छुट्टै कोठा नहुँदा दुवै एउटै कोठामा सुत्न बाध्य भए।
ऐलानी जग्गा, सुकुमवासीका लागि भरतपुर महानगरपालिकाको सहयोगमा बनेका साना एककोठे घरहरू लहरै थिए । एउटा घरमा रणबहादुरको परिवार बस्दथ्यो । सानो घर, एक कुनामा भात पकाउने अँगेनो । अँगेना छेउमा सिल्वरका काला पुराना भाँडा । धुवाँले घर पूरै कालो । टाँगोमा मैला कपडा झुण्डिएका । अर्को कुनामा बाख्रा बाँध्ने टाट्नो । सँगै डोकाले थुनेर कुखुरा पाल्ने ठाउँ । अर्को छेउमा बाआमा र दुई भाइबहिनी सहित रणबहादुर सुत्ने लामो टाँड । जुरेलीसँग बिहे गरेपछि एउटै कोठामा सबै जना कसरी सँगै सुत्ने ? घरमा एउटा छुट्टै कोठा बनाएर बिहे गर्ने रहर रणबहादुरको मनमा थियो । रहर कसरी पूरा गर्ने ? ऊ समाधान खोज्दै छट्पटिरहन्थ्यो
बा ! हामी ठूला हुँदै गयौं । घरमा एउटा सुत्ने कोठा थप्न पाए पनि हुने ! रणबहादुरले एकदिन बिर्खबहादुरलाई भनेको थियो ।
बाबु, हेर त, हाम्रो घर वरिपरि गरिबी । हामी गरिबहरू रहर गर्ने मात्रै हो । हातमुख जोर्न हरेक दिन संघर्ष गर्नुपर्छ । पैसा नभएपछि रहरहरू सिरानीमुनी राख्नुपर्ने रहेछ । बहिनी बिरामी पर्दा लागेको ऋण तिर्न सकेको छैन । कुन दिन साहु आएर र्याखर्याख पार्ने हो— बिर्खबहादुरले रणबहादुरको टाउको मुसार्दै सम्झाए । रणबहादुरले बाको अनुहारमा हेर्यो । बिर्खबहादुरको आँखामा पाँच जनालाई ओडापैरी गर्दाको दु:ख झल्किरहेको थियो । पैसा न सैसा कताबाट कोठा थप्ने ? रणबहादुरले आफ्नो मनलाई सम्झायो ।
जुरेलीलाई रणबहादुरले देवघाट मेलामा देखेको थियो, पहिलोपल्ट । उसका आँखा जुरेलीमा लिसो झैं टाँसिए । चिनजान भयो । रणबहादुरको गीतानगर र जुरेलीको घर राधापुरमा । दुवैले अगाडि पछाडिका वर्षमा अरुणोदय माध्यमिक स्कूल गीतानगरमा पढेका थिए । देवघाट मेलामा भएको चिनजान डवका घोल, गीतानगर बजार, नारायणगढ, रामपुर, मेघौली, गोलाघाट, पितौजीघाट, माडी, पार्वतीपुर, अमृतनगर, पटिहानी हुँदै हुर्कियो । जुरेली राम्री छे, हेरिरहँ, बोलिरहुँ जस्ती । झन् उसले तिमी किन यति सारो राम्रो भएको रणबहादुर भन्दै नाकको डाँडी समातेर हल्लाएको उसलाई खुब मन पर्थ्यो । जुरेलीलाई अरूले जिस्क्याएको जुरेली अरूसँग बोलको ऊ पटक्कै सहन सक्दैनथ्यो । जुरेलीलाई जति सक्यो छिटो बिहे गरेर सधंैका लागि आफ्नो बनाउन चाहन्थ्यो ।
