२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा समूहगत छलफलबाट आएका सुझावहरू टोली नेताले मंगलबार प्रस्तुत गरेका छन् ।
महामन्त्री थापा र शर्माले हिजो समसामयिक, सुशासन र रुपान्तरण प्रतिवेदन पेश गरेका थिए । विशेष महाधिवेशनको तेस्रो दिनको बैठकमा प्रतिवेदन माथि आएका सुझावहरू प्रस्तुत गरिएको छ ।
गण्डकीका सभापति शुक्रराज शर्माले वर्तमान नेतृत्वले ५४ प्रतिशतले विशेष महाधिवेशन वेवास्ता गरेको हुँदा नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा राखे ।
कार्यकर्ता एवं जनताले कांग्रेसको नयाँ नेतृत्व खोजेको हुँदा अब नयाँ शिराबाट जानु पर्ने शर्माको जोड थियो । कांग्रेसले आफूलाई सुधार्न सके अजय शक्तिको रुपमा देखिनेमा शर्माले विश्वास व्यक्त गरे ।
चुनावी गठबन्धन गरेर अर्काको वैशाखी टेक्दा कांग्रेसको प्रभाव घट्दै गएको शर्माको धारणा थियो । जेनजी आन्दोलनका क्रममा भएको घटनाप्रति क्षमा माग्दै अब कांग्रेसले अगाडिको बाटो तय गर्नुपर्ने बताए । शर्माले हिन्दू राष्ट्र कायम हुनुपर्ने माग समेत बन्दसत्रमा सुनाए । बाँकेका सभापति नारायण पौडेलले देशले परिवर्तन खोजेको बताउँदै नेतृत्व चयन गरेर विशेष महाधिवेशन सकिनुपर्ने विचार राखे ।
लुम्बिनी प्रदेशका तर्फबाट गुल्मीका सभापति खिलध्वज पन्थीले धारणा राख्दै गगन र विश्वलाई कार्यकर्ताहरूले किन मागिरहेका छन् भन्ने कुरा सभापति शेरबहादुर देउवाले बुझ्नुपर्ने बताए ।
महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदनमा सुझाव दिँदै पन्थीले सिंहदरबारका कर्मचारीलाई सुशासनको पाठ पढाउनुपर्नेमा जोड दिए । पन्थीले भने,‘आज पहाडका गाउँहरु रित्तिएका छन् । युवाहरूलाई गाउँमै सिप र रोजगारी पाउने खालको शिक्षाको व्यवस्था हुनुपर्दछ ।’
पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठले विशेष महाधिवेशनले नीति र नेतृत्व दुबै पारित गर्नुपर्ने धारणा बन्दसत्रमा राखेका छन् । चुनावी गठबन्धन नगर्ने स्पष्ट नीति हुनुपर्ने जोड दिँदै श्रेष्ठले पार्टीभित्र आन्तरिक निवार्चन कमिटी बनाउनुपर्ने विचार राखे ।

गोरखा सभापति नन्दु न्यौपानेले नेताको चयन र सहभागीता कामको आधारमा गर्नुपर्ने धारणा राखे । पार्टीमा नीति र नेतृत्व दुवै परिवर्तनको माग किन उठिरहेको छ भन्ने मुख्य प्रश्न रहेको बताए । न्यौपानेले भने,‘विशेष महाधिवेशनले कांग्रेस फुटाउने होइन जोड्ने काम गर्दछ । नेताहरूले दूरदृष्टि राख्दै बाहिर रहेका कांग्रेसका नेता कार्यकर्तालाई समेट्नु पर्दछ ।’
बन्दसत्रमा नेता कार्यकर्ता तल्लो तहमा काम गरेका व्यक्तिले समेत सार्वजनिक पदमा जिम्मेवारी पाउने व्यवस्था गर्नुपर्ने सुझाव समेत दिइएको छ ।
लुम्बिनीका उपसभापति भुवन श्रेष्ठले माथिल्लो पार्टी संरचनामा रहेकाले मात्रै सार्वजनिक पदमा जाने परिपाटी भइरहेको भन्दै परिवर्तनका लागि सुझाव पेस गरे ।
कास्कीका सभापति कृष्णदत्त बरालले विशेष महाधिवेशनले नयाँ प्रस्ताव लिएर आएको उल्लेख गर्दै विगतमा कांग्रेसको राजनीतलिाई पुनः परिभाषित गर्न आवश्यक रहेको बताए ।
लोकतन्त्र सत्ता प्राप्तिको खेल नभई आफ्नै सिद्धान्त र मुल्यमा उभिनुपर्ने राजनीति अगाडि बढाउनुपर्ने विचार राखे । कांग्रेसलाई आधुनिक, समावेशी र लोकतान्त्रिक बनाउनु जरुरी रहेको बरालले बताए ।
मधेशबाट सहभागी नेतृ मुक्ता यादवले नीति र नेतृत्व परिवर्तनमा जोड दिइन् । भावी प्रधानमन्त्रीमा गगन थापालाई अघि सारेर जानुपर्ने विचार उनको थियो । यादवले भनिन्, ‘अबकि बार, गगन सरकार भनेर चुनावमा जानुपर्छ ।’

बागमती प्रदेशकी सीता मिजारले महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदनमा सुझाव दिँदै संघ र प्रदेशमा कति पटक मन्त्री वा सांसद हुन पाउने भन्ने व्यवस्था स्पष्ट हुनुपर्ने बताइन् ।
महामन्त्री गगन थापाको प्रतिवेदनको ९ को ‘क’ र ‘ग’ मा दलितको व्यवस्था राख्न छुटेको भन्दै समावेश गर्न सुझाव पेस गरिन् । संविधानमा दलितहरूको विषय धेरै ठाउँमा छुटेको भन्दै परिमार्जन गर्नुपर्ने बताइन् ।
कर्णालीका प्रतिनिधिले हर्ष बमले जसको नीति उसैको नेतृत्व हुनुपर्ने धारणा राख्दै हलबाटै नेतृत्व चयन गर्नुपर्ने सुझाव राखे । वार्ता र संवादका नाममा अध्याँरो कोठाभित्र जालझेल हुनसक्ने भन्दै खबरदारी गर्नुपर्ने बताए ।
मधेसका प्रतिनिधि वीरेन्द्र साहले मधेश प्रदेशका वीरेन्द्र साहले संघीय बजेट जनसंख्याको आधार हुनुपर्ने बताए । प्रदेशमा क्लष्टरको आधारमा निवार्चन प्रणाली हुनुपर्ने उनको विचार थियो । पार्टीको तर्फबाट मन्त्री पदमा गएकाहरूको सम्पत्ति छानबिन हुनुपर्ने उनको भनाइ छ । पार्टीबाट कारबाहीमा परेका व्यक्तिलाई कम्तीमा एक वर्ष निलम्बनमा राख्नुपर्ने साहले बताए ।
प्रतिक्रिया 4