News Summary
Generated by OK AI. Editorially reviewed.- कुमारी लामाको 'दर्ज्यू संलाप' निबन्ध संग्रहले तामाङ समुदायको इतिहास र सामाजिक अन्यायलाई तीखा प्रश्न गर्दै समृद्ध साहित्यिक आवाज प्रस्तुत गरेको छ।
- संग्रहका निबन्धहरूले गाउँको पुरानो जीवनशैली, जातीय विभेद, श्रमजीवीहरूको संघर्ष र परदेशी कामदारहरूको मनोभावलाई समेटेका छन्।
- लेखकले जातीय उत्पीडन, सामाजिक असमानता र महिला बेचबिखनजस्ता विषयमा प्रश्न उठाउँदै नेपाली साहित्यमा नयाँ शब्द र शैलीको प्रयोग गरेकी छिन्।
समाज संवार्ता, सैलानी समय र दृश्य अ (दृश्य)गरी तीन खण्डमा विभाजित सत्र शक्तिशाली निबन्धहरूको संग्रह हो कुमारी लामाकृत दर्ज्यू संलाप । पाठकको हृदय हल्लाउने बलशाली संग्रह हो यो । यस्ता कलात्मक निबन्धहरू विरलै पढ्न पाइन्छन् ।
खोकेकामिटार : एक बाडुली शीर्षक पहिलो निबन्धमा लामाले आफ्नो पुरानो गाउँ सम्झेकी छिन् ।काठमाडौंबाट आधा घन्टा जतिमा पुगिने सो पुर्ख्यौली तामाङ गाउँका पुराना दिनलाई बडो काव्यात्मक पाराले प्रस्तुत गरिएको छ ।
जसका घरमा पारे पनि गाउँभरि पुग्ने मोहीको स्वादसँगै मकैको छ्याम्बा निलेका याद, अगेनामा दन्केको आगोमा भिजेका कपडा सुकाउँदै पोलेको मकै चपाउँदाको स्वाद, मिस्त्री आखेका रन्दा, छिनो र बसिलाको लयसँगै निबन्धकार लहरिंदै अघि बढेकी छन्।
अन्धविश्वास र अशिक्षाका तत्कालीन समस्या केलाउँदै केही गम्भीर प्रश्न पनि गरेकी छिन् लामाले ‘किन कसैले विद्यालय पठाउन घच्घच्याएन हाम्रा गाउँलेलाई? किन राज्य र सरकारको नजर परेन याम्बुबाट मिलिक्कै पुगिने खोकेकामिटारतिर?’
पछिल्लो डोजरे विकासले कायान्तरित भएको खोकेकामिटारमा नयाँ संस्कृति भित्रिए, नयाँ समस्याहरू खडा भए, दहीमहीको ठाउँ फ्रिजको चीसो पेयले लिपबिष८पबिषलयकेगलषलभयो, केटाकेटी मकै भटमास हैन चाउचाउ बिस्कुटमा झुम्मिन थाले । कुवा पँधेरा सुके, बढेका बाटाले गाउँलेका करेसाबारी मासिदियो,कतिका घरगोठ नै भत्काइदियो ।
खाइपाइ आएको भूमिबाट बेदखल गरिएका तामाङहरूलाई कुनै क्षतिपूर्ति नदिइएको अन्यायप्रति कुमारीले तीखो रोस प्रकट गरेकी छिन्, ‘को हो त्यो आदेश दिने ? बिर्तावाल,कानुन वा सरकार ?’
खोकेकामिटारमा मेटिंदै गएको जिर्मा संस्कृति, बुँइगलभरिको अन्नभण्डार, घोप्टेढोका, लिस्नु, काठे मचान र पुर्ख्यौली कृषि प्रणाली सम्झिंदै उनको अर्को घोचक प्रश्न छ, ‘यो देशको हावालाई चाहिने विकास भनेको चौडा बाटो र सुपर कम्प्लेक्सहरू मात्र हुन् ?’