बिहे गर्नुभन्दा पहिले घरमा कोठा थप्न रणबहादुर पढाइ र कामको परिभाषा गर्न थाल्यो । बाह्र त पढें नि मैले । म रोमनमा जुरेलीलाई म्यासेज गर्न सकिहाल्छु । जुरेलीले पठाएको म्यासेज पढ्न सक्छु । काम गरेर कमाएको ज्याला जोडघटाउ गर्न सक्छु । स्वस्थानी पढेर आमालाई सुनाउन सक्छु । फेसबुक, टिकटक इन्स्टामा आएको खबर पनि बुझ्छु । इमेल गर्न सक्छु । केमेष्ट्रीका केमिकल रियाक्सन, फिजिक्सको रिलेटिभिटी थ्यौरी, म्याथको ट्रिगोनोमेट्रिक्स, अर्थशास्त्रको किन्स सिद्धान्त, अगष्ट कोम्टेको समाज विकासको सिद्धान्त मैले किन पढ्नु पर्यो र ? म काम गर्छु र बाआमालाई सघाउँछु । गरिबीलाई लखेट्छु । छुट्टै कोठा बनाएर जुरेलीसँग बिहे गर्छु । रणबहादुरले मनमनै अठोट गर्यो ।

रणबहादुरले ज्यालादारीमा काम गर्न थाल्यो । एकदिन जम्मा भएको पैसा बिर्खबहादुरलाई दिंदै रणबहादुरले भनेको थियो, “बा अब त एउटा छुट्टै कोठा बनाऔं है ।” बिर्खबहादुर सहमत पनि भएका थिए । त्यतिवेला रणबहादुर बेस्सरी रमायो । साँझ, एक्कासी आमा बिरामी परिन् । बिर्खबहादुर र रणबहादुर भएर फूलमायालाई भरतपुर अस्पताल पुर्याए । रग्ताली परेर सिकिस्त । हप्तादिनपछि फूलमाया सन्चो भइन् । जम्मा गरेको पैसा अस्पताल राख्दा सबै सकियो ।
रणबहादुर कोठा थप्न त सकिएन अहिले, बिर्खबहादुरले छोरासँग लाचारी प्रकट गरे । बा, फेरि कमाउँला नि ! आमालाई सञ्चो भयो, यही खुशीको कुरा हो हाम्रो लागि— रणबहादुरले बालाई सान्त्वना दियो । “मुन्ना खसी बीस–बाइस किलोको छ । त्यै बेचेर कोठा बनाउनुपर्ला”, बिर्खबहादुरले छोरासँग सल्लाह गरे ।
रणबहादुर जुरेलीको काखमा पल्टिएको थियो । जुरेलीले सबै कपाल अगाडि ल्याएर आफ्नो र रणबहादुरको अनुहार ढपक्क छोपेकी थिई । जुरेली, तिमीलाई सधैं यसैगरी हेरिरहन पाए कति रमाइलो हुन्थ्यो । समय रोकिराख्न पाए पनि हुने । बिहे गर न त, रनु । कति लुकीछिपी मिलिराख्ने ? जुरेलीले नाकमा नाक ठोस्दै भनी । प्रेम त लुकीछिपी गरेको मिठो नि काली । रणबहादुर मुसुक्क मुस्कुरायो । यही तिम्रो मुस्कानले त हो मलाई फसाएको । जुरेली पनि मुस्कुराई । संसारमा तिमीभन्दा राम्रो कोही छैन । रणबहादुरले जुरेलीलाई चपक्क अँगालो हाल्यो । तिमी नि तिमी ! गठिलो पातलो शरीर । सिल्की कपाल । ह्याण्डसम हिरो । जुरेली पनि प्रशंसा गर्न के कम थिई र ! रणबहादुर जुरेलीलाई एकछिन छोड्नै चाहँदैनथ्यो । छोड्यो कि अरू कसैले फकाइहाल्छ कि भन्ने पिरलोले उसको मन खाइरहन्थ्यो ।
छ्या, हजुर त, बुढो भएर पनि कति छिल्लिएको ? छोराछोरीले थाहा पाए भने ? अब त रणबहादुर बुझ्ने भइसकेको छ । रणबहादुरकी आमा निष्पट्ट अँध्यारोमा बोलिरहेकी थिइन् । नकरा तँ, मध्यरात भइसक्यो । छोराछोरी निदाइसके । फूलमायालाई आफूतिर तान्दै बिर्खबहादुरले फकाउन थाले । टाँड जोडले हल्लिन थाल्यो । अँध्यारोले दृश्य छोपे पनि आवाज छोप्न सकेन । रणबहादुर लाजले भुतुक्क भयो । कान थुन्यो । आँखा चिम्म गर्यो । गरिबीसँग बेस्सरी घृणा लाग्यो ।
