News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको संस्थापन पक्षले \'दोस्रो विशेष महाधिवेशन\'को निर्णय अनुसार आगामी कदम चाल्ने मनस्थिति बनाएको छ।
- सभापति देउवाले पार्टी फुट्ने आशंका व्यक्त गर्दै संयम भएर अडिग रहन नेताहरूलाई सुझाव दिएका छन् ।
- कार्यवाहक सभापति खड्काले पार्टी विभाजन रोक्न महाधिवेशनमा नजाने निर्णय गरेर र केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।
२८ पुस, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष ‘दोस्रो विशेष महाधिवेशन’ले गर्ने निर्णयका आधारमा आगामी कदम चाल्ने मनस्थिति बनाएर बसेको छ ।
सभापति शेरबहादुर देउवाले आफ्नो अस्थायी निवास महाराजगञ्जमा सोमबार बोलाएको छलफलमा सहभागी नेताहरूका अभिव्यक्तिबाट संस्थापन पक्ष ‘पर्ख र हेर’ को अवस्थामा देखिन्छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयमा ‘नोट अफ डिसेन्ट’ राखेर विशेष महाधिवेशनतर्फ लागेपछि कारबाहीमा पर्ने कतिपयको आकलन थियो ।
तर, सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का तत्कालै कारबाहीको डन्डा चलाउने पक्षमा देखिदैनन् । ‘पहिले नै कारबाही गर्दैनन्, यो कन्फर्म छ,’ खड्कानिकट स्रोतले भने, ‘उनीहरूले बन्दसत्रबाट गर्ने निर्णयका आधारमा निर्णय लिनेतिर कुरा गएको छ ।’
सभापति देउवासँग महाराजगञ्ज छलफलमा सहभागी एक केन्द्रीय सदस्यले पनि यही कुरामा जोड दिए । ‘करिब–करिब त्यही हो । महाधिवेशन भनिएको भेलाले जस्तो निर्णय गर्छ त्यहीअनुसार अघि बढ्छौं,’ उनले भने ।
सभापति देउवासँगको भेटपछि कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले सञ्चारमाध्यमहरूलाई दिएको प्रतिक्रियाले पनि यसको पुष्टि गरेको छ ।
‘विशेष महाधिवशन भनिएको भेलाले कस्तो एजेन्डा ल्याउँछ भन्ने छ,’ उनले भने, ‘अहिले चाहिँ पर्ख र हेरको अवस्थामा हुनुहुन्छ ।’
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले कार्यविधि पारित गरेपछि सभापति देउवाले आफूनिकट नेताहरूलाई छलफलका लागि महाराजगञ्ज बोलाएका थिए ।
महाराजगञ्जमा ३ बजेपछि सुरू भएको छलफलमा सहभागी नेताहरूलाई उनले पछिल्लो परिस्थितिको ‘ब्रिफिङ’ गरेका थिए ।
‘ब्रिफिङ’का क्रममा सभापति देउवाले पार्टी फुट्ने आशंका व्यक्त गर्दै नेताहरूलाई संयम भएर अडिग रहन सुझाएका थिए । अबका दिनमा सिर्जना हुने परिस्थितिको सामना गर्नुपर्ने उनको भनाइ थियो ।
कांग्रेसको एक भ्रातृ संगठनको नेतृत्व गरिसकेका केन्द्रीय सदस्यले महाराजगञ्ज छलफलमा सभापति देउवाले पछिल्लो घटनाक्रमबारे ‘ब्रिफिङ’ जानकारी दिए ।
‘पार्टी फुटाउने प्रयास भइरहेको छ । हाम्रो पार्टी राष्ट्रियतामा विश्वास गर्ने पार्टी हो । पार्टीलाई धक्कामुक्का दिन खोजी रहेका छन्,’ ती नेताले देउवाको भनाइ उद्धृत गर्दै भने, ‘साथीहरू संयम भएर एक ठाउँमा अडिराख्नुहोला । आउने परिस्थितिको चुनौती सामना गर्नुपर्छ ।’
‘ब्रिफिङ’का क्रममा सभापति देउवाले महामन्त्री गगन थापाप्रति असन्तुष्टि व्यक्त गरेको अर्का नेताको भनाइ छ ।
