
‘अहिले एआईसँग मान्छे डराएको देख्छु । तर, मानव मस्तिष्कलाई कसैले च्यालेन्ज गर्न सक्दैन । यो सृष्टिलाई जित्न सक्दैन । त्यसैले एआईसँग कोही डराउनुपर्दैन,’ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले केही साताअघि डिजिटल नेपाल कन्क्लेभमा आत्मविश्वासका साथ बोले।
ओलीले यसो भन्नुको पृष्ठभूमिमा जोडिन्छ– एआईलाई लिएर विश्वबजारमा भइरहेका बहस।
कृत्रिम बुद्धिमत्ता (एआई) को आगमनले विश्वभर तीव्र बहस छेडेको छ । यो प्रविधि मानव अस्तित्वका लागि खतरा हो कि अवसर ? के एआईले मान्छेलाई कामविहीन गराउँदैछ ? वा एआईले थप नयाँ अवसर लिएर आएको छ ? यसले ल्याउने सम्भावना र चुनौतीहरू कुन धेरै छन् भन्ने प्रश्नहरू सतहमा उभिएका छन् ।
नेपालकै हकमा सामाजिक सञ्जालदेखि चोक–चिया पसलमा यसबारे चर्चा सुनिन्छ । ‘एआईले सबै गरिदिनँ थाल्यो रे,’ एआईसँग अभ्यस्त नभइरहेकाहरूले नै अनुमानको भरमा गफ गरिरहेका भेटिन्छन्, ‘गीतदेखि भिडियो सबै यसले नै बनाइदिन्छ । सबै यसले गरेपछि मान्छेको के काम ?’
भूइँमान्छेसम्म छोएको यस्ता बहस विभिन्न संघसंस्थादेखि रिसर्च सेन्टर/विश्वविद्यालयसम्मका लागि नयाँ विषय बनेको छ । बहस यतिमा मात्र सीमित छैन । पिउ रिसर्च सेन्टरको एक अध्ययनमा बर्कले सेन्टर फर ल एन्ड टेक्नोलोजीका सह–निर्देशक तथा अमेरिकी वाणिज्य विभागको डिजिटल इकोनोमी बोर्ड अफ एड्भाइजर्सकी सदस्य सोनिया कट्याल भन्छिन्, ‘सन् २०३० सम्ममा एआईले हाम्रो समाजमा ठूलो प्रभाव पार्नेछ । यो प्रविधिले गोपनीयता, बोल्ने स्वतन्त्रता र व्यक्तिको पहिचानजस्ता कुराहरूलाई नयाँ तरिकाले प्रश्न उठाउनेछ ।’
उनले अगाडि थपिन्, ‘यी कुराले हाम्रा पुराना विश्वासहरू, जस्तै सबैका लागि समानता र अवसर भन्ने कुरालाई पनि चुनौती दिन्छ । भविष्यमा कसले फाइदा लिन्छ र कसले हानि बेहोर्छ भन्ने कुरा पनि आज हामीले यी विषयमा कति गम्भीरतापूर्वक सोच्छौं भन्नेमा भर पर्छ ।’
सोही अध्ययनमा माइक्रोसफ्टकी अनुसन्धानकर्ता र डेटा एन्ड सोसाइटी रिसर्च इन्स्टिच्युटकी संस्थापक दानाह बोयडले भनेकी छन्, ‘एआई एउटा यस्तो औजार हो, जसलाई मानिसहरूले राम्रो/नराम्रो दुवै काममा प्रयोग गर्छन् । कसैले यसलाई शक्ति हत्याउन दुरूपयोग गर्नेछन् त कसैले विज्ञान र मानवीय काममा प्रगति गर्न प्रयोग गर्छन् । त्यसैले सचेत हुन आवश्यक छन् ।’