रणबहादुरको खेतीपाती लगाउने जमिन थिएन । मजदूरी पाइएन भने भात खान पाइँदैनथ्यो । कुखुराले अण्डा पारेन भने नून–तेल किन्न सकिंदैनथ्यो । बाख्राको पाठो हुर्काएर एउटा गर्जो टार्ने गरिन्थ्यो । साहुको भंैसीको पाडी हुर्काएर अँधिया गरिन्थ्यो । भाग लगाउँदा लगाउँदै भात सकिएर आमा भोकभोकै सुतेका रातहरू उसले देखेको थियो । चाडबाडमा नयाँ कपडा लगाउने दिन कुरेर बस्दा पनि बाले पुर्याउन नसकेको पनि अनुभव थियो । कपडा धुने साबुन थिएन । मैलो ड्रेस लगाएर स्कूल जाँदा टिचरले क्लासभरि उभ्याएको घटना पनि वेला मौकामा सम्झिरहन्थ्यो । स्कूलमा धनी बाउआमाका छोराछोरीले हाफ टाइममा टिफिन खाएको देखेर र्याल काढेका दिनहरू सम्झन्थ्यो । “छि, गरिब मोराको जिन्दगी पनि के जिन्दगी ?” रणबहादुरले आफैंले आफैंलाई लोप्पा खुवायो ।
रनु ! घरमा त मेरो बिहेको कुरा चलेको छ । अब जुरेली बीस पुगी । एसईई पनि पास गरी । बिहे गर्नुपर्छ भन्दै लमीबाजे घरमै आएका थिए । लमीको कान समातेर उठ–बस गराउनुपर्ने नि तिमीले, रणबहादुर जिस्कियो । साँच्चै हो । तिमी ढिलो नगर । बाआमाले अन्तै बिहे गरिदिए भने जिल्लिन्छौ । जुरेली रणबहादुरको काखमा घोप्टिई । धत्, लाटी । बाआमा राजीभए मागी बिहे गर्ने नभए भागी । रणबहादुरले साहस गर्यो । जुरेलीले सहमतिको टाउको हल्लाई । उनीहरू गफ गर्दै देवनगर बरण्डाभार जंगलको किनार हुँदै सीतामाईको मन्दिर पुगे । दर्शन गरे । आशीर्वाद थापेर फर्किए ।
जुरेलीसँग बिहे त गर्ने ! बिहे गरेर कहाँ सुत्ने ? बाआमा भाइबहिनी सँगै एउटै टाँडमा सुत्ने ? छ्या । साहु महाजनका घरमा त छोराछोरी पिच्छे अलग–अलग कोठा हुन्छन् रे ! हाम्रो भने ? रणबहादुरलाई नरमाइलो लाग्यो । गरिबलाई एउटा जाबो कोठा बनाउन “कमिलालाई पिसाबको पहिरो !” रणबहादुर झोक्राइरह्यो ।
के भयो रनु तँलाई ? फूलमायाले सोध्दा रणबहादुरले आमाको काखमा लुट्पुटिंदै “मेरो बिहे गर्नु पर्यो र घरमा एउटा कोठा पनि थप्नु पर्यो” भनेको थियो । केटी न सेटी कता बिहे गर्छस् ? फूलमायाले हाँस्दै जिज्ञासा राखेकी थिइन् । मैले केटी खोजेको छु । बा गएर कुरा गर्नुपर्छ । डवका घोलपारि राधापुर सुकुमवासी बस्तीमा छ, घर । कैलेबहादुरकी छोरी, जुरेली । रणबहादुरले एकसासमा सुनाएपछि “ल पख्, म तेरो बासँग कुरा गर्छु । बिहे गर्नु पहिला अलग्गै कोठा बनाउन पनि भन्छु । बाले मुन्ना खसी बेचेर कोठा बनाउने पनि भन्नुभएको छ । फूलमायाले टाउको मुसार्दै भन्दा रणबहादुरको खुशीले सगरमाथा छुन पुग्यो ।