उनका अनुसार देउवाले भने, ‘क्रियाशील सदस्यता व्यवस्थापनको जिम्मेवारी लिएका महामन्त्री आफैं काम सम्पादन गर्नुहुन्न । पार्टीमा उल्टै समस्या ल्याउनुभयो । यो पद्दतिको खिलाफमा छ ।’
छलफलमै सहभागी अर्का नेताले सभापतिले ‘ब्रिफिङ’ गरे पनि विशेष कुरा नआएको प्रतिक्रिया दिए । ‘ब्रिफ त गर्नुभयो, उहाँको खास कुरा आएन,’ ती नेताले भने, ‘धेरै मान्छे लागेर यस्तो काम (पार्टी विभाजन) गरिरहेका छन् भन्नुभयो ।’
सभापति देउवाले छलफलका क्रममा संयमित भएर बस्नू भनेको कुरा पार्टी विभाजनको संकेत भएको उनको बुझाइ छ । ‘संयम भएर बस्नुहोला भनेको चैं फुट्न सक्छ भन्ने संकेत पनि होला,’ उनले भने ।
सुदूरपश्चिम प्रदेश सभापति बलायरले फुटको संघारमा पुगेको कांग्रेसलाई एकतावद्ध राख्ने उपायबारे सबैको चिन्ता र चासो रहेको प्रतिक्रिया दिए । आगामी निर्वाचन र पार्टीको अधिवेशन सम्पन्न गरेर राष्ट्रियता बलियो बनाउनुपर्नेमा सभापति देउवाको जोड रहेको उनको भनाइ छ ।
‘पार्टीमा कसरी एकता राख्ने भन्नेमा सबैको चिन्ता र चासो छ,’ बलायरले भने, ‘देश संक्रमणकालीन अवस्थामा छ । निर्वाचन र अधिवेशन सम्पन्न गरेर राष्ट्रियता बलियो बनाउनुपर्छ भन्नेमा सभापतिको जोड छ ।’
देउवासँगको छलफलमा शेखर
सभापति देउवाले छलफलका लागि बोलाएपछि कांग्रेसमो छुट्टै विचार समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यसहित महाराजगञ्ज पुगेका थिए ।
उनी उपसभापति धनराज गुरूङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार तथा केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालका साथ महाराजगञ्ज पुगेका थिए ।
छलफलका क्रममा उनले सभापति देउवालाई पार्टी फुटबाट जोगाउन आग्रह गरेका थिए । संस्थापन पक्षीय नेताले सभापति र कोइरालाबीच अधिकतम लचकता अपनाएर पछिल्लो विवाद मिलाउनेबारे कुराकानी भएको जानकारी दिए ।
‘शेखर दाइको टिमका साथीहरू सबै आउनुभएको थियो । केही कुरा भएको छ,’ ती नेताले भने, ‘अधिकतम लचकता अपनाएर भए पनि मिलाउने भन्ने कुरा थियो ।’
छलफलपछि शेखरनिकट एक नेताले भने, ‘शेखर दाइको नेतृत्वमा हामी सभापतिलाई भेट्न आयौँ । उहाँ (शेखर)ले सभापतिसँग विभाजनबाट रोक्न के गर्न सकिन्छ तत्काल गर्नुस् भन्नुभयो ।’
नेता कोइराला र संस्थापन पक्षीय नेताहरूसँगको छलफल अघि सभापति देउवाले कानुनी पृष्ठभूमि भएका केही नेता र कानुन व्यवसायीहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा नेता रमेश लेखक, पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलगायत सहभागी भएको बताइएको छ ।
कार्यवाहक सभापतिलाई महाधिवेशनमा जान सुझाव
भृकुटीमण्डमा विशेष महाधिवेशनको बन्दसत्र सुरू हुनुअघि केही केन्द्रीय सदस्यहरू कार्यवाहक सभापति खड्काको निवास पुगेका थिए । उनीहरूले पार्टीको विभाजन रोक्न महाधिवेशनमा उपस्थित हुन आग्रह गरेका थिए । तर, कार्यवाहक सभापति खड्का उनीहरूको प्रस्तावमा सहमत भएनन् ।
‘केही नेताहरू बिहान आउनुभएको थियो । भेला (महाधिवेशन)मा गएर विभाजन रोक्नुपर्यो भन्ने थियो,’ कार्यवाहक सभापति खड्कानिकट स्रोतले भने, ‘भेलामा जाँदा उनीहरूको मुद्दाले भ्यालिडिटी पाउँछ । जानु हुन्न भन्यौं ।’
