News Summary
Generated by OK AI. Editorially reviewed.- आयुर्वेदमा अमलालाई सर्वश्रेष्ठ रसायन मानिन्छ जसले शरीरका सात धातु र तीन दोष सन्तुलित गर्छ।
- वैज्ञानिक अध्ययनले अमलाले टेलोमेरेज सक्रियता बढाएर बुढ्यौली ढिलो बनाउने र रोग प्रतिरोधक क्षमता बढाउने देखाएको छ।
हिन्दु ग्रन्थहरूमा उल्लेख भएअनुसार अमलाको वृक्ष संसारको सबैभन्दा पहिलो वृक्ष हो । स्कन्द पुराणमा वर्णन गरिएको कथा अनुसार, जब प्रलयको समयमा सम्पूर्ण सृष्टि जलमग्न भयो र सबै प्राणी नष्ट भए, तब ब्रह्माजीले परमात्माको जप गरे । उनीहरूको प्रेम र भक्तिका आँसु वा आँखाबाट बगेको जल पृथ्वीमा खसे र त्यसैबाट अमलाको वृक्ष उत्पन्न भयो ।
यो वृक्ष धेरै हाँगाहरू भएको र फलले भरिएको थियो । यस कारण अमलालाई सबै पाप नाश गर्ने तथा विष्णु भगवानको अत्यन्त प्रिय फल मानिन्छ । यो फललाई संसारको पहिलो फल मानिन्छ । आयुर्वेदमा यसलाई आमलकि भनिन्छ र यो त्रिफला र च्यवनप्राशको मुख्य घटक हो ।
ऐतिहासिक र आयुर्वेदिक प्रयोग
अमलालाई आयु बढाउने फल वा रसायन फल भनिन्छ किनकि यो आयुर्वेदमा सर्वश्रेष्ठ रसायन मानिन्छ । ‘रसायनानां आमलकी प्रधानं’ अर्थात् सबै रसायनहरूमध्ये अमला सर्वोत्तम हो भन्ने भनाइ चरक संहितामा उल्लेख छ । रसायन भनेको यस्तो औषधि हो जसले शरीरका सात धातु रस, रक्त, मांस, मेद, अस्थि, मज्जा, शुक्रलाई गहिरो पोषण दिन्छ । तीन दोष वात, पित्त, कफलाई सन्तुलित राख्छ । कोषहरूको पुनरुत्पादन गर्छ, बुढ्यौली रोक्छ र दीर्घायु, बल, बुद्धि, स्मरणशक्ति तथा यौवन कायम राख्छ ।
त्रिफला र च्यवनप्राश दुवै आयुर्वेदका प्रमुख रसायनहरू हुन्, जसमा अमलालाई मुख्य तथा सर्वाधिक महत्वपूर्ण तत्वको रूपमा प्रयोग गरिन्छ । अमलाको उच्च भिटामिन सी, शक्तिशाली एन्टिअक्सिडेन्ट ‘पोलिफेनोल, ट्यानिन, फ्लाभोनोइड’, रसायन गुण तथा त्रिदोष ‘वात, पित्त, कफ’ सन्तुलन गर्ने क्षमताले यी दुवै औषधिहरूलाई विशेष बनाउँछ ।
त्रिफला भनेको तीन फलहरू अमला, हरितकी र बिभीतकीको संयोजन हो । आयुर्वेदका ग्रन्थहरूमा अमलालाई त्रिफलाको प्रधान घटक मानिन्छ किनकि यसले रसायन , डिटक्सिफिकेसन र पाचन सुधारमा मुख्य भूमिका खेल्छ । अमलाले पित्त दोषलाई विशेष रूपमा शान्त पार्छ, शरीरलाई शीतलता दिन्छ, उच्च एन्टिअक्सिडेन्ट क्षमताले फ्री र्याडिकल्स नष्ट गर्छ र कोषहरूलाई पोषण दिन्छ ।