ओई ! बिर्खबहादुर, छोरी बिरामी हुँदा लिएको ऋण तिर्नुपर्दैन ? भाका नाघेको ६ महिना भइसक्यो । रनेले पनि काम गर्न थालेछ । खोरमा खसी पनि ठूलै भा, रै’छ । रणबहादुर बिउँझिंदा साहु घर अगाडि बाइक रोकेर कड्कँदै थियो । बिर्खबहादुरको अनुहार मलिन र नि:सहाय थियो । रणबहादुरले मुन्ना खसी फुकाएर साहुको अगाडि लगाइदियो । घरमा कोठा थप्ने उसको सपनामाथि अर्को बज्र प्रहार भयो ।
रणबहादुरलाई एउटै चिन्ता थियो; बिहे ढिलो गर्नु भनेको जुरेली गुमाउनु हो । जुरेलीको अर्कैसँग बिहे भयो भने ? उसका आँखाहरू कल्पना गर्दा मात्रै पनि आँसुले ढप्प हुन्थे । रणबहादुर आमाको काखमा घोप्टो परेर रोयो ।
छोराको उमेर पुग्यो । अब बिहे गरिदिनुपर्छ । घरमा एउटा कोठा थप्न हत्ते गरेको पनि त्यै भएर रहेछ । केटी पनि मन पराइसकेको छ । फूलमायाले बिर्खबहादुरलाई सुनाइन् । बिहे गर्न त किन कोठा थप्नु पर्यो र ! टाँडको पल्लो छेउमा सुते भै गो नि ! बिर्खबहादुरले सजिलै भने । धत्, भर्खरका छोरा–बुहारी बारनबेरको कोठामा सुत्दा लाज हँुदैन ! फूलमायाले बिर्खबहादुरलाई भनेको रणबहादुरले सुन्यो । कोठा थपिने अलिकति आशा पलाएर रणबहादुर एकपटक फेरि खुशी भयो ।
शिवालय चौतारीले रणबहादुर र जुरेलीलाई काखमा लियो । जुरेलीका बाआमाले दुलही राख्ने कोठा बना भन, केटालाई भन्दै बिहे गर्न राजी भएछन् । बाआमाले छुट्टै कोठा बनाउने भन्नुभएको छ तिमीलाई, जुरेलीले भनी । छुट्टै कोठा बनाउन त रातोदिन काम गरेर थोेरै पैसा जम्मा गरेको छु । रणबहादुरले जुरेलीलाई अँगालोमा कस्दै भन्यो । छ्या, मात्तिएको मान्छे । अरूले देखे भने के भन्लान् ! अँगालोबाट उम्कँदै जुरेलीले भनी । रणबहादुर जुरेलीलाई हेरेर मुस्कुराइरह्यो ।
घरमा एउटा कोठा थप्ने धोको बोकेर बाँचेको रणबहादुरले पैसाको जोहो गर्न सकेन । ऐलानी जग्गामा बसेकाले बैंक या सहकारीमा धितो राख्न सकेन । साहुमहाजनले पत्याएनन् । उदाए–अस्त शारीरिक काममा जोतिंदा पनि पुग्ने पैसा जम्मा भएन । बिहेको कुरा पक्का पनि भइहाल्यो । रणबहादुरले धनीमानीका छोराछोरीको बिहे छिन्दाको भतेर सम्झियो । आफ्नो भने फासफुस ।
बाआमासँगै गएर रणबहादुरले लगनको तिलहरी, साडी–ब्लाउज, चुरापोेते, सिन्दुरे किन्यो । अलिअलि पाहुनापाछाको खानपानलाई पैसा छुट्याएपछि बिर्खबहादुर र रणबहादुर रित्ता भए । पैसा नभएपछि बिहे पनि केको रमाइलो हुनु ? आफ्नो प्रियलाई धनीमानीका छोराछोरीले झैं सुनको हीराको औंठी, गरगहना झरप्प लगाइदिन मन थियो । महङ्गा साडी किनिदिने रहर थियो । हल्दी मेहन्दी भन्दै धनीमानीहरू झैं रमाउने मन थियो । सुन पसल र कपडा पसल हेर्दै रणबहादुरले मन कुँड्यायो । थुइक्क हाम्रो गरिबी !