घराख्यान शीर्षक दोस्रो निबन्धमा घर एक सत्ता हो भन्दै घरले सिर्जना गरेका विभिन्न विभेदी पर्खालहरू भत्काउने चेष्टा गरेकी छिन् लेखकले । वर्गीय र जातीय असमानताले पीँधमा परेकी सेती दिदीलाई पात्र बनाएर उनको बृद्धावस्थाको कटेराको र लिचीको बोटको बासलाई बिम्ब बनाएर कारुणिक कथा सुनाएकी छिन् कुमारीले सो निबन्धमा । सेती दिदीको घरसंघर्षको आख्यान उन्दै जीवनका सच्चाइहरू ओकलेकी छिन्।भन्छिन्,-खासमा हामी सामान बटुलेर बोझ थपिबस्छौं ।
मान्नेले मानिदिए पो दुख नत्र कहाँ टिक्छ त्यसको पाइन ? उनी भन्छिन्, ‘दुःख पीडाको छिटासम्मले नछोएका सग्ला शरिरहरू यहाँ कोकोहोलो गर्छन् । बिस्कुन छर्छन् दर्दको बजारमा र नाफा कुम्ल्याउँछन् त्यही आँसुधाराबाट ।’
काठमाण्डु उपत्यकाको लिच्छवीकालीन नाम कोलिग्रामलाई पक्डेर बुनिएको कोलिग्राम संवाद नामक निबन्धमा लेखकले पहिलोपटक आफू काठमाण्डु आउँदा देखेभोगेका दृश्य र हाल आएका परिवर्तनलाई मिठासपूर्ण भाषामा प्रस्तुत गरेकी छिन् ।
काठमाण्डुमा बाक्लिएको चिया र कफी संस्कृतिको इतिहास खोतल्दै उनले कोलिग्रामको मुक्त कण्ठले प्रसंसा पनि गरेकी छिन् ‘यहाँ श्रमिकदेखि श्रमचोरसम्म,सज्जनदेखि तस्करसम्म, विद्वानदेखि महालम्पटसम्मले अडिने ठाउँ पाउँछन्, भन्छिन् ‘सबैको हो यस शहर, फेरि कसैको होइन पनि ।’ संग्रहभरि नै सर्वनाम यो का ठाउँमा यस प्रयोग गरिएको छ । यस शहर, यस गुम्बा आदि जसले कुमारीको लेखन शैलीलाई मौलिकता दिन मद्दत गरेको छ ।
दृश्य-आयाम नामक निबन्धमा दिलमायाको मनोभावलाई उनेर परदेशिएका अनेकौं मदनहरू र तिनका मुनाहरूका मनोदशा केलाइएको छ ।अरब मलेसियातिरका मुनामा रत्तिएका मदनहरूलाई उनी प्रश्न गर्छिन्, ‘मलेसिया र अरबतिर पसेका धेरै मदनहरू किन बिस्तारै बिर्सन्छन् आफ्ना मुनालाई ?’
सोही निबन्धको दोस्रो खण्डमा जुनमायाको मायामा पग्लन नसकेको चीसो माइलाको कथा छ,माइलाको एक महान् स्वीकारोक्ति छ, ‘ऊ आगो थिइ भर्भराउँदो ।जस्तै कठोर पुरूषलाई पनि पगाल्न सक्ने सामर्थ्य थियो । केवल म पग्लिन सकिन ।’
माइलाको मनोदशा नियाल्दै लेखक भन्छिन्, ‘एक झोंक्का हावा थियो ऊ । एक अंगालो न्यानो । एक अंजुली पानी । अनि एक रन्को आवाज थियो ऊ । ती सबै यही धर्तीमा समाहित भयो ।’
लामाका यी निबन्धहरू पढ्दै जाँदा निबन्ध मात्रै पढ्दैछु जस्तो लाग्दैन।कतै कथा हुन्छन्,कतै धारा प्रवाह कविता ।
नतानिएको सटर शीर्षक निबन्धको अन्त्यले पाठकलाई निस्तब्धताको खाडलमा जाकिदिन्छ । पचासको दशकमा पेट पाल्न सहर पसेका भूईंमान्छेको प्रतिनिधि कथा हो यो । माओवादी द्वन्दलाई उनले लालझण्डे आँधी भनेकी छिन्।सोही लालझन्डे आँधीमा परेर सहरका गलैंचा उद्योगहरू बन्द हुँदै गएपछि साहुको चर्को ऋणमा अरब पसेको ऊ केही बर्ष बसेर कमाउन नसकी देश फर्किन्छ ।
छोरो अलिक ठूलो भएपछि परिवार भरथेग गर्न स्कूल छाडेर मजदुरी गर्न थाल्छ । अभाव र गरिबीसँग जुध्दै बृद्ध बाआमाको सेवा र छोराछोरीको हुर्काईमा लागेको दोस्रो पुस्ताको ऊ हार मान्छ जीवनदेखि र आत्महत्या गर्छ । यो कुनै आख्यान होइन वास्तविकता नै प्रतीत हुन्छ पढ्दै जाँदा ।
अभावहरूसँग पौंठेजोरी खेलीरहेका हजारौं श्रमजीवीको आवाज बोल्दै कुमारी प्रश्न गर्छिन्, ‘भुलेर आफ्ना सपनाहरूलाई,कलिला नानीहरूलाई, भर्भराउँदो उमेरकी दुलही र उमेरले पल्लो छेउ ठेलिसकेका आप्पालाई, ऊ झुण्डियो । के यो प्रतिरोध थियो गरिबप्रति असंवेदनशील राज्यप्रति ?’
