+
+
Shares
पौरखी प्रवासी :

कम्प्युटरको ‘ब्रेन’ निर्माणका अनुसन्धानकर्ता

मकवानपुरको कैलाशमा जन्मिएका वासु अर्यालले बाल्यकालमा कम्प्युटर देख्नु त के, नाम समेत सुनेका थिएनन् । तिनै वासु आज अमेरिका बसेर विश्वलाई डिजिटल युगमा प्रवेश गराउने कम्प्युटरको ‘ब्रेन’ भनिने प्रोसेसर (चिप) निर्माण गरिरहेका छन् ।

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८२ असोज १७ गते ७:४७

भूमण्डलीकरणको यो युगमा संसार साँघुरिएको छ र मानिसको यात्रा अब भौगोलिक सीमाभित्र कैद छैन। अवसरको खोजीमा होस् वा ज्ञान र सीपको यात्रामा, नेपालीहरू पनि यही विश्वव्यापी लहरको एउटा अभिन्न अंग बनेका छन्। पृथ्वीका विभिन्न भूभागमा पुगेर उनीहरूले आफ्नो श्रम, बुद्धि र साहस ले नयाँ समाजमा अटल परिचय स्थापित गरेका छन्। तर, जतिसुकै टाढा पुगे पनि, उनीहरूको नाभी अझै पनि मातृभूमिमै गाँसिएको छ- भाषा, संस्कृति र भावनाको अटुट धागोमार्फत्।

अनलाइनखबरले सुरु गरेको ‘पौरखी प्रवासी’ शृङ्खला त्यही गौरवमय यात्राको गाथा हो। यो केवल व्यक्तिगत संघर्ष र पसिनाको कथा मात्र होइन, बरू विश्व मञ्चमा नेपालको सामूहिक पहिचानलाई उचाइ दिने प्रयासको दस्तावेज हो। हरेक प्रवासी नेपाली आफ्नो गन्तव्यमा नेपालको ‘ग्लोबल एम्बेसडर’ बनेर उभिएका छन्। उनीहरूले विश्वलाई देखाइरहेका छन्, ‘नेपालीहरू मेहनती, सहिष्णु र प्रतिभावान हुन्छन्।’

प्रवासी नेपालीहरूको महत्व केवल आर्थिक पक्षमा मात्र सीमित छैन, यद्यपि रेमिटेन्सले नेपालको अर्थतन्त्रको मेरुदण्डलाई सजीव राखेको छ। विदेशको तातो घाममा पसिना बगाउने श्रमिकदेखि अन्तर्राष्ट्रिय मञ्चमा उदाएका विज्ञ, उद्यमी र कलाकारहरूसम्म, उनीहरू सबैले नेपाललाई विश्वको नक्सामा चिनाएका छन्। उनीहरूको ज्ञान, सीप र नेतृत्व क्षमतालाई नेपालको समृद्धिको यात्रासँग जोड्नु अनिवार्य छ ।

सामाजिक र सांस्कृतिक दृष्टिले, प्रवासीहरू नेपालकै बहुरंगी स्वरूपलाई नयाँ ठाउँमा पुनः फूलाइरहेका छन्। चाहे नयाँ पुस्तामा नेपालीपनको बीउ रोप्ने कुरा होस् वा परदेशमा दशैँ–तिहार र तीजको उल्लास भर्ने कुरा, यी सबै अभ्यासले नेपालीपनलाई भौगोलिक सीमाभन्दा बाहिर फैलिएको ‘विश्व-चेतना’ बनाइदिएको छ।

जब कोही आफ्नो जन्मभूमिबाट टाढा जान्छ, उसले आत्मपहिचानलाई पुनःपरिभाषित गर्नुपर्छ। नयाँ समाज र संस्कृतिमा घुलमिल हुँदै उसले आत्मान्वेषणको यात्रा गर्छ। यही प्रक्रियामा नेपालीहरू केवल आर्थिक योगदानकर्ता मात्र नभई विश्व-संस्कृतिको सक्रिय अंग बनेका छन्, जसले भूमण्डलीय संस्कृतिमा नेपाली रङ घोलिरहेका छन्।

‘पौरखी प्रवासी’ संसारभर छरिएका ती अब्बल नेपालीहरूको प्रतिनिधिमूलक जीवनगाथा हो। उनीहरूको कथा सुन्नु भनेको श्रम, सीप, आशा, साहस र गौरव मिसिएको हाम्रो समयको सांस्कृतिक इतिहास पढ्नु जस्तै हो।

आउनुहोस्, हामी संसारभर छरिएका ती ‘पौरखी प्रवासी’हरूको कथा सुनौं, जसले आफ्नो मेहनतले नेपालको शिर उँचो बनाएका छन्ः

हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाको पकनी गाउँ । गोगने, पकनी, कटहरेका मानिसलाई आफ्नो खेतीपातीले वर्ष दिन पेटभरी खान समेत पुग्ने अवस्था थिएन ।

सडक सञ्जालले नजोडिएको, जुनेली रातको मन्ध उज्यालो र टुकी बत्तीमा रात कटाउनुपर्ने पकनीमा रेडियोको समाचार पनि एकाध घरमा मात्र सुन्न पाइन्थ्यो । प्रविधिको विकास एकादेशको कथा जस्तै थियो ।

वासु अर्याल त्यही गाउँको एउटा सामान्य किसान परिवारमा जन्मिए । विद्युत्को सुविधा समेत नभएको गाउँमा कम्प्युटर देख्ने त कुरै भएन । प्राथमिक कक्षामा कम्प्युटर देख्न नपाएका तिनै वासुले आज कम्प्युटर, मोबाइल वा डिजिटल उपकरणको ‘ब्रेन’ बन्ने प्रोसेसर निर्माण गरिरहेका छन् ।

****

वासुले पकनीको व्यास माविबाट चौथो कक्षा पास गरे । त्यसपछि उनको परिवार २०५० सालमा मकवानपुरकै मनहरी–९ ज्यामिरे बसाइँ सर्‍यो ।

२०५० सालको बाढीले पकनीका धेरै जनाको उठीबास लगाएको थियो । पूर्व–पश्चिम राजमार्गले छोएको, बिजुली र प्रविधिको सुस्त विकासले गाँसेको ज्यामिरेमा पढ्दै हुर्किए उनी । ज्यामिरेमा पूर्व–पश्चिम राजमार्गले जीवनलाई केही सहजता दिएको भए पनि प्रविधि अझै टाढाको कुरा थियो ।

वासुले मनहरीको महेन्द्रकिरण माविबाट २०५६ मा एसएलसी (हालको एसईई) पूरा गरे । उनी सानैदेखि पढाइमा अब्बल थिए । विद्यालय जीवनभर पहिलो हुने बानी बसाएका वासु गणित विषयको परीक्षामा शतप्रतिशत नतिजा ल्याउँथे । उनले कुनै पनि विषयमा ९० अंकभन्दा माथि नै ल्याउने गरेको महेन्द्रकिरण माविबाट सेवानिवृत्त शिक्षक मातृका सुवेदी बताउँछन् । एसएलसीमा ८६ प्रतिशत अंक ल्याए ।

तत्कालीन अवस्थामा सामुदायिक विद्यालयबाट ८६ प्रतिशत ल्याउने वासु जिल्लाको एक मात्र विद्यार्थी बने । कक्षा ८ को परीक्षामा पनि उनी जिल्ला प्रथम भएका थिए । काठमाडौंको सिद्धार्थ वनस्थलीले भीमफेदीको महेन्द्र माविमा आएर वासुलाई जिल्ला प्रथम भएपछि पुरस्कृत गरेको थियो । ‘त्यतिबेला जिल्ला प्रथम हुनेलाई सिद्धार्थ वनस्थलीले पुरस्कार दिने गरेको रहेछ । मलाई भीमफेदी बोलाएर पुरस्कृत गरिएको थियो’, वासुले विगत सम्झिए ।

वासुका बाबु बद्री अर्याल र आमा विष्णुमाया अर्याल सामान्य लेखपढ गर्न सक्ने थिए । अर्याल दम्पतीले कृषि पेशा गरेरै आफ्ना बालबालिकालाई शिक्षा–दीक्षा दिए । ६ दाजुभाइमा कान्छो वासुकी एक बहिनी छिन् । आफ्ना दाइहरूको प्रेरणाले नै पढ्नुपर्ने रहेछ भन्ने ज्ञान सानै उमेरदेखि आएको वासु सुनाउँछन् ।

दाजुहरू राजकुमार र जयराम अर्याल उनको प्रेरणाका स्रोत हुन् । उनी विद्यालयमा छँदै राजकुमार र जयराम काठमाडौंमा अध्ययनरत थिए । जयराम भन्छन्, ‘वासु सानैदेखि असाधारण विद्यार्थी थियो । उसले हरेक विषयको परीक्षामा ९० भन्दा कम अंक ल्याएको सुनेको छैन । कतिपय शिक्षकहरूले पूर्णाङ्क दिन नमिलेर घटाएरै नम्बर दिएको अनुभव सुनाउनुहुन्थ्यो ।’

गाउँदेखि राजधानीसम्म

एसएलसीपछि वासु त्रिचन्द्र कलेजमा विज्ञान संकायमा भर्ना हुन काठमाडौं आए । त्यहाँ अंग्रेजी माध्यमको पढाइका कारण शुरुमा कठिनाइ भोगेको उनी सुनाउँछन् । सरकारी विद्यालयमा पढेकाले भाषाको अवरोध थियो । तर आत्मविश्वास र कठोर मिहिनेतले उनले त्यो चुनौती पार गरे ।