च्यवनप्राश एक जटिल आयुर्वेदिक जाम हो जसमा ३० देखि ५० भन्दा बढी जडीबुटीहरू मिसाइन्छ । तर यसको मुख्य आधार नै काँचो अमलाको गुदी हो । च्यवनप्राशको मूल उद्देश्य रसायन, इम्युनिटी बढाउने, ऊर्जा प्रदान गर्ने र बुढ्यौली रोक्ने हो, जसमा अमलाको उच्च भिटामिन सी, पोलिफेनोलिक्स र फ्लेभोनोइड्सले प्रमुख भूमिका खेल्छ । अमलाले च्यवनप्राशलाई एन्टिअक्सिडेन्ट–रिच बनाउँछ, जसले फ्री र्याडिकल्सबाट बचाउँछ, रोग प्रतिरोधक क्षमता मजबुत पार्छ, श्वासप्रश्वास स्वास्थ्य सुधार्छ र समग्र ऊर्जा तथा यौवन कायम राख्छ ।
वैज्ञानिक महत्व
आधुनिक विज्ञानले पनि अमलाका धेरै स्वास्थलाभ रहेको प्रमाणित गरेको छ । एक वैज्ञानिक अध्ययन ‘पिएमसी ५४९७००१, २०१७’ मा ४५–६० वर्षका व्यक्तिहरूलाई अमलको रसायन ४५ दिनसम्म दिइएको थियो । नतिजाः टेलोमेरेजको सक्रियता उल्लेखनीय बढ्यो विशेष गरी ४५–५२ वर्ष समूहमा, जसले टेलोमियरको लम्बाइ कायम राख्छ र बुढ्यौलीको प्रक्रिया ढिलो बनाउँछ । टेलोमियर छोटो हुँदा कोषहरू बुढो हुन्छन् र रोग लाग्ने जोखिम बढ्छ, तर अमलाले टेलोमेरेज बढाएर यसलाई रोक्छ ।
यसबाहेक, अमलाको उच्च एन्टिअक्सिडेन्टले अक्सिडेटिभ तनाव घटाउँछ, इन्फ्लामेसन कम गर्छ र कोषहरूलाई क्षतिबाट जोगाउँछ, जसले दीर्घकालीन स्वास्थ्य र आयु बढाउँछ।
अमला एक सुपरफुड हो जसमा प्राकृतिक रूपमा उच्च पोषक तत्त्वहरू पाइन्छन् । मुख्य रूपमा भिटामिन सी हुन्छ । यो अमलाको सबैभन्दा ठूलो विशेषता हो । विभिन्न अध्ययनहरू अनुसार १०० ग्राम ताजा अमलामा १९३–७२० एमजी कहिलेकाहीँ ९०० एमजीसम्म भिटामिन सि हुन्छ । यो सुन्तलाभन्दा २०–३० गुणा बढी हो ।
अमलाको भिटामिन सी स्थिर हुन्छ । पकाउँदा वा सुकाउँदा पनि धेरै नष्ट हुँदैन । यसले रोगप्रतिरोधि क्षमता बढाउँछ, कोलाजेन उत्पादन गर्छ र शक्तिशाली एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ ।
अमलामा हुने एन्टिअक्सिडेन्ट र फाइटोकेमिकल्स
अमलामा विभिन्न प्रकारका शक्तिशाली एन्टिअक्सिडेन्ट तत्वहरू प्रशस्त मात्रामा पाइन्छन् । यसमा मुख्य रूपमा पोलिफेनोल, ट्यानिन र फ्लाभोनोइड हुन्छन् ।
यसमा विशेष रूपमा पाइने तत्त्वहरूमा एम्ब्लिकानिन ए र बि सबैभन्दा शक्तिशाली हुन् । साथै ग्यालिक एसिड, एलाजिक एसिड, कोरिलाजिन, चेबुलाजिक एसिड क्वेर्सेटिन आदि पनि पाइन्छ ।
यी तत्त्वहरूले शरीरमा हुने फ्री र्याडिकलहरू नष्ट गर्न, सुन्निने समस्या कम गर्न र कोषहरूलाई समय अगावै बुढ्यौली हुनबाट जोगाउन मद्दत गर्छन् । अमलामा पाइने कुल पोलिफेनोलको मात्रा ग्यालिक एसिड बराबर ३००० मिलिग्रामभन्दा बढी हुन सक्छ ।
अन्य पोषक तत्त्वहरू प्रति १०० ग्राम ताजा अमला, औसत अनुमानित पानी : ८१–८७ ग्राम
क्यालोरी : ४४–५८ केसीएएल (कम क्यालोरी)
कार्बोहाइड्रेट : १०–१४ ग्राम
फाइबर : ३–५ ग्राम (पाचनका लागि उत्कृष्ट)
