+

हङकङ सिक्सेस : यस्तो प्रतियोगिता जहाँ जति हारेपनि खेलिरहन पाइन्छ

२०८२ कात्तिक  २४ गते १५:१२ २०८२ कात्तिक २४ गते १५:१२
हङकङ सिक्सेस : यस्तो प्रतियोगिता जहाँ जति हारेपनि खेलिरहन पाइन्छ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा पाकिस्तानले कुवेतलाई हराउँदै उपाधि जितेको छ।
  • नेपालले यस पटक समूह चरण पार गर्न सकेन र १२ टोलीमध्ये ११औं स्थानमा रह्यो।
  • सन्दीप जोराले सर्वाधिक १७६ रन बनाएका छन् भने राशिद खानले सर्वाधिक ९ विकेट लिए।

२४ कात्तिक, काठमाडौं । हङकङमा आइतबार हङकङ सिक्सेस क्रिकेट सम्पन्न भयो । तीन दिनसम्म चलेको प्रतियोगिताको फाइनलमा कुवेतलाई हराउँदै पाकिस्तानले उपाधि जित्यो ।

अघिल्लो संस्करणबाट नेपालले भने यस प्रतियोगितामा सहभागिता जनाउन थालेको छ । गत संस्करण अस्ट्रेलिया र इंग्ल्यान्डजस्ता टोलीलाई हराएर क्‍वाटरफाइनलसम्म पुगेको नेपाली टोली यसपटक भने समूह चरण पार गर्न सकेन ।

यो प्रतियोगिता सामान्य प्रतियोगिता भन्दा फरक छ । यसमा केवल ६ जनाले मात्र खेल्छन् अनि ओभर पनि ६ मात्रै हुन्छ ।

यो प्रतियोगितामा हरेक बलमा छक्का मात्रै प्रहार गर्न सक्दो प्रयास गरिन्छ । र यसको मुख्य विशेषता भनेको यहाँ जति खेल हारेपनि खेलिरहन पाइन्छ ।

मुख्य प्रतियोगिताको विजेतालाई कप विनर भन्ने गरिन्छ भने क्‍वाटरफाइनलसम्म पुगेर बाहिरिएकाले अर्को छुट्टै नकआउट खेलेर प्लेट विनर हुन्छन् भने समूह चरणबाट बाहिरिनेले लिग खेलेर विजेता हुनेलाई बाउल विनर टाइटल दिइन्छ ।

प्रतियोगिताको फर्म्याट

यो प्रतियोगिता सन् १९९२ देखि हङकङमा सुरु भएको थियो । त्यसयता सन् २०१७ सम्म लगातार भएको प्रतियोगिता त्यसपछि रोकिएर गतवर्षबाट फेरि सुरु भयो ।

यो प्रतियोगिताका खेलहरू ६ ओभरको मात्र हुन्छन् र खेलाडी पनि ६ जना मात्र खेल्छन् जसको लक्ष्य हरेक बलमा छक्का प्रहार गर्नु हुन्छ । त्यहीकारण प्रतियोगिताको नाम नै ‘सिक्सेस’ राखिएको छ ।

यस खेलका लागि मैदान पनि तुलनात्मक रूपमा सानो हुन्छ । ६ जना मात्र खेलाडी खेल्ने हुँदा बलर र विकेटकिपरबाहेक फिल्डरहरू ४ जना मात्र हुन्छन् । त्यहीकारण ब्याटरहरू हरेक बलमा ठुलो शट खेल्छन् ।

ब्याटिङ र बलिङमा अर्को रोचक नियम छ । ब्याटरले ५० रन बनाएपछि स्वत: रिटायर हुनुपर्छ र अन्तिम विकेट बाँकी हुँदा मात्र फेरि फर्किएर खेल्न पाइन्छ । पाँच विकेट झरिसकेपछि पनि एकजना ब्याटर एक्लै खेल्न पाउँछन् र अर्कोले रनिङमा साथ दिन क्रिजमै बस्छन् ।

बलिङ पनि विकेटकिपर बाहेक सबैले गर्नुपर्ने हुन्छ र एकजनाले मात्र २ ओभर गर्न पाइन्छ ।