त्रिचन्द्रबाट आईएस्सी पूरा गरेका उनले अमृत साइन्स क्याम्पसबाट बीएस्सी गरे । त्यसपछि त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्र विभागबाट सन् २००९ मा एमएस्सी सम्पन्न गरे । विज्ञान संकायमा अध्ययनरत असंख्य उत्कृष्ट विद्यार्थी बीच पनि उनले दोस्रो वा तेस्रो स्थान कायम राख्थे । एमएस्सीमा ८२ प्रतिशत अंक ल्याए ।

‘काठमाडौं आएर पढ्न थालेपछि शुरुमा मलाई अलि गाह्रो भयो । सरकारी स्कूलमा पढेकाले अंग्रेजी माध्यमबाट पढ्दा समस्या भयो शुरुमा । पछि धेरै मिहिनेत गरेर आफूलाई राम्रो गर्न सकें’ ‘उनी भन्छन्, ‘यहाँ देशभरका उत्कृष्ट विद्यार्थी मात्र पढ्न आउँछन् । तर पनि म विज्ञान संकाय पढ्दासम्म दोस्रो र तेस्रो हुन्थें परीक्षामा ।’

काठमाडौंमा कोठा भाडामा लिएर अध्ययन गर्नु पनि निकै चुनौतीपूर्ण थियो । तर पनि उनले विना छात्रवृत्ति विज्ञान संकायमै एमएस्सी सिध्याए ।

वासुले सन् २०१२ सम्म बागमती मोर्डन कलेज, सुकेधारामा रसायन विज्ञापन पढाउन थाले । उनले हेटौंडा फर्किएर हेटौंडा स्कुल अफ म्यानेजमेन्ट (एचएसएम)मा सन् २०१६ सम्म अध्यापन गरे । यत्तिकैमा उनलाई पूर्ण छात्रवृत्ति सहित अमेरिकामा पीएचडी गर्ने अवसर मिल्यो । सोही वर्ष अगस्टमा वासु अमेरिका हान्निए ।

प्रोसेसर (चिप) निर्माण यात्रा

अनि शुरु भयो उनको विश्वलाई डिजिटल युगमा प्रवेश गराउने कम्प्युटरको ‘ब्रेन’ भनिने प्रोसेसर (चिप) निर्माणको यात्रा । अमेरिकाको युटा प्रान्तको प्रोभो शहरस्थित ब्रिङ्हम योङ युनिभर्सिटी (बीवाईयू) बाट उनले एनालिटिकल केमेस्ट्रीमा विद्यावारिधि गरे । सन् २०२१ मा विद्यावारिधि सकेका वासुले युनिभर्सिटीमा रहेको प्रोफेसरहरूको ल्याबमा अनुसन्धानात्मक काम गर्दै मासिक २२०० डलर कमाउन थालेका थिए ।

न्यानो फ्याब्रिकेसन रिसर्च प्रोजेक्ट मार्फत आँखाले नदेखिने पदार्थ प्रयोग गरेर नयाँ वस्तुको विकास गर्ने अनुसन्धानात्मक कार्य गरेको वासुले बताए । उनले २०२१ जुलाईदेखि २०२४ जूनसम्म युनिभर्सिटी अफ टेक्सस, एट अस्टिनको रसायनशास्त्र विभागमा अनुसन्धानकर्ताको रूपमा काम गरेका छन् । त्यसपछि वासुले ओरेगन प्रान्तको हिल्सबोरो शहरस्थित इन्टेल कर्पोरेसनमा प्रोसेस इन्जिनियरको रूपमा काम शुरु गरे ।

इन्टेल कर्पोरेसन कम्प्युटर, ल्यापटप, मोबाइल उपकरणदेखि उन्नत डेटा सेन्टरसम्मलाई शक्ति प्रदान गर्ने प्रोसेसर उत्पादक कम्पनी हो । गाउँमै हुर्किएका उनी आज विश्वका करोडौं मानिसको जीवनशैलीलाई बदल्ने प्रविधिको विकासमा योगदान गरिरहेका छन् । जुन स्थानीयस्तरमा मात्र नभई नेपालको लागि पनि गर्वको विषय बनेको छ ।

