+
+
Shares

नेकपा एमालेको ११औँ महाधिवेशन : उद्घाटन समारोह Live Updates

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २७ गते १२:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र २७ मंसिर, भक्तपुरको तीनकुने स्थित नेपाल ट्रष्टको मैदानमा सुरु भएको छ।
  • एमालेले उद्घाटन समारोहमा उपत्यकाको संस्कृति झल्काउने कलात्मक मञ्च बनाएको छ र विविध जातजातिको कला-संस्कृति झाँकी प्रदर्शन गर्ने जनाएको छ।
  • उद्घाटन समारोहमा १६ राजनीतिक दललाई आमन्त्रण गरिएको छ र बन्दसत्रमा नयाँ नेतृत्व चयन गरिनेछ।

२७ मंसिर, काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र शनिबार भक्तपुरको तीनकुने स्थित नेपाल ट्रष्टको मैदानमा सुरु भएको छ ।

एमालेले उद्घाटन समारोह भव्य बनाउन १०८ रोपनी चौरमा उपत्यकाको संस्कृति झल्कने आकर्षक र कलात्मक मञ्च बनाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनमा नेपालको सांस्कृतिक विविधता झल्काउने विविध जातजातिको कला-संस्कृति प्रस्तुत गर्ने झाँकी प्रदर्शन गर्ने पार्टीले जनाएको छ ।

उद्घाटन समारोहमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी लगायत १६ राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको एमालेले जानकारी दिएको छ । कार्यक्रमलाई व्यवस्थित बनाउन ५ सय बढी स्वयंसेवक ड्रेसकोडसहित खटिएका छन् ।

आइतबार र सोमबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ ।

यहाँ हामी उद्घाटनसत्रको live Update गर्नेछौंः

Live Updates

४० ताजा अपडेट
5 months ago, 16:37:54
सकियो उद्घाटन सत्र, बन्द सत्र आइतबारदेखि

नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्र सकिएको छ ।

महाधिवेशनको बन्द सत्र आइतबार र सोमबार काठमाडौंको भृकुटीमण्डपमा हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

5 months ago, 16:15:50
एमालेलाई राप्रपाको प्रस्ताव - नयाँ समझदारी बनाएर जाऔं

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको निर्णायक संकटमा परेका बेला नयाँ समझदारीका साथ अघि बढ्नुपर्ने बताए ।

लिङ्देनले संविधान ब्युँताएर मुलुकलाई थप दुर्घटनामा लाने भन्द संकटका समाधानका लागि नयाँ समझदारीका साथ अघि बढ्नुपर्ने बताए ।

उनले सरकार, दल र पूर्व राजासहित नयाँ समझदारी गरेर देशले जित्ने निर्णय गर्नुपर्नेमा जोड दिए । भाद्र २३ र २४ को घटनामा कसैको उक्साहट हुनसक्ने भन्दै उनले त्यसका साथै २५–३० देखिको निषेधको राजनीति, कुशासन र बेरोजगारी समेत प्रमुख कारण भएको बताए ।

उनले मुलुकको वर्तमान अवस्थालाई विश्लेषण गर्दै एमालेले उचित मार्गदिशा तय गर्ने विश्वास व्यक्त गरे ।

5 months ago, 16:12:16
कम्युनिस्ट शक्तिहरूको एकताको विकल्प छैन : देव गुरुङ

नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले मुलुकमा कम्युनिस्ट शक्तिहरू एकताको विकल्प नरहेको बताए ।

मुलुकलाई संकटबाट निकास दिन पनि नेपालका सबै कम्युनिस्ट शक्तिबीचको एकता अनिवार्य शर्त बनेको उनले बताए ।

मुलुकको राष्ट्रियता सबैभन्दा बढी संकटमा पुगेको औँल्याउँदै त्यसबाट मुलुकलाई पार लगाउन कम्युनिस्टहरूबीचको वृहत्तर एकता र लोकतान्त्रिक देशभक्त शक्तिहरूबीचको सहकार्यका साथ अघि बढ्नुपर्ने अवस्था आएको तर्क गरे ।

5 months ago, 15:41:49
जेनजी विद्रोहबारे आयोगले निष्पक्ष छानबिन गरोस्- पूर्णबहादुर खड्का

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का २३ र २४ भदौमा भएको घटनाको उच्च स्तरीय न्यायीक छानबिन आयोगले बिना आग्रह–पूर्वाग्रह छानबनि गर्नुपर्ने बताए ।

