+
+
Shares

जेनजीलाई आत्मसमीक्षा गर्न विश्वप्रकाशको सुझाव, भने- आफ्नो भागको जिम्मा लिनुपर्छ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी आन्दोलनको नेतृत्व गर्ने जेनजी आन्दोलनकारीले आन्दोलनको आत्मसमीक्षा गर्दै आफ्नो भागको जिम्मा लिनुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी आन्दोलनकारीले आफ्नो प्रदर्शनको आत्मसमीक्षा गरी जिम्मेवारी लिनुपर्ने बताएका छन्।
  • महामन्त्री शर्माले भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाही आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
  • शर्माले कांग्रेसले लोकतान्त्रिक सिद्धान्तमा अटल रहँदै पनि समयानुकूल लचकता अपनाउँदै आगामी राजनीतिक कार्यदिशा तय गर्ने बताउनुभएको छ।

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी आन्दोलनको नेतृत्व गर्ने जेनजी आन्दोलनकारीले आन्दोलनको आत्मसमीक्षा गर्दै आफ्नो भागको जिम्मा लिनुपर्ने बताएका छन् ।

काठमाडौंमा जारी कांग्रेस विशेष महाधिवेशनमा सोमबार सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै जेनजी प्रदर्शनकारीले पनि आफ्नो प्रदर्शनको आत्मसमीक्षा गर्नुपर्ने उल्लेख गरेका छन् ।

‘बदलिएको देश/बदल्नुपर्ने कांग्रेसः सद्भाव, सुशासन र समुन्नतिको नवीन यात्रा’ शीर्षकको प्रतिवेदनमा महामन्त्री शर्माले ‘जेनजीले गर्नुपर्ने आत्मसमीक्षा’ शीर्षकमा यो प्रस्ताव गरेका छन् ।

‘०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह गरिरहँदा कतिपय ठाउँमा बम बिस्फोट भएपछि पार्टीले सम्पूर्ण सत्याग्रह स्थगित गरेको थियो । इतिहासको त्यो एक उच्चतम नैतिक प्रस्तुति थियो,’ उनले भनेका छन्, ‘आजको मितिमा जेनजी प्रदर्शनकारीले आफ्नो प्रदर्शनको आत्मसमीक्षा गरेर त्यति मात्रै जिम्मेवारी आफ्नो भागमा लिनुपर्छ जति तिनको आह्वान, संलग्नता र कर्म हो ।’

के छ महामन्त्री शर्माको प्रतिवेदनमा ?

जेनजी प्रदर्शनकारीले गर्नुपर्ने आत्मसमीक्षा

०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह गरिरहँदा कतिपय ठाउँमा बम बिस्फोट भएपछि पार्टीले सम्पूर्ण सत्याग्रह स्थगित गरेको थियो । इतिहासको त्यो एक उच्चतम नैतिक प्रस्तुति थियो । आजको मितिमा जेनजी प्रदर्शनकारीले आफ्नो प्रदर्शनको आत्मसमीक्षा गरेर त्यति मात्रै जिम्मेवारी आफ्नो भागमा लिनुपर्छ जति तिनको आह्वान, संलग्नता र कर्म हो ।

भदौ २३ गतेको घटनाका दोषी उपर कार्वाही हुनुपर्छ भनिरहँदा त्यो विल्कुल सही छ । अत्यधिक बल प्रयोग मार्फत होनहार युवाहरूको जिवनको समाप्ति इतिहासकै गम्भीर घटना थियो । सँगैमा २४ गते राष्ट्रव्यापी रूपमा भएको ध्वंसको घटनालाई अलग छुट्याउन, त्यसको निष्पक्ष र वस्तुगत छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन जेनजी युवाहरूकै बिशेष माग बन्नुपर्छ र यसलाई जाँचबुझ आयोग मार्फत निष्पक्ष निरूपण गरिनु उचित हुन्छ । यसो गरेर भविष्यमा त्यो ध्वंसको धब्बा आफूहरूको शिरमा लाग्न नदिन जेनजी प्रदर्शनका सबै अगुवा र प्रत्येक जेनजी युवा सजग हुन जरूरी छ ।

कसैले भदौ २४ को आगजनीको कुरा गर्ने, २३ गते अबोध युवाहरू मारिएको घटनालाई दोस्रो प्राथमिकता राख्ने, कसैले भदौ २३ को घटना सम्झिने तर २४ गतेको ध्वंसलाई बिर्सने । यो प्रवृत्तिले हामीलाई फेरि द्वन्द्वमा धकेल्न सक्छ । अत भदौ २३ र २४ दुवै दिनको घटनाको निष्पक्ष अनुसन्धान र कारबाहीको बिषयमा हामी सबैथरि स्पष्ट रूपले प्रतिबद्ध रहेर प्रक्रियालाई इमानदार ढंगले सघाउनु पर्दछ ।

सिद्धान्तमा अटल, एजेन्डामा लचकता

लोकतान्त्रिक पद्धतिको मूल बाटोमा कांग्रेसले कहिल्यै पनि कसैसँग सम्झौता गरेन र गर्दैन । देशको समयलाई आफ्नो सिद्धान्त अनुकूल बदलेको मात्रै छैन, आफूलाई पनि निरन्तर समयानुकूल बदल्दै आएको छ। लोकतान्त्रिक मूल्य मान्यताको सिद्धान्तमा कांग्रेस दृढ र अटल थियो, अटल रहनेछ तर एजेन्डाहरू जो भिन्न कालखण्डमा भिन्न हुन्छन् या हुन सक्छन् तिनलाई उचित समन्वय गर्ने र स्वामित्व लिएर निष्कर्षमा पुऱ्याउने लचकता एवं जिम्मेवारीपूर्ण भूमिका पनि नेपाली कांग्रेसले सदैव निर्वाह गर्दै आएको छ ।

तत्कालीन समय र समाजको सर्वोत्तम समन्वय गर्ने सामर्थ्य सदैव कांग्रेसले प्रस्तुत गरेको छ । यसका अनेक दृष्टान्त स्मरण गर्दै हामीले इतिहासमा एकपटक फेरि लचकताका साथ समन्वयको उच्चतम क्षमता प्रस्तुत गरेर सद्भाव, सुशासन र समुन्नतिको संकल्प अघि बढाउनु छ । आजको नेपालको प्रधान ३ एजेन्डा यिनै हुन् । नेपाली कांग्रेसको विशेष महाधिवेशनले यिनै ३ एजेन्डाको आलोकमा आगामी राजनीतिको कार्यदिशा तय गर्नुछ र आगामी नेपालको सुन्दर मार्गचित्र कोर्नेछ ।

०६२/६३ को जनान्दोलन र मधेस आन्दोलनले स्थापित गरेका उपलब्धिलाई कुनै असर नगरी त्यसलाई अझ समुन्नत बनाउनेतर्फ एकातर्फ हामीले हेक्का राख्न जरुरी छ । अर्कोतर्फ पछिल्लो प्रदर्शनको भावनालाई सम्बोधन गर्नुछ । पछिल्लोलाई सम्बोधन गर्दा अघिल्लो आन्दोलनले खडा गरेका स्तम्भहरू भत्कायौं भने त्यसले भोलि अर्को विद्रोहका लागि मार्गप्रशस्त गर्नेछ, हामीले सर्वपक्षीय ध्यानाकर्षणमा पनि सजगता राख्नुछ । यद्यपि जेनजी प्रदर्शनले मुलुकमा मूलतः खोजेको बिषय हो सुशासन, यसमा कुनै पक्षले पनि फरक मत राख्नुपर्ने कारण छैन ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?