चियाको गिलास शीर्षक निबन्ध एक क्रान्तिकारी निबन्ध हो । तत्कालीन विभेदकारी राज्य र शासकहरूले तथाकथित दलित करार गरी पींधमा पारिएका लाखौं शिल्पी समुदायमाथिको उत्पीडनको कथा र सो उत्पीडनबाट मुक्तिको सशक्त र प्रतिनिधि आवाज हो यो निबन्ध । जात व्यवस्थाको तातो ताप्केबाट उम्किन धर्मान्तरणको भुङ्ग्रो परिरहेका सीमान्तकृत समुदायको पनि कथा बोल्छ यो निबन्धले ।
हरेक आलेखमा समाज र राज्यप्रति कुमारीका तीखा प्रश्नहरू छन् । कथित तल्लो जात भएका कारण सुना काकीले भोग्नुपरेको विभेद र मानसिक हिंसाको क्षतिपूर्ति कसले दिने ? उनी सोध्छिन्, दलित युवतीसँग प्रेमविवाह गरेकै कारण समाजबाट बाहेक गरिएको त्यस पुरुषमाथिको ज्यादतिको जिम्मा कसले लिने ? के धर्म परिवर्तनले मात्र जात व्यवस्थावादी सामाजिक मनोविज्ञानको अन्त्य हुन्छ ?
यो संग्रहलाई जुरूक्क उचालेको शीर्ष निबन्ध दर्ज्यू संलाप पढ्दा पूरै जिउ सिरिङ सिरिङ भयो, रौँ ठाडा ठाडा भए, कटट्ट कट्कटाए बंगाराहरू । तामाङ जातिमाथि शाह र राणा शासकहरूले गरेको अन्याय र अत्याचार विरुद्धको यो भन्दा शक्तिशाली साहित्यिक आवाज अर्को हुन सक्छ जस्तो मलाई लागेन । आफ्ना पुर्खाले भोग्न बाध्य भएको त्यो दुर्दान्त इतिहासको चिहानबाट लतारेर ती क्रुर शासकहरूलाई पाठकको अदालतमा उभ्याउन सफल छ दर्ज्यू संलाप ।
‘ती दासहरूलाई केवल हातखुट्टा खियाउने आदेश थियो,न कि दिमाग । टाउको केवल आदेश पालनाका निम्ति हल्लिन पाउँथ्यो । दिमाग चलाउन प्रश्न गर्न र नाहिँ नास्तिको आवाज निकाल्न सख्त बन्देज थियो । मान्छे होइन केवल भरिया र दाससरह थिए तामाङहरू ।’कुमारी अगाडि लेख्छिन्, ‘रगतपच्छे भएका भरिया खुट्टाहरू महाराजको बग्गी दौडिने सानदार सडकमा रगतको छाप छाड्दै भित्रिन्थ्यो याम्बु ।
अन्यायी र अविवेकी शासकहरूको कुरूप सिर्जना हो यो देशको खतपूर्ण इतिहास । खाटा बस्न अझै बाँकी छन् ती घाउहरू । उकुच पल्टेको छ । कवि लक्ष्मी रूम्बाका विद्रोही आवाजहरू पैँचो लिँदै कुमारी सोध्छिन्, ‘ए शासक, के तिमीले पनि सुन्दैछौ यी प्रतिरोधी स्वर ?’