यो प्रतियोगिताका लागि विशेषत: अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका खेलाडीहरू समावेश गरेर टोली पठाइन्छ । ६ जना मात्र खेलाडी हुने हुँदा ब्याटिङ बलिङ दुवैमा सक्षम भएका खेलाडी चयन हुन्छन् ।

जति हारेपनि खेलिरहने

यस प्रतियोगितामा चार समूहमा ३-३ टोलीहरू राखिएका हुन्छन् । हरेक समूहबाट शीर्ष २ टोलीहरू नकआउट चरणमा प्रवेश गर्छन् । सामान्यतया हामीले कुनै टोली समूह चरणबाट बाहिरिँदा त्यसपछि घर फर्कने देख्दै आएका छौं ।

तर हङकङ सिक्सेसमा भने रोचक ट्‍वीस्ट छ । समूह चरणबाट बाहिरिनेहरू छुट्टै लिगमा खेल्छन् र त्यसको उपाधिका लागि फाइनलसम्म खेल्छन् । नकआउटबाट बाहिरिनेका लागि पनि त्यस्तै प्रावधान छ ।

समूह चरणबाट क्‍वाटरफाइनलमा पुगेका टोलीहरूले सेमिफाइनल प्रवेशका लागि खेल्छन् । क्‍वाटरफाइनलबाट बाहिरिनेहरूले प्लेट सेमिफाइनल खेल्छन् । यता समूह चरणबाट बाहिरिनेहरू भने बाउल चरणमा खेल्छन् ।

सेमिफाइनल जित्ने टोलीहरू फाइनल पुगेर उपाधिका लागि खेल्दा सेमिफाइनलबाट बाहिरिनेहरू तेस्रो र चौथो हुनेछन् ।

क्वाटरफाइनलबाट बाहिरिएका चार टोलीहरूले खेलेको प्लेट सेमिफाइनल खेलबाट फाइनल पुगेर उपाधि जित्ने टोलीलाई प्लेट विनर र उपविजेतालाई प्लेट रनर अप भनिन्छ ।

बाउलमा खेल्ने चार टोलीमध्ये शीर्ष २ ले बाउल फाइनल खेल्नेछन् । फाइनल जित्ने टोली बाउल विनर र उपविजेता बाउल रनर अप हुन्छन् ।

यसरी प्रतियोगितामा हरेक टोलले जति खेल हारेपनि कम्तीमा ५ खेल खेल्ने निश्चित हुन्छ । बाउल लिगको फाइनलमा पुग्ने टोलीले एक खेल अझै बढी खेल्न पाउँछन् ।

नेपालको प्रदर्शन

नेपालले गत संस्करण (२०२४) बाट मात्र सहभागिता जनाउन थालेको हो । पहिलो सिजन सन्दीप जोराको कप्तानीमा नेपालले समूह चरण पार गरेर क्‍वाटरफाइनलसम्म पुगेको थियो ।

समूह चरणमा अस्ट्रेलिया र इंग्ल्यान्ड दुवैलाई हराएको नेपाल क्‍वाटरफाइनलमा श्रीलंकासँग पराजित भएको थियो ।  त्यसपछि प्लेट सेमिफाइनलमा यूएईसँग पराजित भएर नेपाल सातौं भएको थियो ।

यस्तै यसपटक शरद भेषावकरलाई कप्तान बनाइएपनि एक खेल मात्र खेले । सन्दीपले नै ५ खेलमा कप्तानी गर्दा नेपालले समूह चरणमा अफगानिस्तानदक्षिण अफ्रिकासँग हार बेहोरेर बाउल लिग खेलेको थियो ।

बाउल लिगमा नेपाल श्रीलंकायूएईसँग पराजित भयो भने भारतलाई मात्र हराउन सक्यो । नेपाल १२ टोलीमध्ये ११औं स्थानमा रह्‍यो ।

नेपाल ११औं भएपनि नेपाली ब्याटर सन्दीप जोराले प्रतियोगिताकै सर्वाधिक (१७६) रन तथा राशिद खानले सर्वाधिक ९ विकेट लिए ।

हङकङ सिक्सेस क्रिकेट
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय