२५ पुस, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले युवा तथा महिला भेला आह्वान गरेको छ । भेला पुस २७ (आइतबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदैछ ।
पार्टीको १५औं महाधिवेशन र फागुन २१ को आम निर्वाचन केन्द्रित छलफल भन्दै भेला बोलाइएको हो ।
सोही दिन कांग्रेसको विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गर्दैछ ।
संस्थापन समूहले सामाजिक सञ्जालमार्फत ‘सशक्त र बलियो कांग्रेस बनाउन नियमित महाधिवेशनमा जुटौँ, अनुज पुस्तालाई जोड्ने एउटै आधार, नियमित महाधिवेशन युवाहरूको जनाधार’ भन्दै भेलामा सहभागी हुन आग्रह गरिरहेको छ ।
तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले मातहतका सबै समितिका प्रमुख र सदस्यहरूलाई पुस २७ गते पार्टी कार्यालयमा हुने कार्यक्रममा सहभागी हुन भनेका छन् ।
उनले ०८३ वैशाख २८-३१ गते हुने १५औं महाधिवेशन र आगामी फागुन २१ गतेको निर्वाचनलाई ध्यानमा राख्दै तरुण दलको समन्वयमा नेपाली कांग्रेसका सम्पूर्ण भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको बृहत भेलामा उपस्थितिका लागि नेपाल तरुण दलका जिल्ला अध्यक्षहरूलाई अनुरोध गरेका छन् ।
त्यस्तै उनले काठमाडौँ बस्दै आएका तरुणका नेता कार्यकर्तालाई पनि पार्टी कार्यालयमा हुने कार्यक्रममा सहभागी हुन भनेका छन् । त्यस्तै पुस २८ गते पार्टीका जिल्ला सभापति भेला पनि आह्वान गरिएको छ ।
प्रतिक्रिया 4