यसरी समाजका जाति जनजातिमाथि राज्यले गरेका आर्थिक सामाजिक उत्पीडनमाथि प्रश्नका वर्षा गर्दै संग्रहको पहिलो खण्डको उपसंहार भएको छ ।
संग्रहको दोस्रो खण्ड शैलीनी समयको पहिलो आलेख यात्रा संस्मरण हो । लेखकले नेपालगञ्जबाट मुगुको रारासम्मको यात्रा गर्दा देखेभोगेका परिवेश र पात्रहरूसँगै मनोरम यात्राको जीवन्त वर्णन गरेकी छिन् । यात्रा वर्णनमात्रै छैन यहाँ, खस राज्य र कर्णालीको समृद्ध इतिहासको चर्चा पनि छ । देउडा संस्कृति छ र छ धर्मान्तरणको चिन्ता पनि ।
गाउँका खेतबारी बाँझै छाडेर विदेश लहसिने युवाको चर्चा मात्रै हैन स्याउ खेती गरेर आत्मनिर्भर हुने युवाका पसिनाका सुगन्ध पनि छन् ।नारी शिक्षाका चिन्ता र घरेलु लछारोसँगै मिठो आतिथ्यका झलझली यादहरू छन् ।
दोस्रो निबन्ध एक मार्गचित्र आगतको बाह्य जगत्भन्दा बढी मनोजगतको यात्रा हो ।लेखकको पाल्पा बसाइका क्रममा मनमा उठेका अनेक आँधी तुफानलाई समेटेकी छिन् ।हरेक निबन्धमा उनका जबरजस्त प्रश्नहरू छन् ।थोरो, प्लेटो देवकोटासम्मका सम्झना गर्दै प्रश्न, जिज्ञासा र मनोवादको झरी पारेकी छिन् ।
शहरको बैजनी मादकतामा मखलेल हुनेहरूलाई उनी सोध्छिन्, ‘रत्नपार्क छेउछाउ ग्राहक कुरिराख्नेहरूलाई यो मौसमी मादकताले कति अर्थ राख्ला ?’
मानिसहरू बिच खाडल पार्नेहरूलाई ललकार्दै लामा भन्छिन्, ‘ख्याल राख्नु अब यो मुर्दाहरूको देश होइन ।यहाँ जिउँदा मानिसहरू पनि छन् ।आइपर्दा ओकल्न सक्छन् विद्रोहका ज्वाला पनि ।’
न्येसाङका ढुंगेगल्लीहरू एक यात्रानुभूति हो । लेखकले मनाङ यात्राका क्रममा देखेभोगेका अनुभव र अनुभूति, पात्र र प्रवृत्तिको सुन्दर वर्णन गरेकी छिन् यसमा।मनाङको सफा मन,स्थानिक रैथानेपन र प्रकृतिको विस्मयकारी लय छन् यो आलेखमा ।मनाङरूपि खुला संग्रहालय घुम्दा कतै जयपुरे याद बल्झिन्छन् कतै भरिया भाइहरूका सुस्केरा र सपनाहरू ।
सिम्बु सुवास पनि अनुभूति र यात्राकै सुवास हो । स्वयम्भू र त्यस वरपरका किमडोल,महिलाहरूका निम्ति बनेको नेपालकै पहिलो विहार निर्वाणमूर्ति विहार र सिम्बु डाँडातिर टहलिँदा देखेभोगेका दृश्यको गहिरो भावमय प्रस्तुति पढ्न पाइन्छ यो निबन्धमा । त्यस वरपरका निम्न आय भएका तामाङ समुदाय सम्झिँदै उनले गम्भीर प्रश्न पनि गरेकी छिन्।
किन ड्राइभर,खलासी,भरिया,भट्टी सञ्चालकभन्दा माथि उक्लिन सकेनन् प्रायः तामाङ ? तामाङ समुदायमाथिको दलनपूर्ण इतिहास सम्झन्छिन् ।कतै ऐलान गर्छिन्, नलेखिएको इतिहास लेख्नका निम्ति पनि हामी पुनः इतिहासतिरै फर्कनुपर्छ,चाहे जति मन दुखोस् ।
सुकन्यासँगै बाँचिरहेकी केही पारिजात एक संस्मरणात्मक निबन्ध हो ।आफ्नो जीवनकालमा भौतिक रूपमा कहिले पनि पारिजात नभेटेकी निबन्धकार कुमारी लामा पारिजातकी बहिनी सुकन्यालाई ढोका बनाएर पारिजातरूपी घरभित्र पस्छिन् र भरपुर महक बटुल्छिन् ।