१९६८ मा स्थापना भएको इन्टेल कर्पोरेसन अर्धचालक (सेमिकन्डक्टर) प्रविधिमा विश्वकै अग्रणी कम्पनी हो । यसले व्यक्तिगत कम्प्युटर, ल्यापटप, मोबाइल उपकरणदेखि उन्नत डेटा सेन्टरसम्मलाई शक्ति प्रदान गर्ने प्रोसेसर उत्पादन गर्छ । कम्पनीले कृत्रिम बौद्धिकता (एआई), फाइभ–जी नेटवर्क, क्लाउड कम्प्युटिङ र अत्याधुनिक चिप निर्माण प्रविधिमा योगदान दिंदै आएको इन्जिनियर वासु बताउँछन् ।

इन्टेल कर्पोरेसनले हालसम्मकै सानो आकारमा १८ ए (१.८ न्यानोमिटरको ट्रान्जिस्टरयुक्त प्रोसेसर) को मदर बोर्डमा लाग्ने माइक्रो प्रोसेसर (चिप) निर्माण गरिरहेको छ । जुन कार्यमा खटिएका छन् वासु । १.८ न्यानो मिटरको प्रोसेसरले अत्यधिक कार्यक्षमता राख्ने उनी बताउँछन् । यो विकास गर्न सकिए विश्वव्यापी कम्प्युटिङको स्वरूपलाई अझै परिमार्जन गर्ने अपेक्षा लिएको र हालसम्मकै ठूलो उपलब्धि मानिने उनले बताए । ‘जति सानो प्रोसेसर भयो त्यति एड्भान्स प्रविधि मानिन्छ । हामी दैनिक यसकै अनुसन्धानमा खटिन्छौं’, वासु भन्छन् ।

चिप निर्माणमा प्रयोग हुने सूक्ष्म प्रविधिहरूलाई स्थिर, छिटो र उच्च गुणस्तरीय बनाउन निरन्तर अनुसन्धान र परीक्षणको काम भइरहेको उनको भनाइ छ । वासु भन्छन्, ‘इन्टेल जस्तो कम्पनीमा प्रोसेसर उत्पादनको क्षेत्रमा काम गर्न पाउनु गर्वको विषय हो । यसबाट देशले पनि केही सिकोस् भन्ने लाग्छ ।’

अमेरिकामा रहेका इन्टेल कम्पनीमध्ये हिल्सबोरोस्थित इन्टेल कर्पोरेसन नयाँ प्रविधिको प्रोसेसर विकासमा अनुसन्धान गर्ने मुख्य कार्यालय हो । ‘यहाँ विकास भएका प्रोसेसरहरू उत्पादनका लागि बाहिर पठाउँछौं । कम्पनीका अन्य निकायहरूबाट पनि उत्पादन हुने गर्छ’, वासुले भने ।

इन्टेलमा वार्षिक तलब मात्र १ लाख ३१ हजार अमेरिकी डलर पाउने वासुको आम्दानी नेपाली रुपैयाँमा करिब दुई करोड बराबर हुन्छ । तर उनको दृष्टि व्यक्तिगत आर्थिक उपलब्धिमा मात्र सीमित छैन । ‘हामी सधैं सोच्ने गर्छौं– यो सीपलाई नेपालमा कसरी उपयोग गर्न सकिन्छ ?’ वासु भन्छन्, ‘नेपालमै ठूला चिप उत्पादन उद्योग तत्काल सम्भव छैन । तर अनुसन्धान र आधारभूत प्रविधिको विकास शुरु गर्न सकिन्छ ।’

उनका अनुसार त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा साना स्तरमा अनुसन्धान प्रयास भइरहेको देखिन्छ । तर बृहत् र दीर्घकालीन दृष्टि भएको लगानी आवश्यक छ ।

इन्टेलकै मलेसिया लगायतका अन्य देशमा पनि कम्पनी रहेको बताउँदै उनले नेपालमा भने तत्काल प्रोसेसर उत्पादन गर्न सकिने अवस्था नरहेको जनाए । यसका लागि ठूलो लगानी लाग्ने उनको भनाइ छ । ‘आफ्नो देशलाई फाइदा पुगोस् भन्ने त लाग्छ । यसको लागि राम्रो टिम आवश्यक छ । नेपालमा काम गर्ने हाम्रो सोच भने छ’, उनले सुनाए ।

विश्वभरका करोडौँ प्रयोगकर्ताले चलाइरहेको कम्प्युटर, मोबाइल वा डिजिटल उपकरणको ‘ब्रेन’ बन्ने प्रोसेसर निर्माणमा नेपालका ग्रामीण पृष्ठभूमिबाट हुर्किएका एक युवकको योगदान जोडिनु आफैंमा प्रेरणादायी छ । वासुको सफलतामा उनका दाजु जयराम गर्व गर्छन् । उनी भन्छन्, ‘उनी जस्तो युवकले विदेशमा बसेर आफ्नो सीप विश्वस्तरमा प्रस्तुत गर्नु व्यक्तिगत मात्र नभई देशकै पहिचान बढाउने माध्यम हो ।’

लेखक
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?