योसँगै यसको दुरूपयोगलाई लिएर उत्तिकै चिन्ता देखिन्छ । जस्तो, पछिल्लो समय सामाजिक संजालमा एआई निर्मित सामग्रीको बिगबिगी देखिन्छ, जुन झट्ट हेर्दा वास्तविकजस्तै देखिन्छन् ।
कतिसम्म भने, देश हाँक्छु भन्ने नेताहरू नै यस्ता काममा अगाडि देखिन्छन् । अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडालले हालै ओलीको चीन भ्रमणलाई लिएर एउटा भिडियो पोस्टाएकाका थिए । उक्त भिडियोमा लेखिएको थियो, ‘केपी ओलीको साहस : उनले सी जिनपिङ कै अगाडि भारत चीनबीच लिपुलेकमा भएको सम्झौता हामी मान्दैनौँ भनेर स्पष्ट भने ।’
यो भिडियोलाई धेरैले अन्तर्राष्ट्रिय मिडियामा नेपालको समाचार आएको ठानी सेयर गरेको देखिन्थ्यो । एमाले वृत्तका कार्यकर्ताले त उत्साहसहित सेयर गरेका थिए । तर, उक्त भिडियो एआई निर्मित थियो ।
एआईबाट बनाएका कन्टेन्टले कसरी आममान्छेलाई भ्रममा पार्छ भन्ने उदाहरण हो यो । यसरी विभिन्न किसिमका भ्रम एआईका माध्यमबाट भएका पनि छन् । डिपफेक भिडियोले त धेरैलाई बर्बाद बनाएको, मानसिक तनाव दिएका उदाहरण हामीसामू यथेष्ट छन् ।
त्यसैले एआईले नयाँ चुनौतीहरू थपेको चिन्ता पनि समाजमा देखिन्छ । कतै जागिर जाने चिन्ता, कतै मिसलिड गर्ने चिन्ता, अनि कतै मान्छेभन्दा अगाडि बढेर मानव अस्तित्व नै संकटमा पारिदेला कि भन्ने चिन्ता देखिन्छ ।
पछिल्लो समय सतहमा देखिएका यी डर आफैँमा कति स्वभाविक हुन् त ?
एआई एसोसियसन नेपालका प्रेसिडेन्ट शैलेन्द्र गिरीकाअनुसार एआई न पूर्ण खतरा हो, न जादुको छडी । बरू यसले नेपालजस्ता देशमा ठूलो सम्भावना ल्याएको छ । तर, यसको फाइदा लिन शिक्षा, नीति, र पूर्वाधारमा लगानी गर्नुपर्छ ।
‘एआईबाट डराउनुको सट्टा यसलाई सिक्न र विकास गर्नेतर्फ लाग्नुपर्छ । जसले यसलाई अनुकूल बनाउँदै अनुकूलन गर्दै जान्छ, ऊ भविष्यमा अगाडि हुनेछ,’ उनले भने ।
गिरीकाअनुसार एआई एउटा यस्तो टुल्स हो, जसले कामलाई छिटो र सजिलो बनाउँछ । स्वास्थ्य, कृषि, वा प्राकृतिक प्रकोप रोक्नेजस्ता धेरै क्षेत्रमा प्रयोग हुनसक्छ । उदाहरणका लागि, नेपालमा बाढी–पहिरोले धेरै क्षति गर्छ । एआईले यस्ता विपद्को अग्रिम चेतावनी दिएर मानवीय क्षति कम गर्नसक्छ ।
‘जस्तै, मानव शरीरको कोशिकालाई बुझ्ने बायोफाइबरदेखि बाढीको पूर्वसूचना दिने प्रणालीसम्मका कुरालाई एआईले सम्भव बनाउँछ’ उनले भने, ‘त्यसैले यसबाट डराउने भन्दा पनि नयाँ अवसर कसरी सिर्जना गर्नेतर्फ सोच्नुपर्छ ।’
जागिर खोस्ने डर कति स्वाभाविक ?