‘यी दुवै घटनाहरूको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउन गठित उच्च स्तरीय न्यायीक छानबिन आयोगले आग्रह, पूर्वाग्रह, दबाब र प्रभावबाट मुक्त भइ निष्पक्ष प्रतिवेदन तयार गर्नुपर्दछ,’ कार्यवाहक सभापति खड्काले भने ।

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि सरकारले लगाएको स्थानहदले धेरै प्रश्नहरू उब्जाएको पनि बताए । ‘यही क्रममा नेताहरूका स्थानहदका निर्णयहरू लगायतका कार्यहरूले धेरै प्रश्न हरू उठाएका छन्,’ खड्काले भने, ‘त्यसैले यसतर्फ आयोग सतर्क हुन जरूरी छ । सचेततापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न जरूरी छ ।’

5 months ago, 15:26:20
ओलीको लिखित सम्बोधनमा के थियो ?
5 months ago, 15:19:34
मुख्य अतिथिहरू अघि किन बोले ओली ?

एमालेको ११ औं उद्घाटन सत्रमा केही अतिथिहरूले महाधिवेशन सफलताको शुभकामना दिएपछि बीचमा अध्यक्ष केपी ओलीले लामो सम्बोधन गरे । यसपटक लिखित सम्बोधन गरेका ओलीले मन्तव्यको क्रममा लिखित भाषणलाई केही \'कस्टमाइज\' गरेर बोले ।

उनले सकेपछि अब नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुभकामना दिइरहेका छन् ।  नेकपाका नेता देव गुरुङ लगायतका केही नेताहरूले सम्बोधन गर्न बाँकी नै छ ।

ओलीले सम्बोधन गरेपछि कार्यक्रम सञ्चालक प्रदीप ज्ञवालीले अतिथि देवो भव भन्दै नेपाली संस्कार सम्झाए ।

आमन्त्रित नेताहरूले बोल्नुअघि नै ओलीले किन सम्बोधन गरे ?

सबै नेताले बोलिसक्दा सहभागीहरू घर फर्कन थालिसक्ने हुनाले ओलीले आफ्नो कुरा अधिकतम् मासलाई सुनाउन चाहेको देखिन्छ ।

 

5 months ago, 14:59:53
ओलीले भने- चुनावबाट भाग्दैनौं, बहुमत ल्याउँछौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी चुनावबाट भाग्छ भन्ने कसैलाई नसोच्न आग्रह गरेका छन् ।

डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने आफ्नो पार्टीको रहेको उनको भनाइ छ ।

‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ,’ उनले भने।

5 months ago, 14:56:59
कसरी यहाँसम्म आइपुग्यो एमाले- समयरेखामा हेर्नुहोस्-
5 months ago, 14:52:31
एमाले महाधिवेशनमा सहभागी प्रतिनिधिहरू के भन्छन् ?

‘जेनजीले भन्न त नया पुस्ता भनेको छ । तर म पनि जेनजी हुँ । भन्नेले के के भन्छन् । तर एकपटक केपी बा आउनु पर्छ’, दाङकी २० वर्षीया आकृति रोकाय भन्छिन् ।

एमाले नेतृत्वबारे प्रतिनिधि : ओली र पोखरेलदेखि पुस्तान्तरण र हस्तान्तरणको पक्षमा

5 months ago, 14:41:56
कुर्सीमा नेता कार्यकर्ता : कति छन् एमाले महाधिवेशनमा सहभागीहरू ?

एमाले महाधिवेशनमा व्यवस्थापकले २० हजार कुर्सी राखेको जानकारी दिएका छन् । कति छन् महाधिवेशनमा सहभागी ? हेर्नुहोस् तस्वीहरूः

5 months ago, 14:36:44
अनिर्वाचित सरकार हामीलाई मान्य छैन - ओली


एमाले अध्यक्ष ओलीले आजको युगमा अनिवार्चित सरकार एमालेलाई मान्य नहुने बताएका छन् । ११औं महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले हिंसा होइन, शान्तिपूर्ण प्रयासबाट सरकार बदल्न सकिन्छ भन्ने एमालेले विश्वास गर्ने बताए ।

5 months ago, 14:31:59
महाधिवेशनमा ओली उद्घोष- एमाले अजम्बरी छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र एमाले अजम्बरी रहेको दाबी गरेका छन् ।

शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले तीन महिनाअघि भएको जेनजी आन्दोलनको स्मरण गर्दै देश युद्धभूमिजस्तै जलेको बताए ।

‘जतिबेला देश युद्धभूमिजस्तै जलिरहेको थियो । आतताहीबाट जलाइएको थियो । जतिबेला संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलमाथि भीषण हमला गरिएको थियो,’ ओलीले भने, ‘एउटा भाष्य निर्माण गर्ने कोशिस भइरहेको थियो । पूराना पार्टी सकिए, पूराना नेताका दिन गए र नेकपा एमालेको सान्दर्भिकता समाप्त भयो ।’

5 months ago, 14:31:11
एमाले महाधिवेशनमा ओलीको प्रशंसा गर्दै रञ्जिता


नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेकी छन् ।

एमालेको ११ औं महाधिवेशनको उद्धघाट्न सत्रमा बोर्ल्दै रञ्जिताले जनसागर उर्लिएको बताइन् ।

‘राष्ट्रको आगामी मार्गचित्र कोर्ने रणनीतिक क्षण पनि हो । हामी यहाँ इतिहासको साक्षी हुन मात्रै होइन । साझा संकल्प बोकेर पनि उपस्थित भएका छौं,’ रञ्जिताले भनिन्, ‘विशेष गरि नाकाबन्दीको समयमा राष्ट्रियता र स्वाभिमानको अडानलाई विश्वसामू स्थापित गर्न नेकपा एमालेले खेलेको भूमिका र देखाएको नेतृत्व एकदमै प्रशंसीय छ ।’

एमाले अध्यक्ष ओलीको राष्ट्र केन्द्रित दृढता रहेको उल्लेख गर्दै खुलेर प्रशंसा गर्ने उनले बताइन् ।

5 months ago, 14:29:24
एमालेले संविधान संशोधनको अगुवाई गरोस्- लोसपा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महासचिव सुरेन्द्र झाले संविधान संशोधनको लागि अगुवाइ गर्न एमालेलाई आग्रह गरेका छन् ।

भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा एमालेको ११औं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

‘यो संविधान चलायमान बनाउने हो भने संशोधन अनिवार्य छ’ उनले भने ।

२०७२ सालमा जारी संविधान मृत अवस्थामा पुगेको उल्लेख गर्दै उनले भने, ‘यो संविधानमा धेरै कुरा गर्व गर्न लायक छ । तर मिलाउनुपर्ने पनि छ । यो संविधानमा हामीले हस्ताक्षर पनि गर्न पाएनौं ।’

5 months ago, 14:22:57
केही अतिथिले सम्बोधन गरेपछि ओलीले सुरु गरे सम्बोधन

एमाले अध्यक्ष केपी शर्मा ओली महाधिवेशनलाई सम्बोधन गर्न थालकेा छन् । कार्यक्रममा बोलाइएका प्रमुख दलका प्रतिनिधिहरूले बोलिनसक्दै उनले सम्बोधन सुरु गरेका हुन् ।

ओलीले भने- यहाँ उपस्थित एमाले महासागरको एउटा थोपा मात्रै हो । यहाँ आएका मात्रै एमाले हुन् भन्ने नसोचियोस् ।

5 months ago, 14:14:11
सरकार असंवैधानिक भन्दै एमालेलाई जनमोर्चाको शुभकामना
  • राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेकपा एमालेको ११औं महाधिवेशनले सही नेतृत्व चयनमा भूमिका खेलोस् भनेर शुभकामना दिएका छन्।
  • भट्टले जेनजी आन्दोलनपछि सरकार अपदस्त र प्रतिनिधिसभा विघटन भएको भन्दै वर्तमान सरकार गठनलाई असंवैधानिक भनेका छन्।
  • उनले एमालेको महाधिवेशनले राजनीतिक कमजोरी र जनजिविकाको सवाल सम्बोधन गर्न समीक्षा गर्नुपर्ने सुझाव दिएका छन्।
5 months ago, 14:06:42
२३ र २४ भदौको घटनामा ओलीलाई जिम्मेवार देखाउने दुष्प्रयास गरियो : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत २३ र २४ भदौको घटनामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारको रूपमा चित्रण गर्ने दुष्प्रयास गरिएको बताएका छन् ।

‘…केपी शर्मा अ‍ोलीका विरुद्धमा जुन प्रकारले प्रचारबाजी गरियो । एक प्रकारले भन्ने हो भने, २३ र २४ भदौको घटनामा हाम्रो पार्टीका अध्यक्षलाई जिम्मेवारको रूपमा चित्रण गर्ने दुष्प्रयास गरियो,’ उनले भने ।

5 months ago, 14:05:25
मनोनीत प्रतिनिधिको सूचीमा ईश्वर पोखरेलको असहमति

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनोनीत प्रतिनिधिहरूमा आफ्नो असहमति राखेका छन् ।

शुक्रबार बसेको पार्टी सचिवालय बैठकले १ सय ८ जना प्रतिनिधिहरू मनोनीत गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार, शनिबार उद्घाटन सत्र सुरु हुनुअघि प्रकाशित नामावलीमा पोखरेलले आपत्ति जनाएका हुन् ।

5 months ago, 14:04:46
एमाले महाधिवेशनमा को को पुगे प्रमुख दलका नेताहरू ?

उद्घाटन कार्यक्रममा शुभकामना दिन नेपाली कांग्रेसका कार्यवहाक सभापति पूर्णबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लव, नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ लगायत पुगेका छन् ।

5 months ago, 14:01:51
रास्वपा महामन्त्री बुर्लाकोटी महाधिवेशनस्थलमा

रास्वपाका महासचिव कविन्द्र बुर्लाकोटी नेकपा एमालेको महाधिवेशनमा शुभकामना दिन पुगेका छन् ।

5 months ago, 13:59:55
महाधिवेशन चलिरहँदा एमाले नेता रास्वपा प्रवेश

भक्तपुरमा एमालेको ११औं महाधिवेशनको उद्घाटन सत्र चलिरहँदा एमाले रुपन्देही सचिव एवं पूर्व मेयर चित्र कार्की रास्वपामा प्रवेश गरेका छन् । कार्कीले एमाले उपाध्यक्ष विष्णु पौडेलका पूर्व स्वकीय सचिव रहेर लामो समय काम गरेका थिए ।

 

5 months ago, 13:53:33
देव गुरुङ पुगे एमाले महाधिवेशन स्थल

नेकपा एमालेको ११औं महाधिवेशनमा नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङ पुगेका छन् ।

जनमत पार्टीका उपाध्यक्ष बसन्त कुसवाहा पनि अतिथिका रूपमा एमाले महाधिवेशन स्थलमा पुगेका छन् ।

5 months ago, 13:40:44
महाधिवेशन उद्घाटन गर्दै केपी शर्मा ओली

एमाले अध्यक्ष केपी ओलीले पार्टीको ११औं महाधिवेशनको उद्घाटन गर्दैछन् । सञ्चालक प्रदीप ज्ञवालीले उद्घाटन प्रविधिमैत्री हुने बताएका छन् ।

ओलीले रिमोटबाट कम्युनिस्ट झन्डा फर्फराएर महाधिवेशन उद्घाटन गरेका छन् ।

5 months ago, 13:37:08
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन एमालेको महाधिवेशन स्थलमा पुगेका छन् ।

यस्तै, जनमोर्चा महासचिव मनोज भट्ट पनि त्यहाँ पुगेका छन् ।

 

5 months ago, 13:35:07
एमाले महाधिवेशन : मनमोहनजस्ता देखिने बिसी, ह्वीलचियरबाटै क्लस्टर खोज्दैछन् गौतम

भीडमा देशभरका विभिन्न कुनाबाट आएका पार्टीका शुभचिन्तक, प्रतिनिधिदेखि लामो बुढेसकालसम्म एमालेकै राजनीतिमा रमाएकाहरूसम्म भेटिन्छन् ।

5 months ago, 13:31:32
एमाले अनेक धक्का चिरेर पनि धरहरा जस्तै उठ्छ : प्रदीप ज्ञवाली

२७ मंसिर, काठमाडौं । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल जस्तै गौरव बोकेर र धरहरा जस्तै अनेक धक्का चिरेर पनि उठ्ने शक्ति भएको बताएका छन् ।

एमालेको ११ औं महाधिशवेशनको उद्घाटन समारोहमा बोल्दै उनले महाधिवेशनमा राखिएको न्यातपोल दरबार र धरहराको राख्नुको कारण उल्लेख गरेका छन् ।

उनले भने, \'न्यातपोल दरबारले चार चारवटा भूकम्प झेलेको छ र पनि गौरवको रुपमा रहेको छ । धरहरा हामीले नवनिर्माणको प्रतीकको रुपमा राखेका छौं ।\'

उनले धरहरा नवनिर्माणको प्रतीकको रुपमा रहेकोको उल्लेख गर्दै जस्तै धक्का चिरेर पनि एमाले उठ्ने बताए ।

उनले थपे, \'हामीले सन्देश दिन खोजेका छौं । न्यातपोलको गौरवशाली इतिहास जस्तै र धरहरा जस्तै धरहरा जस्तै धक्का चिरेर उठ्न सक्छौं ।\'

5 months ago, 13:30:28
महाधिवेशन स्थलमा पुगे ओली, शंकर पोखरेल स्वागत गर्दै

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थलमा पार्टी अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । भक्तपुरको तीनकुनेस्थित नेपाल ट्रष्टको मैदानमा केही बेरअघि अध्यक्ष ओलीको आगमनसँगै महाधिवेशन औपचारिक उद्घाटनतर्फ अग्रसर भएको छ ।

कार्यक्रमस्थलमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा अन्य पदाधिकारीहरू यसअघि नै पुगिसकेका छन् । ओली कार्यक्रमस्थल प्रवेश गरेसँगै नेता तथा कार्यकर्ताहरूले नाराबाजी र तालीका साथ स्वागत गरे ।

5 months ago, 13:26:09
भदौ २३ गते घुसपैठियाहरूबाट युवाहरू मारिए - प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भदौ २३ गते घुसपैठियाहरूबाट जेनजी युवाहरू मारिएको जिकिर गरेका छन् ।

नेकपा एमालेको ११औं महाधिवेशन उद्घाटन सत्रमा उनले उक्त कुरा बताएका हुन् ।

5 months ago, 13:22:35
विप्लव पुगे एमाले महाधिवेशनमा

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा एमालेको महाधिवेशनको उद्घाटन सत्रमा पुगेका छन् । उनी त्यहाँ पुगेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

5 months ago, 13:21:47
सुरु भयो एमाले महाधिवेशन, राष्ट्रगानपछि अन्तर्राष्ट्रिय गीत

नेकपा एमालेको ११औं महाधिवेशन सुरु भएको छ । कार्यक्रम सञ्चालक उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय गान र अन्तर्राष्ट्रिय गीत गायनका लागि आह्वान गरेका छन् ।

राष्ट्रिय गान गाइए पनि अन्तर्राष्ट्रिय गीत बजेन । प्राविधिक समस्या रहेको कार्यक्रम सञ्चालकले जानकारी दिएका छन् ।

5 months ago, 13:19:35
कस्तो छ सुरक्षा व्यवस्था ?

एमाले महाधिवेशन स्थलमा दुई हजार ५०० सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।

महाधिवेशन उद्घाटनस्थलको सुरक्षालाई ध्यानमा राख्दै बम विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले आज बिहान जाँच गरेको जानकारी दिँदै सुरक्षा व्यवस्थालाई कडा पारिएको प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिएका छन् ।

उनले बम डिटेक्टर उपकरण प्रयोग गरी मञ्च, सभास्थल र वरपरका क्षेत्रमा सुक्ष्म जाँच गरेको जानकारी दिँदै सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका प्रहरी गरी दुई हजार ५०० सुरक्षाकर्मी उद्घाटनस्थलमा तैनाथ गरिएको जानकारी दिए ।

सुरक्षाको व्यवस्थामा कुनै कमी नरहने गरी व्यवस्थापन गरेको जानकारी दिँदै उनले सिसी क्यामराबाट निगरानी गर्ने टोलीसमेत खटाएर सुरक्षा निगरानी गरिरहेको बताए ।

सभास्थलका साथै र्‍याली आउने स्थल, सडक, पार्किङस्थललगायत क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका सुरक्षाकर्मी तैनाथ गरिएको जानकारी दिए । कार्यक्रमस्थलमा कहिकतै शङ्कास्पद गतिविधि भएको देखिए तत्कालै पक्राउ गर्ने गरी तयारी गरेको उनले जानकारी दिए । रासस

5 months ago, 13:15:04
महाधिवेशनस्थलमा यस्तो छ पार्किङको व्यवस्था

महाधिवेशनको उद्घाटन सत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने सवारीसाधनका लागि निम्ति कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा आउन सकिने र गठ्ठारघमार रहेको नागरिक उड्डयन प्राधिकरणको खाली चौरमा तथा काभ्रे हुँदै आउने सवारीका लागि जगातीस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था गरिएको आयोजकले जनाएको छ । गठ्ठाघर र जगातीबाट भव्य र्‍याली कार्यक्रमस्थल आउने गरि व्यवस्था गरिएको जानकारी दिएको छ ।

5 months ago, 13:09:41
एमाले महाधिवेशनमा ५० भन्दा बढी सिसी क्यामरा

एमालेको ११औं महाधिवेशन उद्घाटनस्थलको मञ्च, मञ्च प्रवेश गर्ने गेट, आसपासका क्षेत्र र सभास्थलको बीच तथा वरिपरिका क्षेत्रमा ५० भन्दा बढी सिसी क्यामरा जडान गरिएको छ । एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले कार्यक्रमस्थलमा ५० भन्दा बढी सिसि क्यामरा जडान गरिएको र त्यसको निगरानी एमालेको एक युवा टोली र सुरक्षाकर्मीले गरिरहेको जानकारी दिए ।

5 months ago, 13:07:31
जुलुसमा महाधिवेशन प्रतिनिधि

5 months ago, 13:05:48
अनेरास्ववियु अध्यक्षबाट हटाइएका कडरिया मनोनितमा परे

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षबाट हटेका सुजन कडरिया एमालेको ११औं महाधिवेशन प्रतिनिधि बनेका छन् ।

उनलाई एमालेले महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेको हो । कडरियासहित १०८ जना महाधिवेशन प्रतिनिधिमा मनोनीत भएका छन् ।

5 months ago, 13:03:13
जिल्ला र प्रदेशबाट रोकिएका तिमिल्सिना केन्द्रबाट मनोनित

[caption id=\"attachment_841678\" align=\"alignnone\" width=\"900\"]  [/caption]

राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेकपा एमालेको ११औं महाधिवेशन प्रतिनिधि मनोनीत भएका छन् ।

एमालेले १०८ जनालाई महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेको छ । जसमा तिमिल्सिनाको नाम १०औं नम्बरमा छ ।

जिल्ला र प्रदेशमा उनी कसरी रोकिएका थिए ? त्यसपछि उनले के भनेका थिए ?

एमालेको महाधिवेशन प्रतिनिधि नै नभएका राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिमिल्सिना के गर्दैछन् ?

‘अध्यक्षका दुवै उम्मेदवारले लिस्ट नबाँडून्, व्यक्तिगत रूपमै उम्मेदवार हुन दिऊन्’

5 months ago, 12:55:48
यी हुन् एमालेका १०८ मनोनित सदस्यहरू

नेकपा एमालेले महाधिवेशनका लागि १ सय ८ जना प्रतिनिधि मनोनीत गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले १ सय ८ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको थियो ।

5 months ago, 12:53:34
सल्लाघारीमा एमालेको राजनीतिक उत्सव (तस्वीरहरू)

विभिन्न स्थानबाट र्‍याली तथा सांस्कृतिक प्रस्तुति सहित एमालेका नेता, कार्यकर्ता, समर्थक एवं शुभचिन्तकहरू सल्लाघारी जाने क्रम जारी छ ।

थप तस्विरहरूका लागि यहाँ क्लिक गर्नुहोस् -
5 months ago, 12:46:28
महाधिवेशन उद्घाटन स्थलमा राखियो २० हजार कुर्सीहरू

नेकपा एमालेको उद्घाटन स्थलमा २० हजार कुर्सी व्यवस्थापन गरिएको छ ।

एमाले पोलिटब्युरो सदस्य एवं मञ्च व्यवस्थापन प्रमुख विनोद श्रेष्ठका अनुसार उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा झण्डातोलन गरेर ११औं महाधिवेशनको उद्घाटन गरिँदैछ ।

( )

5 months ago, 12:44:39
कस्तो छ एमाले महाधिवेशन उद्घाटन स्थलको अवस्था ?

नेकपा एमालेको ११औं महाधिवेशन सुरु हुँदैछ । अहिले भक्तपुरको सल्लाघारीमा प्रतिनिधिहरु जाने क्रम जारी छ ।

विभिन्न क्षेत्रबाट प्रतिनिधिहरुसहितका र्‍यालीहरु महाधिवेशनस्थलतर्फ जाँदैछन् । केही प्रतिनिधि महाधिवेशन उद्घाटन स्थलमा पुगेका छन् ।

नेताहरू पनि सल्लाघारी पुग्ने क्रम जारी छ । अहिले विभिन्न सांस्कृतिक कार्यक्रम भइरहेका छन् ।

महाधिवेशनमा सहभागी हुन आएकाहरुलाई उद्घाटन समारोहस्थलमा प्रवेश गर्नुअघि कडा सुरक्षा जाँच गरिएको छ ।

तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?