सभापति देउवासँग सोमबार भएको छलफलमा सहभागी नेता रामहरि खतिवडाले विशेष महाधिवेशन स्थलमा कार्यवाहक सभापति खड्कालाई पठाएर भएपनि एकता गर्ने पक्षमा प्रयास जारी रहेको प्रतिक्रिया दिए ।
‘भृकुटीमण्डपमा शेखर कोइराला, पूर्णबहादुर खड्का को हुन्छ गएर सम्बोधन गरेर पार्टी एकता हुन्छ भने पनि त्यो गरौँ भनेर हामी लागेका छौँ,’ नेता खतिवडाले अनलाइनखबरसँग भने ।
विशेष महाधिवेशन पक्षधर र त्यसको विपक्षमा रहेकाहरूले हठ त्यागेर निष्कर्ष निकाल्नुपर्ने उनको भनाइ छ । ‘निष्कर्ष– पार्टीलाई बलियो बनाउँदा के हुन्छ त्यो गरौँ भन्ने हो,’ देउवासँगको छलफलपछि नेता खतिवडाले भने, ‘मेरो बाह्रै टक्का नगरौँ भन्ने कुरा सभापतिजीसँगको छलफलमा भयो ।’
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महामन्त्रीद्वय थापा र शर्मासँग कुरा गर्ने जिम्मा सभापति देउवा र कार्यवाहक सभापति खड्कालाई दिइएको बताए ।
‘सभापति र कार्यवाहक सभापतिले सम्बन्धितसँग संवाद गर्ने निष्कर्ष निकालियो,’ महाराजगञ्ज छलफलमा सहभागी नेता विश्वकर्माले भने, ‘कोही पनि पार्टी विभाजन चाहँदैन । मत मात्रै होइन, पार्टी पनि एक राख्ने गरी सभापतिले छलफल थाल्नु भएको छ ।’
प्रतिकूल असर पर्ने गतिविधि नगर्न अपिल
विशेष महाधिवेशन पक्षधर जारी बन्दसत्रबाट विद्यमान कार्यसमिति भंग गरेर निर्वाचन प्रक्रियामा जाने तयारीमा लागेपछि कांग्रेसले एकतामा प्रतिकूल असर पर्ने गतिविधि नगर्न अपिल गरेको छ ।
कार्यवाहक सभापति खड्काले सोमबार दिउँसो अपिल जारी गरेर पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गरेका हुन् ।
‘सबै साथीहरू मिली देशको विषम परिस्थितिका प्रति गम्भीर हुँदै पार्टी भित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ,’ उनले भनेका छन्, ‘यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु ।’
राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित कांग्रेसको काँधमा फेरि एकपटक ऐतिहासिक जिम्मेवारी आएको खड्काले स्मरण गराएका छन् । उनले प्रतिनिधिसभा निर्वाचनमा पार्टीपंक्ति एकताबद्ध भएर अभियानको रूपमा लाग्न आवश्यक रहेकोमा पनि जोड दिएका छन् ।
‘प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेपछि आगामी २०८३ वैशाखमा हुने १५ औं महाधिवेशनबाट नेपाली कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित छँदैछ,’ खड्काले अपिलमार्फत् भनेका छन्, ‘तसर्थ, अहिले प्रतिनिधि सभा निर्वाचनमा सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भई अभियानको रूपमा लाग्न आवश्यक छ ।’
भोलि केन्द्रीय कार्यसमिति बैठक
विशेष महाधिवेशन पक्षधरले वर्तमान केन्द्रीय कार्यसमिति भंग गर्ने कार्यविधि पारित गरिसकेको अवस्थामा कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।
मंगलबार बिहान ११ बजे बस्नेगरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ललितपुरको सेनास्थित केन्द्रीय कार्यालयमा बैठक बस्नेछ । बैठकका एजेन्डाबारे केही खुलाइएको छैन ।
प्रतिक्रिया 4