एआईले जागिर खोस्ने डरलाई गिरी स्वाभाविक मान्छन् । कारण – पहिले टाइपिस्टको काम कम्प्युटरले लियो । तर कम्प्युटर सिक्नेहरूले नयाँ अवसर पाए । त्यस्तै, एआई सिक्नेहरू भविष्यमा अगाडि हुने उनले बताए ।
उनकाअनुसार एआईले दोहोरिने र झन्झटिलो कामलाई सजिलो बनाउँछ, जसले मानिसलाई रचनात्मक र महत्त्वपूर्ण काममा ध्यान दिने मौका दिन्छ ।
त्यस्तै यसले नयाँ जागिर पनि सिर्जन गरिरहेको गिरी बताउँछन् । ‘एआईले जागिर खोसेको मात्र हैन । नयाँ जागिर पनि सिर्जना गरिरहेको छ । त्यसैले हामीले एडप्ट हुनुपर्ने कुरा त छदै छ, त्यसबाहेक आफैँ यस क्षेत्रमा अनुसन्धान गर्न पनि ढिला गर्नुहुँदैन,’ उनले भने ।
कम्प्युटर वैज्ञानिक दोभान राई यो चिन्ता स्वभाविक रहेपनि चाहिनेभन्दा धेरै त्रास फैलाइएको बताउँछिन् । उनका अनुसार एआईको तीव्र विकासले विश्वभर रोजगारीमा प्रभाव पारेको छ । पश्चिमी मुलुकहरूमा तथ्यांक विश्लेषण, मल्टिमिडिया र वित्तीय क्षेत्रका इन्ट्री लेभलका जागिरहरू गुम्ने क्रम बढ्दो छ ।
‘त्यसैले यो डर पूरै अस्वाभाविक होइन, तर मिडियाले यसलाई अतिरञ्जना गरेको छ । एआईले जागिर खोस्छ भन्ने हल्ला बिक्छ, र यो डरलाई पत्रिकाको हेडलाइनले थप बल पुर्याएको छ,’ राईले भनिन् ।
उनकाअनुसार अहिले रोजगारी कटौतीमा उठेका विषय एआईले मात्र नभएर विश्व आर्थिक अवस्थाले गर्दा पनि हो । एकातिर एआईले प्रत्यक्ष रूपमा स्वचालित प्रणालीले नियमित र दोहोरिने कामहरू (जस्तै : डाटा प्रविष्टि, लेखा) विस्थापित गरिरहेको छ भने अर्कोतर्फ विश्वव्यापी भूराजनीतिक अवस्था, कोभिड–१९ को रोजगारी घटिरहेको छ ।
आर्थिक अवस्था कमजोर बनाइरहेको छ । त्यसैले एआईका कारण मात्र जागिर गुमिरहेको छ भनेर बुझ्नु ठिक हुँदैन । तर, एआईले ईन्ट्रीलेभल कामलाई भने विस्थापित गराइरहेको छ भनेर बुझ्नुपर्छ ।
अर्कोतर्फ इतिहास हेर्दा पनि हरेक नयाँ प्रविधि आउँदा यस्ता बहस छेडिने गरेकाले आत्तिन जरुरी नरहेको उनले बताइन् । ‘अहिलेमात्र हैन । पहिला पनि कार वा कम्प्युटरजस्ता नयाँ प्रविधि आउँदा यस्ता बहस छेडिन्थे । अहिले एआईको रिभोलुसन आउँदा यो विषयमा चर्चा हुनु अस्वाभाविक हैन,’ राईले भनिन् ।
विदेशी श्रमशक्ति कटौती हुने जोखिम
नेपालको अर्थतन्त्र वैदेशिक रोजगारी र रेमिटेन्समा धेरै हदसम्म निर्भर छ । विशेषगरी मध्यपूर्वका देशहरूमा नेपाली श्रमिकहरू सस्तो श्रमको रूपमा कार्यरत छन् । तर, एआई र रोबोटिक स्वचालनले यी क्षेत्रमा ठूलो प्रभाव पार्न थालेको छ । त्यसैले ती देशहरूले यी कुरामा विकास गर्दा हाम्रा श्रमशक्ति कटौती भएर फिर्ता हुने जोखिम रहेको राईले औँल्याइन् ।
