२६ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । उद्घाटन सत्रको सभापतित्व कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँले गर्नेछन् ।
उद्घाटनसत्र पछिको बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्नेछन् । विशेष अधिवेशनको पक्षमा खुलेका महाधिवेशन प्रतिनिधिहरूमध्ये जेष्ठ सदस्यले बन्दसत्रको सभापतित्व गर्ने तय भएको हो । तर कसले गर्ने भन्ने टुंगो नलागेको विशेष महाधिवेशन व्यवस्थापन समिति सचिवालय प्रमुख मनोजमणि आचार्यले बताए ।
विशेष महाधिवेशनको सचिवालयका अनुसार भने पहिलो विशेष महाधिवेशनका प्रतिनिधिसमेत रहेका ओमकार श्रेष्ठ र पूर्वउपसभापतिसमेत रहेका गोपालमान श्रेष्ठमध्ये एकले बन्दसत्रको सभापतित्व गर्नेछन् ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७(२) बमोजिम विशेषको माग गरेका हुन् । सोहीअनुसार भोलि आइतबार विशेष महाधिवेशन उद्घाटन हुँदैछ ।
आचार्यले २०१४ सालमा मोरङमा भएको विशेष महाधिवेशनको उद्घाटनको सभापतित्व तत्कालीन मोरङ सभापतिको हैसियतले गिरिजाप्रसाद कोइरालाले गरेको र अहिले यहाँ काठमाडौँको सभापतिले गर्ने जानकारी दिए ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्व तथा २ हजार ४८८ जनाले हस्ताक्षर गर्दै विधानको धारा १७(२)अनुसार विशेष महाधिवेशन मागेकाले २७ र २८ पुसमा विशेष महाधिवेशन आयोजना हुँदैछ।
प्रतिक्रिया 4