News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा राष्ट्रिय झण्डा शरीरमा बाँध्ने अभ्यास बढ्दै गएको छ, जुन संविधान र मुलुकी दण्ड संहिताले दण्डनीय अपराध मान्छ।
पछिल्ला केही वर्षयता नेपालका सडक, सभा, खेलमैदान र उत्सवहरूमा एउटा दृश्य सामान्य बन्दै गएको छ । राष्ट्रिय झन्डा हातमा फहराइने मात्र होइन, घाँटीमा ओढिन्छ, टाउकोमा बाँधिन्छ, कहिलेकाहीँ कम्मरसम्म झर्छ । हेर्दा जोसिलो लाग्छ, भावनाले भरिएको देखिन्छ । धेरैलाई लाग्छ–यो त देशप्रेमको उत्कर्ष हो । तर यही दृश्यले एउटा गम्भीर प्रश्न पनि जन्माइरहेको छ- यो प्रेम हो, कि मर्यादाको सीमाना नबुझिएको अभिव्यक्ति ?
राष्ट्रिय झन्डा सामान्य कपडाको टुक्रा होइन । नेपालको संविधानले यसलाई सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय पहिचानको प्रतीक मानेको छ । संविधानको धारा ८ ले झन्डाको स्वरूप मात्र होइन, त्यससँग जोडिएको राष्ट्रिय गौरवलाई पनि मान्यता दिएको छ । त्यति मात्र होइन, मुलुकी दण्ड संहिता २०७४ ले राष्ट्रिय झन्डा, राष्ट्रिय गान वा राष्ट्रिय निशानको अपमानलाई दण्डनीय अपराध मानेको छ ।
यसको दफा १५१ ले राष्ट्रिय झन्डाको अपमान गर्नेलाई ३ वर्ष सम्मको कैद वा ३० हजारसम्म जरिवाना वा दुवै गर्न सकिने व्यवस्था छ । यसले स्पष्ट संकेत गर्छ- झन्डा भावना व्यक्त गर्ने साधन त हो, तर जस्तोसुकै तरिकाले प्रयोग गर्न मिल्ने वस्तु होइन ।
तर समाजमा देखिएको अभ्यास कानुनी भाषा भन्दा फरक दिशातर्फ उन्मुख देखिन्छ । धेरै युवाका लागि झन्डा आज पहिरनको हिस्सा जस्तै बन्दै गएको छ- स्कार्फझैँ, पटुकाजस्तै । नियत खराब छैन । उनीहरू देशप्रेम देखाउन चाहन्छन् । तर यहींनेर समस्या उत्पन्न हुन्छ, नियत र नतिजाबीचको दूरीको । भावना ठीक हुँदाहुँदै पनि अभ्यास गलत हुन सक्छ भन्ने सत्यलाई हामीले स्वीकार्नै पर्छ । यदि हामी अन्तर्राष्ट्रिय अभ्यासतर्फ हेर्छौँ भने यो कुरा अझ स्पष्ट हुन्छ ।
भारतमा सन् २००२ देखि लागू भएको ‘फ्लाग कोड अफ इन्डिया’ले राष्ट्रिय झन्डालाई शरीरमा बाँध्ने, कपडाजस्तो प्रयोग गर्ने वा कम्मरभन्दा तल झुण्ड्याउने कार्यलाई निषेध गरेको छ । त्यहाँ राष्ट्रिय झन्डाको अपमानलाई कानुनी अपराध मानिन्छ, जसमा जेल सजाय र जरिवानासमेत हुन सक्छ । अमेरिका, जापान, बेलायत, सिङ्गापुरजस्ता देशहरूमा पनि झन्डा शरीरको पहिरन बनाउने चलन छैन ।
झन्डा सधैँ उचाइमा हुन्छ- डण्डामा, भवनमा, वा सम्मानित स्थानमा । झन्डा ओढिँदैन, झन्डा उठाइन्छ । ती देशहरूले झन्डालाई भावना भन्दा पनि मर्यादाको विषय मानेका छन् । झन्डा जतिसुकै प्रिय किन नहोस्, त्यसको प्रयोगमा अनुशासन अनिवार्य ठानिएको छ । सम्मान भनेको नजिकै राख्नु मात्र होइन, सही ठाउँमा राख्नु पनि हो भन्ने बुझाइ त्यहाँ स्थापित छ ।
नेपालको सन्दर्भमा भने हामी भावनामा चाँडै बग्छौं । कुनै पनि राष्ट्रिय विषयमा हाम्रो प्रतिक्रिया तीव्र हुन्छ, तर सोचाइ कहिलेकाहीँ सतही रहन्छ । झन्डा घाँटीमा ओढ्दा हामी देशलाई अझ नजिक ल्याएको ठान्छौँ, तर बिर्सन्छौँ—राष्ट्रको प्रतीकलाई शरीरभन्दा माथि राख्नुपर्छ, तल होइन । झन्डा कम्मरमा झर्दा त्यो केवल कपडाजस्तो देखिन थाल्छ, प्रतीकको गहिराइ हराउन थाल्छ ।
यहाँ समस्या राष्ट्रप्रेमको अभाव होइन, राष्ट्रप्रेमलाई बुझ्ने तरिकाको हो । साँचो राष्ट्रप्रेम भाषणमा हुँदैन, प्रदर्शनमा मात्र पनि हुँदैन । त्यो आचरणमा हुन्छ । कानुन पालना गर्नमा, सार्वजनिक सम्पत्तिको सम्मान गर्नमा, राष्ट्रिय प्रतीकको मर्यादा जोगाउनमा पनि हुन्छ । झन्डालाई सही तरिकाले फहराउनु, सम्मानका साथ प्रयोग गर्नु, अपमान हुन सक्ने अभ्यासबाट जोगिनु, यी सबै पनि राष्ट्रप्रेमकै रूप हुन् ।
आज झन्डा बाँधेर फोटो खिचिन्छ, सामाजिक सञ्जालमा राखिन्छ, केही समय ताली पाइन्छ। तर भोलि यही अभ्यास सामान्य बन्दै जाँदा झन्डा जुत्तामा, कुर्सीमा, स्टेजको सजावटमा झुन्ड्याइयो भने कसले रोक्ने ? मर्यादाको सीमा एकपटक भत्कियो भने, त्यसलाई पुनः स्थापित गर्न गाह्रो पर्छ ।
त्यसैले अब सोच्नुपर्ने समय आएको छ । झन्डा बोकेर हिँडौ, फहराऔँ, सम्मानपूर्वक उठाऔँ । तर झन्डालाई बाँधेर होइन, बचाएर देशप्रेम देखाऔँ । भावना तातो हुन सक्छ, तर विवेक शीतल हुनैपर्छ । राष्ट्रिय झन्डा हाम्रो गर्व हो- त्यसलाई गर्वकै उचाइमा राख्न सक्नु नै परिपक्व नागरिकताको चिन्ह हो ।
राष्ट्रप्रेम चिच्याएर देखाइने कुरा होइन ।
कहिलेकाहीँ चुपचाप मर्यादा जोगाउनु नै सबैभन्दा ठूलो देशभक्ति हुन्छ।
प्रतिक्रिया 4