प्रोटिन : ०.५–१ ग्राम
फ्याट : ०.१–०.५ ग्राम (न्यून)
क्याल्सियम : २५–५० एमजी
आइरन : ०.९–१.२ एमजी
पोटासियम : करिब १९८ एमजी
फस्फोरस, म्याग्नेसियम, भिटामिन ए, बी–कम्प्लेक्स आदि पनि थोरै मात्रामा हुन्छ ।
यी तत्त्वहरू मिलेर अमलालाई इम्युनिटी बुस्टर, एन्टिएजिङ, हृदय रक्तनली संरक्षक, पाचन सुधारक, क्यान्सर र मधुमेह विरोधी बनाउँछन् । नियमित सेवनले रोग प्रतिरोधक क्षमता बढ्छ, छाला–कपाल स्वस्थ रहन्छ, थकान कम हुन्छ र दीर्घकालीन स्वास्थ्य लाभ मिल्छ ।
अमला सेवन गर्नुका प्रमुख फाइदाहरू
१. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
अमलामा भिटामिन सी धेरै हुने भएकाले शरीरको रोगप्रतिरोधि क्षमता मजबुत बनाउँछ । रुघाखोकी, फ्लु जस्ता संक्रमणबाट बचाउँछ र छिटो निको पार्न मद्दत गर्छ । एक अमलाले दैनिक भिटामिन सी को ठूलो हिस्सा पूरा गर्छ ।
२. पाचन प्रणाली राम्रो बनाउँछ
फाइबरले भरिएको हुने भएकाले कब्जियत हटाउँछ, एसिडिटी कम गर्छ, पेट सफा राख्छ र पोषक तत्व राम्रोसँग अवशोषण हुन्छ ।
३. मुटु र कोलेस्ट्रोलका लागि फाइदाजनक
अमलाको सेवनले खराब कोलेस्ट्रोल ‘एलडिएल’ घटाउँछ, राम्रो कोलेस्ट्रोल ‘एचडिएल’ बढाउँछ, रक्तचाप नियन्त्रण गर्छ र मुटुको स्वास्थ्य सुधार्छ । विभिन्न वैज्ञानिक अध्ययनहरूले पनि यो प्रमाणित गरेका छन् ।
४. मधुमेह नियन्त्रणमा सहयोग
यसको सेवनले ब्लड सुगर नियन्त्रण गर्छ, इन्सुलिन संवेदनशीलता बढाउँछ र मधुमेहको जोखिम कम गर्छ ।
५. कपाल र छालाका लागि उत्तम
अमलाको रसको प्रयोग कपालमा गर्दा यसले कपाल झर्न कम गर्छ । चाँडै सेतो हुनबाट रोक्छ, कपालको जरा बलियो बनाउँछ । यसको सेवनले छालालाई चम्किलो बनाउँछ, चाउरीपन कम गर्छ र टक्सिन निकाल्छ ।
६. तौल घटाउन मद्दत गर्छ
नियमित रुपमा अमलाको सेवन गर्दा मेटाबोलिजम बढाउँछ, अतिरिक्त बोसो घटाउँछ र तौल नियन्त्रणमा राख्न सहयोग गर्छ ।
७. आँखा, कलेजो, मिर्गौला र समग्र डिटक्सका लागि राम्रो
यसको सेवनले आँखाको स्वास्थ्य सुधार्छ मोतियाबिन्दु जस्ता समस्या कम गर्छ , कलेजो सफा राख्छ, मिर्गौलाको समस्या घटाउँछ र शरीरबाट हानिकारक पदार्थ निकाल्छ ।
८. बुढ्यौली ढिलो बनाउँछ र स्मरण शक्ति बढाउँछ
अमलामा भएको एन्टिअक्सिडेन्टले फ्री र्याडिकल्सबाट बचाउँछ, बुढौली ढिलो गर्छ र दिमागलाई स्वस्थ राख्छ ।
कसरी सेवन गर्ने ?
काँचो अमला : दिनमा १–२ वटा खाली पेटमा वा खानापछि ।
अमलाको जुस : पानी वा मह मिसाएर ।
अमला चूर्ण : १ चम्चा पानी वा दूधसँग आयुर्वेद अनुसार ।
अमलाको सेवन अचार, क्यान्डीको रुपमा पनि गर्न सकिन्छ ।
प्रतिक्रिया 4