पारिजातको कृतित्व र व्यक्तित्व समेट्छिन् । अनेकपटक पारिजात-सुकन्या निवास म्हेपी पुगेका प्रसङ्ग जोड्दै अनुभूतिका दहमा डुबुल्की मार्छिन् । पारिजातले ओढ्ने दोलाईँमा रहेको न्यानोदेखि पारिजातलाई मनपर्ने फूलका सुवास भेटिन्छन् यहाँ ।पारिजातका प्रतिरोधी आवाजहरूको गुञ्जन र बारबारासँगका प्रेमिल सम्बन्धसँगै संग्रहको दोस्रो खण्ड टुङ्गिएको छ ।
तेस्रो खण्ड दृश्य अ (दृश्य)को पहिलो निबन्ध मांसहाटको आदिम भोक पढ्दा जिउ सिरिङ्ग भयो । कति क्रुर हुन्छन् हँ मान्छेहरू ? दलालको फन्दामा परी बम्बईमा बेचिन बाध्य हैबुङ गाउँकी चरिमाया तामाङको कथा हो यो, ब्यथा हो यो । बम्बईहरूका अनेकन् कोठीहरूमा क्षतविक्षत जीवन घिसार्न बाध्य हजारौँ चरिमायाहरूको कथा हो ।शरीरको भोकले ग्रस्त मांसबजार चहार्ने मान्छेहरूको क्रुरताको कथा हो । महिला बेचबिखन विरुद्धको शसक्त आवाज हो ।
चरिमायाकै साहस र वीरताको कथा छ आगो बोकेर मनमा शीर्षक निबन्धमा ।बम्बई रेडलाइट एरियाको कोठी नम्बर १०४ बाट फुत्केर पाखण्डी दुनियाँका पीडापूर्ण पर्खालहरू नाघ्दै नेपाल र त्यसपछि आफ्नै गाउँ पुगेर अप्रतिम साहसपूर्वक आफूलाई बेच्ने दलालहरूलाई कानुनको कठघरामा उभ्याउने सफलता प्राप्त गर्दाका आगोका राप छन् यहाँ ।चरिमायाको भावनामा समाहित हुँदै कुमारीले पनि आगो ओकलेकी छिन् यो निबन्धमा ।
आगो बोकेर चिताबाट निस्किएकी सती हुँ म
शरीर उक्लेको आगो मनमा सल्काएर
उज्यालो यात्रामा निस्केको
आगोको यात्रा हुँ म । (पेज नम्बर १७८)
आफूलाई छोडेर हिडेको लोग्ने टिबीले थलिएर घर आएपछि उसले संसार नछाडुन्जेल स्याहारेकी श्रीमतीको मनोवाद जस्तो लाग्छ हरियो पर्दा निबन्ध ।बडो कवितात्मक छ शैली ।सुरूवात नै बेजोड छ-ऊ बतासले बोकेको एक पात थियो ।हराएको एक अनुहार थियो।उसको मदिरालयको यात्रादेखि जीवनकै महायात्रासम्मका वर्णनले हृदय हल्लाएर जान्छन् ।
दृश्य दृश्यांश शीर्षक निबन्धमा बाहिर र मनभित्रका अनेक दृश्यहरू सल्बलाएका छन् बेस्सरी ।भन्छिन्-चेतनाको उडुस उपियाँले टोक्न थालेपछि मानिस अनेक गर्छ । कतै मान्छेलाई पनि किरा देख्छिन्-किराहरू छन् र त संसार चलेको छ, मान्छे पनि किरै हो, ठुलो किरा ।थोरबहुत दिमाग भएको किरा । कतै बसमा ओहोरदोहोर गर्ने कथाहरू नियाल्छिन् कतै आफ्नै कोठाको असरल्ल मौनता । दिलमा, दिमागमा,आँखामा वा मनमा कतै भएका सम्झनाहरूलाई झड्कार्दै, टक्टक्याउँदै पाठकलाई खन्याईदिन्छिन् तुलसी दिवसका कविता कतै-
तिमी नखोज मलाई बाहिर
म त तिम्रै आँखाको नानीमा बसिरहेछु
सित्तैँ किन रोयौ मलाई सम्झेर
म त तिम्रै आँखाको पानीमा बगिरहेछु
हाम्रा आफ्नै जीवनमा कति कथाहरू गुडुल्किएर बसेका छन् ।कैयौँ कथाहरू हाम्रै परिवारभित्र छन्, तर के हामीले ती आफैँ वरिपरिका कथाहरूमा ध्यान दिएका हौँला?