‘चीन र जापानले रोबोटिक्समा ठूलो लगानी गरिरहेका छन् । मध्यपूर्वका देशहरूले पनि लागत कटौतीका लागि स्वचालित प्रणाली अपनाउन थालेका छन् । यदि त्यहाँ श्रम माग ५० प्रतिशतले घट्यो भने, नेपालमा ठूलो संख्यामा युवा बेरोजगार हुन सक्छन्,’ उनले भनिन्, ‘यसतर्फचाहिँ राज्यले गम्भीर भएर सोच्न जरुरी छ । नयाँ उदाउँदो सिप सिक्न युवालाई प्रोत्साहन गर्नुपर्छ ।’
राईकाअनुसार अमेजनले आफ्ना कारखानालाई पूर्ण रूपमा स्वचालित गर्ने लक्ष्य राखेको छ । मध्यपूर्वका तेलमा आधारित अर्थतन्त्रहरूले पनि लागत कटौतीका लागि रोबोटिक्समा लगानी बढाइरहेका छन् ।
यदि यसरी विकास हुँदै गयो भने नेपालजस्तो रेमिटेन्समा निर्भर अर्थतन्त्रलाई ठूलो धक्का दिनसक्छ । ‘त्यसैले अब आत्तिएर बस्ने, चिन्ता गर्ने भन्दा पनि आफूलाई अपग्रेड गर्ने र नयाँ प्रविधिमा एडप्ट हुन सक्नुपर्छ,’ उनले भनिन् ।
मिसलिडको जोखिम
एआईको विकासले सूचनाको क्षेत्रमा नयाँपन ल्याए पनि मिथ्या सूचना र डिपफेक भिडियोको जोखिमलाई बढाएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालका निर्देशक समेत रहेका मिडिया अनुसन्धानकर्ता उज्ज्वल आचार्यकाअनुसार एआईले मिथ्या सूचनालाई फैलाउन र नियन्त्रण गर्न दुवैमा प्रभाव पार्छ ।
‘एआईले इन्टरनेटमा जे भेट्छ, त्यही दिन्छ, जसमा गलत सूचना पनि पर्छ,’ उनले भने । त्यस्तै, यसले मिथ्या सूचनालाई झन सशक्त बनाउनसक्छ, विशेषगरी डिपफेक भिडियोमार्फत । यो यथार्थजस्ता देखिन्छन् र सर्वसाधारणलाई सत्य छुट्याउन गाह्रो हुन्छ । यस्ता सामग्रीले राजनीतिक वा व्यापारिक स्वार्थ पूरा गर्न सामाजिक विश्वास र लोकतन्त्रलाई कमजोर बनाउँदा जोखिम छ ।
आचार्यकाअनुसार, एआईको दोस्रो जोखिम भनेको जानाजान मिथ्या सूचना फैलाउनेहरूले यसलाई प्रयोग गरी सत्य पत्ता लगाउन कठिन बनाउनु हो । तथ्य जाँच गर्ने संस्थाहरूलाई समेत यस्ता सामग्री पहिचान गर्न चुनौती हुन्छ ।
कसैले गलत उद्देश्यले एआईको प्रयोग गरेर सर्वसाधारण झुक्याउने काम गर्न सक्छन् । हाम्रोजस्तो कम डिजिटल साक्षरता भएको देशमा यसको जोखिम झन धेरै रहेको उनले बताए ।
‘तर, विस्तारै एआई कम्पनीहरूले नै विश्वसनीय स्रोत र तथ्य जाँचलाई प्राथमिकता दिने प्रणाली विकास गर्लान् नि ? त्यो भयो भने राम्रो हुन्छ,’ आशावादी सुनिएका उनले भने, ‘तर, हामीले पनि जनचेतनामा काम गर्नुपर्छ । अनि तथ्या जाँच गर्ने संस्थाहरूले पनि यसलाई चिर्न सक्रियता देखाउनुपर्छ । नत्र एआईले मिसलिड गर्ने जोखिम धेरै छ ।’
प्रतिक्रिया 4