खुशी र रमाइलो पैसाले मात्र पाइँदो रहेनछ । जुरेली सधैंका लागि आफ्नो हुने भएकोमा रणबहादुर खुशीले झुमेको थियो । बिहेको दिन थोरै इष्टमित्र जम्मा भए । रणबहादुरले सामान्य बुसर्ट, पाइन्ट, टोपी र स्पोर्टस् जुत्ता लगायो । आमाले दही खुवाउँदै दुबोको माला लगाइदिइन् । बहिनीहरू अघि लगाउँदै जग्गे घुमेर जन्ती दुलही लिन गयो । रणबहादुरले बाजा बजाउन सकेन । जन्तीलाई मोटरमा लैजान सकेन । जुरेली सिंगारिएर वरमाला लगाउन आई । रणबहादुरले अरूले थाहा नपाउने गरी जुरेलीलाई चियायो । जुरेलीको सुन्दरता छचल्किएको थियो । धेरै बेर हेर्न सकेन । “भरे जुरेलीलाई लिएर त्यै टाँडमा सुत्ने ?” रणबहादुरको अगाडि लमतन्न प्रश्न तेर्सियो । मन भतभती पोल्न थाल्यो ।
विधिपूर्वक बिहे सकियो । जुरेलीलाई अन्माएपछि साइकलमा डोर्याउँदै रणबहादुरले घर पुर्यायो । । बहिनीहरूले बाटो छेके । आमा र जुरेलीले पाथीचुल्ठो गरे । पाहुनाहरू लाखापाखा लागेपछि घर सुनसान भयो । अलग्गै कोठा नदेख्दा जुरेली अलमलिई । रणबहादुरलाई हेरी । रणबहादुरले कान समातेर माफी माग्यो । फूलमायाले टाँडको पल्लो छेउमा नयाँ थाङ्नो ओछ्याइन् । जुरेली थाङ्नामाथि गएर बसी । भाइबहिनीहरू सुते । बिर्खबहादुर पनि दिनभरको थकाइले पल्टने वित्तिकै घुर्न थाले । “रणबहादुर तिमीहरू पनि सुत” बिर्खबहादुरको छेउमा पल्टँदै फूलमायाले बत्ती निभाइन् ।
चकमन्न अँध्यारो, अँध्यारोमा जुरेली झलल्ल बलेकी थिई । रणबहादुर बिरालाको चालमा जुरेलीको छेउमा गयो । उसका हातहरू जुरेलीको शरीरमा सलबलाउन थाले । खै, छुट्टै कोठा बनाउन सकेनछौ, रनु ! हात हटाउँदै जुरेलीले कानमा खुसुक्क भनी । सरी जुरेली ! जुरेलीलाई आफूतिर तान्दै रणबहादुरले कानमा खुसुक्क भन्यो, “बाहिर हिंड !” जुरेलीले चुरा खोली । बिहेको साडी फेरी । हात समातेर बिस्तारै दुई जना बाहिर निस्किए । चिसो हावाले न्यानो स्वागत गर्यो । अमिलो पोखिए जस्तो अन्धकार । आकाशमा ताराहरू चमचमाइरहेका थिए । जूनकिरी पिलिक्क पिलिक्क गर्दै उडिरहेका थिए । कता कता किर्थिना कराएको आवाज सुनिन्थ्यो । स्याल हुइँया ! हुइँया गर्दै थिए । रणबहादुरले जुरेलीलाई आफूतिर तान्यो र दुबोमा पल्टायो । छ्या, ताराहरूले हेरिरहेका छन् । जुरेली जिस्कँदै रणबहादुरको काखमा बेरिई ।
‘गरिबको सुहागरात जुरेली’ रणबहादुरले जुरेलीलाई कस्दै लग्यो । दुवै जना धेरैबेरसम्म अँध्यारोमा हराइरहे ।
प्रतिक्रिया 4