भुइँ कुहिरो र कान्छी तामाङको एक्लो यात्रा शीर्षक निबन्धमा कुमारी लामाले आफ्नै फुपूदिदी कान्छी तामाङको जीवन र मृत्यु यात्राको बडो मार्मिक वर्णन गरेकी छिन् ।
दाजु ठुलोकान्छा तामाङको निधनपछि एकल जीवन निर्वाह गरिरहेकी नानदिदी कान्छी तामाङको घर ७२ सालको भुइँचालोले भत्काइदिन्छ। त्यसपछिको टहरो बास र मृत्युपर्यन्त संघर्षका केस्रा केलाइएको छ यो निबन्धमा । भावको सघनता र सच्चाई ओकल्दै उनी भन्छिन्, हातबाट छुटिसकेपछि मात्र अनमोल लाग्ने रहेछ समय । नफर्किने गरी गएपछि मात्र महत्वपूर्ण लाग्ने रहेछन् सम्बन्धहरू।प्यारो लाग्ने रहेछन् नजिकका आफन्तहरू ।निबन्धमा लेखकका आफ्नै केही स्वीकारोक्तिहरू छन् र छ जीवनको अनित्यताको बोध ।
यसरी संग्रहका अठारओटा कलात्मक निबन्धहरूमा कुमारीले भावको गहिराईमा डुब्दै, शिल्पको मधुर लय उनेकी छिन्। निबन्धहरू पढ्दा कतै मनमा विद्रोहको आँधी उठ्छ, कतै कोमलता र करूणाको ठिहीले छुन्छ । पात्रहरूभित्रै पसेर तिनको भावनालाई दुरुस्त उतार्नु चानचुने कला होइन, गहन कला छन् यी निबन्धमा ।
कतै इतिहाससँगका संवाद छन् कतै भूगोलसँगका भलाकुसारी । भावमय प्रवाहमा गडगडाउँदै बग्ने यस्ता निबन्धहरू कुमारी लामाबाहेक अरूले हत्तपत्त लेख्न सक्दैनन् । नेपाली साहित्यको निबन्ध विधामा यो एक उच्च स्तरको कृति हो ।
भाषाविद्हरूले कहीँकतै भाषिक शुद्धताका प्रश्न उठाउन सक्लान् । सामान्यतया यो वा त्यो सर्वनाम प्रयोग गर्ने ठाउँमा सबैतिर यस र त्यस प्रयोग गरिएको छ । जस्तैः ‘सबैको हो यस सहर, मन पर्नै छाडेको थियो त्यस मानिस’ आदि । जो लेखकको आफ्नै शैली र पहिचान हो भन्ने म मान्दछु ।
कयौँ नयाँ शब्दहरू जो कुमारीकृत शब्द जस्ता लाग्छन्, जस्तैः कायान्तरित, फुर्फुरिलो, खट्प्वाल, अभरिला, घरसंघर्ष, जिम्जाइनो, रक्तडोरो आदि आदि । मलाई के पनि लाग्छ भने एउटा लेखकले नयाँ शब्दहरू निर्माण गर्ने आँट गर्नुपर्छ, जो कुमारीले गरेकी छिन्।
पुस्तकभरि याम्बु, छ्याम्बा, आइराक, जिर्मा, आखे, नान, लुङदर, दर्ज्यू आदि तामाङ भाषाका शब्दहरू आएका छन्, जो सर्वथा स्वागतयोग्य विषय हो । हरेक समुदायका भाषाहरूले मूल नेपाली भाषामा ठाउँ बनाउँदा र पाउँदा मात्रै त्यो भाषा र साहित्य समृद्ध हुँदै जान्छ ।
भाषाको जडताले होइन, उदारताले नै साहित्यको पनि विकास हुने हो । नेपाली साहित्यको विकास र समृद्धिमा कुमारी लामाको यो योगदानप्रति हार्दिक नमन छ ।
प्रतिक्रिया 4